बागलुङ/विद्युत आपुर्ति अनियमित हुँदा उद्योगी, व्यवसायी र उपभोक्ता मारमा परेको भन्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । ।
विद्युत अनियमित र ट्रिपिङको समस्या समाधान नहुँदा बागलुङको उद्योग, घरेलु उद्योग, पर्यटन व्यवसाय, सेवा मुलक व्यवसायका साथै धेरै क्षेत्र प्रभावित भएको भन्दै आपूर्ती नियमित गराउनको लागि पहल गरी गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई ज्ञापन पत्र बुझाएका हुन् ।
जिल्लामा सञ्चालनमा रहेका फर्निचर, ग्रिल, खाद्यान्न, सुनचाँदी, बेकरी लगायतका उद्योगहरु, होटल, रेष्टुरेन्ट, खाजा पसल, अपसेट प्रेस, पोलिक्लिक, ल्याब, बैंक तथा वित्तीय सस्था, स्याम्पस, विद्यालयका साइन्स ल्याब, कम्युटर ल्याब, संचार माध्यम, विद्युतीय पुस्तकालय लगायतलाई समस्या भएको संगठनले जनाएको छ ।
बेलाबेलामा विद्युत आउने जाने गर्नाले विद्युतबाट चल्ने धेरै सामाग्री बिग्रिने गरेको, सामान्य हावा चल्दा पनि विद्युत आपूर्ति अनियमित हुने गरेको ज्ञापन पत्रमा उल्लेख छ । विद्युत आपूर्ती नियमित नहुँदा उत्पादनमा कमी भएको मात्र छैन, उत्पादन लागत बढेको, वस्तुको मूल्य महंगो हुन गएको, कर्मचारीलाई दिनुपर्ने मासिक तलब र बैंक तथा वित्तिय संस्थाको व्याज भुक्तानीमा समस्या, मुनाफामा असर परेको, उपभोक्ताले वस्तु तवा सेवा समयमै नपाएको, उद्योग बन्द गर्नु पर्ने र महगा प्रविधिमा जोडिएका मेशिनरी सामानहरुमा असर परेको उद्योगी व्यवसायीहरुको गुनासो छ ।
सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि लामो समयदेखि यो समस्याको बारेमा सबै सरोकारवालाहरुलाई पटकपटक उद्योगी व्यवसायीले भोग्नु परेको पीडाको बारेमा ध्यानाकर्षण गराउँदा र विद्युत आपूर्तिमा देखिएको समस्या सहज बनाउन पहल गर्न भनिए पनि त्यसको समाधान नहुँदा बागलुङको औधोगीक क्षेत्र, अर्थतन्त्र र आर्थिक बजारलाई गम्भीर असर परेको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।
समस्या कहिले पनि संघीय, प्रदेश, स्थानीय सरकार, जनप्रतिनिधी, राजनैतिक नेतृत्व र स्थानीय प्रशासनको प्राथमिकता परेको संगनले अरोप लगाएको छ । बागलुङ जिल्लामा २ हजार ६ सय २० वटा ठुला तथा घरेलु उद्योगहरु, दुई सय वटा होटल तथा रेष्टुरेन्ट, सरकारी र नीजि गरी ३० बटा ल्याब पसल, खोप राख्ने फ्रिज, ८५ स्वास्थ्य चौकी, प्रादेशिक, जिल्ला, नगर अस्तपाल गरी पाँच वटा, सामुदायिक र संस्थागत विद्यालयका कम्युटर ल्याम्ब र साइन्स ल्याव गरी २५ बटा र एउटा विद्युतीय पुस्तकालय लगाएतको क्षेत्रमा गम्भीर असर परेको दावी छ ।
यो समस्याको समाधानको लागि नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका अनुसार पर्वत खुर्कोटको २ सय २० र १सय ३२ केविको सव स्टेसनमा १ सय ३२ तथा ३३ केविको टान्सफर्मर राखेर ३३ को सप्लाईका लाइन बागलुङ नगरपालिका १ को रामरेखा सव स्टेसन बागलुङका प्रवाह गर्यो भने यो समस्या हट्ने सुझाव समेत संगठनले दिएको छ ।
म्याग्दीको दाना सव स्टेसनबाट बेनी आउने लाइनमा समस्या आयो भने त्यसले बागलुङ प्रसारणमा समेत समस्या उत्पन्न हुने गरेको छ। कठिन भूगोल, प्रतिकुल मौसम र पहिरोले यो समस्या उत्पन्न भएको हो ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी गण्डकी प्रदेश उपाध्यक्ष अर्जुन चोखाल लगाएतका व्यावसायीको उपस्थितिमा ज्ञापन पत्र वुझाइएको थियो ।





