पर्वत/भित्राउने बेला हुनै लागेको चैते धान असिनाले झारेपछि पर्वतका कृषकहरू चिन्तामा परेका छन् ।
पर्वत सहित आसपासका क्षेत्रमा ‘मनसुन’ नआइसकेको बेलामा ‘प्रि मनसुन’ कै बेलामा अचानक भएको वर्षासँगै आएको असिनाले लगभग पाकिसकेको धान झर्दा कृषकहरू चिन्तामा परेका हुन् । भित्राउने बेलाको धान बिहीबार परेको असिनाले चुटेर गराभरि झारेको छ ।
जिल्लाको कुश्मा नगरपालिका–४ अर्मादी सहितका क्षेत्रमा बिहीबार साँझ करिब साढे पाँच बजेको समयमा जमिन नै सेताम्मे देखिने गरी असिना सहितको वर्षा भएको थियो । सोही वर्षा र असिनाले नकाटेको धानको बालामा चुटेर धान पूरै झारेको स्थानीय कृषक सूर्य पुन मगरले बताए । घाम लागिरहेको बेलामा अचानक हुरी बताससहित भएको वर्षासँगै करिब पाँच मिनेट परेको असिनाले धान सहित मकै तथा तरकारीबालीहरुमा पनि क्षति भएको उनको भनाई छ ।
माघदेखि मिहिनेत गरेर धान राम्रोसँग फस्टाएको भए पनि भित्राउने बेलामा एक छिनको असिनाले सखाप पार्दा कृषकहरू समस्यामा परेको उनको भनाइ छ । झन्डै १५÷२० मुरी चैते धान उत्पादन हुने र त्यसैले परिवार पाल्ने गरेको भए पनि यो वर्ष चामल किन्नुपर्दा आर्थिक समस्या आउनेमा मगर चिन्तित छन् ।
‘दुःख गरेर खेती लगाइयो । माघदेखिको मिहिनेत पाँच मिनेटको असिनाले खाइदियो । भित्राउने बेलाको धान ध्वस्त पारेपछि कृषकले के गर्ने हो ?’ उनले भने, ‘यहीं धानले परिवार पालौँला भनेको हालत यस्तो भयो । देशमै केही गरौँ भनेर खेती लायो असिनाले खाइदिन्छ, पहिराले पुरिदिन्छ । अब गर्ने के पो हो ?’
यता कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी सूचना अधिकारी सोबिता सुवेदीले असिना परकोबारेमा कृषकहरूबाट कुनै पनि जानकारीहरू नआएको बताइन् । तर ‘प्रि मनसुन’ को बेलामा अचानक सुरु हुने स्थानीय मौसमको प्रभावले नसोचेको बेलामा वर्षा, असिना, हावाहुरीको प्रभाव रहँदा कृषकहरू प्रभावित हुने गरेको उनको भनाइ छ । असिनाबाट क्षति भोगेका कृषकहरूले क्षति भएको देखिने गरी प्रमाणहरू सहित मुचुल्का बुझाएमा क्षतिपूर्तिका लागि कार्यालयले प्रक्रिया अगाडि बढाउने सुवेदीले बताइन् ।
पर्वतमा विशेषतः बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकामा चैते धान रोप्ने गरिएको छ । जिल्लाका अन्य स्थानमा भने प्रायः बर्खे धान लगाउने गरिएको छ । कुश्मा नगरपालिका–४ को अर्मादी र आसपासको क्षेत्रका कृषकहरूले भने चैते धान पनि लगाउने गरेका छन् ।





