पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल दोस्रो दिन शनिवार पनि जारी रह्यो । छलफलमा भाग लिने सांसदहरुले नीति तथा कार्यक्रमलाई बजेटले पछ्याउनु पर्ने र यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
कांग्रेसकी चम्पादेवी खड्काले नीति तथा कार्यक्रमले सरकारलाई गन्तव्यमा पुराउन सहयोग गर्ने विश्वास गरिन् । आर्थिक पाटोलाई बढी जोड दिएकाले प्रदेशलाई आत्मनिर्भरतर्फ उन्मुख गराउने भन्दै उनले यसले प्रदेशको समृद्धि र बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । एमालेकी सीताकुमारी सुन्दासले विगतका नीति तथा अवधारणालाई यसले अपनत्व लिदै चौतर्फी बिकासमा मध्यनजर राख्दै गर्नुपर्ने कामका लागि सबै क्षेत्र समेटिएको दावी गरिन् । कांग्रेसका महेश भट्टराईले प्रदेश जनताको बीचमा देखिने सरकार रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रमले प्रदेश अपरिहार्य छ भन्ने पुष्टी भएको बतए । एमालेका लक्ष्मणबहादुर पाण्डेले नीति तथा कार्यक्रम आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासीको लक्ष्यमा लक्षित रहेको जनाए । कांग्रेसका मुनिन्द्रजंग गुरुङले उच्च पहाडी तथा हिमाली जिल्लालाई समेट्नु आशाको किरण भन्दै कार्यान्वयन पक्षमा जोड दिए । एमालेकी राजकुमारी भुजेलले संघीयता कार्यान्वयन, सुशासन र प्रदेशलाई लोककल्याणकारी बनाउनेतर्फ उन्मुख रहेको बताइन् भने कांग्रेसकी सरस्वती अर्यालय तिवारीले प्रदेशको महशुष दिलाएको जनाइन् ।
एमालेका रोशनबहादुर गाहा थापाले नीति तथा कार्यक्रमले जनताको अपेक्षा पुरा गर्ने उद्देश्य लिएको बताए । उनले कालीगण्डकी डाइभर्सनमा प्रदेश सरकार गम्भिर हुनु जरुरी रहेको जनाए कांग्रेसकी कल्पना तिवारीले आवाजविहीनहरु प्रति नीति तथा कार्यक्रम लक्षित रहेको बताइन् । एमालेकी देवका पहारी त्रिपाठीले प्रदेशले लिएको लक्ष्य पुरा गर्न सघाउ पुराउने बताइन् । उनले राइड सेयरिङबाट प्रदेश पछाडि फर्किन नहुनेमा जोड दिइन् । कांग्रेसकी रेखा गुरुङले के गर्न सकिन्छ भनेर होइन, के गर्नु पर्छ भन्ने यथार्थ दृष्टिकोणका साथ आएको र प्रदेशको भूगोल जनअपेक्षा र स्रोत र संभावनाको सुमुचित समायोजन गरी प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेशको समृद्धि र नागरिकको सम्मानित जीवनस्तरको सुनिश्चितता गरेको दावी गरिन् । एमालेका बेदबहादुर गुरुङले संघीय संरचनामा प्रदेश सरकार शासन प्रणालीको मेरुदण्ड हो भन्ने कुरालाई आत्मसात गरेको, प्रदेश लिएका प्रमुख आधार र लक्ष्यलाई समेटेको र चारैतिरबाट प्रदेशलाई प्रहार भइरहेका बेला नागरिकलाई सेवा प्रवाहमा प्रभावकारी संस्था प्रदेश हो भन्ने सन्देश दिएको बताए ।कांग्रेस का डिल्लीराम सुवेदीले प्रदेश सरकारको नवौ नीति तथा कार्यक्रमसम्म आइपुग्दा एउटा फ्रेम र लिकमा हिडेको जनाए । प्रतिपक्षलेसमेत मुक्तकण्ठले प्रशंसा गरेको नीति तथा कार्यक्रमलाई सत्तापक्षले बिरोध गर्ने कुरा भएन भन्दै उनले अव ओथारो बसेर मात्र नभई चल्ला कोरलेर परिणाम दिनुपर्ने उनको भनाई थियो । ‘नीति तथा कार्यक्रमले समेटेका क्षेत्रमा बजेट बिनियोजनको कुशलता देखिनुपर्छ!, उनले भने ।
‘गाडी दुर्घटना भए ड्राइभर मात्र होइन, प्यासेन्जर सबै दुर्घटनामा पर्छन’
माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले नीति तथा कार्यक्रम सानो र चुस्त देखिएको बताए । ड्राइभिङ सिटमा बस्ने ड्राइभर अर्थात सत्तापक्ष मुख्यमन्त्रीको नेतृत्वमा भए पनि प्यासेन्जर आफुहरु ६० जना सांसद र सबै प्रदेशबासी रहेको उनको भनाई थियो । ‘गाडी राम्रोसंग गन्तव्यमा पुग्दा हामी सबै सकुशल हुने हो, गाडी दुर्घटना हुँदा ड्राइभर मात्र होइन प्यासेन्जर पनि हुने हो’, उनले भने, ‘त्यसैले हाम्रो सुभेच्छा छ यसको कार्यान्वयन होस् ।’
नीति तथा कार्यक्रमले केही नयाँ कुरा दिन खोजेको भन्दै उनले दुई ठूला दल मिलेर बनेको सरकार भएकाले त्यो स्वभाविक रहेको बताए । एमालेको कुरा पनि समावेश गर्नुपर्ने भएकाले फराकिलो रुपमा आएको उनको भनाई थियो । ‘पहिलो कुरा हाम्रो भाँडो हेर्नुपर्यो । हाम्रो पूजी कति छ ? गर्न सकिने कति छ हेर्ने हो’, उनले भने, ‘नीति तथा कार्यक्रम पढ्दा एक घन्टा पनि लाग्दैन सररर हेर्दा आनन्द आउँछ । शब्द राम्रा चयन गरिएका छन । संसारैभरी मोटाघाटा र बलिया बाग्रालाई राम्रो भनिन्थ्यो भने अहिले स्लिमलाई स्वस्थ्य भनिन्छ । त्यसैले यसलाई भद्या नबनाई स्लिम बनाउन खोजिएको होला यो त्यही हिसावले कार्यान्वयनमा जाओस शुभकामना ।’
राजस्व व्यवस्थापन कार्यालय स्थापना गर्नु सकरात्मक रहेको भन्दै उनले अव करको दायरा बढाउन आवस्यक रहेको बताए । परिणाम दिन नसकेको भन्दै केही कार्यालय हटाएको अवस्थामा अव स्थापना हुने कार्यलयको औचित्य पुष्टी हुनुपर्ने भन्दै उनले घरेलु मदिरालाई ब्रान्डिङ, नियमन र कार्यान्वयनमा लैजान ढिला गर्न नहुने बताए । यसैग्री गाँजा खेतीलाई पनि फास्ट ट्याकबाट कार्यान्यवयनमा लगेर सरकारले काम देखाउनु पर्ने उनले सुझाव दिए । इन्भेष्ट गण्डकीमा लगानी क्षेत्र पहिचान नभएको उनको भनाई थियो ।
माओवादीकै सुशिला सिंखडाले नीति तथा कार्यक्रमको सही कार्यान्वयन हुनुपर्ने बताईन । प्रदेश बिकास तथा रुपान्तरणका लागि १४ वटा क्षेत्र पहिचान गरेको भए पनि ठोस र स्पष्टता अभाव देखिएको उनको भनाई थियो । शिक्षा, स्वास्थ्य, महिला, युवा, उद्यम, रोजगारलगायत क्षेत्रमा खासै दरिलो योजना भने अघि सार्न नसकेको उनले बताईन ।





