पोखरा/ ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोर्टर गाइड तालिम सुरु भएको छ । पोखरा–६ बैदाममा रहेको तालबराही माध्यामिक विद्यालयमा संचालन हुने तालिमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै लामिछानेले पोखरा आउने पर्यटकको चाप बढ्ने बताए । पर्यटकको संख्या बृद्धि भएसगै पदयात्राका लागि दक्ष जनशक्ती पनि आवश्यक हुने उनको भनाई थियो । पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडानको पहल भइरहेको र भविष्यमा विदेशबाट सिधै पर्यटक पोखरा अउने भएकाले गाइडहरुलाई कामको खाचोँ नहुने लामिछानेले बताए । कार्यक्रममा बोल्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम) का तालिम संयोजक अजय ढकालले तालिमले सक्षम गाइड उत्पादन हुने विश्वास व्यक्त गरे । पर्यटकलाई नेपालको वारे सरल तरिकाबाट बुझाउन सक्नु सक्षम गाइडको क्षमता हुनुपर्ने ढकालले बताए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले पर्यटक गाइडले नेपालको राजदुतको रुपमा काम गर्नुपर्ने बताए ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटक घुम्न जानका लागि गाइड अनिवार्य गर्ने तयारी भइरहको जानकारी दिए । लाइसेन्स भएको गाइडले मात्र मान्यता पाउने भएकाले तालीम संचालन गरिएको आचार्यले बताए । तालिम प्राप्त गाइडलाई कामको खाचोँ नहुने आचार्यले जानकारी दिए । नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना गरिएको टान गण्डकीका द्धितिय उपाध्यक्ष एवं तालिम संयोजक मोहन प्रसाद सुवेदीले जानकारी दिए । तालिमका लागि दरखास्त आह्वान गरिएकोमा र अन्तरबार्ताबाट ३ सय ५० जना छनोट पछि तालिम दिइएको हो । तालिम पछि पदयात्राको क्षेत्रमा आवश्यक जनशक्ती आपूर्ती हुने आयोजकको विश्वास रहेको छ । टानले विभिन्न समयमा संचालन गरेका तालिमबाट तीनहजार जनाले तालिम लिइसकेको टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले जानकारी दिए ।
ट्रेकिङ गाइडका लागि २५ दिन र र ट्रेकिङ पोटर गाइडको लागि १५ दिन तालिम दिइने टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाले बताए । कार्यक्रममा नाथुमका तालिम अधिकृत रतन साउद, ताल बाराही माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेले तालिम वारे आफ्नो धारणा राखेका थिए ।





