बागलुङ/सोमबार अपरान्ह साँढे १२ बजे इमेज बचत तथा ऋण सहकारीका केही पीडितहरु राष्ट्रिय सहकारी बैंकमा पुगेर धर्ना बसे । आइतबार दुई घण्टासम्म ताला लगाएर होहल्ला गरेकोले सोमबार पनि सोही अवस्था आउने भएकोले बाक्लो सुरक्षा घेराका बाबजुत पीडितले धर्ना गरेका थिए ।
यो धर्ना विशेषगरी २ वटा विषयमा केन्द्रीत थिए । पहिलो कारण थियो–पीडितलाई थाहै नदिइ सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको नामको घर बेचियो । लिलाम सकार्नेहरुले राजनीतिक पहुँच देखाए । अर्ब पर्ने सम्पत्तिलाई २०÷२१ करोडमा बेचियो । त्यो रकम पीडितको तर्फबाट सकारेर फिर्ता ल्याउनुपर्ने उनीहरुको माग थियो ।
दोश्रो कारण थियो–उक्त घरजग्गा के कति रकममा बेचिएको हो, कसरी लिलाम सकारिएको हो ? सो को सूचना चाहियो । सूचना माग गर्दै पीडितहरु आइतबार बैंकमा पुगेका थिए । बैंकका प्रबन्धक अर्जुन श्रेष्ठले माथिल्लो तहमा कुरा बुझेर आवश्यक सूचना दिन्छु भन्दाभन्दै पीडितले तत्काल चाहियो भनेर होहल्ला गर्ने र बैंकमा ताला लगाउने काम गरेका थिए । उक्त घटनापछि प्रहरीले भीड नियन्त्रण गरेर बैंकको तालाबन्दी खोलेको थियो ।
उक्त सूचना दिन तयारी भैरहे पनि पीडितले पटकपटक दबाव दिइरहेका छन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ ले भने निवेदन दिएको साता दिनपछि मात्र सूचना दिन पाउने व्यवस्था गरेको छ । त्यसकै लागि तयारीमा जुटेको बैंकका प्रबन्धक श्रेष्ठले बताए । बरु, होहल्ला र धर्नालगायतले काममा असर परेको उनले बताए । पीडितको उपस्थितिको कारण सादा पोशाक र डिउटीका प्रहरीको बाक्लो उपस्थिति थियो । प्रहरीले सेवाग्राहीलाई पनि के काम थियो भन्ने सोधीखोजी गरेर मात्र पठाएको थियो ।

जिल्ला अदालतको आदेशले थुनामा रहेका नेपालीको हस्ताक्षरबिनै घर कसरी बिक्री भयो भन्ने कतिपय पीडितको जिज्ञासा थियो । मालपोत कार्यालय बागलुङका प्रमुख देवेन्द्र थापाले भने बैंकको लिलामी प्रक्रियामा गएकोले व्यक्तिगत जग्गा पास गरेझैँ हस्ताक्षर नचाहिने बताए । बैंकको ऋणभन्दा बढी रुपैयाँमा घरजग्गा सकारेको भए बाँकी रकम फिर्ता हुने र कम भए बैंकले सिधै उठाउन पाउने राष्ट्र बैंकको नियममा उल्लेख छ ।
सोही नियम अनुसार नेपालीको नाउँमा रहेको बागलुङ नगरपालिका वडा नं. २ स्थित हल्लनचोकको कित्ता नम्बर ४५७, ४५८ र ४५९मा बनेको ठूलो घर तथा कित्ता नम्बर ८८७ मा बनेको सानो घर लिलामी भएको थियो । बैंकले डेढ वर्ष अघिदेखिको प्रक्रियाबाट ती घर लिलाम गरेको हो । दुवै घर बागलुङ नगरपालिका ११ का रामबहादुर र गोमा क्षेत्रीले लिलाम सकारेका थिए ।
तीन वर्षदेखि आन्दोलनरत पीडित बचतकर्ताले उक्त घर सस्तोमा बेचेर पीडितको रकम फिर्ता पाउने अबसर बञ्चित गरेको आरोप लगाएका छन् । पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीका अनुसार १ अर्ब बढीको सम्पत्तीलाई बैंकले करोडमा लिलाम गरेको हो । उनले सस्तो मूल्यमा बेचेर पीडितलाई अप्ठ्यारो पारिएको आरोप लगाए । नेपालीको पोखराको महानगरपालिका वडा नं. ८ को कित्ता नम्बर ४२ को घर पनि लिलाम भएको पीडितले आरोप लगाएका छन् । बैंकले लिलाम गरेको रकममा पीडितले साँवा रकम जम्मा गरेर सकार्ने समेत दावी गरेका छन् । यो अवस्था आउने भन्दै दुइसाता अघिनै पीडितले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएका थिए । त्यसबाहेक हल्लनचोकको घरमा व्यवसाय गर्नेलाई पनि घरखाली गर्न भनिएको थियो । केही महिनाको घरभाडा समेत पीडित संघर्ष समितिले उठाएको थियो ।
पीडितको आरोपलाई बैंकका प्रबन्धक अर्जुन श्रेष्ठले भने खण्डन गरेका छन् । घर लिलामका लागि लामो समयदेखि सूचना प्रकाशित भएकोले मिलेमतो नभएको बताए । राष्ट्रबैंकको नियमले दिएको अधिकारबाटै घर लिलामी भएको हो,’ श्रेष्ठले भने, ‘सूचना माग्नुभएको छ, बरु त्यो के कति दिन सकिन्छ दिने प्रयासमा छौं ।’
आइतबार ती घरजग्गा कसरी बिक्री भयो भन्ने सूचना माग गरेर पीडितले निवेदन दिएका थिए । निवेदन दिने वित्तिकै सूचना पाउनुपर्ने भन्दै बैंकमा हल्लाखल्ला भएको र कार्यालयमा तालाबन्दी समेत भएको थियो । सोमबार भने सूचना संकलन भैरहेको श्रेष्ठले जानकारी दिए । सूचनाको हक सम्बन्धी ऐन २०६४ ले निवेदन दिएको सात दिनभित्र सूचना दिनुपर्ने प्रावधान राखेको छ ।
सहकारीमा तरलता अभाव देखाएर नेपाली २०८० को जेठ ४ गतेदेखि फरार थिए । बैसाख ६ गते नै इमेज बचत तथा ऋण सहकारीको कार्यालयमा तरलता अभाव भएकोले कार्यालय बन्द भएको सूचना टाँस गरेपछि बचतकर्ताहरुले आफ्नो रकम ठगी भएको भन्दै जिल्ला प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकायको दैलो गुहारेका थिए । पीडितहरुको जाहेरी संकलन गरी जिल्ला प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते नेपालीविरुद्ध मुद्दा दायर गरेको थियो । २०८० कै माघमा नेपालीविरुद्व रेड कर्नर नोटिस जारी भएको थियो । गत असोजदेखि नेपाली अदालतको आदेशले थुनामा छन् ।





