बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मान्छे बगाएको खोलामा बन्यो पक्की पुल

मान्छे बगाएको खोलामा बन्यो पक्की पुल


  • संजय रेग्मी
  • जेष्ठ २८ २०८२, बुधबार

पर्वत/दुई वर्षअघि सडकमा गुड्दै गरेको जिप नै बगाएर तीन जनाको मृत्यु भएको पुष्पलाल मध्यपहाडी लोकमार्गको कुश्मास्थित तमादी खोलामा पक्की पुल निर्माण भएको छ ।

कुश्मा नगरपालिका ७ र ८ को सिमाना हुँदै बग्ने तमादी खोलामा वर्षेनी गेगर सहितको बाढी आउने क्रम बढ्दै गइरहेको थियो । सवारीहरू जोखिम मोलेरै खोलामा हाल्दा सामान्य दुर्घटनाहरू हुने तथा सवारीहरू गेगरमा फस्ने गरेका थिए । तर, २०८० सालको असोज १३ गते साँझ आएको भीषण बाढीले बागलुङबाट पोखराका लागि छुटेको जिप बाढीसँगै खोलामा बगेको थियो ।

गुड्दै गरेको जिप ओट लागेर रोकिएपछि चालक जिपबाट झरेर अवरोध हटाउन खोज्दै थिए । त्यहीं बेलामा एक्कासी बाढी आएर जिप बगाएको थियो । चालकले ज्यान जोगाएका थिए । उक्त घटनापछि तमादी खोलामा पक्की पुल निर्माण हुनुपर्ने नागरिकको माग थियो ।

अहिले पुल निर्माणको काम सकेर सवारीहरू चल्न थालेपछि यात्रुहरूको भय हटेको छ । सवारीहरू पनि ढुक्कका साथ सञ्चालन भइरहेका छन् । मनसुन देशभर फैलिएर वर्षा सुरु हुन लागेकै बेलामा पुलबाट सवारीहरू सञ्चालन गर्न पाउँदा विगतको घटना तमादीमा नदोहोरिने भएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्गकी प्रोजेक्ट म्यानेजर इन्जिनियर कल्पना मिश्रका अनुसार २०७९ साल असोज २७ मा पुल निर्माणको लागि सम्झौता भएको थियो । दुई पटक म्याद थप गरेर २०८२ जेठ १८ सम्ममा पुलको निर्माण कार्य पूरा गर्ने सम्झौता सिद्ध बाबा निर्माण सेवा स्याङ्जासँग भएको थियो । तमादी खोलामा रहेको जोखिमलाई घटाउन पनि थपिएको समयभित्र पुल निर्माणको लागि लोकमार्ग आयोजना र निर्माण कम्पनी प्रतिबद्ध थिए ।

निर्माण कम्पनीसँग पाँच करोड ९६ लाखमा पुल निर्माणको सम्झौता भएको थियो । अहिले पुलका संरचनाहरूको नापजाँचको काम चलिरहेकाले केही रकम घटबढ हुन सक्ने इन्जिनियर मिश्रले बताइन् । पुलको लम्बाई २६ मिटर मात्रै रहेकोले यसलाई आर.सी.सी टी बीम प्रबिधिमा निर्माण गरिएको छ । लामा पुलहरू निर्माण गर्दा अन्य आधुनिक शैलीमा निर्माण हुने गरेको भएपनि तमादीको पुल छोटो भएकाले परम्परागत पुरानो प्रविधिमा निर्माण गरिएको उनको भनाइ छ ।

कम्पनीले तोकिएकै समयमा काम पूरा गर्दा अब बर्खाको समयमा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिम टरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङले तमादी खोलामा आउने बाढी र गेगरका कारण सडक अवरुद्ध हुने तथा दुर्घटना हुने जोखिम नरहेको बताए । बाढी र गेगर झर्ने गरेको खोलाको भागबाट पुल केही टाढा रहेकोले बाढी आएपनि पुलबाट निर्बाध रूपमा यातायात सञ्चालन हुन सक्ने उनको भनाइ छ ।

गुड्दै गरेका सवारीहरू कति बेला बग्ने हुन भन्ने जोखिमले सवारी चालक र यात्रुहरूमा ठुलो चिन्ता थियो । अब तमादीको बाढीको बारेमा चिन्ता गर्नु नपर्ने भएकोले आफूहरूलाई पनि सुरक्षित अनुभव भएको सवारीका चालकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->