शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोउवा संघका अध्यक्षद्वारा नेपालमा भारतीय लगानीको आह्वान

पोउवा संघका अध्यक्षद्वारा नेपालमा भारतीय लगानीको आह्वान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८२, बिहिबार

पोखरा/पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भारतीय रियलस्टेट उद्योगका प्रतिनिधिहरुलाई नेपालका व्यवसायीसँग मिलेर काम गर्न सुझाव दिएका छन् ।

नेपाल र पोखरामा सम्भावनाको अध्ययन गर्न आएको दिल्ली ल्याण्ड फाइनान्स(डीएलएफ) का प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनले सो धारणा राखेका हुन् । डीएलएफ भारतको अग्रणी रियलस्टेट कम्पनी हो । सन् १९४७ मा दिल्लीमा स्थापित यो कम्पनीले गुडगाउँदेखि मुम्बइ र विदेशमा पनि अपार्टमेण्ट र बस्ती निर्माण गर्दै आएको छ ।

उनले भारतीय लगानीकर्ताको लागि पोखरा उत्कृष्ट ठाउँ भएको पनि बताए । यहाँको पर्यटन उद्योगमा भारतीय लगानीको लागि आह्वान गर्दै उनले भने, ‘पोखरादेखि दिल्ली टाढा छैन । अझ, गोरखपुरदेखि बिहार र उत्तर प्रदेशका धेरै सहरहरुबाट यहाँ आफ्नै गाडीमा एकैदिन आउन सक्ने अवस्था छ । यतिबेला गोरखपुर र लखनउमा उधुम गर्मी छ । त्यहाँको गर्मी छल्ल,स्कूलको समर भ्याकेसनमा उनीहरुलाई सितल ठाउँ घुमाउनको निम्ति पोखराभन्दा सुन्दर र सुरक्षित ठाउँ अर्को छैन । यहाँहरु पर्यटन उद्योगमा लगानी गर्न सक्नुहुन्छ ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सिधा उडानको लागि जनस्तरमा पहल गर्न आग्रह पनि गरे । ‘हामी निरन्तर पोखरा– दिल्ली, मुम्बइ, लखनउ, वाराणशी, अयोध्यालगायतका सहरहरुमा उडानको लागि लविङ गरिरहेका छौँ,’ उनले भने, ‘हवाइ यात्राले पोखरा र मुक्तिनाथ पुग्न चाहने भारतीय पर्यटक र वाराणशी, अयोध्या, गुजरात, सुरत र भारतका अन्य औद्यागिक क्षेत्र जाने धार्मिक पर्यटक, उद्योगी÷व्यवसायी तथा उपचारको लागि दिल्ली जाने सबैलाई सुविधा पुग्छ ।’

कार्यक्रममा डीएलएफका डेपुटी जनरल म्यानेजर प्रियङ्का ओझा,सेल्स म्यानेजर अतुल डोन्डे र सहायक म्यानेजर प्रतिक सिंहलगायतले डीएलएफका गतिविधिबारे जानकारी दिएका थिए । सो कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्ष दीनेश बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, कोषाध्यक्ष मनोजकुमार श्रेष्ठसहित कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको उपमहासचिव सुदीप प्रधानाङ्गले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->