बगलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता र पीडित संघर्ष समितिका पदाधिकारीले हल्लनचोक स्थित कर्मा कम्प्लेक्समा तालाबन्दी गरेका छन् । शनिवार समितिका पदाधिकारी समेत गएर घरका सटरमा ताला लगाएका हुन् ।
ती सटरमा जुत्ता होलसेल र ४ सय ६ सय पसल थियो । केही समय अघि यो घर लिलामबिक्री भएको थियो । नेपाली सहकारी ठगी मुद्दामा जेलमा रहेको बेला बैंकको समेत मिलेमतोमा घर बिक्री गरिएको भन्दै इमेज पीडित संघर्ष समितिका पदाधिकारीले आरोप समेत लगाएका छन् । सोही आरोप सहित केही समय अघि सटकर छाड्न पनि चेतावनी दिएका थिए ।
संघर्ष समिति मार्फत आन्दोलरत रहेको बेला शुरुवाती चरणको भाडा संघर्ष समितिले संकलन गरेको थियो । हाल उक्त कम्प्लेक्स बानपा ११ का रामबहादुर र गोमा क्षेत्रीले खरिद गरेका छन् । हाल अमेरिका बस्ने क्षेत्री परिवारले उक्त भवनको भाडा लिन थालेको भन्दै ताला बन्दी गरेको बताए । ‘अरब पर्ने सम्पत्ति मिलेमतोमा २०÷२२ करोडमा बिक्री गरिएकोले ताला लगाउन बाध्य भयौं’ समितिका अध्यक्ष डिलबहादुर कार्कीले भने, ‘माफियाहरुले बैंकलाईपनि प्रभावमा पारेर घरजग्गा किनेका छन् ।’ उक्त घर क्षेत्री परिवारले २३ करोडमा खरिद गरेको स्थानीयले बताए । मिलेमतोमा बिक्री गरिएको भन्दै पीडितले गत साता दुइ दिन सम्म राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखामा तालाबन्दी र धर्ना दिएका थिए ।
उता उच्च अदालत पोखरा, बागलुङ इजलासले भने राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाउँमा गत बुधवार घरजग्गा तत्काल लिलाम नगर्न आदेश जारी गरेको छ । आदेशमा निजको घरजग्गाहरु लिलाम गर्ने कार्य नगर्नु नगराउनु भन्ने उल्लेख छ । उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य भइ काम गर्ने न्यायाधिस नातीबाबु लामिछानेको एकल इजलासले उच्च अदालत नियमाबली, २०७३ को नियम ४२ (१) बमोजिम उक्त आदेश जारी भएको हो ।
आदेशमा असार ९ गते अन्तरिम आदेशका लागि छलफलको लागि बिपक्षीलाई म्याद सूचना जारी गर्ने भनिएको छ । बागलुङ नगरपालिका वडा नंं २ मा हरेको कित्ता नम्बर ४५७, ४५८ र ४५९मा बनेको ठूलो घर तथा कित्ता नम्बर ८८७ मा बनेको सानो घर लिलामी भएको थियो । बैंकका प्रबन्धक अर्जुन श्रेष्ठले भने नेपाल राष्ट्रबैंकको नियम अनुसार घरजग्गा लिलाम भएको बताएका छन् ।





