बागलुङ/जिल्लाका धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिवाङसहित मध्यविन्दु, तनहुँ र स्याङ्जा अस्पतालमा गण्डकी प्रदेश सरकारले ‘इमरजेन्सी ट्रमा केयर इकाई’ संचालन एवम् सुदृढीकरण गर्ने भएको छ । इकाईका लागि ७६ लाख बजेट बिनियोजन गरिएको छ । आइतबार गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रस्तुत गरेको बजेट मन्तव्यमा उक्त कुरा गरिएको उल्लेख छ ।
सानो बजेट भएपनि यो बजेटले ती अस्पतालमा जनशक्ती व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ । एघार वर्षअघि संविधानसभाका सभासद हरि खड्काको सडक दुर्घटनामा निधन भएपछि धौलागिरि अस्पतालमा ‘हरि खड्का ट्रमा सेन्टर’ संचालन गर्नुपर्ने आवाज उठेको थियो । त्यसपछि संघ र प्रदेश सरकारको सहयोगमा ट्रमा इकाई संचालनमा आइसकेको छ । बजेटले इकाई संचालनमा सहज हुने छ ।
मुस्ताङ र मनाङमा उच्च भेगिय स्वास्थ्य सेवा कार्यक्रमलाई प्रभावकारी बनाउन ८३ लाख बजेट विनियोजन गरिएको छ । बजेटले लेक लागेर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न उपकरण र दक्ष जनशक्तीसहित हाइ अल्टिच्युड उपचार केन्द्र संचालनमा सहज हुने विश्वास गरिएको छ ।
त्यस्तै बजेटमा कालीगण्डकी जलाधार क्षेत्रलाई कृषि उत्पादन र पर्यापर्यटन क्षेत्रको संभाव्यता अध्ययन गरिने उल्लेख छ । कालीगण्डकी दोहनविरुद्व आवाज उठीरहेको बेला यो कार्यक्रम आएको हो । नदीको जलाधार क्षेत्र संरक्षण नगरेमा त्यसको अस्तित्व समाप्त हुने भएकोले संरक्षणका प्रयास पनि हुने विश्वास लिइएको छ । अवैध रुपमा भईरहेको कालीगण्डकी दोहनले नदी सभ्यता समेत लोप हुन लागेको बेला कृषि उत्पादन र पर्यापर्यटन कार्यक्रमले केही राहत मिल्नेछ ।
यस्तै, म्याग्दीको दरबाङ–ढोरपाटन सडक स्तरीय बनाएर पर्यटकीय बागलुङ र म्याग्दीको संगमस्थल सोलेडाँडासम्म पर्यटक लैजान सकिने गरी बजेट विनियोजन गरिएको छ । साथै, रणनीतिक सडकहरु छिट्टै सम्पन्न गर्ने बजेटमा उल्लेख छ । हाल जिल्लामा केही रणनीतिक सडकहरु बजेट अभावमा पुरा भएका छैनन् । कतिपय स्थानमा भने ठेकेदारको लापरबाहीले काम रोकिएका छन् ।





