सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बितरणमुखी बजेटले समाजवादमा पुग्न सकिंदैन: डा.महत

बितरणमुखी बजेटले समाजवादमा पुग्न सकिंदैन: डा.महत


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८२, मंगलबार

बागलुङ /पूर्व अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले बितरणमुखी बजेटले गन्तव्यमा पुग्न नसकिने बताएका छन् । बीपीको समाजवादमा पुग्न त झन वृहत योजनामा लगानी बढाएर दिगो बिकासका लक्ष्य भेटाउनुपर्ने बताए ।

बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको तीन तहको बजेट निर्माण प्रकृयाका समस्या र समाधान बिषयक बिचार गोष्ठीमा बागलुङ आएका महतले बितरणमुखी बजेट रोक्नुपर्ने बताए । उनले गत बर्ष आँफू अर्थमन्त्री हुँदा त्यसकैलागि ३ करोड भन्दा साना योजनामा संघले लगानी नगर्ने निर्णय गरेको दावी गरे । तर अहिले पनि कतिपय योजना साना र टुक्रे भएको आलोचना भैरहेको छ ।

समग्रतामा भने धेरै योजना ठूला बनेको उनले बताए । सोमबार बागलुङमा आयोजित कार्यक्रममा महतले स्थानीय र प्रदेश सरकारलाईपनि राजश्व बढाउने क्षेत्रको अध्ययन गर्न सुझाव दिए । साना योजना भन्दा धेरै नागरिकले फाइदा लिने एकदुइ योजनामा लगानी गरेर प्रतिफल निकाल्न सुझाए ।

उनले निजीक्षेत्रलाई उत्पादनमा लगाउने योजना चाहिएको पनि बताए । निजी क्षेत्र प्रोत्साहित बन्दा देशको आयश्रोत र कर राजश्वपनि बढेको भन्दै स्थानीय तहले पनि त्यो बिशेषता बुझ्नुपर्ने महतको भनाइ छ । महतले सोमबार २०४८ मा कांग्रेस सरकारले व्यवसायलाई भ्याटमा लगेपछि राज्यको बजेट पनि सयगुणा बढेको र निजीक्षेत्रलाई प्रोत्साहित गरेर कर तिर्न राजी बनाएको दावी गरे । भ्याट अघि १२ अर्बको बजेट अहिले १९ खर्ब पुग्नुमा दिर्घकालिन सोचकै उपज भएको समेत दावी गरे ।

कांग्रेसले निजीकरण मात्र गरेको नभइ निजी क्षेत्रलाई प्रोत्साहन गरेको महतको भनाइ थियो । राज्यले शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ र सडक निर्माणमा मात्रै लगानी गर्नुपर्ने र सोकालागि अर्बौ बजेट बिनियोजन गर्न सकिने उनको धारणा थियो । ‘अझै पनि हामीले अर्बौ कर उठाउने क्षेत्रमा दायरा बढाउन सकेका छैनौं, ती स्थानमा पुग्ने र घाटा व्यहोर्ने संस्था बन्द गर्ने हो’ उनले भने, ‘आर्थिक वृद्दि गरेर सबै जनतालाई धनी बनाउने र आयात प्रतिस्थापनले मात्र बीपीको समाजबादमा पुग्न सकिन्छ ।’ उनले अनगिन्ती योजना ल्याएर गाउँ र शहर बिकास नहुने बरु समाजबाद उन्मुख अर्थतन्त्रमा पनि पुग्न नसकिने टिप्पणी गरे ।

मतहले श्रोत बिनाको योजना र संरचनाको काम नगर्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह समेत गरेका छन् । प्रदेश सरकारले बहुबर्षे योजना बनाएर श्रोत सुनिश्चित नभएपछि धेरै अलपत्र परेको पनि महतको टिप्पणी छ । श्रोत बिना बहुबर्षे काम नगर्न पनि उनले सुझाव दिए । लोकप्रियताकालागि ल्याइएका योजनाा असफल बन्दा ले जनतामा निराशा छाएको महतको भनाइ छ । बितरणमुखी बजेटले समाजवादमा पुग्नै नसकिने भन्दै दिगो बिकास र भविष्य सम्म प्रभावपार्ने योजनाले मात्र समाजबादको बाटो तय गर्ने ठोकुवा समेत गरे । सयौं रोजगारी बढाउने, आत्मनिर्भर कृषि उत्पादन र पर्यटन प्रवद्र्दन जस्ता क्षेत्रमा लगानी बढाउन निजीक्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने पनि उनले बताए । बिकासमा प्राथमिकीकरण गर्ने, उत्पादनमा निजीक्षेत्रलाई अबसर दिने र अत्यावस्यक क्षेत्रमा मात्रै राज्यले लगानी गरेमा समाजवाद उन्मुख बिकास संभव हुने उनको भनाइ छ ।

परिणाम आउने योजना नल्याई कसैको खल्तीका योजनामा बजेट बिनियोजन गरियो भने फजुल खर्च मात्रै हुने उनको टिप्पणी छ । उत्पादन नदिएका सार्वजनिक संस्थान बिक्रीपछि धमाधम उत्पादन बढेको उनले बताए । सार्वजनिक संस्थान निजीकरणले राज्यलाई फाइदा पुगेको उनको दावी थियो ।

कम्युनिष्टले सरकार नियन्त्रित समाजवाद खोजेकोमा त्यो असफल भएको भन्दै बाध्यकारी ठाउ“मा मात्रै सरकारले लगानी गर्ने उनले बताए । गतबर्ष अर्थमन्त्री रहेको बेला ३ करोड भन्दा साना योजनामा बजेट नराख्ने नीति ल्याएको भन्दै अहिले त्यो ठूला योजना संचालनमा सहज बनेको बताए । प्रदेश र स्थानीय तहको पनि प्राथमिकताको क्षेत्रमा ठूला बजेटका योजना संचालन गर्न उनको सुझाव थियो । स्थानीय तहले ल्याउने बजेट र नीति पनि दिगो बिकास लक्ष्य पच्छ्उने खालको हुनुपर्ने उनले सुझाव दिए ।

प्रतिष्ठानका अध्यक्ष गोबिन्द प्रसाद शर्मा कंडेलको अध्यक्षता, सचिव डा. रामबहादुर केसीको संचालन र गोबिन्दप्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्का, संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, पार्टी सभापति जितबहादुर शेरचन, प्रदेश सांसद दिपेन्द्र थापा, द्रोण कुँवर, पुर्व मन्त्री मणीभद्र शर्मा, पर्वत कांग्रेसका पुर्व सभापति नवराज गुरुङ लगायतले शुभकामना मन्तव्य राखे । कार्यक्रममा बागलुङ क्षेत्र नं. २ को क का कांग्रेस सभापति तिलक घर्ती, बानपा ९ का अध्यक्ष राजु थापा, १३ का अध्यक्ष नारायण शर्मा पौडेल, १४ का अध्यक्ष चक्रबहादुर खत्री, सामुदायिक बिद्यालयका अगुवा टिकाराम थापा, बिद्यार्थी नेता बिशेष पराजुली, महिला नेतृहरु सीतादेवी सापकोटा र ज्योती बिष्ट, अपांगता भएकाहरुको तर्फबाट होमनाथ शर्मा समेतले कार्यक्रममा बीपीको समाजबाद बारे जिज्ञाशा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->