बागलुङ/व्यवसायीले स्थानीय सरकारलाई करको दायरा फराकिलो बनाउन र दर घटाउन माग गरेका छन् । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघबीच भएको अन्तरक्रियामा सहभागिले करका दायरा फराकिलो बनाउन माग गरेका हुन् । नगरपालिका पनि सक्षम बन्ने र व्यवसायी पनि उत्साही हुने खालको नीति र बजेट चाहिएको समेत व्यवसायीको सुझाव छ ।
विभिन्न क्षेत्रमा लगाइएको कर नतिरेपछि नगरपालिकाले लक्ष्य भेटाउन सकेको छैन भने व्यवसायीले पनि कर तिर्न आनाकानी गर्दै आएका छन् । व्यवसायीहरु नगरको नीतिप्रति असन्तुष्ट पनि थिए । हालै सम्पन्न १९ औं अधिवेसनबाट निर्वाचित बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य नेतृत्वको टोलीले नगरप्रमुख, उपप्रमुख र जनप्रतिनिधिलाई व्यवसाय प्रवद्र्दन गर्ने कार्यक्रम ल्याउन माग गरेको छ ।
व्यवसायी संगको भेटमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले निजी क्षेत्र नै आर्थिक समृद्दिको आधारस्तम्भ भएकोले सहकार्यमा आगाडि बढ्न चाहेको बताए । बागलुङ उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष समेत भएकोले व्यवसायमैत्री वातावरण बनाउने नीतिमा सहमत भएको पनि उनको भनाई थियो ।
‘आर्थिक समृद्दिका लागि सरकारी र निजी क्षेत्रको सहकार्य नै आवस्यक छ’ श्रेष्ठले भने, ‘साझेदारीका कार्यक्रमबाट अगाडि बढ्ने गरी नीति आउने छ ।’ व्यवसायको सुरक्षा दिन पनि नगरपालिका तयार रहेको श्रेष्ठको भनाइ थियो । आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा रहेको बेला नगरपालिकाका प्रतिनिधि र व्यवसायीबीच भेट भएको हो ।
कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले नगरपालिकाको परिकल्पना अनुसार बजेट निर्माणमा व्यवसायीको सुझावको आवस्यकता रहेको बताए । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बजारमा काम गर्ने जनशक्ती नभएर विदेशी ल्याउनुपरेको भन्दै दक्ष जनशक्ति उत्पादन र उद्यमी टिकाउने नीति चाहिएको बताए । उद्योग, पर्यटन र रोजगारीको क्षेत्रमा नगरपालिकासँगको साझेदारीका कार्यक्रम खोजिएको पनि उनको धारणा थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम, महासचिव इन्द्रमणी पौडेल (अर्जुन) र नगरपालिकाका प्रशासकीय अधिकृत भिमसेन पन्तले आफ्नो धारणा राखेका थिए । उक्त अवसरमा निर्वाचित पदाधिकारीलाई नगरपालिकाले सम्मान समेत गरेको थियो ।





