बागलुङ/नेपाल टेलिकम बागलुङ शाखाले मुस्ताङको स्याङतामा ३ जी सेवा विस्तार गरेको छ । १५ घरमात्रै रहेको स्याङता गाउँ ४ हजार ४ सय मीटरको उचाइमा छ । यहाँ अहिलेसम्म टेलिफोन गर्न पनि कठिन अवस्था थियो ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. २ को यो गाउँमा ४५ जना मात्रै मतदाता रहेको बताइएको छ । नयाँ गाउँ बसेपछि स्थानीयको मागलाई मध्यनजर गरेर तत्कालका लागि ३ जी सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख बरिष्ठ इन्जिनियर सन्तोष बरालले बताए । यो गाउँको बाटो भएर डोल्पा जाने सडक बनिरहेकोले बस्ती विस्तार हुन सक्ने भएकोले थप सेवा बिस्तार गर्दै जाने योजना रहेको बरालले सुनाए ।
यो बस्तीमा अहिलेसम्म विद्युत सेवा पनि नभएकोले सोलारबाट टावरमा विद्युतीकरण गरेर सेवा संचालनमा ल्याइएको हो । यो गाउँको सडक समेत वर्षमा ७ महिना मात्रै चल्छ । ५ महिना हिउँ जमेर यात्रा गर्न पनि नसकिने भएपछि मानिस बस्दैनन् । घिउला डाँडाबाट रिपिटर राखेर स्याङतामा पावर पु¥याइएको हो । यसअघि यहाँका मानिसले सामान्य टेलिफोन गर्न पनि पाएका थिएनन् ।
त्यस्तै म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं. २ को लुलाङमा पनि २ जी र ४ जी सेवा विस्तार गरिएको छ । यसअघि गुर्जामा ४ जी संचालन भएपछि बाँकी रहेको बिटिएस टावरको उपकरण लुलाङ लगेर जडान गरिएको थियो । खोरियो, मुन, लमसुङ, लुलाङ, मरेनी र जलजला क्षेत्रलाई लक्षित गरेर यहाँ बिटिएस टावर संचालनमा ल्याइएको हो ।
यसअघि मुदीमा मात्र बिटिएस टावर रहेकोमा त्यसले नटिपेपछि स्थानीयले पटक पटक माग गर्दै आएका थिए । अब भने फोन र इन्टरनेटका लागि पनि स्थानीयले सेवा पाउने भएका छन् । यहाँ भने नेपाल विद्युत प्राधिकरणले पनि केन्द्रीय प्रशारण लाइन विस्तार गरेको छ । यो लाइन विस्तारपछि सेवा संचालनमा आएको हो ।
स्थानीयले श्रमदान गरेर मुस्ताङको स्याङता र म्याग्दीको लुलाङमा पनि उपकरण राख्ने घर बनाएका छन् । यो सेवा विस्तारसँगै धौलागिरि क्षेत्रमा २ जी संचालन भएका १ सय ५४ टावर, ३ जी संचालन भएका १ सय २९ टावर र ४ जी संचालन भएका १ सय ३० वटा टावर पुगेको बरालले जानकारी दिए ।
स्थानीयको आवस्यकताको आधारमा माग आएपछि टेलिकमले सर्भे गरेर उपकरण जोड्ने काम गर्ने बरालले बताए । यो बाहेक सेक्टर एक्स्टेन्सनमार्फत पनि केही स्थानमा सेवा संचालनमा छ । बागलुङमा ६ वटा, मुस्ताङमा ६ वटा र म्याग्दीमा ५ वटा सेक्टर एक्स्टेन्सन पनि संचालनमा छन् ।





