पोखरा/नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड म्याग्दीले विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको छ । बेनी नगरपालिका ७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थीहरुलाई बैंक खाताको महत्व, भूमिका, बचतको महत्व, बचललाई कसरी लगानी गरि बढि प्रतिफल लिन सकिन्छ, डिजिटल बैंकिङको प्रयोग तथा सावधानीको बारेमा सिकाइएको थियो ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बेनी शाखा प्रमुख उपेन्द्र गौतमले जानकारी दिए । विद्यार्थीहरूलाई स्कुलको पढाइसँगै बैङ्किङ सम्बन्धी विषयमा आधारभूत ज्ञान प्रदान गरी भविष्यमा उनीहरूले लिने वित्तीय निर्णयहरूलाई सहज र प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यले साक्षरता कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
आगामी दिनमा पनि बैंकले वित्तीय साक्षरतालाई निरन्तरता दिने उनले बताए । विद्यार्थीहरुलाई डिजिटल कारोबार, ब्यालेन्स ट्रान्सफर, एटिएमको प्रयोग, शेयर बजारलगायतको विषयमा कर्जा विभा प्रमुख धु्रव भट्टराईले सहजीकरण गरेका थिए ।
कार्यक्रममा माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसी र भाइस प्रिन्सिपल धुर्वसागर शर्माको विशेष उपस्थिति रहेको थियो भने ५५ भन्दाबढी विद्यार्थीको सहभागिता थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको हाल देशभर ७४ जिल्लामा सञ्चालित २ सय ७५ वटा शाखा र ६५ एक्सटेन्सन काउन्टरमार्फत सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा शाखा सञ्चालन प्रमुख निर्मला आचार्य र कर्जा विभाग प्रमुख धुर्व भट्टराईले संयुक्त रूपमा बैंकमा खाता खोल्ने प्रक्रिया, बचत गर्नुका फाइदा, बैंकको सेवा, सुविधाबारे सहजीकरण समेत गरेका थिए ।





