पोखरा / गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात् दिपक मनाङे पदमुक्त भएका छन्। उनी झुटो विवरण राखेर सांसद् बनेको ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई पदमुक्त गरेको हो।
फौजदारी अभियोगमा दोषी ठहर भई कैद सजाय भोगिरहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने कानुनी व्यवस्था रहेको भन्दै अधिवक्ता वीरेन्द्रराज कार्कीले उनको सांसद पद खारेजीको माग गर्दै रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले रिटलाई आंशिक रूपमा जारी गरेको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले मनाङे उम्मेदवार बन्न नै अयोग्य रहेकोले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको हो। रिट निवेदकले उनको पद प्रारम्भदेखि नै खारेज गर्न माग गरे पनि अदालतले फैसला भएको मितिदेखि मात्र पदमुक्त हुने फैसला सुनाएको छ।
प्रधानन्यायाधीश प्रकाशमान, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद आजका दिनदेखि बदर भएको निर्णय गरेको हो।
उनी २०७९ को प्रदेशसभा चुनावताका अयोग्य रहेको तर अहिले उनले योग्यता गुमाएको इजलासको ठहर छ। ‘उनको ५ वर्ष कैद भएको मानेर आजका दिनदेखि सांसद पद बदर भएको हो। अब उनी पदमा रहेनन्,’ अदालत उच्च स्रोतले भन्यो।
उनी खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका थिए। २१ वर्षअगाडि २०६१ सालमा दीपक मनाङेको समूहले अर्का गुण्डानाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो। ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमणमा उत्रिएको थियो।
सोही घटनामा चक्रे मिलनले मनाङेबिरुद्ध मुद्दा दर्ता गरेका थिए। जिल्ला अदालतले उक्त घटनालाई सामान्य कुटपिटमात्र भनेर दुई वर्ष कैद सुनाए पनि सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने प्रयास गरेको कसुरमा सजाय सुनाएको थियो।
अधिवक्ता कार्कीले २०७९ पुस १३ गते मनाङेको योग्यतामा प्रश्न उठाउँदै प्रदेश सभा सदस्यको उम्मेदवार बन्न नपाउने जिकिर गरी सर्वोच्चमा रिट दायर गरेका थिए। मनाङे विभिन्न फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएकाले चुनावमा उम्मेदवार बन्न नपाउने उनको तर्क थियो।
तर, त्यसबखत फैसला अन्तिम नभइसकेको र सर्वोच्चमा पुनरवलोकनको क्रममा रहेको कारण चुनाव लड्न अयोग्य नभइसकेको तर त्यसपछि सर्वोच्चबाट अन्तिम फैसला भएकाले अब उनी पदमा रहन नपाउने संवैधानिक इजलासको निष्कर्ष छ। मनाङे हाल ज्यान मार्ने उद्योगको मुद्दामा सर्वोच्चबाटै दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।





