पोखरा/पोखरा गण्डकी प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले बजेट पारदर्शी नभएको बताएका छन् । प्रदेश सभाको बुधवारको बैठकमा विशेष सयम लिएर बोलेका चुमानले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमाथि बोल्दै यस्तो बताएका हुन् ।
अहिले खुला बजेटको बहस भइरहेको छ तर प्रदेश सरकारले ल्याएको बजेट खुलापनमात्र नभई पारदर्शी पनि नभएको उनको भनाई थियो । ‘यो बजेटमा नागरिकको सहभागिता छैन्, सुशासन र राष्ट्रिय, अन्तराष्ट्रिय मापदण्डका विषयमा पनि बजेटले खरो रुपमा उठाइएको छैन’, उनले भने, ‘बजेटलाई खुलापन र पारदर्शी बनाउन जोड दिन चाहे ।’
सरकारले यसअघिको दायित्व बढेका कारण यसपटक एक अर्ब बजेट घटाएर ल्याएको भन्ने आफ्नो बुझाई रहेको भन्दै उनले दायित्वको भुक्तानी गर्न हो भने बजेट घट्नु ठिकै रहेको बताए । तर कुन मन्त्रालयको कति भुक्तानी दायित्व हो भन्ने कुरा खुलेर आएको भए राम्रो हुने उनको भनाई थियो । ‘भौतिक मन्त्रालयको भुक्तानी गर्नुपर्ने १३ अर्ब ६५ करोड दायित्व छ । त्यो दायित्व मध्ये आगामी वर्ष सरकारले कति भुक्तानी गर्दैैछ ? नयाँ योजना कति आए भनेर भन्नुपथ्र्यो, यसले बजेट पारदर्शिता हुन्थ्यो’, उनले भने, ‘बहुवर्षीय योजनामा पनि स्रोत सुनिश्चित गरेर बजेट ल्याउन पाएको भए राम्रा हुन्थ्यो ।’ निर्माण व्यवसायीले योजनामा कति बजेट छ भनेर हेरेर मात्र काम गर्न थालेको भन्दै उनले यसले गर्दा बहुवर्षीय र बहुवर्षीय र क्रमागतमा रहेका योजना चौपट भएका बताए ।
बजेटमा कृषि र उद्योग क्षेत्रबाट जीडीपीमा योगदान बढाउन सरकारको जोड हुनुपर्ने भन्दै चु्मानले नीति कार्यक्रममा दिइएको सुझावलाई बजेटमा नसमेटिएको बताए । उत्पादन र उत्पादकत्व बढाउन प्रांगारिक मल उद्योग खोल्नेतर्फ सम्बोधन नभएको, युवालाई स्वदेशमै रोक्ने खासै उपाय नल्याइएको, प्रदेश समृद्धिको आधार कृषि होकी पर्यटन भन्ने यकिन नभएको उनले आरोप लगाए । आन्तरिक राजस्व बढाउन उत्पादनमा सहजीकरण, राजस्वमा विविधिकरण गर्नु जरुरी रहेको भन्दै उनले राइड सेयरिङलगायत विविधिकरणखोजिए पनि यतिले मात्र नपुग्ने बताए ।
खर्च गर्ने क्षमताको सम्बन्धमा पनि प्रदेश सरकार कमजोर रहेको उनले बताए । नगद मौज्दात सवा दुई अर्ब रहेको र त्यो बजेटको मुख्य स्रोत भन्दा खर्च गर्न नसकेको आरोप लाग्नेतर्फ ध्यान दिन उनले सुझाए । ‘नगद मौज्दात बजेटको मुख्य स्रोत भन्दा बाहिरकाले के भन्लान’, उनले भने, ‘खर्च गर्न सकेनछ भनेर हाम्रो मुल्यांकन हुने त हो ।’ बजेटले उत्पीडीत, पिछाडिएको क्षेत्र, लिंग, समुदायलाई त्यति ध्यान नदिएको उनले बताए । सहिद, बेपत्ता र योद्धाका परिवार र उनीहरुका नाममा निर्मित संरचनाका विषयमा बजेटले नसमेटेको भन्दै उनले गम्भिर आपत्ती जनाए ।
सरकारका राम्रा कामलाई समर्थन गर्दै कमीकमजोरी औल्याइएको र गम्भिर आलोचना गरे पनि मिडियाले तथ्य बंगाएको उनको गुनासो थियो । ‘प्रतिपक्ष भनेको सरकारको बिरोध मात्रै गर्ने हो भन्ने बुझाई रहेको छ’, उनले भने, ‘अपोजिशनको अर्थ बिरोधमात्र गर्ने होइन, राम्रोलाई ठिक भन्ने, कमजोरी औल्याउने र खबरदारी पनि गर्ने हो बुझ्न जरुरी छ ।’ आफुहरु हामी राष्ट्र र जनताप्रति जिम्मेवार भएर आएका दावी गर्दै उनले संविधानले स्विकारेको गणतन्त्र, संघीयता, समानुपातिक, धर्म निरपेक्षता र समावेशिताको बाहक र प्रस्तावक माओवादी रहेको, कांग्रेस एमालेलगायत दलको समर्थनमा यो व्यवस्था र संविधान आएको बताए ।
बजेटमाथि सामान्य छलफल
यसैबीच यही असार १ गते अर्थमन्त्री डा.टकराज गुरुङले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷०८३ को बजेटमाथि बुधवारदेखि प्रदेशसभामा छलफल सुरु भएको छ ।
बुधवार भएको सामान्य छलफलमा सत्तापक्षका सांसदहरुले खुलेर बजेटको समर्थन गरेका थिए भने विपक्षीले खोट लगाएका थिए । कांग्रेसका महेश भट्टराईले आर्थिक अवस्था कमजोर भएको बेला पनि प्रदेशको आर्थिक बृद्धिदर बढेको बताए । एमालेका लिलबहादुर थापामगरले बजेटले केही प्रगतिशिल कदमहरु अघि सारेको भन्दै घाटा बजेट ल्याउन नहुने धाराण राखे । राप्रपाकी बिन्दु पौडेलले बजेटले नीति तथा कार्यक्रमले सम्बोधन गरेका विषयलाई समेट्न नसकेको, रोजगारी बढाउने योजना नल्याएको, बजेटको आकार साँघुरिदै आएको बताइन ।
कांग्रेसकी सरस्वती गुरुङले प्रदेशलाई आत्मनिर्भर बनाउन सहयोगी हुने विश्वास गर्दै कार्यान्वयन, पारदर्शी, जवाफदेही र सुशासनको प्रत्याभूति हुने खालको बजेट रहेको बताइन् । एमालेकी निर्मला थापाले बजेटको प्रशंषा गरिन् भने माओवादी केन्द्रका हरिबहादुर भण्डारीले प्रमुख प्राथमिकताको क्षेत्र कृषि होकी की पर्यटन भनेर छुट्टाउन नसकेको बताए । साथै बजेट चुनावकेन्द्रीत रहेको उनको आरोप थियो । कांग्रेसकी दिलमाया पौविले डाटा अनुसार नागरिककोमा पहुँच नपुगेको बताइन । एमालेका सुधिरकुमार पौडेलले संघीयताको मर्मलाई बुझेका, तीन तहका सरकारबीचको समन्वयलाई जोड दिएको बताए ।
माओवादीकी दमयन्ती रुचालले दलित समुदायलाई बजेटले केही नगरेको र भूमी बैंकमा मौन रहेको बताईन । कांग्रेसकी सुनीता थापाले बहुजन हिताय र बहुजन सुखाय खालको बजेट रहेको भन्दै यसको सही कार्यानवयनमा जोड दिइन । एमालेका भीमबहादुर कार्कीले योजना, लक्ष्य र कार्यन्वयन झल्किएको, धेरै विषय उठाएको तर तथ्यांक भने निकै कम रहेको बताए भने कांग्रेसकी कल्पना तिवारीले दलित, जनजाति, अल्पसंख्यकविपन्न, लगायत प्रदेशबासी सबैलाई बजेटले समेटेको भए पनि कार्यान्वयनमा चुनौति रहेको बताइन् ।





