काठेखोला गाउँपालिका बागलुङ नगरपालिकापछि भौगोलिक दूरीका हिसाबले सुगम गाउँपालिका हो । यहाँ प्रशासनिक कामका लागि कर्मचारीको अभाव बिरलै हुन्छ । कार्यपालिका र गाउँसभाबाट बनेका योजनाका काम हुन् वा नियमित प्रशासनिक काम गर्न काठेखोलालाई जनशक्तिको अभाव छैन । काठेखोला गाउँपालिकामा चालु आर्थिक वर्षमा विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था कस्तो छ ? के योजना कार्यान्वयनमा समस्या छन् ? बजेटका कारण आउने समस्या कसरी समाधन हुन्छन् ? यी र यस्तै विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण कार्कीसँग सहकर्मी तारानाथ आचार्यले कुराकानी गरेका छन् । प्रस्तुत छ कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
गाउँपालिका कसरी चल्दै छ ?
हामी वार्षिक कार्यक्रम सक्ने चरणमा छौं । कार्यालयका काम र वार्षिक विनियोजन भएका कामसँगै प्रभावकारी ढंगले सम्पादन गर्ने काम भैरहेको छ ।
चालु आर्थिक वर्षलाई फर्केर हेर्दा कस्तो लागेको छ ?
काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा निकै उत्कृष्ट ढंगले कार्यक्रम सञ्चालन गर्न सफल भएको छ । हालसम्मको अवस्थालाई हेर्दा, आर्थिक वर्ष २०८१÷८२ का लागि कुल ५८ करोड ७७ लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको थियो । त्यसको आधारमा हालसम्म ८८.११ प्रतिशत बजेट निकासा भइसकेको छ, जुन निकै सन्तोषजनक हो ।
यदि खर्चको विवरण हेर्ने हो भने, चालु खर्च ६८ प्रतिशत, पूँजीगत खर्च ६६.८३ प्रतिशत र कुल बजेटको सन्दर्भमा ६७.७ प्रतिशतभन्दा बढी रकम खर्च भइसकेको छ । यसलाई हेर्दा म सन्तुष्ट छु । किनभने अहिलेको समयमा धेरै स्थानीय तहहरू पूँजीगत खर्चमा पछि परिरहेको अवस्थामा हामीले देखाएको यो प्रगति निकै सकारात्मक हो । चालु खर्च अपेक्षाकृत माथि गएको र पूँजीगत खर्च पनि सन्तोषजनक रूपमा अगाडि बढिरहेको देखिन्छ ।
अझै पनि झण्डै ३४ प्रतिशत त पूँजीगत खर्च गर्न बाँकी छ नि ?
हो, पूँजीगत खर्चको सन्दर्भमा हेर्दा हाल झण्डै ३४ प्रतिशत खर्च गर्न बाँकी देखिन्छ । तर, पूँजीगत खर्च ९० प्रतिशत पु¥याउनु भनेको राज्यको दृष्टिमा निकै उत्कृष्ट मानिन्छ । अहिले बाँकी रहेको ३४ प्रतिशत खर्च पनि आगामी केही दिनभित्र (असार २५ गते १२ बजेसम्म) योजना सम्पन्न भएकाहरुको खर्च गर्न सकिन्छ । राज्यले पूँजीगत खर्च ८० प्रतिशत खर्च गरेकालाई उत्कृष्ट मान्ने गरेको छ । काठेखोला गाउँपालिकाको वित्तीय खर्च र कार्य सम्पादनको अवस्था अहिले निकै सन्तोषजनक छ भन्ने मलाई लाग्छ ।
कार्यक्रम कार्यान्वयनमा सजिलो छ ?
कार्यान्वयनका दृष्टिकोणले हेर्दा साना टुक्रे योजनाहरुको तुलनामा ठूला ठेक्काका योजनाहरु प्रभावकारी हुन्छन् । काठेखोलामा १, २ वटा पुराना क्रमागत योजनाहरु पनि बाँकी छन्, जसको प्रगति ८० प्रतिशतसम्म पुगेको छ ।
निर्माण व्यवसायीका काम ठीक कि उपभोक्ता समितिका काम ?
राज्यको पोलिसी के हो भने निर्माण व्यवसायीमार्फत् कार्यक्रमहरु संचालन गर्दा उनीहरुले त्यसमा अंकहरु प्रतिस्पर्धा हुने हुँदा केही कममा घटेर योजना हुन्छन् । यसलाई एकैपटक भन्दा तैलें काम गरेनस् भनेर नियमन गर्न सजिलो हुन्छ । तर पनि उपभोक्ता समितिमार्फत पनि अहिले सिस्टम बसेको छ । योजना संचालन गर्दा उहाँहरुले १० प्रतिशत आफ्नो जनश्रमदान गर्नुपर्छ । कुल लागतको गर्ने हुँदा उहाँहरु सिस्टममा आइसक्नुभएको छ । जति कामहरु हामीले गर्छौँ,ती सबै काम उनीहरुसँग सिस्टम बसिसक्यो । सफ्टवेयरमार्फत सम्झौता हुन्छ । सफ्टवेयरमा सबै कागजपत्रहरु बनाउँछौं र भुक्तानी दिन्छौं । त्यो हिसाबले पनि काठेखोला गाउँपालिकाको हकमा त्यस्तो अवस्था रहेको छैन ।
सामाजिक विकास र पूर्वाधारका काम सँगै भएका छन् त ?
पूर्वाधार विकास सर्वसाधारणको पनि पहिलो रोजाईको विषय हो । सामाजिक विकासका कामलाई हामीले जोड दिएकै छौं । हामीले पूर्वाधारको क्षेत्रमा वडागत सडक, दिगो सडक, भवन पूर्वाधार, सिंचाई खानेपानी लगायतका क्षेत्रमा काम गरेका छौं । सामाजिक विकासतर्फ विद्यालयहरुको सुधार, स्वास्थ्य संस्थाको सुधार लगायतका काम गरेका छौं ।
सामाजिक विकासका कामको कसरी मूल्यांकन गर्नुभएको छ ?
स्वास्थ्य क्षेत्रलाई हेर्दा पहिलेको सातवटा वडा र एउटा वडा विभाजन भएर आएको थियो । स्वास्थ्यका सात वडा राम्रो भवनहरु छन् । सेवा प्रवाह त्यहाँबाट राम्रोसँग भइरहेको छ । पाँच नम्बर वडा बिहुँकोटलाई विभाजन गरेर दुई वटा वडा गराउँदा पाँच नम्बरमा आधारभूत सामुदायिक स्वास्थ्य स्थापना गरेका छौं । त्यसबाट सेवा प्रवाह भइरहेको छ । स्वास्थ्यमा दरबन्दी अनुसारका स्थायी कर्मचारी हुनुहुन्छ । सेवा राम्रोसँग प्रवाह भएको छ । स्वास्थ्यमा आज कति जनाले सेवा लिए त भनेर गाउँपालिकाबाटै प्रविधिको माध्यमबाट हेर्न सकिन्छ । हामीसँग सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् । स्वास्थ्य इकाईमा करारका कर्मचारी राखेर काम गरिरहेका छौं ।
शिक्षाको क्षेत्रमा हामीले यहाँका ४९ वटा समुदायिक विद्यालय र दुई वटा विद्यालयहरु गतवर्ष विद्यार्थी संख्या कम भएकोले ४७ वटा विद्यालय गराएका छौं । अहिले ३ सय ४२ जना शिक्षकहरुको दरबन्दी छ । दरबन्दी भए पनि विद्यार्थीसँग गाउँपालिकाको मात्र होइन नेपालकै समस्या भएकोले गाउँपालिकामा कम रहेको छ । यसलाई हामीले भर्ना अभियान संचालन गर्नु अगाडी कति विद्यालयलाई मर्ज गरेर संचालन गर्न सकिन्छ भनेर उपाध्यक्षको नेतृत्वमा समिति गठन गरेका थियौं ।
कति सहज छ विद्यालयलाई स्थगन गर्न र मर्ज गर्न ?
विद्यालयलाई मर्ज गर्नु जटिल विषय हो । यो समुदयसँग जोडिएको विषय हो । हामीले दुई–तीनजना विद्यार्थीमात्र राखेर विद्यालय संचालन गराउनुपर्छ भन्ने सोचेका छैनौं । ती विद्यार्थीलाई नजिकैको विद्यालयमा लैजाने सोचेका छौं । हामीले मापदण्ड बनाएका छौं । कम्तीमा एउटा विद्यालयमा १२ जना विद्यार्थी भएमा १–३ विद्यालय चलाओस् । यस्तै १–५ चलेको विद्यालयमा एउटा कक्षामा कम्तीमा ५ जना विद्यार्थीका दरले होस् । ६–८ मा ६ जना विद्यार्थीको दर हुनुपर्छ भन्ने मापदण्डमा धेरै छलफलपछि बनाएका छौं । त्यसमा विद्यालयका शिक्षक र वडाध्यक्ष सँगको सहकार्यमा मनाउने प्रयास भइरहेको छ ।
प्रविधिको प्रयोग कसरी गर्नुहुन्छ ?
सूचना प्रविधिको कुरामा मैले माथि पनि भनिसकेको छु । हामीले एउटा बिरामीले कति बेला परीक्षण ग¥यो भनेर पालिका भवनमै बसेर हेर्ना सक्छौं । उपाध्यक्ष ज्यू सूचना प्रविधिमा अझ बढी अपडेट हुनुहुन्छ । उहाँले आफ्नो कार्यकक्षमा आउनुभयो भने वेवसाइट खोलेर हेर्न सक्नुहुन्छ । स्वास्थ्य संस्थामा कति जनाले परिक्षण गरे भनेर हेर्न सक्नुहुन्छ ।
सूचना प्रविधिको विकास सबै क्षेत्रमा गरेका छौं । योजना सम्झौता गर्दा, रकम भुक्तानी दिँदा प्रविधिको प्रयोग गरेका छौं । हामीले दर्ता चलानी पनि सफ्टवेयरमार्फत गछौं । हरेक कुरामा हामीले प्रविधिको विकास गरेका छौं । यहिं हिसाबले सूचना प्रविधिको क्षेत्रमा हामीसँग सबै कामहरु त्यसैबाट हुने गर्छ र राजश्व कुनै कर लिँदा पनि सफ्टवेयरको प्रयोग गर्छौँ । सफ्टवेयर प्रयोग गरेपछि आज कुन वडाले कति राजश्व संकलन ग¥यो, पालिकाले कति आम्दानी ग¥यो भनेर हेर्न र थाहा पाउन सक्छौं । आज यति आम्दानी भयो, यति निकासा भयो, यति खर्च भयो, यति बाँकी छ, यो शीर्षकमा यति खर्च भयो भन्ने सफ्टवेयरको प्रयोगले थाहा पाउन सक्छौं ।
तपाईसँग भएको जनशक्तिले यहाँ बनेको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने स्थितिमा हुनुहुन्छ ?
काठेखोलाको अहिलेको जनशक्ति चुस्तदुरुस्त छ । हामीकहाँ पर्याप्त जनशक्ति छ । २०७५ सालमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जुन दरबन्दी सिर्जना र समायोजन ग¥यौँ । हामीसँग दिएको जनशक्ति २९ जना हो । हामीसँग एउटा सहायक स्तरको कर्मचारी बाहेक पदपूर्तिको अवस्था पनि छ । तिनीहरुलाई प्रयोग गरेका छौं । हामीसँग दक्ष र अनुभवी जनशक्ति रहेकोले राम्रोसँग काम गरिरहेका छौं । हामी कर्मचारी कार्यालय समयमा कार्यालयमा आउनुपर्छ । टेबुलमा बसेपछि जनताको काम गर्नुपर्छ । जनता आएपछि फर्केर नजाउन भनेर काम गरिरहेका छौं । काठेखोला गाउँपालिकाका कर्मचारीप्रति गुनासो छैन भन्ने लाग्छ ।
गाउँपालिकामा आएपछि मैले यो कारणले दुःख पाए, नियतबश दुःख दिए, कर्मचारी वा हाकिम भएन भनेर दुःख पाइयो भन्ने गुनासो छैन हामीसँग । किनभने टेबुलमा आएको कागजात मबाट शाखामा पुगे साथीहरुले त्यसलाई तदारुकताका साथ अघि बढाउनुहुन्छ र त्यो काम तुरुन्त गरिदिनुहुन्छ । त्यस्तो छैन । प्राविधिक हामीसँग लगत अनुमान, डिजाइन, ड्रिङ गर्नको लागि हाम्रो प्राविधिक जनशक्तिलाई भनिरहनुपर्दैन । उहाँहरुले आफै तयारी गर्नुहुन्छ । उहाँहरुलाई मैले पहिल्यै भनिसकेको छु– तपाईहरु फिल्डको कर्मचारी फिल्डमा जानुपर्ने हुन्छ । त्यसकारण मलाई सोधिरहनु पर्दैन । तपाईहरु फिल्डमा गएर काम गर्नुस् । यो हिसाबले जनशक्ति पनि चुस्तदुरुस्त छ । असजिलो अवस्था छैन । त्यसकारण यहाँको प्रगति झण्डै ६८ प्रतिशत पूँजीगत खर्च छ भन्नुको कारण पनि जनशक्ति हो ।
अन्त्यमा केही ?
मैले काठेखोला गाउँपालिकाको अहिलेसम्मको गतिविधि र चालु आर्थिक वर्षको ११ महिना चलिरहँदा यहाँहरुमार्फत् मैले नागरिकमा पु¥याउने अवसर दिनुभयो । त्यसको लागि पनि ढोरपाटन पत्रिकाको टिमलाई म र काठेखोला गाउँपालिका परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु ।




