शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ढोरपाटन नगरपालिकाका उपप्रमुख श्री धनबहादुर कायतबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेट

ढोरपाटन नगरपालिकाका उपप्रमुख श्री धनबहादुर कायतबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेट

नेपाललाई ऋण बिनाको देश बनाउन ‘ऋण मुक्त देश’ निर्माण गर्ने अभियानका निम्ति ५ लाख


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८२, शनिबार

एडभोटोरियल

नगरसभा सदस्य ज्यूहरु,
संघीयता कार्यान्वयनपछि सम्पन्न भएको दोस्रो स्थानीय निर्वाचन पछिको चौथो वर्षमा हामी यो बजेट तथा कार्यक्रम प्रस्तुत गर्न गईरहेका छौँ । यसै क्रममा संघीय शासन व्यवस्थाका लागि संघर्षरत रहँदा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात वीर सहिदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु

संविधानले समावेशी राष्ट्र तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने दीर्घकालिन सोचलाई साकार बनाउने लक्ष्य लिनुका साथै आधारभुत सरकारी सेवाहरु स्थानीय सरकारको प्रत्यक्ष परिचालनबाट सबै नागरिकहरुमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी प्रभावकारी सेवाको आपूर्ति र गुणस्तरमा जोड दिएको छ ।

स्थानीय सरकार विभिन्न विचारहरुको साझा फुलबारी (इन्द्रेणी) मात्र होईन यो त समावेशिताको संगम पनि हो । तसर्थ हामी स्थानीय सरकारका जनप्रतिनिधिहरु एउटै मालामा उनिएका फुलहरू हौँ । हाम्रो साझा संकल्प सामूहिक प्रयासमार्फत् विकासको प्रतिफल पिँधमा रहेको वर्गमा पुर्याउन सफल हुनु पर्नेछ ।

तीनै तहका सरकारको राजश्वको अधिकार बाँडफाँटड,बजेट व्यवस्थापन, सार्वजनिक खर्च र वित्तीय सुशासन कायम गर्न अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय तहको विकास, स्थानीय तहमा विद्यायिकी, कार्यकारीणी र न्यायीक क्षेत्रको संस्थागत अभ्यास गरी व्यवस्थित सरकार सञ्चालन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी भइ कार्यान्वयनमा आएपछि लोकतन्त्रका मुल्यहरुको वितरण गर्दै समावेशिताको अभ्यास, जवाफदेहीता, पारदर्शीता र प्रभावकारी स्थानीय शासनको अनुभूति जनतालाई गराउने दायित्व निर्वाचित जनप्रतिनिधिहरुमा रहेको छ ।

चालु वर्षमा नगरसभा संचालनको निर्धारित समय सिमाभित्र नै ढोरपाटन नगरपालिकाको बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा निकै खुशी लागेको छ । यस सुखद परिवेशमा नगर सभा संचालनका लागि एकतावद्ध रहदै सहयोग गर्नुहुने सभाका सदस्यज्यूहरु, राजनैतिक दलका प्रतिनिधिज्यूहरु, लगायत संबद्ध सबैमा हार्दिक आभार प्रकट गर्दै यसको कार्यान्वयनमा साथ र सहयोगको अपेक्षा गर्दछु ।

चालु आर्थिक वर्ष २०८१।०८२ को हालसम्मको आय र व्ययको संक्षिप्त विवरण प्रस्तुत गर्न अनुमति चाहन्छु ।
१. चालु आर्थिक वर्ष २०८१।०८२ को असार ४ गते सम्मको कूल बजेट रु. ६८ करोड ५३ लाख ५० हजार ५ सय रुपैयाँ रहेकोमा वास्तविक आय रु. ६२ करोड ०१ लाख ३३ हजार ९ सय ६२ रुपैयाँ ७८ पैसा रहेको छ । जुन अनुमानित आयको ९०.४८ प्रतिशत हुन आउँछ । सो मध्ये चालु खर्च ६८.८८ प्रतिशत र पूँजीगत खर्च ६४.११ प्रतिशत गरी समग्रमा ६७.०९ प्रतिशत प्रगति हासिल भएको छ ।
२. आर्थिक बर्ष २०८१।०८२ को संघ सशर्त अनुदान चालुतर्फ रू. २६ करोड १८ लाख ९७ हजार ५ सय रुपैयाँ मात्र अनुमान गरिएकोमा चालु आ.व. को हाल सम्ममा रु. २५ करोड २२ लाख ०७ हजार २ सय २० रुपैयाँ आम्दानी भएको छ । त्यसैगरी संघीय सरकार सशर्त अनुदान पुँजीगततर्फ रु. १३ करोड ९७ लाख ३ हजार अनुमान गरिएकोमा रु. १३ करोड ८३ लाख ३ हजार मात्र आम्दानी भएको छ ।
३. संघीय सरकार समानिकरण अनुदान शीर्षकमा रु. ९ करोड ९२ लाख रुपैयाँमध्ये रु. ९ करोड १० लाख २५ हजार ९ सय २० रुपैयाँ आम्दानी भएको छ ।
४. संघीय सरकार बिशेष अनुदान शीर्षकमा रु. ५० लाख रुपैयाँमध्ये रु. ३५ लाख आम्दानी भएको छ ।
५. त्यसैगरी आ.व. २०८१।०८२ को हालसम्ममा प्रदेश सरकारबाट समपुरक अनुदानतर्फ रु. ६० लाखमध्ये रु. ३० लाख मात्र आम्दानी भएको छ ।
६. प्रदेश सरकार समानिकरण अनुदान शीर्षकमा रु. १ करोड २४ लाख ४३ हजार रुपैयाँमध्ये सतप्रतिशत आम्दानी भएको छ ।
७. प्रदेश सरकार बिशेष अनुदान शीर्षकमा रु. ४० लाख रुपैयाँमध्ये रु. २० लाख रुपैयाँ आम्दानी भएको छ ।
८. आन्तरिक आम्दानीतर्फ रु. २ करोड १० लाख अनुमान गरिएकोमा रु. १ करोड १४ लाख ६५ हजार २ सय २७ रुपैयाँ ०२ पैसा मात्र आम्दानी भएको छ ।
९. संघीय सरकारबाट हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान र राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम साथै नगरपालिकाको आन्तरिक आम्दानी लक्ष्यअनुसार सबै प्राप्त नहुने अवस्था भएकोले सो स्रोतमा विनियोजित योजना तथा कार्यक्रमहरु प्रभावित हुन सक्ने देखिन्छ ।

अब म आर्थिक बर्ष २०८१।०८२ को क्षेत्रगत बजेट तथा यथार्थ खर्च विवरण पेश गर्न चाहन्छु ।
आर्थिक विकास क्षेत्र
आर्थिक विकास क्षेत्रअन्तर्गत रु. २ करोड ३८ लाख २३ हजार विनियोजन गरिएकोमा हालसम्म रु. १ करोड १९ लाख ८७ हजार ४६ रुपैयाँ मात्र खर्च भएको छ । जुन विनियोजित रकमको ५०.३२ % हुन आउँछ ।

पूर्वाधार विकास क्षेत्र
पुर्वाधार विकास क्षेत्र अन्तर्गतका रु. १२ करोड ६ लाख १४ हजार १ सय ६० रुपैयाँ मात्र विनियोजन गरिएकोमा आ.व. २०८१।०८२ को हालसम्ममा रु. ५ करोड १३ लाख ७८ हजार ५१ रुपैयाँ मात्र खर्च भएको छ । जुन विनियोजित बजेटको ४२.६० प्रतिशत हुन आउँछ ।

सामाजिक विकासतर्फ
सामाजिक विकास क्षेत्रअन्तर्गतका रु. ४२ करोड ११ लाख ६७ हजार ८ सय ४० रुपैयाँ मात्र विनियोजन गरिएकोमा आ.व. २०८१।०८२ को हाल सम्ममा रु. ३१ करोड ४४ लाख ५५ हजार २ सय २४ रुपैयाँ ६३ पैसा मात्र खर्च भएको छ । जुन विनियोजित बजेटको ७४.६६ प्रतिशत हुन आउँछ ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र
आर्थिक वर्ष २०८१।०८२ मा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु. १ करोड ०४ लाख ९२ हजार विनियोजन गरिएकोमा आ.व. २०८१।०८२ को हाल सम्ममा रु. ७८ लाख ५९ हजार ४ सय ४६ रुपैयाँ मात्र खर्च भएको छ । जुन विनियोजित बजेटको ७४.९१ प्रतिशत हुन आउँछ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र
आर्थिक बर्ष २०८१।०८२ मा कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा रु. १० करोड ९२ लाख ५३ हजार ५ सय रुपैयाँ विनियोजन गरिएकोमा आ.ब २०८१।०८२ को हालसम्ममा रु. ७ करोड ४१ लाख, ५६ हजार २ सय ५७ रुपैंया ३४ पैसा खर्च भएको छ । जुन विनियोजित बजेटको ६७.८८ प्रतिशत हुन आउँछ ।

अव म आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटको सोच, लक्ष्य, उद्देश्य, अपेक्षित उपलब्धी र बजेट तथा बजेटका स्रोतहरुको अनुमान पेश गर्न अनुमति चाहन्छु ।


बजेटको सोच, लक्ष्य, उद्देश्य र अपेक्षित उपलब्धि
क) सोच
‘पर्यटन, कृषि, उर्जा र गुणस्तरीय पूर्वाधारः समुन्नत ढोरपाटन निर्माणको मुल आधार’
ख) लक्ष्य
‘उत्पादनशिल रोजगारी, मर्यादित जीवन, समावेशी र सुशासनयुक्त नगरपालिका’
ग) उद्देश्यहरु
–उत्पादन, रोजगारी र आयआर्जनका अबसर प्रबद्र्धन गर्नु,
–सांस्कृतिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु,
–गुणस्तरीय स्वास्थ्य, शिक्षा र सभ्य समाजको आधार तयार गर्नु,
–बसोबास, भौतिक सुबिधा तथा अन्तरआबद्धता सहज, व्यवस्थित र उत्थानशिल बनाउनु,
–वन, जलाधार एबं जैबिक विविधताको संरक्षण, गुणस्तर तथा दीगो प्रयोगमा अभिबृद्धि गर्नु,
–विकास पूर्वाधारलाई विपद प्रतिरोधी तथा सामाजिक एवं संस्थागत जीवनलाई उत्थानशिल बनाउनु,
–स्थानीय सेवा विकास उपलब्धिलाई समाबेशी, सहज, प्रभाबकारी र जबाफदेही बनाउनु,
–सार्वजनिक निजी साझेदारीमा जोड दिइ विकासमा सबै पक्षलाई संलग्न गराउनु ।
–सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र सर्वसुलभ बनाई नागरिकको पहुँचमा अभिवृद्धि गर्नु ।
वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अबलम्बन गरिएका प्रमुख नीति तथा आधारहरुः

क) समग्र नीतिः
१. कृषि तथा पशुजन्य उपजको मुल्य तथा मागका आधारमा उत्पादनलाई बिशिष्टिकरण, व्यवसायीकरण, विविधिकरण गरी उत्पादन, रोजगारी तथा आम्दानीमा वृद्धि गर्ने ।
२. पर्यटन प्रवद्र्धनमार्फत आयआर्जन तथा रोजगारीमा वृद्धि गर्ने ।
३. शिक्षा तथा स्वास्थ्यमा पहुँच तथा गुणस्तर अभिवृद्धि, सुद्धृढ सरसफाइ तथा स्वच्छ खानेपानी सुविधाको सुनिश्चित गर्ने ।
४. सामाजिक न्याय, समावेशिकरण, सामाजिक सुरक्षामा सहज पहुँच स्थापित गर्ने ।
५. दिगो तथा उत्पादनशील पूर्वाधार निर्माण, सहज यातायात, सुरक्षित आवास, सुलभ सञ्चार सुविधा र स्वच्छ उर्जाको विस्तार र स्तरोन्नति गर्ने ।
६. विकास प्रकृयालाई योजनावद्ध, दिगो, नतिजामुखी र विपद् उत्थानशील बनाउने ।
७. विकास प्रकृयालाई द्रुततर तुल्याउन अन्तर सरकार, सहकारी, निजी क्षेत्र, समुदाय र नागरिक समाजसँगको समन्वय, साझेदारी र सहकार्यलाई प्रभावकारी बनाउने ।
८. जनमुखी सेवा प्रवाह, आयोजना व्यवस्थापन क्षमता र जवाफदेहिताको अभिवृद्धि गर्दै सुशासनको प्रवद्र्धन गर्ने ।
९. आन्तरिक राजश्व सुदृढिकरण, विवेकपूर्ण श्रोत परिचालन र वित्तीय अनुशासन प्रवद्र्धन गर्ने ।

समग्र आधारहरु.
१. आगामी वर्षको बजेट तर्जुमा गर्दा मैले मुलतः नेपालको संविधान र कानूनहरू, संघीय सरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्य, दिगो विकास लक्ष्य, चुनावी प्रतिवद्धता पत्र, हालसम्म नगर सभाबाट बनेका विविध कानूनहरू, बस्ती तथा टोल भेलाका सुझावहरू, वडा समितिका निर्णय, विषयगत समितिका छलफल र विश्लेषणहरू, नगरकार्यपालिकाका निर्णयलाई मुख्य आधार बनाएको छु । साथै राजनितिक दल, बुद्धिजिवी, नागरिक समाज, नगरवासीहरु सँगको भेटघाट तथा विभिन्न सम्बादका निष्कर्षहरू र सरोकारवालाबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरुलाई समेत बजेट निर्माण गर्दा महत्व दिएको छु ।
२. स्थानीय सरकारको आन्तरिक स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित अनुदान तथा राजश्व बाँडफाँटलाई मुल आधार मानी यो बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु । साथै, बजेटमा नगरपालिकाको आफ्नो क्षेत्राधिकारभित्र कर तथा गैरकर राजश्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखेको छु ।
३. अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पूँजीगत बजेटका प्राथमिकता र चालु खर्चमा मितव्ययीता अपनाउने गरी बजेट प्रस्ताव गरेको छु । साथै, कार्यक्रमको छनौट, साधन स्रोतको बाँडफाँट र विनियोजनमा देखिने दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता, स्रोत तथा विनियोजनका बीचमा सन्तुलन कायम हुने गरी स्रोत व्यवस्थापन गर्ने व्यवस्था मिलाएको छु ।
४. समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण, परिपूरक कानून तर्जुमा, भौतिक पूर्वाधारको निर्माण र व्यवस्थापन, आन्तरिक स्रोतको आधार विस्तार, उत्पादन र उत्पादकत्व अभिबृद्धि, आयोजनाको प्राथमिकीकरण, असल शासन प्रबद्र्धन तथा अन्तर सरकारी सहकारीता, सह–अस्तित्व र समन्वय हाम्रो सरकारका प्रमुख जिम्मेवारी रहेका छन् ।

अब म, आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
१. आर्थिक वर्ष २०८२।०८३ को अनुमानित कुल बजेट रु. ६० करोड ७८ लाख २ हजार रुपैयाँ रहेको छ । जसमा संघीय सरकार वित्तीय समानीकरण अनुदान रु. १० करोड ६७ लाख, संघीय सरकार सर्शत अनुदान रु. २८ करोड ०९ लाख, संघ समपुरक अनुदानतर्फ रु. ८७ लाख, संघीय सरकार बिशेष अनुदान रु. १ करोड ९० लाख, संघीय सरकार राजश्व बाँडफाँड ११ करोड २२ लाख मात्र अनुमान गरेको छु ।
२. प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु. १ करोड २६ लाख ३८ हजार, प्रदेश सरकार विशेष अनुदान रु. ४० लाख र प्रदेश सरकार समपुरक अनुदान रु. ६० लाख, प्रदेश सवारी साधन करतर्फ रु. १ करोड १९ लाख १५ हजार प्राप्त हुने अनुमान गरेको छु ।
३. ढोरपाटन नगरपालिकाको आन्तरिक राजश्व अनुमान रु. २ करोड १५ लाख, चालु वर्षको बैँक मौज्दात रकम रु. १ करोड ७० लाख ४९ हजार, घर जग्गा रजिष्ट्रेशन शुल्क रु. ५५ लाख र बहत्तर बहत्तर शुल्क १५ लाख अनुमान गरेको छु । यसमा अन्तर सरकारी अख्तियारीबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, सडक बोर्डबाट प्राप्त हुने बजेट तथा कार्यक्रम र अन्य निकायबाट थप प्राप्त हुने कार्यक्रमलाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरिएको छैन ।

सामाजिक विकास
शिक्षा, युवा तथा खेलकुद
१. बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा सामुदायिक सिकाई केन्द्रका परिचालकहरु तथा नगर अनुदान शिक्षकहरुको पारिश्रमिक लागि रु. २ करोड ९३ लाख २२ हजार रुपैयाँ विनियोजन गरेको छु ।
२. पालिका कप भलिवल प्रतियोगिता लगायतका खेलकुद संचालनको लागि रु. २१ लाख विनियोजन गरेको छु ।
३. स्थानीय पाठ्यपुस्तक ‘हाम्रो ढोरपाटन’ छपाइको लागि रु. ७ लाख बजेट व्यवस्था गरेको छु ।
४. आवश्यकताको आधारमा सामुदायिक बिद्यालयहरुमा ई हाजिरी व्यवस्थापनको लागि रु. ८ लाख विनियोजन गरेको छु ।
५. कम्प्युटर ल्याब भएका बिद्यालयहरुलाई आ.सि.टि तालिम, लेखा व्यवस्थापन र नवप्रवेशी शिक्षक तालिमको लागि रकम छुट्याएको छु ।
६. अतिरिक्त कक्षा व्यवस्थापन, शिक्षक परिचालन, उत्कृष्ट बिद्यालय अनुदान, पालिका स्तरीय नमूना बिद्यालय छनौट, दरबन्दी मिलान र बिद्यालय मर्ज जस्ता कार्यक्रमका लागि रु. १५ लाख बजेट विनियोजन गरेको छु ।
७. प्रारम्भिक बालविकास कक्षाकोठाहरुमा न्यूनतम सिकाइ सामग्री व्यवस्थापन अनुदानको लागि रु. ३ लाख बजेट विनियोजन गरेको छु ।
८. घुम्ति विद्यालय संचालन तथा व्यवस्थापन अनुदानको लागि रु. २ लाख बजेट विनियोजन गरेको छु ।

स्वास्थ्य, आयुर्वेद
९. नियमित तथा आकास्मिक औषधि खरिदमा रु. ८ लाख विनियोजन गरेको छु ।
१०. जनताको स्वास्थ्यसँग नगर उपप्रमुख कार्यक्रमको लागि रु. ९ लाख बजेट विनियोजन गरेको छु ।
११. कुदुम गाउँघर क्लिनिकमा बर्थिङ सेन्टर निर्माणको लागि रु. २ लाख ५० हजार रकम विनियोजन गरेको छु ।
१२. एकिकृत स्वास्थ्य परिक्षण कार्यक्रमको लागि रु. ४ लाख विनियोजन गरेको छु ।
१३. स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड सुदृढीकरण सामग्री खरिद तथा स्टोर व्यवस्थापनको लागि रु. ५ लाख विनियोजन गरेको छु ।
१४. स्वास्थ्य बिमा कार्यक्रम विस्तारका लागि स्वास्थ्य बिमा कार्यक्रममा नगरपालिकाबाट लक्षित वर्गलाई ५० प्रतिशत साझेदारी ब्यहोर्नको लागि रु. ४ लाख ५० हजार विनियोजन गरेको छु ।
१५. राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंम्सेविका कार्यक्रमको लागि रु. ३ लाख रकम विनियोजन गरेको छु ।
१६. लाकुरीबोट आधारभुत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति प्रतीक्षाघर स्थापनाको लागि रु. ५ लाख विनियोजन गरेको छु ।
१७. आयुर्बेद औषधि खरिद तथा समुदायस्तरमा गरिने कार्यक्रमको लागि रु. ८ लाख रकम छुट्याएको छु ।
१८. स्वास्थ्य चौकीहरुको तालिम हल व्यवस्थापनका लागि रु. ५ लाख रकम छुट्याएको छु ।

लैगिक तथा सामाजिक समावेशीकरण र लक्षित वर्ग
१९. लक्षित वर्गसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु मनाउन रु. ४ लाख रकमको व्यवस्था गरेको छु ।
२०. छुवाछुत तथा जातिय विभेदको अन्त्य, मानव अधिकारको प्रवद्र्धन कार्यक्रम सञ्चालनको लागि रु. ४ लाख, लैङगिक हिंसा महिला सम्बन्धित र बालकल्याण, आदिवासी जनजाती कार्यक्रमको लागि रु. ८ लाख रकम विनियोजन गरेको छु ।
२१. युवाहरुलाई सरकारी सेवामा आकर्षित गर्न लोकसेवा तयारी कक्षा संचालनको लागि रु. २ लाख विनियोजन गरेको छु ।
२२. छनौटको आधारमा महिला उद्यमी कार्यक्रमको लागि रु. ३ लाख विनियोजन गरेको छु ।
२३. दुव्र्यसन र सचेतना कार्यक्रम र सडक मानव व्यवस्थापनका लागि उचित बजेट विनियोजन गरेको छु ।
२४. अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाउनको लागि माग र आवश्यकतामा आधारित विभिन्न आयआर्जनमूलक तालिम तथा सहयोग कार्यक्रम सञ्चालनका लागि रु. २ लाख ५० हजार बजेट विनियोजन गरेको छु ।
उल्लेखित योजना सामाजिक विकास क्षेत्रतर्फका योजना तथा कार्यक्रमको लागि कुल जम्मा ६ करोड २७ लाख ४२ हजार रुपैयाँ विनियोजन गरेको छु ।

पूर्वाधार विकास
सडक तथा भवन
२५. भाइरल डाँडा सिँढी तथा मूर्ति निर्माण, वडा नं. १ कार्यालयको ट्रस निर्माण, वडा नं. २ को प्रशासनिक भवन निर्माण, ढोरपाटन रुकुम सडक (अन्तरपालिका साझेदारी, पाखाथर ढोरखोला जंगली जनावार नियन्त्रण तथा घेरावार, कायत समाज भवन निर्माण, तारीखेत बाल शिक्षा भबन निर्माण, भुजी कल्वर्ट र सडक निर्माण वडा नं. ९ लगायतका योजनाको लागि रु. १ करोड ४ लाख विनियोजन गरेको छु ।
२६. श्री नवज्योति आ.वि वडा नं. २ मर्मत, पालिका भवन प्रतिक्षालय १, अम्बोट तटबन्धन ५, बोबाङ स्वास्थ्य चौमी वडा नं. ७, पौडेलटोल छाँपडाँडा कुँवरटोल भ्याउने गैरा मोटरबाटो, श्री उत्तरगंगा मा.वि मर्मत तथा व्यवस्थापन लगायतका योजनाहरुको लागि ६५ लाख विनियोजन गरेको छु ।
२७. ढोरपाटन उद्योग बाणिज्य संघ भवन निर्माणको लागि रु. २० लाख रकम विनियोजन गरेको छु ।
२८. वडातर्फ र पालिकातर्फ आवश्यकताको आधारमा विभिन्न शिर्षकमा पुर्वाधारतर्फ ५ करोड ६० लाख विनियोजन गरेको छु ।
२९. वर्षा तथा पहिरो र विविध कारणले मर्मत गर्नुपर्ने योजनाका लागि समेत बजेट विनियोजन गरेको छु ।
उल्लेखित योजनाहरु तथा अन्य पूर्वाधार विकाससँग सम्बन्धित योजना तथा कार्यक्रमतर्फ जम्मा १० करोड १८ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छु ।

आर्थिक विकास
सिंचाई, खानेपानी तथा सरसफाई
३०. साना सिँचाई प्रबर्दन र खानेपानी कार्यक्रमको लागि ११ लाख रुपैयाँ विनियोजन गरेको छु ।

कृषि सेवा
३१. मौरी प्रवर्दन कार्यक्रम (५० प्रतिशतमा अनुदान) को लागि रु. ३ लाख बजेट विनियोजन गरेको छु ।
३२. सबै वडामा कृषि उत्पादन वृद्दि गर्न, कृषि विउ उत्पादनमा जोड दिन एक वडा एक नर्सरी कार्यक्रमको लागि रु. ९ लाख रकम विनियोजन गरेको छु ।
३३. घरमै तरकारी खेतीमा आत्मनिर्भर बनाउन एक घर एक करेसाबारी विउविजन वितरण कार्यक्रमको लागि रु. ४ लाख रकम विनियोजन गरेको छु ।
३४. आधुनिक कृषि औजार मिनिटेलर, ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण, किवि, अम्रिसो र टिमुरको बीउ वितरण कार्यक्रम, स्थलगत माटो परिक्षण तालिम तथा माटो शिविर कार्यक्रमलाई रु. १५ लाख बजेट विनियोजन गरेको छु ।
३५. फलफुल बगान सुद्धिकरण तथा फलफूल प्रवद्र्धन कार्यक्रमको लागि रु. २ लाख वजेट विनियोजन गरेको छु ।
उल्लेखित योजनाहरु तथा कृषिसँग सम्बन्धित कार्यक्रमहरुको लागि कुल रु. ४९ लाख रकम विनियोजन गरेको छु ।

पशु विकास
३६. पशुपन्छीहरुको लागि औषधि तथा बिषादी खरिद गर्न, पशुपन्छीको बिमा प्रिमियम शुल्कमा अनुदान कार्यक्रमको लागि रु. १२ लाख ५० हजार विनियोजन गरेको छु ।
३७. छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यक्रमको लागि रु. २ लाख विनियोजन गरेको छु ।
३८. भकारो सुधार कार्यक्रम, हिँउदे तथा वर्षे घाँसको बीउ वितरण, घुम्ति गोठ सपोर्ट कार्यक्रमको लागि पर्याप्त वजेट विनियोजन गरेको छु ।
उल्लेखित योजनाहरु तथा अन्य पशुपन्छीसँग सम्बन्धित कार्यक्रमको लागि कुल रु. २७ लाख रकम विनियोजन गरेको छु ।

पर्यटन तथा संस्कृति
३९. पर्यटन पूर्वाधार निर्माण प्रवर्धन अभिमुखीकरण साझेदारी कार्यक्रमको लागि रु. १५ लाख रुपैयाँ विनियोजन गरेको छु ।
४०. साईकल ट्रेन रेस तथा रेकी निर्माणको लागि रु. ५ लाख रकम विनियोजन गरेको छु ।

सहकारी
४१. सहकारी संस्थाको अनुगमन, कोपोमिस, नियमनका कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

उद्योग, श्रम तथा रोजगार तथा व्यवसाय
४२. श्रम तथा रोजगारी अन्तर्गतका कार्यक्रमहरुको लागि कुल १३ लाख रुपैयाँ विनियोजन गरेको छु ।
४३. लघुउद्यम अन्तर्गतका कार्यक्रमहरु संचालनको लागि कुल रु. २ लाख रकम विनियोजन गरेको छु ।
४४. व्यवसाय दर्ता, नियमन तथा व्यवस्थापनको लागि एकमुष्ठ रु. ३ लाख विनियोजन गरेको छु ।
उल्लेखित योजना तथा आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रम तथा योजनाको लागि कुल जम्मा १ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छु ।

सुशासन
४५. नगरपालिकाको लागि पार्किङ नभएको र बिभिन्न कामको लागि जग्गा खरिदको लागि रु. १ करोड विनियोजन गरेको छु ।
४६. नगरपालिकाको आबाधिक योजना निर्माण, नागरिक पकेट वडापत्र कार्यक्रम, सभाहल बैठक, फर्निचर डेकोरेसन तथा प्रबिधि जडानको लागि रु. २९ लाख विनियोजन गरेको छु ।
४७. राजनैतिक नक्सा निर्माण तथा मुद्रणको लागि ३ लाख विनियोजन गरेको छु ।
४८. प्राविधिक सामाग्री खरिद कार्यक्रमको लागि ७ लाख विनियोजन गरेको छु ।
४९. रेडियो टिभी साझेदारी कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गरेको छु ।
५०. नगरपालिका तथा वडा कार्यालयम सिस्टम इन्टरकम जडान कार्यक्रम, सबै वडा कार्यालयहरुमा ई–हाजिरी जडान तथा नविकरण, सबै वडा कार्यालय र स्वास्थ्य चौकीहरुमा सिसि क्यामेरा जडान लगायतका कार्यक्रमको लागि रु. २० लाख रकम विनियोजन गरेको छु ।
५१. नेपाल सरकारको बैदेशिक ऋण र आन्तरिक ऋणमध्ये चालु आ.व.मा विनियोजन गरेको बजेटबाहेक बाँकी ऋणको साँवा ब्याजमध्ये ढोरपाटन नगरपालिकाले आफ्नो दायित्वबोध गरी नेपाल सरकारको ऋण तिर्न सहयोग गर्नेछ । नेपाललाई ऋण बिनाको देश बनाउन ‘ऋण मुक्त देश’ निर्माण गर्ने अभियानमा सम्पूर्ण स्थानीय सरकार (पालिका)हरु, प्रदेश सरकारहरु, प्रत्येक बैङ्कहरु, प्रत्येक निर्माण व्यवसायीहरु, प्रत्येक संस्थानहरु, प्रत्येक उद्योगहरु, प्रत्येक व्यपारिक प्रतिष्ठानहरु लगायत सबै नेपाली नागरिक र नागरिकका पेशा व्यवसायहरुलाई स्वेयच्छाले ‘ऋणमुक्त देश’ निर्माण गर्ने अभियानमा हिस्सेदारी बन्न आग्रह गरिने छ । यस अभियानमा सहभागी बन्न ढोरपाटन नगरपालिका विनम्र अनुरोध गर्दछ । नेपाल सरकारको थप ऋण भुक्तानी गर्नका लागि ५ लाख बजेट विनियोजन गरेको छु ।
उल्लेखित योजनाहरु तथा अन्य संस्थागत विकास, सेवा प्रवाह र सुशासनको लागि कुल रु. २ करोड ३४ लाख रकम विनियोजन गरेको छु ।

वन, वातावरण तथा विपद् व्यवस्थापन
५२. समय समयमा आउन सक्ने विभिन्न प्रकोप तथा विपद व्यवस्थापन र विपद व्यवस्थापन सामाग्री खरिदको लागि रु. ३२ लाख बजेट विनियोजन गरेको छु ।

अब म संघीय सरकार र गण्डकी प्रदेश सरकारको सशर्त र विशेष अनुदानबाट सञ्चालन हुनेगरी बाँडफाँट भएको योजना÷कार्यक्रमहरुको खर्च अनुमान प्रस्तुत गर्न चाहन्छु ।

संघीय सरकार सशर्त अनुदान
५३. शिक्षा, युवा तथा खेलकुदसँग सम्बन्धित योजना तथा कार्यक्रमको लागि २२ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको छ ।
५४. पालिकाअन्तर्गत निर्माणाधिन १५ शैया आधारभुत अस्पतालको मोबिलाईजेसन तथा सृजित दायित्व भुक्तानिको लागि १ करोड ८ लाख विनियोजन भएको छ ।
५५. स्वास्थ्यसँग सम्बन्धित योजना तथा कार्यक्रमको लागि ३ करोड १७ लाख रुपैयाँ विनियोजन भएको छ ।
५६. कृषि तथा पशुपंक्षी विकास सम्बन्धि कार्यक्रमका लागि ४९ लाख रुपैयाँ विनियोजन भएको छ ।
५७. श्रम तथा रोजगार कार्यक्रमको लागि को लागि रु. १९ लाख ९० हजार रकम विनियोजन भएको छ ।
५८. पञ्जिकरण तर्फका कार्यक्रमको लागि रु. ५ लाख रकम विनियोजन भएको छ ।

संघ विशेष अनुदान
५९. संघीय सरकार बिशेष अनुदानतर्फ बहुक्षेत्रीय पोषण योजना कार्यक्रम कार्यान्वयनको लागि रु. १ करोड विनियोजन गरेको छु ।
६०. संघीय सरकार बिशेष अनुदानतर्फ नविपुल छेन्तुङ उत्तरगंगा खोला तटबन्धन–२ को लागि रु. ९० लाख विनियोजन भएको छ ।

संघ समपुरक अनुदान
६१. फोहोरमैला प्रशोधन र व्यवस्थापनको लागि ८७ लाख विनियोजन भएको छ ।

प्रदेश बिशेष अनुदान
६२. फलामखानी गाउँ संरक्षणको लागि तटबन्धन निर्माण योजनामा रु. ४० लाख विनियोजन भएको छ ।

प्रदेश सशर्त
६३. खानेपानी ससरसफाई तथा स्वच्छता (वास) कार्ययोजना तयारीको लागि रु. २ लाख विनियोजन भएको छ ।

प्रदेश समपुरकः
६४. ढोरपाटन खानेपानि आपुर्ति तथा विस्तार योजनाको लागि रु. ६० लाख विनियोजन भएको छ ।

विषयगत शाखा तथा वडागत बजेट बाँडफाँट
–पूर्वाधार विकासः १० करोड १८ लाख ५० हजार
–सामाजिक विकासः ६ करोड २७ लाख ४२ हजार
–आर्थिक विकासः १ करोड ११ लाख
–वन वातावरण तथा विपद् व्यवस्थापनः ३२ लाख
–संस्थागत विकास सेवा प्रवाह तथा सुशासनः २ करोड ३४ लाख
–नगरपालिका कार्यालय तथा मातहत कार्यालय संचालन तथा व्यवस्थापनः ८ करोड ६७ लाख १० हजार
–सशर्त अनुदान संघीय सरकारः २८ करोड ०९ लाख
–विशेष अनुदान संघः १ करोड ९० लाख
–समपुरक अनुदान संघः ८७ लाख
–प्रदेश सशर्त अनुदानः २ लाख
–प्रदेश समपुरक अनुदानः ६० लाख
–प्रदेश बिशेष अनुदानः ४० लाख
जम्मा ६० करोड ७८ लाख २ हजार मात्र

अब म उल्लेखित क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट कायम हुन आएको स्रोत अनुमान र बजेट विनियोजन प्रस्तुत गर्न चाहन्छु ।
क) आय अनुमान
–संघ वित्तीय समानीकरण अनुदानः १० करोड ६७ लाख
–संघ बिशेष अनुदानः १ करोड ९० लाख
–संघ शशर्त अनुदानः २८ करोड ०९ लाख
–संघ समपूरक अनुदानः ८७ लाख
संघीय सरकार राजश्व बाँडफाँटः ११ करोड २२ लाख
–प्रदेश सशर्त अनुदानः २ लाख
–प्रदेश समपुरक अनुदानः ६० लाख
प्रदेश समानिकरण अनुदान १ करोड २६ लाख ३८ हजार
–प्रदेश विशेष अनुदानः ४० लाख
–प्रदेश राजस्व बाँडफाँटः १ करोड १९ लाख १५ हजार
–आन्तरिक आयः २ करोड १५ लाख
–अघिल्लो वर्षको बैंक मौज्दातः १ करोड ७० लाख ४९ हजार
–घर जग्गा रजिष्ट्रेशन शुल्कः ५५ लाख
–दहत्तर बहत्तर शुल्कः १५ लाख
जम्मा ६० करोड ७८ लाख २ हजार मात्र

ख) व्यय अनुमान
आगामी आ.व. २०८२/०८३ का लागि कूल ६० करोड ७८ लाख २ हजार मात्र रुपैयाँको व्यय अनुमान गरेको छु । जसमध्ये चालुतर्फ ४६ करोड ५१ लाख ६२ हजार र पुँजीगततर्फ १४ करोड २६ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको छु ।
–यो बजेटमा संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य अन्तर सरकारी अख्तियारीमार्फत प्राप्त भई खर्च हुने भएकोले सो बजेट समावेश गरिएको छैन ।
करका दरहरुसमेत उल्लेख भएको आर्थिक विधेयक, २०८२ तथा खर्चलाई व्यवस्थित गर्न बनेको विनियोजन विधेयक, २०८२ समेत पेश गरेको छु ।

आदरणीय सभाध्यज्यू एवं सभाका सदस्यज्यूहरू,
आर्थिक वर्ष २०८२।०८३ को लागि आयव्यय अनुमान प्रस्तुत गरिरहँदा संघीय तथा प्रदेश सरकारद्धारा प्राप्त मार्गदर्शन तथा ऐन नियमहरुको पूर्णरुपमा पालना गर्दै सिमित स्रोत साधनका बावजुद आर्थिक वर्ष २०८२।०८३ का लागि लिइएका नीति तथा कार्यक्रमहरुसँग तादाम्यता मिलाउने प्रयास गरेको छु । यद्यपि स्थानीय सरकार प्रति नागरिकमा रहेका असिमित चाहाना र आकाँक्षा हुनु स्वभाविक रहेतापनि बजेटमार्फत सबै आवश्यकता र चाहानालाई सम्बोधन गर्न पक्कै पनि सम्भव हुँदैन ।

प्रस्तावित बजेट तर्जुमा गर्दा संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट, नगरपालिकाको आन्तरिक आयलाई स्रोत मानी नगरपालिकाका प्राथमिकताका क्षेत्रहरु, नागरिकबाट आवश्यक ठानिएका योजनाहरु, नागरिक समाज, गैर सरकारी संस्थाहरु लगायत सम्पुर्ण महानुभावहरु सबैको अमूल्य सुझावलाई उपलव्ध श्रोत साधनको सिमाभित्र रहि समेट्ने प्रयास गरेको छु ।

नगरपालिकाको स्रोत र क्षमता अनुसार विभिन्न समिति, उपसमितिहरु र नगर कार्यपालिकामा व्यापक छलफल गरी बजेटलाई सन्तुलित र दिगो बनाउने प्रयास गरेको छु । नगरपालिकाको स्रोत साधनले समेट्न नसकेका ठूला योजनाहरु प्रदेश सरकार र केन्द्रीय सरकारको सहकार्यमा संचालन गर्न स्रोतको व्यवस्था गरेको छु । थप योजनाहरु संचालनको लागि प्रदेश सरकार र संघीय सरकारमा पहल गरिने व्यहोरा समेत अनुरोध गर्न चाहन्छु ।

अन्तमा, प्रस्तुत बजेट निर्माण कार्यमा आ–आफ्नो तर्फबाट सहयोग पुर्याउनुहुने सम्पुर्ण जनप्रतिनिधि, बुद्धिजिबी, राजनैतिक दल, सरकारी तथा गैर सरकारी संघसंस्था, उद्योगी व्यवसायी, नागरिक समाज, पत्रकार, उपभोक्ता समिति लगायत सरोकारवाला सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै, बजेट निर्माण नीति तथा कार्यक्रम निर्माण, नीतिगत निर्णय, आर्थिक ऐन, विनियोजन ऐन, र कानुन निर्माणलगायत नयाँ सोचका आधारमा पालिकाको योजना र दीर्घकालिन सोच निर्माणका लागि यसपालिका प्रमुख प्रशासकीय अधिकृत र सम्पुर्ण कर्मचारीलाई बिशेष धन्यबाद ब्यक्त गर्दछु । बजेट कार्यान्वयनमा सरोकारवाला सबैको साथ सहयोग रहने अपेक्षा गरेको छु । प्रस्तुत बजेट र अनुसूचिमा संलग्न आयोजना तथा कार्यक्रमहरुलाई सम्मानित सभाबाट गहन छलफलका साथ रचनात्मक सुझाबको अपेक्षासहित हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->