शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ढोरपाटन नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम

ढोरपाटन नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम


  • Dhorpatan News
  • असार ७ २०८२, शनिबार

सभामा उपस्थित सभा अध्यक्ष, सदस्यज्यूहरु, आमन्त्रित समाजसेवी, बुद्धिजीवी, अतिथि, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी र उपस्थित अन्य महानुभावहरु ।

यस गरिमामय सभामा नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम तेस्रो पटक पेश गर्न पाउँदा मैले आफुलाई गौरवान्वित महशुस गरेको छु । यस सन्दर्भमा सर्वप्रथम म परिवर्तनको लागि मृत्युवरण गरेका शहिदहरुप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, । नेपालको संविधान, दिगो विकास लक्ष, सोर्हौ योजना, स्थानीय सरकार संचालन ऐन, २०७४ स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन र नगरपालिकामा निर्माण भएका विभिन्न ऐन, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्डहरुको अधिनमा रही सबै सरोकारवालाहरुको सुझावहरु मार्गदर्शनको रुपमा लिएको छु ।

आर्थिक, सामाजिक, पूर्वाधार, सांस्कृतिक विकास निर्माणको कार्यमा नगरपालिका भित्रका आम उपभोक्ताहरु, सर्वसाधारण जनता, उद्योगी व्यवसायीहरु, सामाजिक संघसंस्थाहरु तथा विकास साझेदारहरूको निरन्तर सहयोग रहदै आएको छ । जनताको मौलिक अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि सहभागिताका माध्यमबाट पारदर्शिता र जवाफदेहीतालाई जोड दिइनेछ ।

चालु आ.व.को नीति तथा कार्यक्रम कार्यान्वयनबाट हालसम्म निम्न बमोजिम प्रगति हासिल गरेको कुरा राख्न चाहन्छु ।
–चालु आर्थिक वर्ष २०८१।०८२ को असार ४ गते सम्मको कुल बजेट ६८ करोड ५३ लाख ५० हजार ५ सय रुपैँया रहेकोमा वास्तविक आय ६२ करोड १ लाख ३३ हजार ९ सय ६२ रुपैँया ७८ पैसा रहेको छ । जुन अनुमानित आयको ९०.११ % हुन आउँछ । सो मध्ये चालु खर्च ६८.८८% र पूँजिगत खर्च ६४.११% गरी समग्रमा ६७.०९ % हासिल भएको छ ।
–हालसम्म नगरपालिकामा ऐन १७ वटा, नियमावली ६ वटा, निर्देशिका ३, मापदण्ड २ र कार्यविधि २१ वटा गरी जम्मा ५० वटा निर्माण गरी कार्यान्वयन गरिएको छ ।
–स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा ८४.५,एफआरएमा ५७.५ र कार्यसम्पादन मूल्याङ्कनमा ६६.५ अंक प्राप्त भएको छ ।

अब म ढोरपाटन नगरपालिकाको विकास तथा समृद्धिको लक्ष्य प्राप्तिका अवसर तथा चुनौती प्रस्तुत गर्न चाहन्छु,
हाम्रा लागि देहाय बमोजिमका अवसरहरू रहेका छन्ः
–संविधानतः अधिकार सम्पन्न स्थानीय सरकार स्थापना भई २२ वटा एकल अधिकारसहित विविध साझा अधिकार किटान हुनु ।
–आफ्ना अधिकार क्षेत्रका विषयमा ऐन, कानून र योजना तर्जुमाको अभ्यास हुनु ।
–विकास निर्माणका विविध विषयमा नीति कार्यक्रम तथा बजेट सञ्चालन गर्ने अधिकार प्रष्ट हुनु ।
–नगरपालिकाभित्र भौगोलिक तथा सांस्कृतिक विविधता रहनु ।

हाम्रा सामु देहाय बमोजिमका चुनौतीहरू रहेका छन्ः
–भौगोलिक जटिलताले हुने महंगो विकास खर्च जुटाउनु ।
–सीमित स्रोतको अधिकतम उपयोग गर्दै स्रोत व्यवस्थापन गर्नु ।
–युवा जनशक्तिलाई कृषि ब्यवसाय प्रति आकर्षित गर्नु ।
–निर्माण भएको पूर्वाधारको मर्मत संभार पद्धतिको विकास गर्नु ।
–प्राकृतिक स्रोत तथा नदिजन्य पदार्थको मापदण्ड अबलम्बन गरी चोरी निकासी रोक्नु ।

अब म आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु,
यो नीति तथा कार्यक्रम तर्जुमा गर्दा तपसिल वमोजिमको आधार लिईएको छः
–नेपालको संविधान, २०७२
–स्थानीय सरकार संचालन ऐन, २०७४
–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
–संघ, प्रदेश सरकारको दिगो विकासका लक्ष्यहरु, विकासका अन्तर सम्बन्धित विषयहरू,
–नगरपालिकामा निर्माण भएका विभिन्न ऐन, नियमावली, निर्देशिका, मापदण्ड तथा कार्यविधिहरु,
–अन्तर स्थानीय तह सहकार्य सम्बन्धका लागि साझा सरोकारका विषयहरू,
–नेपाल सरकारको १६ औ योजना र दिगो विकास लक्ष्य २०३० को मार्गचित्र ।

अब म आगामी वर्षको सोच, लक्ष्य र उद्देश्यहरु प्रस्तुत गर्न चाहान्छु,
सोचः “व्यवसायिक र सिर्जनशील प्रशासन, विकास र समृद्धि सहितको सुदृढिकृत ढोरपाटन”

उद्देश्यहरुः
१. आर्थिक विकास तथा सर्वसाधारणहरुको जीवनयापनलाई सहज बनाउनको लागि कच्ची सडक स्तरोन्नतिसंगै नगरपालिकाका गौरवका आयोजनाहरुमा बजेटलाई प्राथमिकिकरण गर्ने ।
२. नगरपालिकाको प्रथम पञ्चवर्षीय नगर शिक्षा योजना कार्यान्वयनसंगै सम्पुर्ण शैक्षिक संस्थाहरुको प्रभावकारी व्यवस्थापन तथा नियमनबाट शैक्षिक गुणस्तरीयता अभिवृद्धि गर्ने ।
३. नगरपालिकाभित्र कृषि उत्पादनलाई जोड दिई कृषिमा विषादि रहित बनाउन निरन्तर विषादी परिक्षणको साथै बजार अनुगमनलाई थप व्यवस्थित गर्ने ।
४. फोहोरमैला व्यवस्थापनको लागि ल्याण्डफिल्ड पहिचान, फोहोरको वर्गिकरण, प्रशोधनको लागि अन्तरपालिका समन्वय गरि कार्य अगाडी बढाउने ।
५. सामाजिक न्याय र समावेशीको लागि जातिय, क्षेत्रिय, लैङ्गिक, भाषिक, साँस्कृतिकलगायत सबैखाले विभेदको न्युनिकरणसहित विशेष कार्यक्रमहरु संचालन गर्ने ।
६. राष्ट्रिय भवन संहिता तथा मापदण्डलाई मध्यनजर गर्दै सेवा प्रवाहमा सहजताको लागि भवन निर्माणको साथै नगरपालिकाको प्रशासकीय भवन पार्किङलाई जग्गा खरिद गर्ने ।
७. नगर विकास कोषलाई नगरपालिकाको सर्वाङ्गिण विकासको लागि क्रियाशिल बनाउने ।
८. स्वच्छ पिउने पानी र सरसफाईको सुनिश्वितता गर्ने ।
९. जनसुरक्षाको लागि विपद् जोखिम न्युनीकरणको लागि विशेष जोड दिने ।
१०. विज्ञान तथा सूचना प्रविधिको भरपुर उपयोग गर्ने वातावरण तय गर्ने ।
११. कार्यपालिका र प्रशासन संयन्त्रको जनमुखी, जवाफदेहिता, बनाई ढिलासुस्ती, अनियमिततालाई पुनसंरचना एंव आचारसंहिता निर्माण गर्ने ।
१२. कर्मचारी कल्याण कोष स्थापना संगै राष्ट्रसेवक कर्मचारी, व्यवसायी, नीजि क्षेत्र, सहकारी तथा सम्बन्धित सरोकारवालाहरुलाई कार्यसम्पादनको आधारमा पुरस्कारको व्यवस्था गर्ने ।

अब म आ.व. २०८२÷८३ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु ।

सामाजिक विकास
१. शिक्षा, युवा तथा खेलकुद
–ढोरपाटन नगरपालिकाभित्र सबै बालबालिकाहरूका लागि गुणस्तरीय प्रारम्भिक बालविकास शिक्षाको अवसर सुनिश्चित गरिनेछ र कार्यसम्पादनको आधारमा एक नमुना बाल विकास केन्द्र घोषणा गरिनेछ ।
–आधारभूत तह (६–८) र माध्यमिक तह (९–१०) मा विषयगत आधारमा तथा आधारभूत तह (१–५) मा शिक्षक, विद्यार्थी अनुपात, विद्यालय नक्साङ्कनका आधारमा दरबन्दी मिलान तथा पुर्नवितरण कार्यलाई व्यवस्थित गरी निरन्तरता दिइनेछ ।
–आधारभूत तह (१–३) का कक्षाकोठाहरुमा न्यूनतम आवश्यक शैक्षिक सामग्रीहरुको व्यवस्था गरिनेछ ।
–‘हामी बनाउँछौ हाम्रो विद्यालय’ कार्यक्रमलाई उत्साहका साथ कार्यान्वयनमा जोड दिइनेछ ।
–मासिक रुपमा प्रधानाध्यापक बैठक सञ्चालन गरी विद्यालयका असल अभ्यास आदानप्रदान गर्ने र विद्यालयसँग शैक्षिक सुधारका लागि कार्यसम्पादनमा सम्झौता गरिनेछ ।
–विद्यालयको बार्षिक परीक्षालाई व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाइ परीक्षामा एकरुपता कायम गर्न नगरस्तरीय परीक्षा सञ्चालन गरिनेछ ।
–ढोरपाटन नगरपालिका भित्र कार्यरत शिक्षक तथा अध्ययनरत विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाई गुणस्तरीय र प्रविधियुक्त शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्न आवश्यक पुर्वाधार तयार गर्न आइसिटी नभएका सामुदायिक विद्यालयहरुमा आइसिटीको व्यवस्था गरि प्रविधिकमैत्री बनाउँदै लगिनेछ ।
–तोकिएको मापदण्ड अनुसार सिकाई सामाग्री सहितको प्रारम्भिक बालविकास केन्द्रको स्थापना गर्ने र न्युन विद्यार्थी भएका बालविकास केन्द्रहरुलाई मर्ज गर्ने नीतिलाई प्राथमिकता दिईनेछ ।
–नगरभित्र रहेका निजी विद्यालयहरूले विद्यार्थीहरूबाट लिँदै आएको शुल्कलाई एकरुपता कायम गर्ने र नगर शिक्षा ऐन २०८१ मा भएको संस्थागत विद्यार्थी छात्रवृत्ति सम्बन्धि व्यवस्थालाई कार्यान्वयन गरिनेछ ।
–स्थानीय पाठ्यक्रमलाई पूर्ण रुपमा सबै विद्यालयमा कार्यान्वयन गरिनेछ ।
–सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका संयोजक र प्रधानाध्यापकहरुलाई शैक्षिक व्यवस्थापन सम्बन्धी अभिमुखिकरण, शैक्षिक तथ्याङ्क व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन इमिक्स सम्बन्धी तालिम, नयाँ पाठ्यक्रम शिक्षण विधि तालिम र पुर्नताजगी तालिम संचालन गरिनेछ ।
–नगर स्तरीय प्रतिभा पहिचान कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
–आवश्यकता र औचित्यताका आधारमा विद्यालय समायोजन तथा शिक्षक कर्मचारी दरबन्दी मिलान गरिनेछ ।
–पंचवर्षिय शैक्षिक सुधार योजना बमोजिम श्री सरस्वति आ.वि. ढोरपाटन नपा १ लाई पालिका स्तरिय नमूना विद्यालय विकास कार्यक्रममा आबद्ध गरिनेछ ।
–राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई थप व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।
–‘राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद’ भन्ने आदर्श वाक्यसहित पालिका स्तरीय मेयर कप तथा अतिरिक्त शैक्षिक क्रियाकलाप संचालन गरिने छ ।

२. स्वास्थ्य
–सबै नागरिकलाई निशुल्क गुणस्तरीय आधारभुत स्वास्थ्य सेवाको पहुंचको सुनिश्चित गरिने छ ।
–गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क ल्याव प्याकेज, निशुल्क ग्रामिण भिडियो एक्सरे सेवालाई निरन्तर दिई संस्थागत सुत्केरी बढाउन निशुल्क एम्बुलेन्स सेवा तथा घरमा हुने सुत्केरीलाई न्यूनिकरण गरि ‘घरमा हुने सुत्केरी शुन्य वडा’ कार्यक्रमलाई विशेष जोड दिईनेछ ।
–नगरपालिका भित्रका ४० वर्षभन्दा माथिका सबै नागरिकहरुलाई नसर्ने रोगबारे टोल टोलमा गई एकिकृत स्वास्थ्य परिक्षण गरि उपचारको व्यवस्था गरिनेछ ।
–नगरपालिकाअन्तर्गतका टोलहरुलाई पोषणमैत्री टोल साथै वडाहरुलाई पोषणमैत्री नमुना टोल निर्माण गरिने छ ।
–नगरपालिकामा अध्ययनरत सबै किशोरीको रक्तअल्पता तथा बालबालिकाहरुको कुपोषणको अबस्थाको चेकजाँच गरी उपचारको व्यवस्था मिलाईने छ । साथै, विद्यालयहरुमा स्वास्थ्य शिक्षा, वास कर्नर स्थापना, फोहोर व्यवस्थापन, खानेपानी व्यवस्थापन, प्राथामिक उपचार बाकस, विद्यार्थीहरुको कान तथा आखा परिक्षण जस्ता कार्यक्रमहरु सन्चालन गरिने छ ।
–नगरभित्रका सुत्केरी महिला, अपाङ्ग, असक्त, ७० वर्षभन्दा माथीका बृद्धाहरलाई घरमै पुगि निशुल्क स्वास्थ्य परिक्षण गरी निशुल्क औषधिको व्यावस्था मिलाइने छ ।
–बोबाङ स्वास्थ्य चौकीलाई प्राथामिक स्वास्थ्य सेवा केन्द्र स्तरको स्वास्थ्य सेवासहित स्तरउन्नति गरिनेछ ।
–निजी क्लिनिक, पोलिक्लिनिक, फार्मेसी, ल्याव, आयुर्वेद, दन्त, वैकल्पिक चिकित्सा प्रणालीलाई नगरपालिकाको कानून बमोजिम अनिवार्य दर्ता प्रक्रियामा ल्याईनेछ ।
–महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाइ सम्मानजनक विदाई, आधारभूत तालिमको व्यवस्था मिलाईनेछ र स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गर्नको लागि ५० प्रतिशत नेपाल सरकारले छुट गर्दै आएकोमा बाँकी ५० प्रतिशत नगरपालिकाले व्यहोरी शत प्रतिशत निःशुल्क बनाइनेछ ।
–स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुचना व्यवस्थापन प्रणाली, प्रशासन व्यवस्थापन सम्बन्धि तालिम र नर्सिङ कर्मचारीलाई मातृशिशु सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिनेछ ।
–विभिन्न रोगको महामारी नियन्त्रण र विपद व्यबस्थापन पुर्वतयारी तथा प्रतिकार्यको एकिकृत उपायहरु अवलम्बन गरिने छ । साथै, मुहानको खानेपानीको ल्याब जाँच गरी क्लोरिनेशन गरिनेछ ।
–घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन र सबै प्रकारका स्वास्थ्य सेवा एकै स्थानबाट दिने गरि एकीकृत स्वास्थ्य शिविरहरु संचालन गरिनेछ ।
–मेरो बालबालिका कार्यक्रममार्फत प्रत्येक महिना बालबालिकाको पोषण लेखाजोखा गरि कुपोषण न्यनिकरणको लागि समुदाय स्तरमा उत्पादन भएका रैथाने खानाको प्रवर्धन तथा प्रदर्शन गरी पोषणमैत्र स्थानीय तह बनाउन पहल गरिने छ ।
–नगरपालिकाका सम्पुर्ण बालबालिकाले सम्पुर्ण खोप समयमै लगायको सुनिश्चित गरि पुर्ण खोप नगरपालिका दिगोपना सुनिश्चितता गरिने छ ।
–न्युनतम सेवा मापदण्ड अनुसार स्वास्थ्य संस्थाहरुलाई स्तरोन्नति गर्नको लागि सामाग्रीको पदपुर्ति गर्ने र स्वास्थ्यकर्मीहरुलाई उत्कृष्ट स्वास्थ्य संस्थामा अवलोकन भ्रमण गराईने छ ।

३. आयुर्वेद औषधालय
–स्थानीय जनतालाई आयुर्वेद सेवामार्फत योग, ध्यानसहित स्वस्थ जीवनशैलीको लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।

४. संस्कृति सम्बद्र्धन
–नगरपालिकालाई बहुसांस्कृतिक रुपमा विकास गर्दै विभिन्न पर्व, मेला, संस्कृति र रहनसहनलाई विकसित गर्दै लगिनेछ ।

५. लैङ्गिक समानता र सामाजिक समावेशीकरण
–लैङ्गिक विभेद अन्त्य गर्दै लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गरिनेछ । ‘हिंसा मुक्त नगरपालिका हाम्रो पहिचान’ अभियान संचालन गरी सबै हिंसाविरुद्ध शुन्य सहनशिलता नीति अबलम्बन गरिनेछ ।
–महिला, दलित, बालबालिका, अल्पसंख्यक, अति गरिब, आदिवासी जनजाति र सामाजिक बहिस्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरु संचालन गरिनेछ ।
–“राम्रो टोल हाम्रो समाजको मोल” अभियान संचालन गरी विकासका कार्यक्रमहरुमा टोल विकास संस्थाहरुलाई प्रभावकारी रुपमा सहभागी गराई टोलको सुधार गरिनेछ ।

६. खानेपानी तथा सरसफाई
–सुरक्षित पिउने पानी व्यवस्थापनको लागि ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
–सबै खालका पानिको मुहानलाई दर्ता गर्दै थप व्यवस्थित गरिनेछ ।
–टोल विकास संस्था र सामाजिक संघ संस्थाहरुसँग फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहकार्यको नीति लिइनेछ ।

७. मानव अधिकार र सामाजिक न्याय
–सामाजिक न्याय कायम हुने गरी मानव अधिकारको उपयोग, सम्मान, संरक्षण र प्रवद्र्धन गरिने छ ।

८. भूमिहीन दलित, भूमीहीन सुकुम्बासी र अब्यवस्थित बसोवास व्यवस्थपान
–राष्ट्रिय भूमी आयोगसँगको सहकार्यमा अनलाईन प्रणालीमा दर्ता भएका निवेदन उपर छानविन गरी जग्गा व्यवस्थापन गर्न आवश्यक तथ्याङ्क व्यवस्थित गरिने छ ।
–जग्गा प्राप्तिको लागि निवेदन दिन छुट भएका व्यक्तिहरूको लागि एकपटकका लागि सार्वजनिक सूचना प्रकाशन गरिने छ ।
–राष्ट्रिय भूमी आयोग र नापी कार्यालय सँगको सहकार्यमा भूमिहीन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास व्यवस्थापन गर्न जग्गा व्यवस्थापन र नापजाँच नक्साको डिजिपिएस मेसिनको प्रयोग गरी कन्ट्रोल पोइन्ट स्थापना गरिनेछ ।

पूर्वाधार विकास
ढोरपाटन नगरपालिका पर्यटनको हिसाबले प्रचुर संभावना रहेपनि श्रोत साधानको कमीले आशातित विकास हुन नसकेको हुँदा ढोरपाटनको विकासमा हिस्सेदार बन्न सम्पूर्ण देशभरका पेशा व्यवसायलाई पूर्वाधारमा लगानी गर्न र पूर्वाधार विकासमा निर्माण गर्न अनुरोध गरिनेछ र सो बापत सबैलाई सम्मान गरिनेछ ।

१. सडक, यातायात तथा पुल
–नगरपालिकाको विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केही ठूला आयोजनाहरु पहिचान गरी गौरवका आयोजनाका रुपमा कार्यान्वयन गरिनेछ र त्यस्ता आयोजनामा श्रोतको अभाव हुन दिइने छैन ।
–नगरस्तरीय मर्मत संभार कोष स्थापना गरि कच्ची सडकको मर्मत संभार तथा स्तरोन्नतिमा विशेष जोड दिईनेछ ।
–विगत देखिका निर्माणाधिन तथा अधुरा योजनाहरुलाई सम्पन्न गर्न क्रमागत रुपमा बजेट विनियोजन गरिनेछ ।
–नगरपालिकाभित्र सडक चित्र तथा ट्राफिक चिन्हको माध्यमबाट सडक दुर्घटना न्यूनिकरण गरिनेछ ।

२. भवन तथा सहरी विकास
–राष्ट्रिय भवन संहिताको आधारमा सार्वजनिक भवन निर्माणको मापदण्डलाई कार्यान्वयन गरिनेछ ।
–वडा कार्यालय सामुदायिक भवन र नमुना विद्यालयका भवनहरु क्रमागत रुपमा निर्माण गरिनेछ ।
–घर नक्सा पास गरेर मात्र भवन बनाउने परिपाटिलाई जोड दिईनेछ ।

३. उर्जा
–स्थानीय लघु जलबिद्युतको संरक्षण गर्दै बैकल्पिक उर्जाको क्षेत्र विस्तार गर्नुको साथै विद्युत खपत बढाईने छ ।

४. सिंचाई
–सिँचाईको व्यवस्था नभएका खेतीयोग्य जमिनहरुको पहिचान गरी वडाको मागको आधारमा सिँचाई कार्यक्रमहरु संचालन गरिनेछ ।
–साना तथा मझौला कृषकहरुलाई सिचाइको पहुँचमा ल्याउनको लागि साना सिंचाई प्रवद्र्धन कार्यक्रम संचालन गरिने छ ।

आर्थिक विकास
१. कृषि, पशुपन्छी तथा मत्स्य विकास
–ग्रामणी खाद्य पोषणलाई मध्यनजर गर्दै “एक घर एक करेसाबारी” कार्यक्रम सञ्चालन गरिने छ ।
–रैथाने बाली संरक्षण कार्यक्रम जस्तै कोदो, जौ, उवा, स्थानीय आलु लगाएतका स्थानीय उत्पादनलाई विद्यालयमा दिवा खाजाको रुपमा प्रयोगमा ल्याउन पहल गर्नुका साथै सामुदायिक विद्यालयसंग कृषि खाद्य कार्यक्रम सञ्चालन गरिने छ ।
–एक वडा एक नर्सरी स्थापना गरी ढोरपाटन नगरपालिकाभित्रका कृषकहरुलाई सहज र शुलभ मुल्यमा तरकारी तथा फलफुलका बेर्नाहरु उपलब्ध गराईने छ र च्याउ खेती तथा मौरीपालन कार्यक्रम सञ्चालन गरिने छ ।
–कृषि उपजको न्यूनतम समर्थन मुल्य निर्धारण गरी उत्पादित वस्तुको बजारक्षेत्र पहिचान गरिनेछ र कृषि संकलन केन्द्र स्थापना तथा साप्ताहिक हाटबजारको लागि पहल गरिनेछ ।
–स्थानीय उत्पादनले नै पुग्ने बनाउन तरकारी उत्पादनका लागि आधुनिक पलाष्टिक टनेल मल विउ तथा आधुनिक कृषि औजार र उत्पादन सामाग्री अनुदान दिईनेछ ।
–कृषि जन्य उत्पादनको जोखिम घटाउन कृषि तथा पशु विमामा किसानहरुले बहन गर्ने प्रिमियम शुल्क नगरपालिकाबाट प्रदान गरिनेछ ।
–कृषकको खेतबारीमा कृषि प्राविधिक पुगि माटो परिक्षण गरिनेछ र उत्पादनको आधारमा प्रत्येक वडाका १–१ जना उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिने ।
–बजारका छाडा कुकुर र चौपायालाई उचित व्यवस्थापन गरिनेछ ।

२. सहकारी तथा वित्तीय क्षेत्र
–सहकारी संस्थाहरूको आर्थिक तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्न कोपोमिस प्रणालीमा आबद्ध गर्नका लागि तालिम सञ्चालन गरिनेछ ।
–कमजोर र निष्क्रिय सहकारीहरूको पुनःगठन, पुनःसंरचना वा खारेज प्रक्रियालाई अभियानको रुपमा संचालन गरिनेछ ।
–गाउँ–बस्तीहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ र बैंक तथा वित्तीय संस्थाहरू नभएका बस्तीहरूमा मोबाइल बैंकिङ, शाखारहित बैंकिङ वा सहकारी शाखा स्थापनाका लागि सहजीकरण गरिनेछ ।
–दलित, महिलाहरू, विपन्न र सीमान्तकृत समुदायका लागि लक्षित बचत तथा ऋण कार्यक्रम ल्याइने छ ।

३. उद्योग तथा वाणिज्य
–उद्योग तथा व्यवसायहरुलाई घुम्ती शिविर तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिने छ ।
–कृषिमा आधारित घरेलु तथा साना उद्योगका साथै लघुउद्यम सम्बन्धी विभिन्न तालिमको व्यवस्था गरिने छ ।
–स्थानीय स्तरको स्रोत साधन र सीपबाट उत्पादन हुने सामग्रीहरुको बजारीकरणको लागि व्यवस्था गरिने छ ।
–नयाँ लघु उद्यमी सृजना गर्न उद्यमशिलता विकास तालिम र उद्यमविकास तालिम लिइसकेका उद्यमीहरूको लागि सीप विकास तथा एड्भान्स तालिम चलाइने छ ।

४. पर्यटन
–नगरपालिकाकामा पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नको लागि जडिबुटी, फलफूल, प्राकृतिक तथा सांस्कृतिक सम्पदा भौगोलिक दृश्यवलोकन, पदमार्ग र होमस्टे जस्ता क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गरिने छ ।
–नगरपालिका भ्रमण गर्ने पर्यटकहरुलाई स्थानीय परिकारको ब्राण्डको रुपमा खाना उपलब्ध गराउन सबै होटल व्यवसायी र होमस्टेलाई अनुरोध गरिने छ ।

५. श्रम तथा रोजगारी
–राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमलाई प्रभावकारी बनाउन सामुदायिक आयोजनामा नगरपालिकाको लागत साझेदारी कायम गरिनेछ । वडा स्तरीय आयोजनामा समेत श्रम तथा रोजगार शाखामार्फत श्रमिकको आपुर्ति गरिने छ ।
–स्थानीय तहमा दर्ता भएका बेरोजगार व्यक्तिहरुलाई न्युनतम रोजगारीको प्रत्याभूति गर्नका लागि कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन गरी श्रममूलक योजनामार्फत समुदायको विकाससंगै सामाजिक संरक्षणको प्रत्याभूति गराइने छ र सीपमुलक कार्यक्रम संचालन गरी बेरोजगार व्यक्तिलाई स्वरोजगार बन्न उत्प्रेरित गरिने छ ।
–रोजगार, स्वरोजगार एवम् वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गर्ने र रोजगार संवाद मञ्च सञ्चालन गरिने छ ।
–औपचारिक, अनौपचारिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन प्रत्येक वडामा समाजिक सुरक्षा कोष सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्दै लगिने छ ।
–वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूको लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको सहजीकरण तथा वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूको लागि कन्सुलर सेवा उपलब्ध गरिने छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापन
१. वन तथा वातावरण
–सामुदायिक वनको संरक्षण, खाली स्थानमा वृक्षारोपण गर्ने र पानीको मुहानको आसपास जमिनमा रुख काट्ने वा अन्य गतिविधि गर्न नपाइने नीति अवलम्बन गरिने छ ।

२. जल उत्पन्न प्रकोप नियन्त्रण र विपद् व्यवस्थापन
–विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापन तथा जलवायु उत्थानशील योजना अनुसार विपद् पुर्व तयारी, विपद् न्यूनीकरण, प्रतिकार्य र पुनस्र्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने छ ।
–ढुंगा, गिट्टी र बालुवा जस्ता नदीजन्य पदार्थ र अन्य प्राकृतिक श्रोतहरुको अनाधिकृत एवं अवैज्ञानिक दोहनलाई नियन्त्रण गरिने छ ।
–विपद् जोखिम व्यवस्थापन कोष स्थापना गरि सो कोषबाट विपद व्यवस्थापन, राहत पुनःस्थापना जस्ता विषयमा खर्च गर्ने गरि कोषको कार्यविधि निर्माण गरिने छ ।

सुशासन तथा संस्थागत क्षमता विकास
१. प्रशासनिक व्यवस्थापन तथा सुशासन
–सार्वजनिक सुनुवाई तथा जनतासँग जनप्रतिनिधि कार्यक्रमलाई निरन्तरता दिई जनप्रतिनिधि तथा कर्मचारीलाई जनता तथा सेवाग्राहीप्रति जवाफदेही र उत्तरदायी बनाइने छ ।
–न्यायीक सम्मेलन गर्नुका साथै न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरुको विषयगत ज्ञान र क्षमता विकासका कार्यक्रमहरु संचालन गरिने छ ।
–नगरपालिका कार्यालयको मानव संशाधन पर्याप्त नभएका क्षेत्रमा सम्बन्धित विषयका विज्ञलाई सहजकर्ता वा विशेषज्ञको रुपमा प्रयोग गर्ने नीति लिइने छ ।
–जनप्रतिनिधि तथा कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम, गोष्ठी तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रमलाई परिणाममुखी बनाईने छ ।
–उपभोक्ता समितिलाई तालिम संचालन गरी विकास निर्माण, प्राविधिक नापजाँच, योजना संचालन कार्यान्वयन र फरफारकको विषयमा अभिमुखिकरण गरिने छ ।
–आधारभुत वस्तु तथा सेवाको सहज आपूर्ति र गुणस्तर कायम गर्न नियमित रुपमा बजार अनुगमन गर्ने र यस्तो अनुगमनमा उपभोक्ताहरुलाई संलग्न गराइने छ ।
–संघीय सरकार, प्रदेश सरकार र अन्य स्थानीय तहहरुसँग आपसी सहकार्य र समन्वयको लागि अन्तर समन्वय तथा सहकार्य नीति तर्जुमा गरिने छ ।
–नेपाल सरकारको बैदेशिक ऋण र आन्तरिक ऋणमध्ये चालु आ.व.मा विनियोजन गरेको बजेट बाहेक बाँकी ऋणको साँवा ब्याजमध्ये ढोरपाटन नगरपालिकाले आफ्नो दायित्वबोध गरी नेपाल सरकारको ऋण तिर्न सहयोग गर्नेछ । नेपाललाई ऋण बिनाको देश बनाउन ‘ऋण मुक्त देश’ निर्माण गर्ने अभियानमा सम्पूर्ण स्थानीय सरकार (पालिका)हरु, प्रदेश सरकारहरु, प्रत्येक बैंकहरु, प्रत्येक निर्माण व्यवसायीहरु, प्रत्येक संस्थानहरु, प्रत्येक उद्योगहरु, प्रत्येक व्यपारिक प्रतिष्ठानहरु लगायत सबै नेपाली नागरिक र नागरिकका पेशा व्यवसायहरुलाई स्वेयच्छाले ‘ऋण मुक्त देश’ निर्माण गर्ने अभियानमा हिस्सेदारी बन्न आग्रह गरिने छ । यस अभियानमा सहभागी बन्न ढोरपाटन नगरपालिका विनम्र अनुरोध गर्दछ । यसको लागि कार्यविधि लगायत कानुन बनाई लागु गरिनेछ ।

२. आर्थिक प्रशासन एंव व्यवस्थापन
–आर्थिक तथा प्रशासनिक अनुशासन कायम गर्ने सम्बन्धमा बाँकीको बक्यौता, पेश्की, बेरुजु लगत विवरण अद्यावधिक गरी कडाईका साथ असुल उपर एवम् फछ्यौट गर्ने कार्य अगाडी बढाईने छ ।
–नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा र विकास निर्माणमा हुनसक्ने भ्रष्टाचार, अपारदर्शिता तथा ढिलासुस्तीमा शुन्य सहनशीलताको नीति अख्तियार गरिने छ ।

३. राजस्व तथा आन्तरिक श्रोत परिचालन
–सम्पत्ति करको सुरुवातसंगै आन्तरिक आय व्यवस्थापन, प्राकृतिक स्रोत बिक्री सम्बन्धी रणनीति तर्जुमा गरी राजस्व परिचालनलाई थप व्यवस्थित तुल्याइने छ ।
–करदाताहरुको अभिलेख व्यवस्थापन सुदृढ गर्दै उत्कृष्ट करदाताहरुलाई पुरस्कृत तथा सम्मानित गर्ने नीति लिइने छ ।
–करदाताको कर लगतलाइ ब्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा उपयोग गर्न, करदातालाई कर सम्बन्धी सूचना प्रवाह गर्ने प्रणाली लागु गरिने छ ।

४. राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण इकाई
–सामाजिक सुरक्षाभत्ता नयाँ पेश तथा नविकरण गर्नको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बायोमेट्रिक भेरिफिकेसन अनिवार्य गरेको हुँदा बायोमेट्रिक डिभाइस (डुल आईरिस) खरिद गरि संचालनमा ल्याईने छ ।
–व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता तथा बायोमेट्रिक डिभाईस संचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिने छ ।

सूचना तथा संचार
–नगरपालिकाका विकास गतिविधि, सेवा प्रवाह र सामाजिक परिचालनलगायत नगरपालिकाबाट सम्पादन हुने कार्यहरुलाई निरन्तर रुपमा कार्यालयको आधिकारिक फेसबुक पेज र बेवसाइटमार्फत प्रकाशनको कार्यलाई थप व्यवस्थित गरिने छ ।
–स्थानीय संचार माध्यमको सवलीकरण सञ्चारकर्मीहरुको क्षमता विकासको लागि सहयोग गरिने छ ।
–सबै सरकारी सेवा, प्रक्रिया, तथा डाटा व्यवस्थापन प्रणालीलाई डिजिटल माध्यममा रुपान्तरण गरिने छ । साथै, सबै नागरिकलाई सूचना तथा प्रविधिको पहुँच उपलब्ध गराइने छ ।
–नगरपालिकाबाट हुने सेवा प्रवाहको विषयमा पकेट बडापत्र प्रत्येक नागरिकको घरघरमा उपलब्ध गराउने र पालिकाका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय लगायतका सबै सरकारी निकायमा ई–हाजिरी, सि.सि. क्यामेरा जडान गरी त्यसको नियन्त्रण सुपरीवेक्षण गर्न पालिकामा डिस्प्ले हुने व्यवस्था मिलाईने छ र सरकारी कामकाजको पार्दर्शिता सुनिश्चित गर्न ई–गभर्नेन्स प्रणालीको विकास गरिने छ ।

नगर सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका योजनाहरु कार्यान्वयन भई स्थानीय अर्थतन्त्रमा वृद्धि हुनुको साथै आत्मनिर्भर, समृद्ध, सुखि र सुशासनयुक्त नगरपालिका निर्माण हुने विश्वास लिएको छु ।

अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने का.वा. नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिका तथा वडा सदस्यहरु, सम्पूर्ण कर्मचारी साथीहरु, निवर्तमान जनप्रतिनिधिहरु, राजनैतिक दलका पदाधिकारी, शिक्षक, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधि, देश–विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरु सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

नविन शेरचन
सभा सदस्य

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->