पोखरा/ एक करोड ३० लाख रुपैयाँ भन्दा बढी मूल्यका सुनका गहनासहित पोखरामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, पन्जाबको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बिक रहेका कास्की प्रहरीले जनाएको छ ।
उनीहरुलाई पोखराबाट बुटवलतर्फ जाँदै गर्दा पुम्दीभुम्दीमा चेकजाँचका क्रममा पक्राउ गरिएको हो । उनीहरूको साथबाट प्रहरीले ८२ तोला १६ लाल सुनका गरगहना बरामद गरेको आज पत्रकार सम्मेलनमा जनाइयो । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ बराबर रहेको छ । बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र र पोतेलगायत छन् ।

प्रहरीका अनुसार, कुलदिप सिंह र रामबहादुर बिकबीच सामाजिक सञ्जालमार्फत झण्डै तीन वर्षअघिदेखि सम्पर्कमा रहेको खुलेको छ । भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने कुलदिपले नेपालमा पनि कारोबार गर्ने योजना बनाएका थिए । उनीहरूलाई सुनका विभिन्न गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको एसपी श्यामबाबु ओलियाले जानकारी दिए । अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट सुन ल्याइ नेपालमा विक्री गर्न लागेको प्रहरीले जनाएको छ । कुलदिपसँगै पोखरा आएका रामबहादुरले बिक्रीबाट केही रकम पाउने सर्तमा साथ दिएको स्वीकारेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए ।





