शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

काठेखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

कोदोको अर्गानिक लोकल रक्सीलाई ब्रान्ड्रिङ र लेबलिङ गरी बिक्रि वितरण गर्नका लागि आगामी आर्थिक वर्षदेखि आवश्यक प्रक्रिया अगाडी बढाईने छ ।


  • राजु थापा अध्यक्ष, काठेखोला गाउँपालिका
  • असार ८ २०८२, आइतबार

गाउँसभा सदस्य ज्युहरु

इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति उच्च सम्मान ब्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, लोकतान्त्रिक जनआन्दोलनका घाईतेप्रति पनि उत्तिकै सम्मान ब्यक्त गर्दछु । देशको युगान्तकारी परिवर्तनका लागि बिभिन्न समय र कालखण्डमा भएका राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र जनजिविकाको आन्दोलनमा अगुवाई, नेतृत्व एवम् समाहित हुनुहुने सम्पुर्ण अग्रजहरुको त्याग, समर्पण र योगदानको उच्च सम्मानसहित कदर गर्दछु ।

अब म आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तर्जुमा गर्दा लिईएको आधार, सोच, लक्ष्य, उद्देश्य र अपेक्षित लक्ष्य प्रस्तुत गर्न चाहन्छु ।

नीति तथा कार्यक्रम तर्जुमाको आधारहरु
–नेपालको संविधान, २०७२
–स्थानीय सरकार संचालन ऐन, २०७४
–संघ र प्रदेश सरकारले जारी गरेका नीति, नियम, कानुन तथा मापदण्डहरु
–संघ, प्रदेश र गाउँपालिकाको आवधिक विकास योगना, दिगो विकासका लक्ष्यहरु र विकासका अन्तर सम्वन्धित विषयहरु
–गाउँपालिकामा निर्माण भएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिहरु
–संघिय र प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु
–नेपाल सरकारको १६ औँ योजना र दिगो विकासका लक्ष्यहरु
सोचः
‘कृषि, पर्यटन, शिक्षा र पूर्वाधार, समृद्ध काठेखोला निर्माणको आधार’ लक्ष्य
स्थानीय स्रोत साधनको उच्चतम परिचालन र न्यायोचित वितरणद्धारा नागरिकहरुको आर्थिक, सामाजिक स्तरमा बृद्धि गर्दै समृद्ध, समतामूलक र सुशासनयुक्त काठेखोला गाउँपालिका निर्माण गर्ने ।
उद्देश्य
–शिक्षा, स्वास्थ्य, पर्यटन एवं भौतिक पूर्वाधारको विकास र विस्तार गरि गाउँपालिकालाई आर्थिक समृद्धतर्फ उन्मुख गर्ने ।
–कृषि तथा पशुपालन क्षेत्रलाई व्यवसायीक र आधुनिक प्रविधिमा रुपान्तरण गरि नागरिकको जिवनस्तरमा सुधार गर्नुको साथै कृषि सहकारीलाई प्रवर्धन गर्ने ।
–सर्वसुलभ, गुणस्तरिय शिक्षा र स्वास्थमा जोड दिने ।
–उपलव्ध स्रोत साधन र अवसरको न्यायोचित वितरणमार्फत स्वाधिन र समाजवाद उन्मुख ग्रामीण अर्थतन्त्रको निर्माण गर्ने ।
–महिला, दलित, जनजाति, बिपन्न, उपेक्षित र गरिवीको रेखामुनी रहेका गाउँपालिकाका नागरिकलाई सामाजिक र आर्थिक समानता कायम गर्ने ।
–बिपद जोखिम न्युनिकरण, उद्धार राहत एवं वन वाताबरण र जलाधार संरक्षण गर्ने ।

अपेक्षित उपलब्धीहरु
प्रस्तावित नीति तथा कार्यक्रम र बजेटको सफल कार्यान्वयनबाट काठेखोला गाउँपालिकाको समग्र विकासमा नयाँ आयाम थपिनेछ । आर्थिक तथा सामाजिक क्षेत्र थप गतिशिल हुनेछ । पारस्परिक सम्मान र अवसर सहित सामाजिक न्याय कायम हुनेछ । “कृषि, पर्यटन, शिक्षा र पूर्वाधार, समृद्ध काठेखोला निर्माणको आधार” भन्ने गाउँपालिकाको दिर्घकालिन सोच पूरा गर्न योगदान पुग्नेमा विश्वास लिएको छु ।

अब म आ.व. २०८२/०८३ को विभिन्न विषयगत एवम क्षेत्रगत नीति तथा कार्यक्रमहरु यस गरिमामय सभामा प्रस्तुत गर्दछु ।

१) आर्थिक विकासतर्फ
कृषि तथा पशुपालन
–परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई विविधीकरण, आधुनिकीकरण, यान्त्रीकीकरण र ब्यवसायिकीकरण गरी आयआर्जनतर्फ उन्मुख गराउदै नविनतम खेती प्रणालीको पहिचान गर्दै चिया, अलैची, ओखर टिमुर, आलु र सुन्तला खेती जस्ता नविनतम् खेतीको पकेट स्थापना गरी ब्लकको रुपमा विकास गर्न यस वर्ष पनि कृषि पकेट पुर्वाधार कार्यक्रमलाई निरन्तरता दिइने छ ।
–कृषि तथा पशुपालनको क्षेत्रमा विवाईसी बागलुङ र हेफर प्रोजेक्ट नेपालसंग विगत केही बर्षदेखि निरन्तर रुपमा गरिदै आइएको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना साझेदारी कार्यक्रमलाई आगामी आ.व. २०८२÷०८३ मा पनि निरन्तरता दिइने छ ।
–मौरीपालन व्यवसायीको संख्यामा उल्लेख्य बृद्धि भएकोमा खुसी ब्यक्त गर्दै मौरीपालन व्यवसायलाई व्यवस्थित गरी मौरी पकेट क्षेत्रको रुपमा विकास गरिने छ ।
–गत वर्षदेखि नै अभ्यासको रुपमा सञ्चालन गरिएको उत्पादनमा आधारित कृषि, मासु तथा दुधजन्य सामग्रीको बिक्री वितरणका लागि अनुदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिईने छ । त्यसको वजार व्यवस्थापनका लागि आवस्यक पहल गरिने छ भने कृषि, मासु तथा दुधजन्य सामाग्रीहरुको उद्यम प्रर्वद्धनमा विशेष जोड दिइने छ भने तरकारी खेतीप्रति नागरिकको आकर्षण वृद्धि गर्न गत वर्षदेखि नै सञ्चालनमा आएको तरकारी मिनिकिट अनुदान कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइने छ ।
–बिवाईसी बागलुङ र हेफर प्रोजेक्ट नेपालसंग समन्वय र सहकार्य गरि कृषकहरुले उत्पादन गरेका उत्पादनहरु संकलन गरी बजारीकरण गर्ने अभिप्रायले अक्षते बजारमा काठेखोला कृषि उपज संकलन केन्द्रको भवन निर्माण कार्य भइरहेको अवगत गराउँदै आगमी वर्षदेखि सञ्चालन हुने गरी व्यवस्थापन गरिने छ ।
–कोदो, धान र मकै बालीको उन्नत बिउ उत्पादनमा प्रोत्साहन स्वरुप अनुदान कार्यक्रम सञ्चालन गरिने छ । साथै, कोदो बाली उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने छ ।
–विषादीको असर र पशुबाट मान्छेमा सर्ने जोनेटिक रोगबारे आम नागरिकलाई सचेतना कार्यक्रममार्फत सुशिक्षित गरिने छ ।
–कृषकहरुको उत्पादन वृद्धिका लागि मझौला तथा साना सिंचाइहरुको आवस्यक व्यवस्थापन गरिने छ ।
–कृषकहरुलाई फलफूल व्यवसायप्रति उत्प्रेरित गर्न फलफूल बगैचा व्यवस्थापनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
–कृषक एवम् आम नागरिकको मागलाई मध्यनजर गर्दै गत वर्ष नै सञ्चालन गर्ने भनिएको बाँदर व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समुहहरुसंग सहकार्य गरि बाँझो तथा सामुदायिक वन जंगलमा फलफूल तथा गिठा, तरुल, भ्याकुर र कन्दमुल जस्ता फलफूल तथा खनिजजन्य खाद्यान्नहरु लगाई बाँदर व्यवस्थापन गरिने छ ।
–वडा स्तरमा गठन भएका कृषि सञ्जाल एवम कृषि तथा पशु उपशाखालाई थप ब्यवस्थापनसहित प्रभावकारी र कृषिमैत्री ढंगले सञ्चालन गरिने छ ।
–गाउँपालिकाभित्रका सम्पुर्ण विद्यालयमा संचालित दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनसंग जोडेर बालबालिकाहरुलाई कृषि तथा पशुपालनतर्फ समेत आर्कषित गर्दै पोषिलो ताजा खाजाका लागि प्रोहोत्साहन गरिने छ ।
–केही किराना पसलमा विषादी बिक्री गरेको पाईएकोले यसलाई रोक्न अनुगमनलाई थप प्रभावकारी बनाइने छ ।
–हरेक वडामा वडा स्तरीय भेटेनरी माइनरल ल्याव स्थापना गरिने छ ।
–गाउँपालिकाभित्र रहेका बाँझो जमिन उपयोगमा प्रोत्साहन गरिने छ ।

उद्योग तथा वाणिज्य
–औद्योगिक क्षेत्रको विकास आर्थिक विकासको मेरुदण्ड हो । मुलुकको आर्थिक विकासको इन्जिनको रुपमा रहेको उद्योग क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन माथि नै नेपालको आर्थिक समृद्धि निर्भर रहेको छ । जबसम्म हामीले हाम्रा नागरिकको आर्थिक स्थितिमा सुधार ल्याउन सक्दैनौ तबसम्म हामीले जति विकास र परिवर्तनका कुराहरु गरेपनि समृद्धि प्राप्त गर्न सक्दैनौ । अबको हाम्रो लक्ष्य आर्थिक समृद्धि हो । हाम्रा नागरिकहरुलाई उत्पादन, आयआर्जन र शिप विकासमा जोड्दै उद्यमशिलताको विकास गर्न विगत वर्षदेखि निकै प्रभावकारी रुपमा सञ्चालन भएको अध्यक्षसंग सिप विकास कार्यक्रमलाई यसवर्ष पनि थप प्रभावकारिताका साथ सञ्चालन गरिने छ ।
–गाउँपालिकाभित्र उत्पादन हुने नाङ्लो, डाली, मकैको भुत्लाबाट निर्माण हुने फूलजन्य सामाग्रीहरु संकलन गरि अक्षेते बजारमा सञ्चालन हुने संकलन केन्द्रमा काठेखोला कोशेली घर सञ्चालन गरिने छ । जहाँबाट गाउँपालिका भित्रका विभिन्न क्लव, संघ संस्थाहरुले आयोजना तथा सञ्चालन गरिने मेला, महोत्सवहरुमा उपहार तथा मायाको चिनो दिने व्यवस्था मिलाईने छ ।
–गाउँपालिकाभित्र रहेका खनिज उत्खनन्का लागि अनुसन्धान गर्न संघ तथा प्रदेश सरकारसंग समन्वय गरी श्रोत जुटाउन आवश्यक पहल गरिने छ ।
–हाम्रा हरेक उत्पादनहरुलाई लघु तथा घरेलु उद्योगको रुपमा विकास गरि गाउँका उत्पादनहरुको संकलन, स्तरीकरण र ब्राण्डिङ गरि बजारीकरणको नीति लिइने छ । यहाँ उत्पादन हुने दुग्ध पदार्थ, मासुजन्य उत्पादन, सुन्तला र आलुको परिकारहरुलाई अझ थप व्यवस्थित गरि गाउँपालिकाकै पहिचानको रुपमा स्थापित गर्न आवस्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
–गाउँपालिका भित्रका लघु उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण र विक्रि वितरणका लागि काठेखोला संकलन केन्द्रमार्फत बिक्री वितरणको व्यवस्था मिलाइने छ । संकलन केन्द्रलाई सुचना प्रविधिको उच्चतम उपयोग गरि उत्पादित सामग्रीको बजारीकरण गर्न बिशेष पहल गरिने छ ।
–कोदोको अर्गानिक लोक्कल रक्सीलाई ब्रान्ड्रिङ र लेबलिङ गरी बिक्रि वितरण गर्नका लागि आगामी आ.व.देखि आवश्यक प्रक्रिया अगाडी बढाईने छ ।
–कृषि, दुग्धजन्य, मासुजन्य साना तथा मझौला उद्योग स्थापनाका लागि प्रोत्साहन गरिने छ ।
–बदलिदो बजार मागलाई ध्यान दिदै यस क्षेत्रका रैथाने बाँकोको सिन्की, सिस्नुको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाई (क्यान्डी), जुस, अचारलाई व्यवसायिक गर्दै गाउँपालिकाका सबै वडाहरुमा उत्पादन हुने स्थानीय उत्पादनको ब्रान्डिङ, प्याकेजिङ र लेवलिङ गरी बजार व्यवस्थापन गरिने छ ।
–काठेखोला गाउँपालिकामा पहिलो र नविनतम उद्योगको रुपमा स्थापना भएको कोदोको विस्कुत उद्योगलाई थप व्यवस्थित, प्रोत्साहन र आवश्यक बजारीकरणको लागि पहल गरिने छ ।
–गाउँपालिकाभित्र उत्पादन हुने कृषि उत्पादनको सर्वेक्षण गरि बास्तविक तथ्याङ्क लिइने छ ।
–यस क्षेत्रमा निकै प्रसिद्ध परंपरागत सीपमा आधारित नाङ्लो, डालो, काठको ठेकी, मान्द्रो लगायतका उत्पादनलाई अन्तरपुस्ता हस्तान्तरण र आधुनिकीकरणतर्फ बिशेष जोड दिइने छ ।
–सबै किसिमका गरिबी निवारणका लागि संघिय सरकारको ससर्त अनुदानमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) लाई क्रमशः आन्तरिकिकरण गर्दै जाने नीति लिइने छ ।

पर्यटन
–काठेखोला गाउँपालिकाको पर्यटन विकासमा मध्यपहाडी लोकमार्ग एक महत्वपूर्ण अवसर हुन सक्छ । नेपालको मध्यपहाडी लोक मार्ग खण्डको झन्दै २० किलोमिटर सडक खण्ड हाम्रो पालिकाको मध्यभागमा परिरहदा यसले पर्यटन प्रवद्र्धनसंगै अन्य विकासका नयाँ सम्भावनाहरु पनि उजागर गरेको छ ।
–आम नागरिकबीच निकै लोकप्रिय बन्दै गहिरहेको होमस्टे ब्यवसाय काठेखोलामा ८ वटा सामुदायिक होमस्टे सञ्चालनमा रहेको र उक्त होमस्टेलाई अझै थप ब्यवस्थित रुपमा सञ्चालन गर्न होमस्टे व्यवसायलाई उत्प्रेरित गरिने छ । यस चालु आ.व.मा काठेखोलाका हामेस्टे सञ्चालकलाई अध्ययन अवलोकन भ्रमण गराईएको जानकारी गराउदै होमस्टेमा पर्यटकको आगमनलाई ध्यानमा राखी पर्यटन प्रवद्र्धनका नयाँ नयाँ कार्यक्रमहरु सञ्चालनमा ल्याइने छ ।
–प्राकृतिक, सांस्कृतिक, कृषि, धार्मिक क्षेत्रमा आधारित काठेखोला गाउँपालिकाको सबै प्रकारका पर्यटनलाई वातावरणमैत्री बनाई पर्यापर्यटनको रुपमा विकास गरिने छ । स्थानीय समुदायमा आधारित पर्यटनलाई बढावा दिई पर्यटनलाई जीविकोपार्जनसंग जोडिने छ । ग्रामिण पर्यटनको रुपमा विकास गर्न होमस्टेहरुलाई थप प्रर्वद्धन तथा व्यवस्थित तवरले सुधार गरिने छ ।
–साहसिक पर्यटन प्रर्वद्धनको विकास गर्नका लागि साहसिक पर्यटन कार्यविधि तयार पारी आवश्यक व्यवस्थापन गरिने छ ।
–आन्तरिक र वाह्य होमस्टे अध्ययन अवलोकन तथा आन्तरिक होमस्टे ब्यवसायमा नियमित अनुगमन गरिने छ । प्रदेशको पर्यटन गन्तव्यको रुपमा गाजाको धुरी, हलहले, शिवधुरी, रामकोट र झुलेनी लगायतका स्थानहरु सुचिकृत भएको र थप कार्यक्रमहरु संचालनका लागि सरोकारवाला बीच समन्वय गरिने छ ।
–आन्तरिक पर्यटक आर्कषित गर्न सफल प्राकृतिक भ्यूटावरको रुपमा रहेको बेलढुङ्गा क्षेत्रमा प्रसिद्ध सर्वसिद्धिधाम जोड्ने पर्यटन पदमार्ग, साइकलल्यान, बनभोज स्थलहरु लगायतका संरचनाहरु क्रमशः निर्माण गरिने छ ।
–ससस्त्र द्वन्दकालमा ज्यान गुमाएका शहिदको सम्झनामा काठेखोला १ पालामा शहिद स्मृति पार्क निर्माण भईरहेको र त्यसलाई द्वन्दकालको अध्ययन केन्द्रका रुपमा विकास गरिने छ ।
–चियाखेती विस्तारलाई काठेखोलाको रेश, भ्युटावर, घोडाँबाँधेमा विस्तार गरिने छ । काठेखोला गाउँपालिका ७ रेशमा रहेको चियाखेतीले उत्पादन दिन सुरु गरिसकेको र यसलाई आयआर्जन र पर्यटन प्रवद्र्धनसंग जोडी चियाखेती विस्तार गरिने छ ।
–बेलढुंगा क्षेत्रलाई थप व्यवस्थित गरि पर्यटकहरुको पहिलो रोजाईमा पर्ने गरि त्यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा जोड दिईने छ ।
–मध्यपहाडी लोकमार्ग खहरे, शहिद स्मृति पार्क पाला, भिमपोखराको भिमादरबार, दयरीबस्ती, धम्जाको बेलढुंगा, तंग्रामको खोर ताल, वसन्ताप, जिमाक सांस्कृतिक एवम संगीत संग्राहलय, जनजाति सांस्कृतिक संग्राहलय, त्रिपुरेस्वर मन्दिर, विहुँकोट, रामकोट, घोडावाँडे, भ्यु टावर, शिवधुरी, लेखानीको हलहले, वौद्ध गुम्वा रेशको ओदानडाँडा मन्दिर र रेशको चिया वगान घुम्ने गरि पर्यापर्यटन रुटको विकास गरि आवश्यक पुर्वाधार निर्माणका लागि पहल गरिने छ ।
–काठेखोला गाउँपालिका विकास, धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचार प्रसार गर्ने अभिप्रायले आदर्श सञ्चार सहकारी संस्था संगको सहकार्यमा काठेखोलाको पर्यटन नामक कार्यक्रम सञ्चालन गरिने छ ।
–नीजि क्षेत्रसंग समन्वय गरि जडिवुटि उत्पादन र प्रशोधन केन्द्र स्थापना तथा संचालनको वातावरण मिलाइने छ । गाजाको धुरी, शिव धुरी, झुलेनीको धुरी, हलहले क्षेत्रलाई पर्यापर्यटन गन्तव्यका रुपमा विकास गरिने छ भने विहुकोटको रामकोट, वडा ६ का विहुँकोट मन्दिर क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गरिने छ ।
–स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीको वातावरण तयार गरि विहँुकोटस्थित थामनेटा, घोडावाँधे, भ्यु टावर क्षेत्रलाई आवासीय क्षेत्रको रुपमा विकास गर्नेगरी रिसोटै, होटल तथा तालिमकेन्द्रको हवमा विकास गर्न आवश्यक पहल गरिने छ ।
–काठेखोला गाउँपालिका वडा नंं. ४ तंग्र्राममा रहेको जिमाक संगीत संग्राहलय र निर्माणाधिन अवस्थामा रहेको जनजाति संग्राहलयलाई पर्यटन प्रवद्र्धनसंगै सम्बन्धित क्षेत्रको अध्ययन केन्द्रका रुपमा विकास गरिने छ ।
–काठेखोला गाउँपालिकाभित्र कृषि, पर्यटन र यातायात क्षेत्रमा व्यापक लगानी आकर्षित गर्ने नीति अबलम्बन गरिने छ ।

सहकारी
–सहकारी क्षेत्रलाई व्यवस्थित र पारदर्शितापूर्ण बनाई बढिभन्दा बढि नागरिकहरुलाई सहकारीमा समाहित गर्न विशेष ध्यान पुराईने छ ।
–सहकारीहरुको माध्यमबाट उत्पादनशिल क्रियाकलापमा संलग्न नागरिकहरुको पूँजि संकलन तथा परिचालन गरी साना तथा स्वरोजगारीका अवसर श्रृजना गरी गरिबी न्यूनिकरण गर्ने योजनालाई निरन्तरता दिइने छ ।
–नागरिकलाई सहकारीप्रति आकर्षित गर्न सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिने छ । साथै कर्मचारीहरुको क्षमता विकास गर्दै आर्थिक पारदर्शिता कायम गर्न सहकारी लेखा व्यवस्थापन लगायत सहकारी शिक्षामुलक तालिम सञ्चालन गरिने छ ।
–कृषि समूह, निजी फर्म र सहकारीहरुको दर्ता तथा कार्यक्षेत्र अनुमति जस्ता विषयलाई व्यवस्थित ढंगले अघि बढाइने छ ।
–सहकारी नियमन तथा अनुगमनलाई प्रभावकारी बनाई नागरिकको वित्तिय सम्पत्तिलाई सुरक्षित गर्न विशेष ध्यान पुराईने छ ।
–कृषि लगायत विषयगत सहकारीलाई सो क्षेत्रमा केन्द्रित भै लगानी गर्ने नीतिलाई कदाईका साथ कार्यान्वयन गरिने छ ।
–गाउँपालिका भित्रका सहकारी संस्थाहरुको दर्ता, अनुगमन, नियमन तथा सचेतना एवम लेखा ब्यवस्थापन कार्यक्रम संचालन गरिने छ ।
–छरिएर रहेको ग्रामीण पुजी एकीतृत गर्ने दरिलो माध्यमका रुपमा रहेको सहकारीलाई ग्रामिण अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गरिने छ ।
–विभिन्न विषयगत सहकारी सम्वन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान गरी दैनिक उपभोग्य बस्तु, कृषि, वन, मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन र विक्री वितरण गर्ने सहकारीलाई विशेष अनुदानको व्यवस्था गरिनुका साथै प्रमुख बस्तीहरुमा सुपथ मूल्यमा सहकारी पसल सञ्चालन गर्न प्रोत्साहन गरिने छ ।
–अव्यवस्थित सहकारीको अनुगमन गरि सुधार गर्न प्रोत्साहन गरिने र सो अनुसार नभएमा नियमानुसार कार्वाहीको प्रक्रिया अगाडी बढाइने छ ।

युवा तथा श्रम रोजगार
–जोश जाँगर श्रम र सीपले भरिएका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जनाको वातावरण निर्माणका लागि प्रोहोत्साहन गरिने छ । वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि सचेतना अभियान सञ्चालन गरिनेछ ।
–युवाहरुको लागि गत बर्षदेखि नै सुरुवात गरिएको लामो तथा छोटो अवधिको सीप विकास तालिम यस बर्ष पनि सञ्चालन गरिने छ । उक्त सीप विकासका तालिममार्फत सीपयुक्त युवा जनशक्ति तयार गरि रोजगारी, स्वरोजगारी सिर्जना एवम युवाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।
–प्रधानमन्त्री रोजगार कार्यक्रम, गरिवी निवारणका लागि लघुउद्यम कार्यक्रम, सुरक्षित आप्रवाशन परियोजना लगायतका कार्यक्रमलाई समायोजन गरि एकिकृत रुपमा श्रम तथा रोजगार शाखा स्थापना गरि सञ्चालनमा ल्याइने छ ।
–काठेखोला गाउँपालिकाभित्र संचालन हुने योजना तथा आयोजनामा स्थानीय श्रममा आधारित रोजगार सिर्जना हुने गरी अभियान सञ्चालन गरिने छ ।
–प्रधानमन्त्री रोजगार कार्यक्रमलाई वडा कार्यालय सहितको साझेदारितामा सञ्चालन गरिने छ ।
–गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यस क्षेत्रको श्रम रोजगार र विकास निर्माणका लागि साझेदारी कार्यक्रमको रुपमा सञ्चालन गरिने छ । यसअघि भएका तालिमहरुको प्रभावकारीता अध्ययन गर्दै उद्यम पर्वद्धन, रोजगारी र स्वरोजगारी वनाउदै सामग्रीहरुको उत्पादन तथा वजारीकरणको व्यवस्था मिलाइने छ ।
–गाउँपालिकाको रोजगार रणनीति निर्माण गरि नागरिकलाई व्यावसायिक सिप विकास, रोजगार प्रर्वद्धन, उत्पादनशिल रोजगारी सिर्जना, उद्यमशिलता प्रवद्र्धन, वैदेशिक रोजगार तथा आप्रावासनका श्रम तथा रोजगार सम्बन्धि सेवा तथा सुविधा स्थानीय तहबाट एकिकृत रुपमा प्रदान गरिने छ ।
–आन्तरीक रोजगारी प्रवद्र्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उध्यमशिलता प्रवद्र्धन कार्यक्रम संचालन गरिने छ । वैदेशिक रोजगारबाट फर्किएका र स्वदेशमै सिप सिकेका व्यक्तिहरुको निशुल्क सिप परिक्षणको व्यवस्था गरिने छ ।
–समुदायस्तरसम्म वैदेशिक रोजगारी सम्बन्धी आधारभुत सूचना तथा जानकारीको पहुँच वृद्धि गर्न आ.व. २०८२।०८३ देखी रोजगार सेवा केन्द्रमार्फत समुदाय अभिमुखीकरण कार्यक्रमहरु संचालन गरिने छ ।
–वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप पूँजी र प्रविधिको उच्चतम प्रयोग गरि पालिकाको आर्थिक वृद्धिमा टेवा पुर्याइने छ । त्यसका लागि आवश्यक कार्यक्रम तथा नितिको व्यवस्था गरि पुनः एकिकरण कार्यक्रम संचालन गरिने छ ।
–वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित गराउन थप पहल गरिने छ । त्यसका लागि सुरक्षित आप्रवासन कार्यक्रमलाई थप व्यवस्थित गरिने छ । काठेखोलाका बासिन्दालाई विदेशमा काम लाग्ने खालको सीप तालिम लिएर वेदेशिक रोजगारीमा जाने व्यवस्थाका लागि प्रदेश सरकार तथा संघिय सरकारसँग समन्वय गरिने छ ।
–वैदेशिक रोजगारमा गएका व्यक्ति तथा उनिहरुको परिवारका सदस्यहरुमा देखापर्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको जोखिम न्यूनिकरण तथा व्यवस्थापनको लागि मनोसामाजिक परामर्श सेवाका कार्यक्रम संचालन गरिने छ ।
–विद्यालय तहबाट मानसिक स्वास्थ्य सचेतनाका क्रियाकलाप संचालन गरिने छ ।
–वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको उपयोगका लागि वित्तिय साक्षरतालाई अभियानको रुपमा संचालन गरिने छ । वित्तिय साक्षरता सम्बन्धी ज्ञान वृद्धि तथा सचेतनाको एकिकृत कार्यक्रम संचालनको लागि वित्तिय साक्षरता रणनीतिक योजना तयार गरिने छ । बैंक तथा वित्तिय संस्थामार्फत संचालन हुने वित्तिय साक्षरता कार्यक्रमलाई एकद्धार प्रणालीमार्फत संचालन गर्ने व्यवस्था मिलाइने छ ।
–प्रधानमन्त्री रोजगार कार्यक्रम र गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमलाई यस क्षेत्रको श्रम रोजगार र विकास निर्माणका लागि साझेदार कार्यक्रमको रुपमा संचालन गरिने छ । उद्यम प्रर्वद्धन, स्वरोजगारी बनाउँदै सामग्रीहरुको उत्पादन तथा बजारीकरणको व्यवस्था मिलाईने छ ।

२. सामाजिक विकासतर्फ
शिक्षा
–शिक्षा लिनबाट कुनै पनि नागरिक बन्चित हुन नपरोस भन्नका खाँतिर काठेखोला गाउँपालिकाको समग्र शैक्षिक विकासका लागि अध्यक्षसंग शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने छ ।
–काठेखोलाको शैक्षिक विकासका लागि ‘काठेखोलाबासीको ईच्छा, गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ यस क्षेत्रको शिक्षालाई वैज्ञानिक तवरले व्यवस्थापन गरिने छ । यसका लागि आवश्यक पर्ने भौतिक पुर्वाधारहरु र मानव संशाधन लगायतका शैक्षिक विषयमा विशेष ध्यान दिइने छ ।
–शिक्षा क्षेत्रलाई आर्थिक तथा सामाजिक रुपान्तरणको संवाहकको रुपमा विकास गर्न विशेष ध्यान दिईने छ ।
–भिमसेन क्याम्पस र अमर क्याम्पसलाई एकिकरण गरि विश्वविद्यालय अनुदान कार्यक्रमसंग जोडी भौतिक पुर्वाधार निर्माण तथा अन्य व्यवस्थापनमा आवश्यक कदम चालिने छ भने यस नमुना विद्यालय र प्राविधिक विद्यालयको व्यवस्थापन र सिकाइ उपलब्धीस्तर वृद्धिका लागि विशेष कार्यक्रम ल्याईने छ ।
–गाउँपालिकाभित्र बन्ने नयाँ संरचनाहरुमा बाल तथा अपाङगमैत्री भौतिक संरचना निर्माणमा जोड दिईने छ ।
–आम नागरिकमा शैक्षिक जागरणका नविनतम कार्यक्रम ल्याई सबैको लागि शिक्षा सञ्चालनमा जोड दिइने छ ।
–शिक्षामा सूचना तथा संचार प्रणालीको प्रयोगमा उच्चतम विकास गरि व्यवसायिक तथा प्राविधिक शिक्षा सञ्चालनलाई पहिलो प्राथमिकतामा राखी शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने छ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमलाई आम नागरिकको पहुँचसम्म पुर्याउन प्रभावकारी कदम चालिने छ । शिक्षामा समतामुलक अवसरहरु सुनिश्चित गर्दै शिक्षालाई सीपयुक्त, समय सान्दर्भिक र गुणस्तरयुक्त बनाउन प्रभावकारी कदम चालिने छ ।
–काठेखोलाभित्रका मा.वि.तथा आधारभुत विद्यालयमा लागु गरि सकिएको स्मार्ट टि.भी. सञ्चालन तथा प्रयोगको अनुगमन तथा नियमन गरि कार्यन्वयनमा ल्याउन अनुगमन लगायतका आवश्यक प्रक्रिया अगाडी बढाइने छ ।
–गाउँपालिकाले निर्माण गरेको शिक्षा प्रोफाइल र शैक्षिक योजनालाई प्रभावकारी ढंगले कार्यन्वयनमा लैजानका लागि सञ्चालन भइरहेको उपाध्यक्षसंग अनुगमन कार्यक्रमलाई अझ थप परिमार्जित गरि यसवर्ष पनि निरन्तरता दिइने छ ।
–प्रधानध्यापकहरुको गाउँपालिका स्तरिय बैठक, शिक्षक विद्यार्थी सिकाई तालिम, क्षमता विकास र अभिभावक सचेतना कार्यक्रम सञ्चालनमा ध्यान दिईने छ ।
–दिवा खाजा कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी ढंगले यसवर्ष पनि सञ्चालनमा ल्याइने छ । यस कार्यक्रमलाई स्वच्छ, सफा, स्वस्थ, ताजा र जंकफुडरहित बनाउन विद्यालयहरुमा पढ्दै कमाउदै कार्यक्रमको रुपमा सञ्चालन गरिने छ ।
–“हाम्रो सवाल, हाम्रै पाठ्यक्रम” भन्ने अभिप्रायका साथ काठेखोलाको चिनारी झल्किने गरि आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवनोपयोगी सीपमा आधारित १ देखि कक्षा ८ सम्मको स्थानीय पाठ्यपुस्तक प्रकाशन गरिने छ भने कक्षा ६ देखि ८ कक्षाको पाठ्यपुस्तक लेखन कार्य गरिने छ ।
–समग्र शैक्षिक प्रणालीमै रूपान्तरण ल्याउन शैक्षिक पाठ्यक्रम विकास, पठनपाठनको ब्यवस्थापन, अतिरिक्त क्रियाकलाप ब्यवस्थापन, शैक्षिक पात्रो ब्यवस्थापन, अद्यावधिक स्रोत ब्यवस्थापन, विद्यालय अभिभावक बिचको सञ्चार ब्यवस्थापन, शिक्षण तथा सिकाइ र दस्तावेजीकरण लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक ब्यवस्थापन सूचना प्रणालीलाई थप प्रभाकारी बनाउँदै निरन्तरता दिइने छ ।
–शिक्षाको पहिलो खुड्िकलोको रुपमा रहेको बालविकास केन्द्रलाई बालमैत्री, छापामय कक्षाकोठा व्यवस्थापन गर्दै कार्यरत सहजकर्ता र विद्यालय कर्मचारीलाई न्युनतम पारिश्रमिक आगामी वर्ष पनि निरन्तरता दिइने छ ।
–सुत्केरी शिक्षिकहरुको विदा अवधिमा हुने पठनपाठनको रिक्ततालाई ध्यानमा राखि पढाई सञ्चालन गर्न सुत्केरी शिक्षिकाको सोधभर्ना शिक्षक तथा व्यवस्थापन कार्यक्रम लाई यस आगामी बर्ष पनि निरन्तरता दिइने छ ।
–निशुल्क रुपमा वितरण गरिदै आइएको सेनिटरी प्याडलाई निरन्तरता दिइने छ ।
–गाउँपालिकाका अन्तरविद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रमलाई जोड दिदै विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने वातावरणको सिर्जना गरिने छ ।
–काठेखोला गाउँपालिकामा उच्च शिक्षा प्रदान गरिरहेका भीमसेन र विहुँकोट अमर क्याम्पसलाई एकिकृत गरि सञ्चालन गर्न आवश्यक पहल गरिने छ ।
–गाउँपालिका भरि नै एकै किसिमको विहानी प्रार्थना, प्रार्थना धुन र व्यायमको नीति अवलम्वन गरिने छ ।
–विद्यार्थीका लागि कला, संगीत र खेल क्षेत्रका प्रतिभाको संरक्षण, संवद्धन र उजागर गर्ने अभिप्रायले गत वर्षदेखि नै सञ्चालन गरिएको ‘प्रतिभा पहिचान कार्यक्रम’ आगामी बर्ष शिक्षकलाई सहभागी गराई सञ्चालनमा ल्याइने छ ।
–यसबर्ष पनि अन्य विद्यालयमा नेपाल स्काउट गठनमा ध्यान पु¥याईने छ । आगामी बर्ष स्काउटरहरुको विचमा उत्कृष्ट स्काउट ट्रुप सम्मानसहित हाईकिङ क्याम्प फायर गरिने छ । साथै विद्यालय स्तरीय स्काउट एवम विपद अभिमुखिकरण तालिम समेत सञ्चालन गरिने छ ।
–गाउँपालिका भित्रको शिक्षण सिकाईमा ब्यापक सुधार ल्याउनका लागि बृहत शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरिने छ ।
–गाउँपालिका भित्रका तहगत उत्कृष्ट विद्यालय, शिक्षक र विद्यालय छनौट गरि सम्मान गर्ने कार्यक्रम आगामी बर्ष पनि सञ्चालन गरिने छ ।
–विद्यालयको आवस्यक भौतिक पुर्वाधार निर्माण गर्न संघ, प्रदेश सरकार तथा अन्य संघ संस्थासंग समन्वय गरी सम्पन्न गर्ने नीति लिइएको छ ।
–घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, बालविवाह, मानव वेचविखन जस्ता अपराधको कारण पहिचान तथा निदान गर्न समुदायसँगको साझेदारीमा निगरानी तथा सचेतामूलक कार्यक्रमका लागि प्रहरी चौकीसँग समन्वय र सहकार्य गरिने छ । साथै विद्यालय स्तरमा पुगी प्रहरी सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।
–मेघा विद्यालयको अवधारणालाई आत्मसाथ गरि कक्षा स्थगन, विद्यालय तह मिलान तथा समायोजन गरिनुका साथै नयाँ आउने विद्यालय शिक्षा ऐन वमोजिम स्थानीय शिक्षा ऐनलाई संघिय शिक्षा ऐन बमोजिम परिमार्जन गरिनुका साथै आवासीय विद्यालय संचालनका लागि नियमावली तथा कार्यविधि निर्माण गरि आवश्यक प्रकृया अगाडी बढाईने छ ।
–बालबालिकामा वित्त सम्वन्धि जानकारी दिने र अनुशासन, संस्कार सहितको शिक्षाका साथै सकरात्मक सोचको विकास गर्ने अभिप्रायले विद्यालय स्तरमा एक दिने वित्तिय साक्षरताका साथै मनोसामाजिक सचेतना कार्यक्रम संचालन गरिने छ ।
–श्री अमर नमुना मा.वि.मा आगमी बर्षदेखि नमुना मन्टेश्वरी सञ्चालन गरिने छ ।

स्वास्थ्य
–“हाम्रो सम्पत्ति र सम्मानः जेष्ठ नागरिक” भन्ने नाराका साथ जेष्ठ नागरिकको स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिने छ ।
–काठेखोलामा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई अरु ब्यवस्थित गरि सबै वार्डहरुमा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माणमा बिशेष जोड दिईने छ भने सुरक्षित सुत्केरी गृहलाई अझ सुबिधा सम्पन्न बनाउन आवश्यक पहल गरिने छ ।
–सवै नागरिकहरुलाई मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने छ ।
–गुणस्तरिय स्वास्थ्य सेवामा सबैको पहुँच बृद्धि गर्न नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमलाई अवलम्वन गर्दै प्रभावकारी ढंगले कार्यान्वयनमा जोड दिईनेछ ।
–विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा विद्यार्थीहरुको नियमित स्वास्थ परिक्षण र स्वास्थ्य अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
–नवजात शिशु र गर्भवती महिलाहरुको स्वास्थ्यलाई बिशेष ध्यानमा राखी पोषण सुधारका लागि सञ्चालन गरिएको आमा सुरक्षा कार्यक्रम यसवर्ष पनि सञ्चालनमा ल्याइनेछ । उक्त कार्यक्रममार्फत अन्डा, आयोदिन नुन लगायतका पोषणयुक्त खाद्य सामाग्री बितरणका गर्नुका साथै सुत्केरी महिला घरभेट कार्यक्रम सञ्चालन गरिने ।
–वडास्तरमा रहेका स्वास्थ्य चौकीको स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित गर्न स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक बजेट ब्यवस्थापन गरिने छ ।
–बर्थिङ्ग सेन्टर र स्वास्थ क्लिनिकहरुको सेवालाई स्तरोन्नति गर्ने क्रममा प्रयोगशाला सहितको सेवा उपलब्ध गराउने कार्यक्रम संचालन बिशेष जोड दिइने छ ।
–महिला स्वास्थ्य स्वयमसेविकाहरुको यातायात खर्च व्यवस्थापन गर्ने गरि वहाँहरुलाई मासिक यातायात खर्च व्यवस्थापन गरिनेछ ।
–महिला स्वास्थ्य स्वयंसेविकाहरुको दक्षता विकास तालिम उपलब्ध गराई उनीहरुको सेवालाई प्रभावकारी बनाउन जोड दिइने छ । स्वयमसेविकाहरुको बार्षिक तथा अर्धबार्षिक समिक्षा गरि टोलबस्तीको स्वास्थ्य स्थिति जानाकारी लिनुका साथै समिक्षा र आगामी कार्यक्रमको तर्जुमा गरिने छ । उमेर हद नाघेका सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान गरि विदाई गरिने छ ।
–किशोर किशोरीमैत्री स्वास्थ्य संस्था निर्माणको लागि आवश्यक पहल गरिने छ ।
–अहिले पनि बालविवाह गर्ने गरेको पाईएकोले त्यसलाई न्युनिकरण गर्न सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।
–विद्यालय स्तरमा लागुऔषध, मानसिक स्वास्थ्य र नसर्ने रोगहरुको बारेमा विद्यार्थीलाई सुसुचित गर्ने साथै रक्तअल्पत्ता पहिचान र सरसफाइबारे जागरण कार्यक्रम संचालन गरिने छ ।
–गरीव तथा पछाडी परेका बिपन्नलाई लक्षित गरि विगत वर्ष देखिनै सञ्चालन गरिदै आइएको विपन्न नागरिकलाई आगामी वर्ष पनि निःशुल्क स्वास्थ्य वीमा गरिने छ ।
–केही स्वास्थ्य चौकीहरुमा ल्याव सेवा सञ्चालन भैरहेको र आगामी बर्ष भीमापोखरा र धम्जा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिने छ ।
–निशुल्क औषधीको कमि हुन नदिन आवश्यक व्यवस्था मिलाइने छ ।
–स्थानीय स्तरमा पाइने जडिबुटी परिचयात्मक कार्यक्रम सञ्चालन गरि नागरिकलाई हाम्रा वनजंगलमा पाईने जडिबुटीबारे सूसुचित गरिने छ ।
–निर्माण गरी आफ्नै भवनबाट आर्युवेद स्वास्थ्य सेवा प्रदान गरिने छ ।
–प्राप्त मात्रामा आर्युवेद औषधी खरिद गरि सेवा प्रदान गरिने छ ।
–सुविधा सम्पन्न कक्ष व्यवस्थापन गरि स्वेदन बास्प मेसिन सञ्चालनमा ल्याइने छ ।
–आर्युवेदिक विधिको औषधोपचारका वारेमा जनस्तरमा सचेतना कार्यक्रम संचालन गरिने छ ।
–योग शिविर, प्रशिक्षण, आर्युवेद स्वास्थ्य शिविरको व्यवस्था मिलाइने छ ।

खानेपानी तथा सरसफाई
–पानीको श्रोत नभएका बस्तीहरुमा जमिन मुनीबाट पानी निकाल्ने प्रविधिको प्रयोग गरि नागरिकलाई स्वच्छ खानेपानीको ब्यवस्था मिलाईने छ । वडा नं.५ बिहुँकोट केही टोलबस्तीमा खानेपानीको निकै समस्या रहेको र श्रोतको पनि अभाव रहेकोले विज्ञहरुद्धारा सम्भाव्यता अध्ययन गरिसकिएको र प्राप्त मात्रामा जमिनमुनी पानी भएको रिपोर्ट प्राप्त भएसंगै डिप प्रविधिको प्रयोग गरि जमिनमुनीको पानी निकाल्ने काम अब छिट्टै सुरुवात गरिने सभा समक्ष जानकारी गराउदछु । साथै, गण्डकी प्रदेश सरकारको सहयोगमा वडा नं. ६ बिहुँस्थित सौरेनी, ताराखसे, गिठापाटा, बयलडाँडा, टापु, जलजला र सुलडाँडा क्षेत्रलाई लक्षित गरी लिफ्टीङ प्रविधिबाट पानी व्यवस्थापन गर्ने काम भइरहेको सभासमक्ष जानकारी गराउँदै आगामी वर्षभित्र योजना सम्पन्न गरी खानेपानीको व्यवस्थापन गरिने छ ।
–खानेपानीको स्वच्छता र सरफाईका लागि वडा तथा टोल स्तरमा रहेका खानेपानी उपभोक्ता समितिलाइ अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
–सञ्चालनमा रहेका खानेपानी योजनाको पानी परिक्षण तथा सुद्धिढिकरण गरिने छ ।
–खानेपानीको मुल दर्ता गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ संचालन गरिने छ ।
–स–साना पानीको मुल संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिने छ ।

कला, संस्कृति तथा खेलकुद
–राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसवर्ष पनि थप व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गरिने छ । गाउँपालिकाबाट छनौट भएका खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने छ । काठेखोला स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डलाई ब्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न काठेखोला स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिलाई पूर्ण जिम्मेवारी दिइने छ ।
–गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस बर्ष बागलुङ जिल्लामा सञ्चालन हुने र केही विधागत खेलहरु काठेखोला गाउँपालिकामा सञ्चालन जिल्ला खेलकुद विकास समिति बागलुङबाट जानकारी प्राप्त भएको छ । प्रदेश स्तरीय प्रतियोगिता हाम्रो गाउँपालिकामा सञ्चालन हुनु हामी सबैका लागि साँच्चिकै खुसी र गर्वको कुरा हो । यसलाई व्यवस्थित र गाउँपालिकाको पहिचान दिने ढंगले सम्पन्न गर्न काठेखोला गाउँपालिकाको सम्पुर्ण टीम परिचालन गरिने छ ।
–काठेखोलाको खेलकुद विकासमा भएका पछिल्ला गतिविधिहरुले गाउँपालिकाको खेलकुद क्षेत्रमा नयाँ आशा र सुन्दर सम्भावनाहरु पलाएको छ । प्रतिभाहरुको विकास, विस्तार र प्रवद्र्धनका लागि काठेखोला स्तरीय कला संस्कृति तथा खेलकुद विकास समितिलाई अझै क्रियाशिल बनाई प्रभावकारी ढंगले सञ्चालन गरिने छ ।
–खेलाडी उत्पादन, संरक्षण र सम्वद्र्धनका लागि जिल्ला खेलकुद विकास समिति, बागलुङसंग सहकार्य गरि विभिन्न खेलकुद बिधाहरुमा तालिम तथा प्रशिक्षण कार्यक्रम कार्यक्रम सञ्चालन गरिने छ ।
–काठेखोला गाउँपालिका भित्रका विभिन्न विधाका उत्कृष्ट खेलाडी एवम साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा बिशेष योगदान पु¥याउनु हुने बिभिन्न प्रतिभालाई सम्मान एवम् प्रोत्साहन गरिने छ ।
–हाम्रो गाउँपालिकामामा बिस्तारै लोप हुदै गइरहेको यानीमाया, सालैजो, सोरठी, भ््mयाउरे लगायतका पुराना मौलिक भाकाहरु, लोक नृत्य र लोक बाजाहरुको संरक्षण र उजागर गर्ने कार्यमा बिशेष जोड दिईने छ । सोरठी जस्ता पुराना एवम मौलिक संस्कृतिलाइ संरक्षण तथा संवद्र्धनमा बिशेष पहल गरिने छ । आगामी बर्ष काठेखोला गाउँपालिकाको पहिचान दिने गाउँपालिकाको गीत र मौलिक संस्कृतिको रुपमा स्थापित सोरठी गीतको रेकडिङ र छायाँकन गरिने छ ।
–सबै धर्म, क्षेत्र र जातिहरुको धार्मीक एवम पौराणिक सांस्कृतिक धरोहरहरुको संरक्षण गरि त्यस्ता धार्मिक एवम सांस्कृतिक धरोहरहरुलाई सुन्दर र रमणीय स्थल बनाई पर्यटन प्रवद्र्धन गर्न जोड दिईने छ ।
–काठेखोलाभित्र आयोजना हुने मेला, पर्व, महोत्सवमा सोरठी, झ्याउरे, भजन, लगायतका विविध जातीय भेषभुषा, मौलिक संस्कृति झल्किने पञ्चेबाजा, सोरठी लगायतका साँस्कृतिक झाँकीहरु प्रदर्शन गर्ने नीति लिइने छ ।
–खेल क्षेत्रको पूर्वाधार निर्माण गर्न विशेष जोड दिइने छ ।
–खेल तथा कला संगीतका प्रतिभा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने छ । विषयगत खेलहरुमा विजेता हुने खेलाडीहरुलाई हौसल्ला र प्रोत्साहनका लागि सम्मान तथा प्रोत्साहन गरिने छ ।
–स्थानीय स्तरमा रहेका खेलकुद तथा कला, साहित्य र संस्कृतिसंग सम्बन्धित क्लव, संघसंस्था, सांस्कृतिक परिवार लगायतका संस्थाहरु दर्ता तथा सुचिकृत हुने व्यवस्था गरिएको छ । दर्ता, सुचिकृत तथा नविकरण गर्ने कार्यलाई आगामी बर्ष कडाईका साथ कार्यन्वयन गरिने छ ।
–सबै खेल विधाहरुलाई प्राथामिकतामा राखी वडा स्तरका मैदान निर्माण कार्यलाई व्यवस्थित गराउँदै खेलकुद प्रतियोगिताहरु संचालनमा प्रोत्साहन गरिने छ ।

सामाजिक समावेशीकरण
–महिला, दलित, आदिबासी, जनजाति, अल्पसंख्यक, जेष्ठ नागरिक, बालबालिका र आपांगता भएका ब्यक्ति तथा बर्गलाई राज्य र विकासको मुल प्रवाहमा समाहित गर्न आवश्यक कदम चालिनेछ । सामाजिक र आर्थिक अवसरहरुमा समान सहभागिता सुनिश्चित गरि लैंङ्गीक मुल प्रवाहिकरण र शसक्तिकरण गर्ने अभिप्रायले हरेक लक्षितबर्गको लागि यस बर्ष “समाबेशी बर्गका लागि शसक्तिकरण अभियान–२०८२” सञ्चालन गरिनेछ । उक्त अभियानले लैङ्गिक र जातिय समानतामार्फत मर्यादित, न्यायपुर्ण सुरक्षित र सभ्य समाजको विकास हुने लक्ष्य लिएको छु ।
–सामाजिक विभेद र गरिबी र विपन्नताको अभावमा जिवन बिताइरहेका दलित समुदायहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी काठेखोला गाउँपालिका भित्रका सम्पुर्ण दलित समुदायका नागरिकहरुलाई निशुल्क स्वास्थ्य विमा गर्ने गरि गत बर्षदेखि सञ्चालनमा ल्याइएको“अध्यक्षसंग दलित नागरिक स्वास्थ्य विमा कार्यक्रम” लाई यसवर्ष पनि निरन्तरता दिईने छ । साथै गाउँपालिकाभित्रका सवै बर्ग, लिङ्ग र समुदायका विपन्न नागरिकहरुका लागि सञ्चालन गर्दै आईएको स्वास्थ्य विमा कार्यक्रमलाई आगामी बर्ष प्रत्येक वडाका १५ घर परिवार गरी जम्मा १२० घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरिने छ ।
–सशक्तिकरण कार्यक्रमसंगै उनिहरुको आर्थिक विकासमा टेवा पुग्ने खालका क्षमता विकास तथा सिपमुलक र आय आर्जनका कार्यक्रममा पनि उत्तिकै जोड दिईनेछ । लक्षित समुदायहरुको सिप, क्षमता विकासका लागि विगतदेखि नै सञ्चालनमा आएको अध्यक्षसंग सीप विकास कार्यक्रमसंग जोडी आवस्यक शिप विकास तालिम संचालनमा जोड दिईनेछ । भने दलित समुदायको पुख्र्यौली पेशा सुधार र आय आर्जनका लागि विविध कार्यक्रम सञ्चालन गरिने छ ।
–यस वर्ष हरेक वडामा पुगी जातीय विभेदविरुद्ध सशक्तिकरण गर्ने अभिप्रायले वडा स्तरीय अभिमुखिकरण गरी वडा स्तरीय दलित समन्वय समिति गठन गरिने छ ।
–यस चालु आ.व.मा सामाजिक विभेद विरुद्धको जागरण, आर्थिक समृद्धि र शसक्तिकरण हाम्रो अभियान भन्ने मुल नाराका साथ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस भब्यताका साथ मनाईएको व्यवहोरा अवगत गराउँदै आगामी वर्ष पनि जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस थप ब्यवस्थित र प्रभावकारी ढंगले उत्साहजनक रुपमा मनाईने छ ।
–यस क्षेत्रका दलित, महिला, जनजाति, अपांगता भएका व्यक्तिहरु तथा काठेखोला गाउँपालिकाका सबै जाति समुदाय लिंगको प्रतिनिधित्व गर्दै सशक्तिकरण र क्षमता विकास गराउँदै मुल प्रवाहिकरणमा ल्याउन आवश्यक पहल गरिने छ । अझैपनि सामाजिक विभेदको रुपमा रहेको जातिय छुवाछुत प्रथालाई जरैदेखि उन्मुलन गर्न सचेतनामुलक कार्यक्रम सञ्चालनमा ल्याइने छ । दलित समुदायको सशक्तिकरण र आर्थिक आयआर्जन बृद्धि गर्न दलित शसक्तिकरण अभियान सञ्चालन गरिने छ ।
–दलित समुदायको परियार जातिहरुले पुस्तौपुस्तादेखि संरक्षण गर्दै आएको मौलिक पञ्चेबाजालाई थप व्यवसायिक बनाउदै काठेखोलाभित्र हुने विवाह, व्रतवन्ध, पुजाआजा लगायतका अन्य शुभकार्यमा बाहिरी जिल्ला वा गाउँपालिकाबाट पारिश्रमिक लिई पञ्चेबाजा बजाउन आउने समुहलाई करको दायरामा ल्याउने नीति ल्याइने छ । छोरीको विवाहमा जन्तीको रुपमा दुलाहा पक्षबाट आउने पञ्चेबाजा समुहलाई यो नीति लागु नहुने व्यवहोरा अवगत गराउँदछु ।
–परम्परागत सीप तथा पेशालाई आधुनिकिकरण र व्यवसायीकरणको वातावरण मिलाइने छ । जेष्ठ नागरिकमा रहेको ज्ञान सीपलाइ अन्तर पुस्ता सीप हस्तान्तरणको व्यवस्था मिलाइने छ ।
–आर्थिक रुपमा विपन्न दलित समुदायको शैक्षिक विकासमा जोड दिदै विद्यार्थीका लागि शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।
–दलित समुदायहरुको आयआर्जनमा बद्धि गर्न आयआर्जन तथा स्वरोजगार कार्यक्रम सञ्चालनका लागि आवस्यक बजेटसहित कार्यक्रम सञ्चालन गरिने छ ।
–महिलामा उद्यमशिलताको विकास गरि सीप विकास कार्यक्रम सञ्चालन गरिने छ । पालिकाभित्रका किशोरीहरुका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ ।
–यसवर्ष लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान साथै अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसलाई उत्साहका साथ विविध कार्यक्रमका साथ प्रत्येक वडा स्तरमा पुगी मनाईने छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी र बेइंजिङ घोषणपत्रमा भएका व्यवस्था अनुरुपका कार्यक्रमलाई उच्च प्रथामिकताका साथ सञ्चालन गरिने छ ।
–महिलाहरुका लागि सीप विकास तालिम सञ्चालन गरिने छ ।
–महिला उद्यमीहरु र स्थानीय महिला समन्वय समितिका सदस्यहरुका लागि अध्ययन अवलोकन भ्रमण गरी उद्यमीहरुलाई थप प्रोत्साहन र हौसला प्रदान गरिने छ ।
–गाउँसभाका महिला सदस्य एवम स्थानीय महिला समन्वय समितिका सदस्यहरुका लागि लै.स.सा.स.सम्वन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
–महिला तथा किशोरीहरुका लागि विशेष तालिम सञ्चालन गरिने छ ।
–काठेखोला गाउँपालिकामा समान कामको समान ज्यालाको नीति लागु भएको र यसलाई ब्यवहारिक रुपमा कार्यन्वयनमा ल्याउन जोड दिइने छ ।
–मगर समुदायको बाहुल्यता रहेको गाउँपालिका र यहाँ बसोबास गर्ने मगर समुदायलाई आफ्नो भाषाबारे सुसुचित गर्ने अभिप्रायले आगामी वर्ष मगरभाषा कक्षा सञ्चालन गरिने छ । जनजाति समुदायको क्षमता एवम नेतृत्व विकास गर्न क्षमता एवम नेतृत्व विकास सम्बन्धि तालिम तथा प्रशिक्षण सञ्चालन गरिने छ ।
–स्थानीय सीप तथा ज्ञानमा आधारित व्यवसाय प्रवद्र्धनका लागि बाँस तथा बेद सम्वन्धि तालिम र प्रविधि हस्तारण कार्यक्रमलाई निरन्तरता दिइने छ । साथै, काष्ठकला सम्बन्धि सीप विकास तालिम समेत सञ्चालन गरिने छ ।
–जनजाति समुदायका भाषा, कला, संस्कृति संरक्षणका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।
–जनजातिहरुको पम्परागत पेशा, व्यवसायको संरक्षण एवम प्रवद्र्धन गर्दै उद्यमी बनाउने उद्धेश्यका साथ आवश्यक कार्यक्रम सञ्चालनमा ल्याइने छ ।
–अपांगता भएका व्यक्तिहरुको सवालमा सरोकारवाला माझ हकअधिकार सम्बन्धि अभिमुखीकरण गरि क र ख बर्गका अपांगता परिचय पत्र भएकाहरुको घरघरमा पुगी वास्तविक अवस्था वुझी समस्यालाई समाधन गर्न विशेष पहल गरिने छ ।
–ग र घ वर्गका अपांगता परिचयपत्र भएका व्यक्तिहरुको आर्थिक एवम सामाजिक शसक्तिकरणका लागि जिविकोपार्जनका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
–क र ख वर्गका अपांगता भएका व्यक्तिहरुको अवस्था अनुगमन गरिनुका साथै विश्व अपांगता दिवस विशेष कार्यक्रमका साथ मनाइने छ ।
–नेपाल सरकारको वि.सं. २०८७ सम्म बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्षलाई आत्मसाथ गर्दै बालश्रम शोषण, बाल यौन दुरव्र्यवहार, बालविवाह र दुव्र्यसनी न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रमहरुलाई बिशेष प्राथमिकताका साथ अगाडि बढाइने छ । बाल क्लवका पदाधिकारीको क्षमता एवं नेतृत्व विकासका लागि आवश्यक तालिम सञ्चालन गरिने छ । यसवर्ष बालबालिका अधिकार समिति गठन गरी समितिलाई सञ्चालनमा ल्याइने छ ।
–जेष्ठ नागरिक स्वास्थ्य जाँच, परिक्षण एवम जेष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै जेष्ठ नागरिकहरुको मनोवल उच्च राख्नका लागि जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिने छ । साथै, जेष्ठ नागरिकहरुको अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम समेत सञ्चालन गरिने छ ।

३. भौतिक पुर्वाधार विकास
सडक पुर्वाधार
–सामाजिक तथा आर्थिक क्षेत्र लगायत समग्र विकासमा निक्कै महत्वपुर्ण भुमिका राख्ने सडक निर्माणलाई प्राथमिकता दिई हामीले सुरुवाती वर्षदेखि नै सञ्चालन गरिएको गौरवको योजनामार्फत गाउँपालिकाको केन्द्रदेखि प्रत्येक वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको स्तरोन्नती गर्ने कार्यलाई यस आ.व.मा पनि निरन्तरता दिएको छु । आगामी बवर्षको गौरबको योजनाअन्तर्गत काठेखोला ३ धम्जा र वडा नं. ७ रेश को वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नति गर्ने काम गरिने छ ।
–संघीय सरकार समपुरक अनुदानअन्तर्गत यस आ.व.मा भुमेचौर गौडा कादेस हुदै रेश देउराली जोड्ने सडकलाई स्तरोन्नती गरिने छ । संघीय सरकार विशेष अनुदानअन्तर्गत रेश आधारभुत अस्पताल निर्माणका लागि बजेत तथा कार्यक्रमले निरन्तरता पाएको जानकारी गराउदै आगामी वर्ष काम सम्पन्न भई सेवा सञ्चालन हुने सभा समक्ष अवगत गराउँदछु ।
–संघीय सरकारको सहयोगमा काठेखोला–४ तंग्रामस्थित नारायणी मा.वि.मा शौचालय निर्माण एवम पूर्वाधार स्तरोन्नती गरिने छ ।
–काठेखोला गाउँपालिकालाई व्यवस्थित सडक सञ्जालको रुपमा विकास गर्दै दिगो विकास लक्ष प्राप्ति गर्ने अभिप्रायले काठेखोलाको सडक गुरुयोजना निर्माण भएको जानाकारी गराउँदै प्रभाकारी कार्यन्वयनको नीति अवलम्वन गरिने छ ।
–काठेखोला गाउँपालिका र वडा कार्यालयसंगको साझेदारीतामा वडा कार्यालयले संकलन गरेको राज्वस्व रकम बराबरको साझेदारीतामा प्रत्येक वडाको सडक ढलान, ग्राबेलिङ, ग्याविन लगायतका काममा जोड दिई स्तरोन्नती गरिने छ ।
–गाउँपालिकाभित्र सञ्चालन हुने विभिन्न योजना तथा आयोजनाको डि.पि.आर. तयार गरि कार्यन्वयन गरिने छ ।
–सडक निर्माण गर्दा पर्यावरणिय दृष्टिकोणलाई मध्यनजर गरि वातारणमैत्री सडक संरचना निर्माण गर्न पहल गरिने छ । आगामी वर्ष पनि ५० प्रतिशत पुर्वाधार संरचनाको निर्माण कार्य गर्ने नीति अवलम्वन गरिने छ ।
–बाह्रै महिना यातायात सेवामा सहजता ल्याउने गरि काठेखोला २ भिमापोखरा र काठेखोला ४ तंग्राम जोड्ने डुडिया घाटमा मोटरेवल पक्की पुलको ढलान गर्ने काम सकिसकेको र अन्य निर्माण कार्य अन्तिम चरणमा रहेको सभा समक्ष जानाकारी गराउँदै सिलिखेत चनौटे मोटरेवल पुल निर्माणको लागि आवश्यक प्रक्रिया अगाडी वढाइने छ भने अन्य सम्भावित स्थानमा मोटरेवल पुलको सम्भाव्यता अध्ययन, डिपिआर गरि निर्माणका लागि आवश्यक पहल गरिने छ ।
–काठेखोलाअन्तर्गत पर्ने भिमापोखरा, धम्जा, तंग्राम, बिहुँ, लेखानीहुदै रेशसम्म जोड्ने रिङरोड सडक खण्डको स्तरोन्नतिका लागि आवश्यक पर्ने श्रोतका लागि संघिय एवम प्रदेश सरकारसंग आवस्यक पहल गरिने छ ।
–पूर्वाधार निर्माणका कार्य गर्न सहजतासंगै राजस्व संकलनमा बृद्धि गर्न काठेखोला गाउँपालिकाभित्र रहेका ढुंगा, गिटी र बालुवा संकलन गर्ने कार्यलाई ऐन तथा कार्यविधि बनाई कार्यन्वयनमा ल्याईने छ ।

सिंचाई
–संघिय सरकार विशेष अनुदानमार्फत डांग्रेखोला, डोठेपाटा, पिडाल्ना सिचाई योजनाको लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको अवगत गराउँदै यस आ.व.मा ६५ लाख रुपैयाँ बराबरको काम सम्पन्न गरिने छ ।
–यस गाउँपालिका भित्रका खेतियोग्य जमिनमा कृषि उत्पादन वृद्धि गर्नका लागि साना तथा मझौला सिंचाइहरुको व्यवस्थापन गरिने छ ।
–सिंचाई सम्भाव्यता अध्ययन गर्दै परम्परागत रुपमा सञ्चालित कुलोहरुलाई मर्मत संहार गर्दै आधुनिकिकरण गरी नयाँ संरचनामा रुपान्तरण गर्न पहल गरिने छ ।

भवन तथा शहरी विकास
–पालिकाभित्र निर्माण हुने घरहरुको लगत राख्ने व्यवस्था कच्चि घर निर्माण पुर्व दर्ता गर्ने र पक्कि घरहरुका लागि नक्सापास गरेर मात्र संरचना बनाउने नीतिलाई आगामी आ.व..देखि कदाईका साथ थालनी गरिने छ ।
–पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यस गाउँपालिकाको वडा नं. १, २, ५ र ६ को सम्भावित बस्तीहरुलाई नीजि क्षेत्र र स्थानिय समुदायहरु संगको सहकार्यमा नमुना सुरक्षित आवाससंगै ग्रामिण सहरको रुपमा विकास एवम विस्तार गरिने छ ।
–काठेखोलाभित्र अब बन्ने संम्रचनालाई व्यवस्थित गर्न व्यक्तिगत आवासहरुको व्यवस्थापनका लागि पक्की घर बनाउँदा अनिवार्य नक्सापास गर्ने, अन्य कुनै घर टहरा निर्माण गर्दा स्विकृति लिने र हाल कायम रहेका घरहरुको अभिलेखिकरणका लागि सुचिकरण गर्ने नीतिलाई कडाईपुर्वक लागु गरिने छ ।

उर्जा
–केही घरहरुमा गोवरग्यास जडान गरिएको जानकारी गराउँदै यस पालिकामा हुने ग्यासको आपुर्तिमा नियन्त्रण गर्दै लगिने छ । त्यसका लागि काठेखोलामा इण्डक्सन चुलो, गोवर ग्यास लगायतमा प्रोेत्साहन गरिने छ ।
–गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा सञ्चालित बर्थिङ सेन्टरहरुमा सौर्य उर्जा प्रविधि जडान गरि सुत्केरी सेवा प्रवाहमा सहजता ल्याइने छ ।
–विद्युत प्रशारण लाइन तथा शाखा लाइनहरुको सुढृदिकरणमा जोड दिईने छ ।
–वायो ग्यास निर्माणका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।
–विद्युतिय चुलो प्रयोगमा नागरिकहरुलाई प्रोत्साहन गरिने छ ।

संचार
–काठेखोला गाउँपालिकाको सुचना संचारलाई प्रभावकारी बनाउन सुचना तथा संचार प्रविधिमा व्यापक सुधार गर्ने नीति अवलम्वन गरिने छ ।
–काठेखोला गाउँपालिका, वडा नं. ५ बिहुँकोट र वडा कार्यालयको पहलकदमीमा नेपाल सरकारद्धारा ब्रमलिन स्वामी परमानन्द सरस्वती महाराजको नाममा हुलाक टिकट प्रकाशन हुनु हामी सबैका लागि निकै खुसी र गर्वको कुरा हो । यसको लागि नेपाल सरकारप्रति म र सिंगो काठेखोला परिवारको तर्फबाट हार्दिक आभार एवम कृतज्ञता ब्यक्त गर्दछु ।
–काठेखोलाको विकास, परिवर्तन र समृद्धिका लागि हुने र भए गरेका गाउँपालिकाको सुचना, कार्यक्रम तथा हरेक गतिविधिलाई आम नागरिकको विचमा पुराउने अभिप्रायले विभिन्न सञ्चार मिडियासंगको सहकार्यमा विगत वर्षदेखिनै सञ्चालनमा ल्याइएको काठेखोला गतिविधि, समृद्ध काठेखोला र काठेखोला सन्देश कार्यक्रम प्रकाशन तथा प्रकाशनलाई आगामी वर्ष पनि आवश्यक बजेटसहित निरन्तरता दिइने छ । साथै, अन्य छापा तथा विद्युतिय संचार माध्यमको समेत उच्चतम प्रयोग गरि नागरिकलाई सुसुचित गरिने कार्यमा विशेष ध्यान पुराइने छ ।
–हाम्रो कार्यकालमा भएगरेका काठेखोला गाउँपालिकाको हालसम्मको गतिविधिलाई कैद गरि काठेखोला स्मारिका प्रकाशन गरिने छ ।
–नेपाल पत्रकार महासंघ बागलुङ शाखा संगको सहकार्य एवम समन्वयमा आगामी वर्ष एवम बृहत काठेखोला पर्यटन पदयात्रा–२०८२ सञ्चालन गरिने छ ।

४. वन, वातावरण तथा विपद व्यवस्थापन
–‘जहाँ विपद त्यहाँ काठेखोला’ को अवधारणाका साथ स्थापना भएको गाउँपालिका स्तरीय विपद कोष सञ्चालनलाई आगामी वर्ष थप व्यवस्थित गरि प्रभावकारी ढंगले सञ्चालन गरिने छ ।
–भुकम्प, पहिरो, चत्याङ, आगालागी जस्ता विषयमा नागरिकमा सचेतना ल्याउन विपद सचेतनामुलक प्रशिक्षण तथा तालिम सञ्चालन गरिने छ ।
–विपद व्यवस्थापनका लागि खोज उद्धार टोली, दु्रत प्रतिकार्य टोली, दुर्त लेखाजोखा टोली गठन गरि उनिहरुलाई तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाईने छ । साथै, खोज उद्धार सामाग्री व्यवस्थापन गरिएको र पालिका स्तरमा रहेको आपतकालिन कार्यसञ्चालन केन्द्रमार्फत र वडा स्तरमा रहेका विपद व्यवस्थापन समितिलाई परिचालन गरि विपद व्यवस्थापनको कार्य व्यवस्थित बनाईने छ ।
–वर्षायाममा हुने बाढी पहिरोले सडकमा पहिरो जाने र सडक नै अवरुद्ध हुने भएकोले गाउँपालिकामा रहेको जेसिवीलाई तयारी अवस्थामा राखिने छ ।
–विभिन्न प्रकारका विपदलाई नजिकबाट बुझ्न र यसबाट जोगिनका खातिर समुदाय स्तरमा विपदको अभ्यास नमुनाहरु प्रदर्शन गरिने छ ।
–आगामी वर्ष वडाको समुदाय स्तरमा एकभन्दा बढी बहुउपयोगी पोखरीको निर्माण गरिने छ ।
–जलबायु परिवर्तन अनुकुल कार्यक्रम एवम पहिरो नियन्त्रणका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
–विपद व्यवस्थापन तथा प्रतिकार्यका लागि छिटोछरिटो र सहज बनाउन आवस्यक सामाग्री खरिद गरि व्यवस्थापन गरिने छ ।
–वातावरण संरक्षण, जलवायु परिवर्तन लगायतका विषयमा जनस्तरमा चेतना अभिवृद्धि गरि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
–बाँदर नियन्त्रणका लागि सामुदायिक वन क्षेत्रमा फलफूल खेती लगाउन सामुदायिक वन उपभोक्ता समितिहरुसंग आवश्यक परामर्श गरी प्रोत्साहन गरिने छ ।
–यस क्षेत्रमा रहेका पानीका मुहान संरक्षण, जलाधार संरक्षण, जलाशययुक्त पर्यटन पुर्वाधार निर्माण गरि जलचरहरुको संरक्षण गरिने छ ।
–सरसफाई तथा फोहोर व्यवस्थापनका लागि तालिम, सचेतना एवम सुचना प्रवाह गरि व्यवस्थित गरिने छ ।
–बालविकास केन्द्रहरुमा फोहोर व्यवस्थापन तथा बगैंचा निर्माण गरि स्वच्छता र सुन्दरतामय बालविकास केन्द्र निर्माणमा जोड दिईने छ ।
–आगामी वर्ष समुदाय तथा विद्यालय स्तरमा पुगी फोहोर व्यवस्थापन र सरसफाईको बारेमा प्रशिक्षण, तालिम सञ्चालन गरिनुका साथै पोस्टर वा भित्तेलेखनमार्फत सुचना प्रवाह गरिने छ ।
–जलबायु परिवर्तन अनुकुलन कार्यक्रम अन्तरगत पहिरो नियन्त्रणका लागि आवस्यक तारजालीको व्यवस्थापन गरिने छ ।
–खोला, खोल्सा, खाली प्रतिजग्गा तथा सार्वजानिक स्थलमा भएको अतिक्रमणलाई हटाई त्यस्ता स्थानहरुलाई सार्वजानिक प्रयोगमा ल्याइने छ ।
–आगामी वर्ष सामुदायिक वन तथा सामुदायिक वन उपभोक्ता समितिको अनुगमन गरि आवश्यक जानकारी लिईने छ भने समितिका पदाधिकारी तथा सदस्यहरुका लागि क्षमता विकास तालिम सञ्चालन गरिने छ । त्यसैगरी सामुदायिक वनको कार्ययोजना संशोधन तथा नविकरण गर्न सहजीकरण गरिने छ ।
–आगमी वर्ष सामुदायिक वन उपभोक्ता समुह र सामुदायिक वन क्षेत्रको अनुगमन गरिनुका साथै क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने छ ।

५. संस्थागत विकास तथा सेवा प्रवाह
–गाउँपालिकाभित्र ३९६० जना सामाजिक सुरक्षाका लाभग्राहीहरु रहेकोमा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया हालसम्म बैङ्किङ प्रणाली र विद्युतिय रकम रुपान्तरण पद्धति इउफटि प्रणालीमार्फत वितरण गरिएको छ । राष्ट्रिय परिचयपत्रसंग बायोमेटिक रुजु भएका लाभग्राहीलाई मात्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यवस्था मिलाईने छ । साथै, सामाजिक सुरक्षा र पञ्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
–गाउँपालिकाको सेवा प्रवाह एवम कार्य सम्पादनलाई छिटोछरितो, प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीय बनाउन सूचना तथा प्रविधिको अधिकतम उपयोग गरि नागरिक खुसी हुनेगरि सेवा प्रवाहमा जोड दिइने छ ।
–काठेखोलालाई डिजिटल गाउँपालिकाको रुपमा विकास गर्नेगरी काम भएको र यसलाई पुर्णता दिन बिशेष ध्यान पुराइने छ । पालिकाभित्रका शाखा, वडा कार्यलय, मातहतका कार्यालयलाई काममा प्रभावकारी ढंगले कार्यसम्पादनका लागि भौतिक संरचना, मानविय संसाधन र संचालन क्षमताको विकास गरिने छ ।
–गाउँपालिकाको आर्थिक गतिविधि तथा सुशासनका लागि सार्वजनिक सेवा तथा क्षमता विकास, लेखा र सुशासन समितिलाई थप क्रियाशिल बनाइने छ ।
–अनलाइन प्रविधिमा व्यक्तिगत घटना दर्ता, राजश्व संकलन, योजना व्यवस्थापन, लेखा प्रणाली सफ्टवयरको माध्यमबाट गरिदै आएकोमा त्यसलाई निरन्तरता दिदै डिजिटल साक्षरता अभियान समेत सञ्चालन गरिने छ । साथै गाउँपालिको डिजिटल प्रोफाईल अध्यावधिक गरिने छ ।
–यस पालिकाका समग्र गतिविधिमा नागरिकहरुको चासो र गुनासो सुन्न र सम्बोधन गर्नका लागि अन्तर संवाद तथा सार्वजनिक सुनुवाई कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने छ ।
–वित्तिय अनुशासन र शुसासनमा प्रतिवद्ध भै हाम्रो यो कार्यअवधिलाई जनताहरुले अनुभुत गर्ने गरि सुशासनयुक्त पालिकाका रुपमा विकास गरिने छ ।
–आगामी वर्ष आवश्यक पर्ने ऐन, नियम, कार्यविधिहरु निर्माण भएको अवगत गराउँदै ऐन नियमावली र कार्यविधिहरुको समायुनुकुल संशोधन गरिदै लैजाने र आवस्यक पर्ने अन्य ऐन, नियमावली र कार्यविधिहरु निर्माण गरि कार्यन्वयन गरिने छ ।
–आन्तरिक तथा अन्तिम लेखा परिक्षणवाट औल्याइएका बेरुजु फ¥छ्यौटलाई प्राथामिकताका साथ अगाडि बढाइने छ ।
–जनप्रतिनिधि, कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न प्रकारका तालिमहरु सञ्चालन गरिने छ । त्यसैगरि कानुनी अभिमुखिकरण, अन्तरसम्वाद कार्यक्रम, सुचना प्रविधि र वडा सचिवहरुको लागि कर सम्वन्धि तालिम समेत सञ्चालन गरिने छ ।
–योजना उपभोक्ता समितिका पदाधिकारी एवम सदस्यहरुका लागि योजना सञ्चालन सहजीकरण तालिम सञ्चालन गरि क्षमता अभिवृद्धि गरिने छ । साथै, यसवर्ष पनि योजना सम्झौता एवम फोरफारकका लागि सहजीकरण पुस्तिका, अनुसुची फारमहरु प्रकाशन समेत गरि उपभोक्ताहरुाई सहजता प्रदान गरिने छ ।
–हाम्रा नागरिकहरुको सन्तुष्टिको सर्वेक्षण गरि प्राप्त सुझावको आधारमा क्रमश सेवा प्रवाहको मानकहरुलाई सुधार गर्दै लगिने छ ।
–गाउँपालिका भित्रका कार्यालयहरुमा सी.सी.क्यामेरा जडान तथा विद्युतिय हाँजिरको ब्यवस्था गरिने छ । काठेखोला गाउँपालिकाको खहरे, अछेत्ते, विहुँ पोखरा र भ्युटावर क्षेत्रमा समेत सि.सी.क्यामेरा जडान गरिने छ ।
–जनताको सुख दुखमा संगसंगै सहयात्रा गर्ने अभिप्रायले जनतासंग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिने छ ।
–यस पालिकाको राजश्वलाई व्यवस्थापन गर्न करमा नियन्त्रण, करको दायरामा वृद्धिको नीति लिइनेछ । राजश्व संकलन तथा परिचालनका सन्दर्भमा नियमित बजार अनुगमन गरिने छ ।
–“हाम्रो समस्या, हाम्रो समाधान” भन्ने नीति अवलम्वन गरि गाउँपालिका भित्रको न्याय सम्पादन व्यवस्थित र प्रभावकारी वनाउदै न्याय सम्पादनलाई थप व्यवस्थित गर्न मेलमिलापकर्ताहरुलाई पुर्नताजकी तालिम सञ्चालन गरि मेलमिलाप कर्ताहरुको क्षमता अभिवृद्धि गरिने छ ।
–न्याय सम्पादनमा महत्वपुर्ण भूमिका खेल्नुहुने मेलमिलापकर्ताहरुलाई प्रोत्साहन स्वरुप पारीश्रमिकको व्यवस्था मिलाईने छ ।
–न्याय सम्पादन सम्वन्धी अन्तरपालिका न्यायीक समितिहरुको असल अनुभव आदान प्रदान गरी बागलुङ जिल्लाको न्याय सम्पादनलाई थप ब्यवस्थित र प्रभावकारी बनाउने अभिप्रायले यस बर्ष बागलुङ जिल्लाका १० वटै स्थानीय तहका न्यायीक समिति, संयोजक, सदस्य र सहजकर्ता सम्मिलित न्यायीक समिति सदस्यहरुको बागलुङ जिल्ला स्तरीय तेश्रो जिल्ला सम्मेलन हाम्रै काठेखोला गाउँपालिकामा हुने जानकारी गराउदै उक्त न्यायीक सम्मेलनलाई व्यवस्थित, प्रभावकारी र काठेखोलाको पहिचान दिने गरि सम्पन्न गर्न विशेष ध्यान पुराइने छ ।
–विद्यार्थीहरुलाई कानुनी ज्ञान दिने उद्धेश्यका साथ विद्यार्थीहरुसंग कानुनी सम्वाद कार्यक्रम सञ्चालन गरिने छ ।
–न्यायीक सम्पादनलाई प्रभावकारी बनाई नागरिकहरुको न्यायमा पहुँच पुग्ने गरी न्यायीक समितिको कार्यक्रमलाई थप व्यवस्थित गरिने छ ।
–यस आ.व.मा काठेखोला गाउँपालिका न्यायीक समितिमा जम्मा २१ वटा मुद्दाहरु परेको र मेलमिलापको माध्यमबाट ९ वटा मुद्दाहरु निरुपण भएको र बाँकी १२ वटा मुद्दाहरु न्याय सम्पादनकै क्रममा रहेको व्यवहोरा जानाकारी गराउदछु ।

अन्तमा
यस नीति तथा कार्यक्रम तर्जुमा कार्यमा विशेष योगदान पु¥याउनुहुने गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत ज्यु, विषयगत समितिका संयोजक ज्युहरु, वडा अध्यक्ष एवम कार्यपालिका सदस्य ज्युहरुप्रति हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्दछु । अमुल्य सुझाव प्रदान गर्नुहुने स्थानीय राजनैतिक दल, अनुभव एवम सल्लाह सुझाव प्रदान गर्नुहुने यस गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरु, कर्मचारी ज्युहरु, विभिन्न सरकारी तथा गैर–सरकारी संघ, संस्थाहरु, नागरिक समाज, पत्रकार मित्रहरु र आम नागरिकहरु प्रति पनि हार्दिक आभार प्रकट गर्दछु । ओठमा मुस्कान र मनमा खुसी भर्ने गुणस्तरीय सेवा र शुसासन प्रवाह गर्दै यस गाउँपालिकाको विकास, परिवर्तन र समृद्धिमा सधै सक्रिय र क्रियाशिल रहदै सिर्जनात्मक एवं रचनात्मक ढंगले काम गर्ने प्रतिबद्धता समेत जाहेर गर्दछु । काठेखोला गाउँपालिकाको विकास, परिवर्तन र समृद्धिको यात्रामा यहाँहरुसंग संगसंगै सहयात्रा गर्ने प्रतिवद्धता ब्यक्त गर्दै यस यस आ.व.मा बिनियोजन हुने योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्न सम्पुर्ण काठेखोलाबासी नागरिकहरुमा हार्दिक अपिल गर्दछु । काठेखोला गाउँपालिकाको आ.व.०८२÷०८३ को नीति तथा कार्यक्रम माथी रचनात्मक राय, सल्लाह, सुझावको भारी अपेक्षा गर्दछु । “कृषि, पर्यटन, शिक्षा र पूर्वाधार, समृद्ध काठेखोला निर्माणको आधार” भन्ने मुल उद्घोषलाई आत्मसाथ गर्दै समृद्ध पालिका निर्माण गर्नका लागि यहाँहरुको सक्रिय सहभागिता र सहकार्यका लागि सबैमा हार्दिक अपिल गर्दै यस कार्यमा राजनैतिक दल, जनप्रतिनिधी, शिक्षक, कर्मचारी, संचारकर्मीहरु र आम नागरिकहरुलाई काठेखोला गाउँपालिकाको नीति तथा कार्यक्रम र यस पछि आउने वजेट तथा कार्यक्रमका साथै विकास योजना २०८२÷०८३ को सफल, सार्थक र उत्साहजनक कार्यान्वयनको लागि सवैको सक्रिय सहयोग एवं भूमिकाको अपेक्षा गर्दै यहाँहरु सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद ।

राजु थापा
अध्यक्ष
काठेखोला गाउँपालिका

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->