मुस्ताङ / नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका निवर्तमान अध्यक्ष सुन्दरकुमार थकालीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जिल्लाको कठिन भूगोलमा रहेर विगत लामो समयदेखि निरन्तर पत्रकारिता गरेकोले थकालीलाई आईतबार नगद पुरस्कारसहित सम्मान गरेको हो ।
पालिकाले आफ्नो २२औं गाउँसभामा पत्रकारिता मार्फत वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको ऐतिहाँसिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय, कृषि लगायतका संभाव्य क्षेत्रहरुको उजागर गर्दै नागरिकहरुमा सूचना संम्प्रेषण तथा मुस्ताङ जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन योगदान गरेकोले उच्च प्रशंसा र मूल्यांकन गर्दै नगद दस हजार रुपैयाँ पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुनदेवी रसाईलीले संयुक्त रुपमा नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए । यसअघि पत्रकार थकालीलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि सम्मान गरेको थियो ।
पत्रकार थकालीले मुस्ताङ जिल्लाको समग्र आर्थिक विकास, सुशासन, समृद्धि र जिल्लाको धार्मिक, सांस्कृतिक, सामाजिक, जैविक विविधता लगायतमा खोज पत्रकारिता र समसामयिक घटनाहरुको सूचना संम्प्रेषण गर्दै विगत १२ वर्षदेखि निरन्तर कलम चलाउँदै आईरहेका छन् ।





