शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट

गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट

गलकोट नगर अस्पताल तथा सहरी स्वास्थ्य केन्द्रमा जनशक्ति व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन


  • फमलाल निउरे
  • असार ९ २०८२, सोमबार

नगर सभाका श्रद्धेय अध्यक्षज्यू,
नगर सभाका सम्पूर्ण सदस्यज्यूहरू,
राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र सभामा उपस्थित अन्य महानुभावहरू,

१. गलकोट नगरपालिकाको नगर उप प्रमुखको हैसियतले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान प्रस्तुत गर्न सम्मानित नगर सभाको १७ औ अधिवेशनमा उपस्थित भएको छु ।
२. नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएका सबै आन्दोलन तथा संघर्षमा अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । लोकतान्त्रिक अधिकार प्राप्तिको आन्दोलनको क्रममा घाइते, बेपत्ता, अपाङ्गता एवं पीडित भएका नागरिकहरू प्रति उच्च सम्मान प्रकट गर्दछु ।
३. गलकोटका नागरिकको वृहत्तर हितलाई ध्यानमा राखी नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, दिगो विकास लक्ष्य, नेपाल सरकारको सोह्रौं पञ्चवर्षीय योजना, गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना, नेपाल सरकारको बजेट वक्तव्य २०८२, गण्डकी प्रदेश सरकारको बजेट वक्तव्य २०८२ र गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई आधार मानी बजेट तर्जुमा गरेको छु ।
४. गलकोट नगरपालिकाको आवश्यकता, यहाँका नागरिकको विकास प्रतिको चाहना, स्थानीय निर्वाचनमा राजनीतिक दलहरूले गरेको प्रतिबद्धता, विभिन्न क्षेत्रबाट प्राप्त रचनात्मक सुझाव, संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण तथा राजस्व परिचालनको सीमित दायरा जस्ता विषयलाई दृष्टिगत गरी स्रोत साधनको मितव्ययी र न्यायोचित परिचालनमा जोड दिएको छु ।
५. गलकोटका नागरिकको सुख र समृद्धिको चाहना, कृषि क्षेत्रको प्रवद्र्धन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण, मौलिक हकको रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धि र सो को दिगोपना, रोजगारी सिर्जना, समावेशीय, सामाजिक परिचालन र ऐक्यवद्धता, पारदर्शिता, सुशासन र गुणस्तरीय सेवा प्रवाह जस्ता विषयहरूलाई जोड दिएर बजेट तर्जुमा गरेको छु ।

सम्मानित नगरसभाका अध्यक्ष महोदय,
अब म गत आ.व. २०८०/८१ को यथार्थ आय–व्यय एवं चालु आर्थिक वर्ष २०८१/८२ को संशोधित आय–व्यय सम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्दछु ।

गत आर्थिक वर्ष २०८०/८१ मा यथार्थ आय
६. गत वर्षको मौज्दात सहित आन्तरिक आयतर्फ रु. ३ करोड ८४ लाख ८४ हजार ३ सय ६७ रुपैयाँ र पैसा ३ मात्र, संघीय सरकार राजस्व बाँडफाँटबाट प्राप्त रु. ९ करोड २८ लाख ५२ हजार ९ सय ६३ रुपैयाँ र पैसा ५७ मात्र, प्रदेश सरकार राजस्व बाँडफाँटबाट प्राप्त रु. १ करोड ५ लाख ३२ हजार ९ सय ३१ रुपैयाँ र घर जग्गा रजिष्टेशन दस्तुर रु. ३५ लाख १० हजार २ सय ८० रुपैयाँ र पैसा २८ मात्र आम्दानी प्राप्त भएको छ । आन्तरिक श्रोत, राजस्व बाडँफाँड र घर जग्गा रजिष्टेशन गरी जम्मा रु. १४ करोड ५३ लाख ८० हजार ५ सय ४२ र पैसा ५२ मात्र आम्दानी जनाइएको छ ।
७. संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु. १० करोड ५८ लाख ३४ हजार, सशर्त अनुदान चालुतर्फ रु. ३३ करोड ५८ लाख ९५ हजार ८ सय ६९ रुपैयाँ ५६ पैसा मात्र, विशेष अनुदान पुँजीगत रु. ९३ लाख ७३ हजार, समपूरक अनुदान पुँजीगत रु. ६० लाख मात्र, विशेष अनुदान चालु २८ लाख ८७ हजार ६ सय ७० गरी जम्मा रु. ४६ करोड ३४ लाख ०६ हजार ८ सय ५९ रुपैयाँ र पैसा ५६ गरी संघीय सरकार बाट वित्तीय हस्तान्तरणतर्फ जम्मा रु. ४६ करोड, ३४ लाख, ६ हजार ८ सय उनान्साठी रुपैयाँ र पैसा ५६ मात्र आम्दानी भएको छ ।
८. प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु. १ करोड १३ लाख ३८ हजार ५ सय मात्र, सशर्त अनुदान रु. ४६ लाख ५७ हजार ५ सय ९ रुपैयाँ गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणतर्फ जम्मा रु.१ करोड ५९ लाख ९६ हजार ९ रुपैयाँ यथार्थ आय भएको छ । गत आ.व. को कुल जम्मा यथार्थ आय ६२ करोड ४७ लाख ८३ हजार ४ सय ११ र पैसा ८ मात्र प्राप्त हुन आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को यथार्थ व्यय
९. क्षेत्रगत विनियोजनका आधारमा चालु खर्च रु. ४७ करोड ५७ लाख १८ हजार ९ सय ७० रुपैयाँ र पैसा ८० तथा पूँजीगत खर्च रु. १२ करोड ९० लाख १२ हजार १ सय ६९ रुपैयाँ गरी कुल जम्मा रु. ६० करोड ४७ लाख ३१ हजार १ सय ३९ रुपैयाँ र पैसा ८ खर्च भई रु. २ करोड ५१ हजार ९ सय ३६ रुपैयाँ चालु आर्थिक वर्ष २०८१/८२ मा जिम्मेवारी सरेको छ ।

अब म चालु आ.व. २०८१/८२ को संशोधित आय व्यय विवरण संक्षेपमा प्रस्तुत गर्दछु ।
१०. गत वर्षको मौज्दात समेत गरी आन्तरिक आयतर्फ रु. ३ करोड, ८८ लाख ८२ हजार २५ मात्र, घरजग्गा रजिस्ट्रेसन दस्तुर रु. ३५ लाख संघीय सरकारबाट राजस्व बाँडफाँट रु. ८ करोड ६ लाख, समानीकरण अनुदान रु. १० करोड ५२ लाख ४८ हजार ७ सय २०, सशर्त अनुदान रु. ३५ करोड ९३ लाख, विशेष अनुदान रु. ८५ लाख ७४ हजार गरी जम्मा रु. ५९ करोड ६१ लाख ४ हजार ७ सय २० मात्र ।
११. गण्डकी प्रदेश सरकारबाट राजस्व बाँडफाँट रु. १ करोड १५ लाख ५२ हजार समानीकरण अनुदान रु. १ करोड ५० लाख २९ हजार विशेष अनुदान रु. ३० लाख र समपुरक अनुदान रु. ४४ लाख ७१ हजार गरि जम्मा ३ करोड ३६ लाख ५९ हजार हुने संशोधित अनुमान छ र यसरी कुल संशोधित आय जम्मा रु. ६३ करोड १४ लाख ९५ हजार २ सय ९६ हुन आउँछ ।
१२. चालु आर्थिक वर्ष २०८१÷८२ संशोधित आयको ८३ प्रतिशत खर्च हुने अनुमान गर्दा रु. ५२ करोड ९२ लाख खर्च हुने र ६ करोड ७१ लाख फिर्ता हुने संशोधित अनुमानमा आगामि आ.व.मा रु. १ करोड ७५ लाख ९२ हजार ६ सय ३६ जिम्मेवारी सारीएको छ ।

श्रद्धेय अध्यक्ष महोदय,
अब म आर्थिक वर्ष २०८२/८३ को बजेटका उद्देश्य र प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
बजेटका उद्देश्यहरु देहायबमोजिम रहेका छन् ।
(क) कृषि पेशामा युवाहरुको आकर्षण बढाई उत्पादन र उत्पादकत्व वृद्धि गर्नु,
(ख) लक्षित समुदायका नागरिकको रोजगारी र आय बृद्धि गर्दै आर्थिक असमानता कम गर्नु,
(ग) आम सर्बसाधारण नागरिकमा शिक्षा र स्वास्थ्यको पहूँच स्थापित गर्नु,
(घ) दिगो र भरपर्दो भौतिक पूर्वाधार निर्माण गर्नु,
(ङ) सहभागितामूलक विकास र प्राप्त लाभको समन्यायिक वितरणमा जोड दिनु,
(च) सुशासन प्रवद्र्धन मार्फत सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउनु,

बजेटका प्राथमिकता देहाय बमोजिम तय गरेको छु ।
(क) सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा,
(ख) दिगो र उत्थानशील पूर्वाधार निर्माण,
(ग) स्थानीय उत्पादन प्रवद्र्धन र कृषिको व्यवसायीकरण,
(घ) सीप विकास र रोजगारी सिर्जना,
(ङ) सामाजिक सूरक्षा र समतामूलक समाजको स्थापना,
(च) समावेशी, समानुपातिक र सन्तुलित विकास,
(छ) गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुशासन।

श्रद्धेय अध्यक्ष महोदय,
चालु आर्थिक वर्ष २०८१/८२ मा संघ र प्रदेश सरकारको राजश्व परिचालनको लक्ष्यमा गिरावट आउँदा संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणको रकम घटेर प्राप्त भएको छ।नगरपालिकाको राजश्वको दायरा फराकिलो बनाउन नसक्दा संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा भर पर्नुपर्ने अवस्था विद्यमान छ।नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई प्रदान गरेको जिम्मेवारी र उपलब्ध सीमित स्रोतको बीचमा तालमेल मिलाई नगरबासी नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न नगरपालिका सामु अहम् चुनौति थपिएको छ।यद्दपी, सीमित स्रोतको अधिकतम परिचालन गर्न नगरपालिका प्रतिबद्ध छ।अब म आगामी आर्थिक वर्ष २०८२/८३ को लागि क्षेत्रगत बजेट तथा कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु ।

आर्थिक विकास
कृषि तथा बागवानी
१३. कृषि क्षेत्रको व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउन युवाहरुलाई कृषि पेशामा आकर्षित गरिने छ । कृषिमा आवद्द कृषकहरुलाई प्रोत्साहन गर्न उत्पादनमा आधारीत अनुदानको लागि नगरपालिकातर्फ रु .१२ लाख विनियोजन गरेको छु ।
१४. क्षेत्रगत विशिष्टीकरणको माध्यमबाट मात्रै कृषिमा आत्मनिर्भर हुन सकिने विश्वासका साथ कृषिको उत्पादन र उत्पादकत्व बढाई व्यावसायीकरण गर्न भैरहेका पकेटलाई प्रवद्र्धन गरिने छ । गलकोट नगरपालिकामा हुन सक्ने अन्य कृषि उपजको लागि सम्भाव्यता अध्ययन गरिने छ । अदुवा, बेसार, कागती र सुन्तला जस्ता बालीको पकेट विकास कार्यक्रमलाई निरन्तरता दिएको छु । सुन्तला, लिची र कागती जस्ता फलफूल बाली प्रवद्र्धन गर्न रु. ५ लाख विनियोजन गरेको छ ।
१५. कृषि उद्योगमा निजी क्षेत्रको लगानी आकर्षण गरी उत्पादनको बजार सुनिश्चित गर्नुः उर्वर भूमि बाँझो राख्ने प्रवृतिलाई रोक्नुः स्थानीय उत्पादनलाई प्रसय दिई आयातित वस्तु माथिको निर्भरता घटाउन गलकोट क्षेत्रको प्रतिस्प्रधात्मक लाभको क्षेत्र रहेको मकै खेतीलाई प्रवद्र्धन गर्न मध्य पहाडी लोकमार्ग लक्षित मकै खेतीका लागि रु. ७ लाख बजेट विनियोजन गरिएको छ ।
१६. गलकोट क्षेत्रको हावापानी, भौगोलिक बनावट, माटोको आधारमा लसुन र अकबरे खुर्सानी सम्भावित कृषि उपज हुन् । अतः यसको प्रवद्र्धनको लागि ८ लाख बजेट विनियोजन गरेको छु ।
१७. श्रमको न्यून उत्पादकत्व बढाउन, मर्यादित श्रम विकास गर्न, कृषिमा व्यवसायिकरण र विविधीकरण बढाउन, स्रोतको समुचित प्रयोग गरि उत्पादन र उत्पादकत्व बढाउन साथै कृषिसंग आवश्यकता अनुसार समय समयमा मागमा आधारित तालिम दिइने छ ।
१८. स्थानीय उपजको समयमा नै बजार पाउन, उत्पादन र बजार बीच मध्यस्थकर्ता तथा बचौलियाको उपस्थितिको कारण उत्पादनको कृषि लाभ प्राप्त गर्न अवरोध सृजना भएको वर्तमान अवस्थालाई दृष्टिगत गरी हाटबजार व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
१९. गलकोट क्षेत्रको कृषक र कृषिको अवस्था चित्रण हुने गरी, कृषि उपजको आयात, निर्यात र आत्मनिर्भारता जानकारी दिने हेतुले तथ्याङ्क संकलनको लागि रु. २ लाख बजेट विनियोजन गरिएको छ ।
२०. नवप्रवर्तन साझेदारी कोष कार्यक्रमबाट नगरपालिकाको वडा नं. १, ४ र १० मा सञ्चालित व्यवसायिक ओखरखेती परियोजना कार्यक्रमको प्रवद्र्धन र बिरुवा उपचारको लागि रु. ३ लाख बजेट विनियोजन गरेको छु ।
२१. पानीको स्रोतको पहुँच भएका खेती योग्य जमिनमा बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराई उत्पादन बढाउन साना सिँचाई मर्मत तथा संभार गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु । यसका लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
२२. कृषि तथा बागवानी क्षेत्रको समग्र कार्यक्रम सञ्चालन गर्नको लागि संघीय सशर्त अनुदानबाट रु. २३ लाख र नगरपालिकाबाट विनियोजित रु. ४७ लाख ६० हजार गरी जम्मा रु. ७० लाख ६० हजार बजेट विनियोजन गरेको छु ।

पशुपंक्षी विकास
२३. पशुजन्य रोग एवं महामारी नियन्त्रणको लागि खोप अभियान सञ्चालन गर्न तथा आवश्यक औषधी र खोप खरिद गर्न रु. १२ लाख बजेट विनियोजन गरेको छु । कृत्रिम गर्भाधानबाट पशुमा नश्ल सुधार गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको छु ।
२४. दुध र दुग्धजन्य पदार्थमा गलकोट नगरपालिकालाई आत्मनिर्भर बनाउने दिशामा चिस्यान केन्द्रहरूको सुदृढीकरण र नयाँ चिस्यान केन्द्रको व्यवस्थापनको लागि आवश्यक रकम विनियोजन गरेको छु । नयाँ गाई भैँसी पकेट विकास कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा रु. १३ लाख बजेट विनियोजन गरेको छु । दुधमा दिइदैं आएको उत्पादनमा आधारित अनुदान कार्यक्रमको निरन्तरताको लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
२५. घरपालुवा कुकुर व्यवस्थित गर्न सूचीकरणको लागि आवश्यक व्यवस्था मिलाएको छु ।
२६. पशुपक्षी विकास क्षेत्रको लागि संघीय सशर्त अनुदानबाट रु. १९ लाख १० हजार र नगरपालिकाबाट रु. ३६ लाख गरी जम्मा रु. ५५ लाख १० हजार बजेट विनियोजन गरेको छु ।

सहकारी
२७. नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने सहकारीलाई नियमनको दायरामा ल्याइने छ। स्थापित सिद्धान्त र कानुन बमोजिम सञ्चालन भएका र आर्थिक वृद्धिमा उल्लेख्य योगदान पुर्याएका सहकारीलाई उचित प्रोत्साहन गरिने छ।सहकारी संस्थाको लागत साझेदारीमा सहकारी संस्थाका पदाधिकारी र कर्मचारीलाई क्षमता विकास तालिम सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । सबै सहकारीलाई आफ्नो विवरण कोपोमिस प्रणालीमा दर्ता गर्न अनिवार्य गरिने छ।सहकारी क्षेत्रको विकास तथा प्रवद्र्धनको लागि रु. ४ लाख रुपैयाँ विनियोजन गरेको छु ।

उद्यमशीलता विकास तथा रोजगारी प्रवद्र्धन
२८. सुरक्षित आप्रवासन कार्यक्रम (सामी परियोजना)लाई निरन्तरता दिँदै वैदेशिक रोजगारीमा गएका परिवारका सदस्य एवं रोजगारीबाट फर्केका युवाहरुलाई वित्तीय साक्षरता तथा मनोसामजिक परामर्श सेवा उपलब्ध गराइने छ । जसको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
२९. उद्यम गर्न चाहने व्यक्तिको रुचिको आधारमा नयाँ लघु उद्यमी सिर्जना तथा पुराना लघु उद्यमीहरुको सीपलाई स्तरोन्नति गरिने छ । लघु उद्यमीद्वारा सञ्चालित उत्पादनको लेवलिङ र बजारीकरणमा सहयोग गरिने छ । लघु उद्यमीको २० प्रतिशत लागत साझेदारीमा उपयुक्त प्रविधि हस्तान्तरण गरिने छ ।
३०. संघ सरकारको सहयोगमा श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम संचालन गरिने छ। आन्तरिक रोजगारी सृजनाको लागि संघीय शसर्तबाट रु. ५ लाख २४ हजार र नगरपालिका तर्फबाट रु. ५ लाख २४ हजार गरी जम्मा रु. १० लाख ४८ हजार बजेट विनियोजन गरिएको छ र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशिलता प्रवद्र्धनको लागि रु. १ लाख बजेट विनियोजन गरेको छु ।
३१. स्थानीय उत्पादन प्रवद्र्धन तथा ‘गलकोटको मौलिक चिनो’को ब्रान्ड स्थापना गर्न कोसेली घर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
३२. लघु उद्यम तथा उद्यमशीलता विकासतर्फ संघीय सशर्त अनुदानबाट रु. ६ लाख ४२ हजार तथा नगरपालिकाबाट रु. १६ लाख गरी जम्मा रु. २२ लाख ४२ हजार विनियोजन गरेको छु ।
३३. समग्र उद्यमशीलता विकास तथा रोजगारी प्रवद्र्धनको क्षेत्रमा संघीय सशर्त अनुदान रु. ३७ लाख र नगरपालिकाबाट रु. २२ लाख १४ हजार गरी जम्मा रु. ५९ लाख १ ४ हजार विनियोजन गरेको छु ।

पर्यटन
३४. गलकोट नगरको पर्यटन प्रवद्र्धन गर्न मध्यपहाडी लोकमार्गका प्रवेश विन्दु र नगरका मुख्य स्थानहरुमा पर्यटकीय स्थलहरुको जानकारी सहितको सूचनामूलक होडिङ्गबोर्ड राख्ने व्यवस्थाको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
३५. नगरपालिका स्थित विभिन्न वडामा आयोजना हुने मह शिकार महोत्सवको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्न आवश्यक व्यवस्था मिलाएको छु ।
३६. समग्रमा पर्यटन क्षेत्रसँग सम्बन्धित कार्यक्रम सञ्चालनको लागि रु. १२ लाख विनियोजन गरेको छु ।

सामाजिक विकास
खानेपानी, सरसफाई तथा फोहोर व्यवस्थापन
३७. नगर क्षेत्रका खानेपानीको समय समयमा गुणस्तर परीक्षण गरिने छ । खानेपानी योजनाहरुको मर्मत संभार गरी सञ्चालन गरिने छ । खानेपानीका मुहानको संरक्षण र सरसफाइमा स्थानीय उपभोक्ता समूहलाई जिम्मेवार बनाइने छ ।
३८. नगरका सार्वजनिक स्थल र पानीका स्रोतमा फोहोर फाल्न नदिन समुदायको सक्रियता बढाउँदै विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन गरिने छ ।
३९. नगरपालिकाको फोहोर व्यवस्थापन गरी स्वच्छ नगर निर्माण गर्न रु. २० लाख विनियोजन गरेको छु ।
४०. फोहोर मैला बापतको शुल्क स्थानीय टोल विकास संस्था मार्फत उठाउने र उठेको रकमको १० प्रतिशत रकम प्रोत्साहन स्वरूप सम्बन्धित टोल विकास संस्थालाई उपलब्ध गराउने कार्यलाइ निरन्तरता दिएको छु ।
४१. खानेपानी तथा सरसफाई योजना मर्मत तथा व्यवस्थापनका लागि नगरपालिकाको रु ८ लाख संघीय सशर्त २ लाख प्रदेश सशर्त अनुदान रु. २ लाख गरी जम्मा रु. १२ लाख विनियोजन गरेको छु ।

युवा तथा खेलकुद
४२. नगर स्तरीय भलिबल खेलको विकास, मैत्रीपूर्ण खेलकुद, युव लक्षित कार्यक्रम र खेल प्रोत्साहनको लागि रु. १८ लाख विनियोजन गरेको छु ।

सामाजिक सुरक्षा तथा संरक्षण, लैंङ्गिक समानता र सामाजिक समावेशीकरण
४३. महिला हिंसा, लैंगिक विभेद, कुरीति, कु–संस्कार न्यूनीकरणका लागि ११ वटै वडामा सञ्चालन हुने गरी उप–प्रमुख महिला विकास कार्यक्रम र नगरबाट सञ्चालन गर्ने गरी महिला लक्षित कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
४४. अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी परिचयपत्र वितरण, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरूको लागि सहायता सामग्रीको उपलब्धता जस्ता कार्यक्रमलाई स्थान दिएको छु । ग वर्गका अपाङ्गता भएका व्यक्तिहरूको लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिएको छु । अपाङ्गता भएका व्यक्तिको लागि स्मार्ट परिचय पत्र वितरण गर्ने कार्यको थालनी गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
४५. जेष्ठ नागरिक सम्बन्धी विशेष कार्यक्रमको अतिरिक्त स्वास्थ्यसँग जोडेर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।
४६. बालमैत्री स्थानीय शासनयुक्त नगरको दिगोपनाको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न रु. १७ लाख विनियोजन गरेको छु । नगरस्तरीय बाल उद्यान स्तरोनन्तिको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
४७. जातीय विभेद तथा छुवाछुत उन्मुलनका लागि लक्षित कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
४८. लोपोन्मुख कुमाल तथा गन्धर्व जातिको उत्थान कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४९. जनजातिहरूको स्थानीय कला संस्कृति संरक्षण, स्थानीय न्यायिक कार्यसम्बन्धी विद्यार्थीलाई सचेतना कार्यक्रम, बालबालिकासँग उप–प्रमुख कार्यक्रम, महिला, बालबालिका र अपाङ्ग लक्षित रेडियो कार्यक्रम, सहिद र बेपत्ता परिवारसँग नगर उप–प्रमुख कार्यक्रम, लागूऔषध दुव्र्यसनी न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
५०. सामाजिक सुरक्षा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको लागि रु. ५९ लाख बजेट विनियोजन गरेको छु ।

शिक्षा
५१. नगरपालिकाको उच्च शिक्षाको शैक्षिक धरोहर गलकोट बहुमुखी क्याम्पसको लागि नगरपालिकाले रु. १ करोड दिने प्रतिबद्धता गरेकोमा आगामी आर्थिक वर्ष २०८२/८३ मा रु. २५ लाख बजेट विनियोजन गरेको छु ।
५२. विद्यालयस्तर बाटै खेल क्षेत्रको विकास गर्न एवं शैक्षिक क्रियाकलापमा सुधार ल्याउन नगरप्रमुख र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा बृहत् शैक्षिक प्रदर्शनी लगायतका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
५३. विपन्न, जेहेन्दार, दलित बालबालिकाको लागि नगरप्रमुख शैक्षिक छात्रवृत्ति कोषलाई निरन्तरता दिएको छु ।
५४. बाल विकास कक्षाको उचित व्यवस्थापन गरी बाल विकास सहजकर्तालाई प्रोत्साहन गर्न आवश्यक कार्यक्रम प्रस्ताव गरेको छु ।
५५. आधारभूत तहको कक्षा ८ तथा एस. इ. इ परीक्षा लक्षित अंग्रजी, गणित र विज्ञान विषयको नतिजा सुधारको लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ । शिक्षकहरुको लागि आधारभूत तहको सूचना प्रविधि तालिमको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
५६. एफ.एम. रेडियोबाट मासिक रूपमा विषयगत हाजिरी जबाफ प्रतियोगिता तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
५७. गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानी मा.वि. मा छात्रवास भवन निर्माणको लागि संघीय सशर्त अनुदानतर्फ रु. ७० लाख विनियोजन गरिएको छ । प्रसूति बिदामा रहेका शिक्षकको सट्टामा बिदा अवधिभर वैकल्पिक शिक्षक राखी पठनपाठन गराउने कार्यक्रमलाई निरन्तरता दिएको छु ।
५८. कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छु।विद्यालय समायोजन तथा मर्ज भएको कारणले टाढाको विद्यालयमा जानुपर्ने बाध्यता भएका विद्यार्थीको छात्रावास तथा यातायात खर्च व्यवस्थापनको लागि रु. १६ लाख बजेट विनियोजन गरेको छु ।
५९. विद्यालयहरूमा रिक्त हुने शिक्षकको पदमा विज्ञापन गरी करारमा पदपूर्ति गर्न लाग्ने खर्च नगरपालिकाबाटै व्यहोर्ने गरी आवश्यक व्यवस्था मिलाएको छु ।
६०. समग्र शिक्षा क्षेत्रका कार्यक्रम सञ्चालनको लागि नगरपालिकातर्फ रु. २ करोड २८ लाख, सशर्त अनुदान रु. ३० करोड ११ लाख, संघीय विशेष अनुदानतर्फ रु. १ करोड ३६ लाख र प्रदेश विशेष अनुदानमा ४० लाख गरी जम्मा रु. ३४ करोड १५ लाख बजेट विनियोजन गरेको छु । जुन कुल बजेटको ४७ प्रतिशत हुन आउँछ ।

स्वास्थ्य
६१. गलकोट नगर अस्पतालको सेवा सुदृढीकरणमा जोड दिएको छु । हालै सञ्चालनमा आएका फिजियोथेरापी, ब्लड बैंक र सुत्केरीको आकस्मिक शल्यक्रिया सेवालाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु । अस्पतालमा निर्माणाधीन आवास भवनलाई पूर्णता दिने प्रबन्ध मिलाएको छु । गलकोट नगर अस्पताल सञ्चालनका लागि थप चिकित्सक लगायतका जनशक्ति आवश्यक पर्ने हुनाले अस्पताल तथा सहरी स्वास्थ्य केन्द्रमा जनशक्ति व्यवस्थापनका लागि नगरबाट रु. १ करोड बजेट विनियोजन गरेको छु ।
६२. आत्महत्याको रोकथाम तथा न्यूनीकरणका लागि मानसिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न रु ३ लाख बजेटको विनियोजन गरेको छु ।
६३. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि निःशुल्क स्वास्थ्य बिमा, सम्मानजनक बिदाइ, मासिक सञ्चार खर्चको निरन्तरता साथै प्राथमिक उपचार किट बक्सको व्यवस्थापन गरेको छु ।
६४. सबै स्वास्थ्य संस्थाहरुमा कागजविहिन अभिलेख र प्रतिवेदन प्रणाली लागू गर्न, घर घरमा जेष्ठ नागरिक कार्यक्रम, नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रम, विपन्न स्वास्थ्य बिमा कार्यक्रम, गर्भवती प्रोत्साहन कार्यक्रम, खानेपानीको गुणस्तर परीक्षण तथा सर्भिलेन्स, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, मुख स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, क्षयरोग मुक्त अभियान गलकोट कार्यक्रम, विभिन्न स्वास्थ्य शिविर सञ्चालन जस्ता कार्यक्रमलाई निरन्तरता दिन, स्वास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्डको सुदृढिकरण गर्न तथा स्वास्थ्य सम्बन्धी विभिन्न दिवस र प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु ।
६५. नगरका विभिन्न वडाहरुमा ३० वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकहरुमा नसर्ने रोगको स्क्रिनिङ शिविर सञ्चालन गर्नका लागि ५ लाख बजेट विनियोजन गरिएको छ ।
६६. संघीय सरकारको साझेदारीमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना तथा संचालन गर्ने प्रबन्ध मिलाएको छु ।
६७. स्वास्थ्य तर्फका कार्यक्रम सञ्चालन गर्न नगरपालिकातर्फ तबलसहित २ करोड ३७ लाख र सशर्त अनुदान सहित एकमुष्ठ रु. ५ करोड ५६ लाख गरी जम्मा रु. ७ करोड ९३ लाख विनियोजन गरिएको छ । जुन कुल बजेटको ११.०५ प्रतिशत हुन जान्छ ।

कला, संस्कृति र साहित्य
६८. स्थानीय स्तरका कला, संस्कृति, साहित्य, पर्व, मेला, जात्रा, नाच आदिको संरक्षण र प्रवद्र्धन गरी पर्यटनसँग जोड्न आवश्यक व्यवस्था गरेको छु ।
६९. समग्र कला, संस्कृति र साहित्य तर्फका कार्यक्रमको लागि रु. ४ लाख बजेट विनियोजन गरेको छु ।

पूर्वाधार विकास
७०. गलकोट नगरपालिका २ को वडा कार्यालय नरेठाँटीदेखि रामकृष्ण आ.वि. तोरीखोला–नवयुवक आ.वि–पार्वती मा.वि.हुदै वडा नं. ६ को वडाकार्यालय जोड्ने सडक स्तरोन्नतीको लागि संघीय समपुरकबाट रु. १ करोड ५० लाख र नगरपालिकाको समपुरकबाट रु. १ करोड ५० लाख गरी जम्मा रु. ३ करोड बजेट विनियोजन गरिएको छ ।
७१. दुदिलाभाटी बजारदेखि थालिङ जोड्ने झो. पु, १. चिप्लेटी घाट झोलुङ्गे पुलको लागि रु. ६ लाख विनियोजन गरिएको छ ।
७२. गत आ.व.मा नगर गौरवको योजना नपरेका वडाहरू क्रमशः वडा नं.१, २, ४, ६ र ९ लाई ३०।३० लाखको नगर स्तरीय योजनाको काफलठुटादेखी सानी स्वारा पक्की ढलान मोटरबाटो निर्माण वडा नं. १, नरेठाँटी बजार ढलान, प्रतिक्षालय, विद्यालय पर्खाल पेन्टिङ, गेट निर्माण र नरेठाँटी–चिनामाली–पैँयुडाँडा सडक स्तरोन्नती वडा नं. २, बौर स्वास्थ्य चौकी नुवाकोट/चमुवा, खरुवा मोटर बाटो स्तरोन्नती, वडा नं ६ नं. वडा कार्यालय जाने/चरौदी भुजुङ्गे जाने बाटो ढलान वडा नं. ६, लोप–बरेखानी मोटरबाटो स्तरोन्नती ग.न.पा.९, लागि रु. १ करोड ५० लाख र ३, ५, ७, ८, ९, १० र ११ मा रु. ५/५ लाख लागतका एक–एक नगरस्तरीय योजना कार्यान्वयनको लागि ३० लाख बजेट विनियोजन गरेको छु ।
७३. नगरपालिकाको निर्माणाधिन प्रशासकीय भवन निर्माण कार्यको लागि रु. २ करोड विनियोजन गरेको छु ।
७४. वडा भित्रका सडकहरुको सरसफाई तथा मर्मत गरी नियमित सञ्चालन गर्न एकमुष्ठ रु. २० लाख नियोजन गरेको छु ।
७५. संघ र प्रदेश सरकारबाट प्राप्त हुने समपुरक योजना कार्यान्वयनको लागि समपुरक कोषमा रु. २ करोड ३ लाख विनियोजन गरेको छु ।
७६. बजेट तर्जुमाको समयमा पूर्वानुमान गर्न नसकिने तर वर्षभरी आत्यावश्यक देखिने योजना कार्यान्वयन र मर्मत संभार गर्न विशेष विकास कार्यक्रममा रु. ९० लाख विनियोजन गरेको छु ।
७७. आगामी आर्थिक वर्षदेखि पूर्वाधार निर्माण कार्यको गुणस्तर जाँच गर्ने व्यवस्थाको लागि आवश्यक रकम विनियोजन गरेको छु।रिस्मी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ट्रस निर्माण कार्यका लागि आवश्यक बजेट विनियोजन गरेकोछु । मध्यपहाडी लोकमार्ग (वडा नं ९ वडागाँउ)देखि छिसहुँदै वडा नं ११ वडा कार्यालय जाने सडक स्तरउन्नतीको प्रदेश समपुरक अनुदानबाट रु .६० लाख र नगरपालिकाबाट आवश्यक रकम विनियोजन गरिएको छ ।
७८. ताराखोला गाउँपालिकाको माझखर्क कर्ले गलकोट दर्म काफलडाँडा हरिचौँर सडक स्तरोन्नतीको लागि संघीय सशर्त अनुदानतर्फ रु. १ करोड २० लाख विनियोजन गरिएको छ । गलकोट पूर्वाधारतर्फका योजना कार्यान्वयन गर्न समपुरकसहित नगरपालिकातर्फ रु. ८ करोड १३ लाख र संघीय र प्रदेश अनुदानअन्तर्गत ३ करोड ५२ लाख गरी जम्मा रु. ११ करोड ६५ लाख विनियोजन गरेको छु ।

सुशासन तथा अन्तरसम्बन्धित विषय
७९. उपभोक्ताको हित संरक्षण गर्न बजार अनुगमनको कार्यलाई व्यवस्थित बनाउन तथा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
८०. सरकारी काम कारबाहीमा पारदर्शिता कायम गरी सूचनाको हकको प्रवद्र्धन गरिने छ । यसका लागि सार्वजनिक सुनुवाई तथा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
८१. स्थानीय सरकारले गर्ने सेवा प्रवाहमा नागरिकको विश्वास र अपनत्व अभिवृद्धि गरिने छ । भौतिक सेवा प्रवाहलाई क्रमशः अनलाईन माध्यममा रुपान्तरण गर्दै लगिने छ । कर्मचारीमा क्षमता विकास तालिमको माध्यमबाट दक्षता अभिवृद्धि गरिने छ ।
८२. कर्मचारी र जनप्रतिनिधिमा सदाचार संस्कृतिको विकास गरिने छ।यसका लागि सरकारी चालु खर्चमा मितव्ययिता कायम गर्ने उपायहरुको अवलम्बन गरिने छ । नागरिकको गुनासो सम्बोधन गर्न गुनासो व्यवस्थापन कार्यलाई व्यवस्थित बनाइने छ ।
८३. न्यायिक समितिको सक्रियता बढाइ मेलमिलापको कार्यलाई थप व्यवस्थित गरिने छ ।
८४. सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि रु. ३८ लाख विनियोजन गरेको छु ।

वन वातावरण तथा विपद् व्यवस्थापन
८५. सामुदायिक वन उपभोक्ता समिति परिचालन गरी वनजन्य उत्पादनको उपयोग गरिने छ ।
८६. आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई थप व्यवस्थित गरिने छ । केन्द्रको लागि आवश्यक सामग्री खरिद गरी भण्डारण गरिने छ । विपद् व्यवस्थापन कोषमा आवश्यक रकम व्यवस्थापन गरिने छ ।
८७. वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रको लागि जम्मा रु. ५० लाख विनियोजन गरेको छु ।

श्रद्धेय नगरसभाका अध्यक्ष महोदय,
अब म माथि उल्लिखित क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न विनियोजित बजेट र स्रोतको अनुमान प्रस्तुत गर्दछु ।
८८. आगामी आर्थिक वर्ष २०८२/८३ को लागि निर्धारित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ७१ करोड ७४ लाख ५ हजार ६ सय विनियोजन गरेको छु । जसमध्ये चालुतर्फ रु. ५१ करोड ४२ लाख ३६ हजार ६ सय अर्थात् कुल विनियोजन बजेटको ७१.६८ प्रतिशत र पुँजीगततर्फ रु. २० करोड ३१ लाख ६९ हजार अर्थात कुल विनियोजन बजेटको २८.३२ प्रतिशत रकम विनियोजन गरेको छु ।
८९. आगामी आर्थिक वर्ष २०८२/८३ को लागि खर्च वेहोर्ने स्रोत मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु. ११ करोड ५१ लाख, संघीय राजस्व बाँडफाँटबाट रु. १० करोड ४८ लाख ७५ हजार ९ सय ६४ रुपैयाँ, संघीय सशर्त अनुदानबाट ३६ करोड ५३ लाख, संघीय विशेष अनुदानबाट १ करोड ३६ लाख प्राप्त, संघीय समपुरक अनुदानतर्फ रु. १ करोड ५० लाख हुने अनुमान गरेको छु । गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु. १ करोड ४८ लाख २१ हजार, राजस्व बाँडफाँटबाट रु. १ करोड २० लाख १ हजार, विशेष अनुदानबाट रु. ४० लाख, समपुरक अनुदानबाट रु. ६० लाख प्राप्त हुने अनुमान गरेको छु । स्थानीय राजश्व परिचालनबाट आन्तरिक राजश्व रु. १ करोड ९३ लाख प्राप्त हुने अनुमान गरेको छु । चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन पश्चात् रु. १ करोड ७५ लाख ९२ हजार ६ सय बचत हुने अनुमान गरेको छु । यसको विस्तृत विवरण अनुसूची १ मा उल्लेख गरेको छु ।

श्रद्धेय नगरसभाका अध्यक्ष महोदय,
९०. वर्तमान राजश्व परिचालनको अवस्थालाई दृष्टिगत गर्दा राजश्वको लक्ष्य प्राप्ति गर्न केही चुनौतिपूर्ण अवस्था देखिन्छ । राजश्व शाखाको सुदृढिकरण गर्दै नागरिकलाई कर तथा शुल्क तिर्न प्रोत्साहन गर्ने नीति लिएको छु । कार्यविधि तर्जुमा गरी नगरपालिका भित्रका घरहरुको अभिलेखीकरण गर्ने कार्यलाई व्यवस्थित बनाई अभिलेखीकरण शुल्क र घर बहाल कर असुलीमा उल्लेख्य प्रगति हुने अनुमान गरेको छु ।
९१. गलकोट नगरपालकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, कर लगाउन तथा राजश्व संकलन र राजश्व प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न प्रस्ताव गरिएको आर्थिक विधयेक, २०८२ र नगरपालिकाको सेवा तथा कार्यका लागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विनियोजन विधयेक, २०८२ यसै साथ प्रस्तुत गरेको छु ।
९२. प्रस्तुत बजेटको कार्यान्वयनबाट उत्पादन र उत्पादकत्व वृद्धि भई स्थानीय अत्यावश्यक पूर्वाधारको निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरेको छु । स्थानीय सेवा प्रवाहमा नागरिकको पहूँच अभिवृद्धि भई सुशासनको माध्यमबाट समृद्धि तर्फको यात्रामा समानुपातिक समावेशी विकासको जग बस्ने विश्वास लिएको छु ।

अन्त्यमा,
बजेट निर्माणको लागि मार्गदर्शन प्रदान गर्नुहुने श्रद्धेय नगर प्रमुख, नगर कार्यपालिकाका सदस्यहरु, विषयगत समितिका सदस्यहरु, नगरसभाका सदस्यहरु, राजश्व परामर्श समिति, राजनीतिक दलका नेतागण, कर्मचारी, शिक्षक, पत्रकार, निजी क्षेत्र, नागरिक समाज, स्थानीय आम नागरिक सबैप्रति हार्दिक आभार प्रकट गर्दछु । यो बजेट कार्यान्वयन गर्नको लागि सबै पक्षको इमान्दार प्रयास र पर्याप्त सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।
धन्यवाद !

फमलाल निउरे
नगर उप–प्रमुख

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->