शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बरेङ गाउँपालिकाको आ.व. २०८२/०८३ को बजेट

बरेङ गाउँपालिकाको आ.व. २०८२/०८३ को बजेट

स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना व्यवस्थापनका लागि रू. १० लाख बजेट विनियोजन


  • दिलिप कुमार पुन
  • असार ९ २०८२, सोमबार

गाउँसभाका सदस्यज्यूहरू,
१. नेपालको संविधानको धारा २३० बमोजिम बरेङ गाउँपालिकाको यस गरिमामय गाउँसभामा उपाध्यक्षको हैसियतले बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आधारित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस सम्मानित सभामा उपस्थित भएको छु । यस बजेटलाई समृद्ध बरेङ, सुखी बरेङबासीको लक्ष्य हासिल गर्ने प्रमुख आधारका रूपमा लिएको छु ।
२. यस अवसरमा म राष्ट्र, राष्ट्रियता, नेपाली जनताको रक्षा, लोकतन्त्र प्राप्ति, अग्रगामी परिवर्तन तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि विभिन्न समयमा भएका जनआन्दोलन, सशस्त्र संघर्ष लगायतका विभिन्न आन्दोलनहरूमा आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै, बेपत्ता तथा घाइते योद्धाहरू र उहाँहरूको परिवारजनप्रति सहानुभूति प्रकट गर्दै उहाँहरूको अतुलनीय योगदानप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।
३. जनतामा बढ्दो आकांक्षा र गाउँपालिकाको सीमित स्रोतका बाबजुद प्राप्त सीमित स्रोत साधन र बजेटको विवेकपूर्ण विनियोजन र कुशल कार्यान्वयन गर्नुपर्ने वर्तमान तथ्यलाई आत्मसात गर्दै आगामी आ. व. २०८२/०८३ को बजेट प्रस्तुत गरेको छु ।
४. ‘‘समृद्ध बरेङ, सुखी बरेङवासी”को दीर्घकालीन लक्ष्य हासिल गर्न उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार र मानवीय विकासमा जोड, सुशासन, सामाजिक न्यायमा आधारित समतामूलक समाज सहितको गाउँपालिकाका रूपमा स्थापित गर्न यो बजेट केन्द्रित गरेको छु ।
५. आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा गर्दा मैले मूलतः नेपालको संविधान, प्रचलित कानुनहरू, नेपाल सरकारको सोह्रौँ योजना, नेपाल सरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्य, गण्डकी प्रदेश सरकारको आवधिक योजना, दिगो विकास लक्ष्य, स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, गाउँपालिकाद्वारा निर्मित विविध कानुनहरू, गाउँपालिकाको प्रथम आवधिक योजना, गाउँ कार्यपालिका र गाउँसभाका निर्णयहरूलाई मुख्य आधार बनाएको छु । साथै जिल्ला समन्वय समिति बागलुङ, गाउँपालिका स्तरीय राजनैतिक दलहरू लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरू र बरेङबासी जनसमुदायबाट विभिन्न माध्यमबाट प्राप्त हुन आएका महत्वपूर्ण सुझावहरूलाई बजेट निर्माणको प्रमुख आधारका रूपमा लिएको छु ।
६. अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पुँजीगत बजेट वृद्धि र चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेको छु । साथै कार्यक्रमको छनोट, साधन स्रोतको बाँडफाँट र विनियोजनमा देखिने दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता, स्रोत तथा विनियोजनका बीचमा सन्तुलन कायम हुने व्यवस्था मिलाएको छु ।

अब म आर्थिक वर्ष २०८२/०८३ को बजेटका प्रमुख उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्न चाहन्छु ।

बजेटका प्रमुख उद्देश्यहरू
१. बरेङ गाउँपालिकाको आर्थिक, सामाजिक रूपान्तरणको आधार तय गर्ने ।
२. रोजगारी सिर्जना, गरिबी निवारण र सामाजिक न्यायका लागि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने,
३. शिक्षा, स्वास्थ्य र खेलकुदको विकासका माध्यमबाट सामाजिक, सांस्कृतिक र मानवीय विकास गर्ने ।
४. नागरिकहरूमा विकास र शासकीय लाभको समन्यायिक वितरण गर्ने ।
५. नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख व्यवस्था निर्माणका लागि आधार तय गर्ने ।
६. दिगो विकासका लक्ष्यहरूको स्थानीयकरण गरी कार्यक्रम कार्यान्वयन गर्ने ।

बजेटका प्राथमिकताहरू
१. कृषि तथा पशुपन्छी क्षेत्रको सुदृढीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि र बजारीकरण,
२. कृषि पर्यटनको विकास गरी बरेङलाई कृषि पर्यटनको हबको रूपमा स्थापित गर्ने,
३. गाउँपालिकाको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति,
४. स्थानीय श्रम र स्रोतसाधनको उपयोग, लघुउद्यम तथा रोजगारी सिर्जना,
५. आर्थिक, सामाजिक तथा मानवीय विकास,
६. वातावरणमैत्री, सुरक्षित र दिगो पूर्वाधार विकास,
७. गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रवाह तथा विस्तार,
८. गाउँपालिकाको आवधिक योजनाले निर्दिष्ट गरेका योजना तथा कार्यक्रमहरू,
९. बिपद् व्यवस्थापन तथा विभिन्न महामारीहरूको रोकथाम तथा पूर्वतयारी,

अब म आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको यथार्थ स्थिति, चालु आ.व. २०८१/०८२ को आयव्ययको संसोधित अनुमान र आगामी आ.व. २०८२/०८३ को आयव्ययको प्रक्षेपण प्रस्तुत गर्न चाहन्छु ।
८. चालु आर्थिक वर्ष २०८१/०८२ मा रु. ४० लाख राजस्व परिचालन हुने अनुमान रहेकोमा चालु आर्थिक वर्षको असार ८ गतेसम्म लक्ष्यको ९४.८१ प्रतिशत अर्थात् जम्मा रु. ३७ लाख ९२ हजार ५ सय ५ रुपियाँ ८६ पैसा सङ्कलन भएको छ । जसमा ५ वटै वडामा गरिएको घुम्ती कर सङ्कलन कार्यक्रमबाट २ लाख ५३ हजार ४५ रुपियाँ सङ्कलन भएको छ । त्यसैगरी चालु आर्थिक वर्षको असार ८ गतेसम्म नेपाल सरकारबाट सशर्त अनुदानतर्फ रु. १७ करोड ९९ लाख ९९ हजार, समपूरकतर्फ ६१ लाख ६४ हजार ९ सय ४०, राजश्व बाँडफाँटतर्फ ५ करोड ४९ लाख १ हजार ५ सय ८० रुपियाँ ७० पैसा, वित्तीय समानीकरणतर्फ ७ करोड १२ लाख ५ हजार ७ सय ६० प्राप्त भएको छ । त्यसैगरी प्रदेश सरकार समपूरक अनुदानतर्फ रु. ३० लाख, विशेष अनुदानतर्फ रु. २० लाख, राजश्व बाँडफाँटतर्फ ३१ लाख ९९ हजार २ सय ७९ रुपियाँ ५३ पैसा र वित्तीय समानीकरणतर्फ ८९ लाख १७ हजार रूपियाँ प्राप्त भएको छ ।
९. गत आ.व. २०८०/०८१ को आय र व्ययको यथार्थ विवरण, आर्थिक वर्ष २०८१।०८२ को आय व्ययको संशोधित अनुमान र आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित आयव्ययको विवरण अनुसूचीहरूमा उल्लेख गरेको छु ।

सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरू,
अब म क्षेत्रगत रूपमा आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

क. आर्थिक विकास
१०. बरेङ गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा रहेको कृषि, पशुपन्छी विकास, उद्योग तथा सहकारी क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै आर्थिक विकासतर्फ ३ करोड १० लाख ५० हजार रुपियाँ विनियोजन गरेको छु ।
११. स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना व्यवस्थापनका लागि रू. १० लाख विनियोजन गरेको छु ।
१२. मासुमा आत्मनिर्भर कार्यक्रम कार्यान्वयनका लागि नयाँ बङ्गुर पकेट स्थापना र बाख्रामा नश्ल सुधार कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छु ।
१३. गाउँपालिकाभित्रको कृषि उत्पादनलाई आन्तरिक बजारीकरण गर्ने उद्देश्यका साथ निर्माण भएको हाटबजार स्तरोन्नतिका लागि संघीय सरकारसँग समन्वय गरी रू. १९ लाख ७५ हजार बजेट व्यवस्था गरेको छु ।
१४. “बरेङको सान, आन्तरिक पर्यटन” को नारासहित गाउँपालिकाभित्र रहेका पर्यटकीय सम्भावनाका स्थानहरूमा पर्यटकीय पूर्वाधार विकास र पर्यटन प्रवर्धन कार्यक्रमको व्यवस्था गरी आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यसहित आवश्यक बजेट विनियोजन गरेको छु ।
१५. सहकारी सम्बन्धी समस्यालाई मध्यनजर गर्दै सहकारी शिक्षा प्रदान गर्न र सहकारीहरूको सुदृढीकरण तथा क्षमता विकासका लागि बजेट विनियोजन गरेको छु ।
१६. कृषिमा प्रविधि बरेङमा समृद्धिको नारालाई सार्थक तुल्याउन साझेदार निकायसँगको साझेदारीमा सञ्चालित “साना किसानसँग बरेङ” कार्यक्रम निरन्तरताका लागि ८० लाख बजेट विनियोजन गरेको छु ।
१७. ‘घरमै गरौँ च्याउ खेती आत्मनिर्भर बनौँ अबदेखि’ भन्ने नाराका साथ बरेङ गाउँपालिका वडा नं. ५ सुखौरामा च्याउ पकेट कार्यक्रमलाई निरन्तरता दिन रू. ६ लाख बजेट व्यवस्था गरेको छु ।
१८.“आफ्नै बारी, आफ्नै तरकारी, आत्मनिर्भर बरेङ हाम्रो जिम्मेवारी” भन्ने नारासहित बरेङलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि १२ लाख विनियोजन गरेको छु ।
१९. परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यावसायिकतामा रुपान्तरण गर्न नविन कृषि प्रविधि र औजारहरू अनुदान स्वरुप उपलब्ध गराउन आवश्यक बजेट बिनियोजन गरेको छु ।

ख. सामाजिक विकासः
शिक्षा, युवा तथा खेलकुद क्षेत्र
२०. सुख, समृद्धि, गाउँपालिकाको सर्वाङ्गीण विकास, सामाजिक रुपान्तरण र आर्थिक समुन्नतिको आधारशिलाका रूपमा रहेको शिक्षा क्षेत्रको विकास गर्न संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरी शिक्षातर्फ रु. १५ करोड ९६ लाख ९६ हजार ३ सय रुपियाँ (जम्मा बजेटको ४१.२६ प्रतिशत) छुट्याएको छु ।
२१. गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिँदै रु. १० लाख विनियोजन गरेको छु ।
२२. “गुणस्तरीय शिक्षाको हक, आवासीय विद्यालयले बसाल्छ जग” भन्ने नारासहित विपन्न, बेसहारा, अभिभावकबिहिन तथा विद्यालय समायोजन हुँदाका बखत विद्यालयको दुरी टाढा भइ विद्यालय जान कठिन भएका बालबालिकाहरूलाई लक्षित गरी आवासीय विद्यालय सञ्चालन तथा व्यवस्थापन गर्न रू. १० लाख बजेट विनियोजन गरेको छु ।
२३. वर्तमान प्रविधिको युगमा गाउँपालिकाका विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा उत्प्रेरित गर्नका लागि प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमतर्फ रु. २ लाख ५० हजार बजेट व्यवस्था गरेको छु ।
२४. स्थानीय भाषा संस्कृति, परिवेश अनुकूल स्थानीय आवश्यकतालाई समेट्दै गाउँपालिकाको स्थानीय पाठ्यक्रममा आधारित कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
२५. आर्थिक समस्याका कारण विद्यार्थीहरूले शैक्षिकसत्र पूरा नगरी बीचैमा कक्षा छोड्ने समस्या समाधान गर्न गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका दलित, अपाङ्गता भएका, विपन्न तथा जेहन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
२६. उच्च शिक्षामा गाउँपालिकावासीहरूको पहुँच वृद्धि गर्नका लागि गाउँपालिकाभित्रको एक मात्र सामुदायिक क्याम्पसलाई थप व्यवस्थित गर्न रु. ५ लाख विनियोजन गरेको छु ।
२७. गाउँपालिका अध्यक्ष कप प्रतियोगिता सञ्चालन गरी विद्यार्थी र विद्यालयहरूकोबिचमा स्वच्छ प्रतिष्पर्धाको भावना र खेलकुद विकासलाई थप व्यवस्थित र सुदृढ बनाउन रू. ७ लाख विनियोजन गरेको छु ।
२८. गाउँपालिकाभित्र सञ्चालित विद्यालयमा प्रत्येक महिनाको कम्तिमा एक दिन बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरेको छु ।
२९. शिक्षक र प्रधानाध्यापकहरूको क्षमता विकास गरी शिक्षण सिकाइ उपलब्धि वृद्धि गर्न शैक्षिक तालिमको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

स्वास्थ्य, खानेपानी तथा सरसफाइ
३०. निःशुल्क आधारभूत स्वास्थ्य प्राप्त गर्ने नागरिकहरूको मौलिक हकको सुनिश्चितता गर्न स्वास्थ्य पूर्वाधारको विकास र बिस्तारप्रति विशेष ध्यान पुर्याउदै गुणस्तरीय र पर्याप्त आधारभूत स्वास्थ्य सेवा सबै बरेङवासी नागरिकहरूको पहुँचमा पुर्याउन स्वास्थ्य चौकी सञ्चालन, सामुदायिक स्वास्थ्य इकाइ सुदृढीकरण, सञ्चालन तथा व्यवस्थापन, र थप स्वास्थ्य सेवाहरू बिस्तार गर्न स्वास्थ्यतर्फ रु. ५ करोड २३ लाख ४० हजार २२५ रुपियाँ बजेट विनियोजन गरेको छु ।
३१. मातृ शिशु स्वास्थ्य सुरक्षालाई थप व्यवस्थित र सुदृढ बनाई घरमा प्रसुतिशून्य गाउँपालिकाको पहिचान कायम राख्न गाउँपालिका भित्रका सबै बर्थिङ सेन्टर एवम् स्वास्थचौकीको सुदृढीकरण तथा व्यवस्थापनका लागि संघीय सरकारसँगको समन्वयमा रु. १ करोड ३० लाख बजेट व्यवस्था गरेको छु ।
३२. ‘बरेङको ध्यान, स्वस्थ बरेङवासी अभियान’लाई निरन्तरता दिँदै स्वास्थ्य तथा सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि, योग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिलाई प्रवर्धन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
३३. स्वास्थ्य चौकीहरूबाट निःशुल्क प्राप्त हुने बाहेकका अन्य अत्यावश्यक औषधीहरू सहुलियतपूर्ण रूपमा नागरिकहरूलाई उपलब्ध गराउने उद्देश्यले सञ्चालित सामुदायिक औषधी कार्यक्रमलाई निरन्तरता दिँदै थप बजेटको व्यवस्था मिलाएको छु ।
३४. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले गाउँपालिकाको आधारभूत स्वास्थ्य, सरसफाइ तथा पोषण सम्बन्धी क्षेत्रमा गरेको उल्लेखनीय कार्यको उच्च मूल्याङ्कन गर्दै उहाँहरूलाई सेवाप्रति उत्प्रेरित गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिएको छु । साथै क्षमता विकास तालिम र महिला स्वास्थ्य स्वयंसेविका मोबाइल स्वास्थ्य कार्यक्रमको समेत व्यवस्था मिलाएको छु ।
३५. “बरेङको रहर, शून्य मातृ शिशु मृत्युदर” कार्यक्रमलाई निरन्तरता दिनुका साथै स्वास्थ्य ल्याब नभएका वडाहरूका नागरिकहरूलाई लक्षित गर्दै प्रयोगशाला परीक्षण अभियानको लागि बजेट छुट्याएको छु ।
३६. विपन्न दीर्घरोगीहरूको आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा समस्या आउन नदिनका लागि विपन्न दीर्घरोगी निःशुल्क स्वास्थ्य बिमा (५०% छुट) कार्यक्रमको लागि रु. ३ लाख विनियोजन गरेको छु ।
३७. आकस्मिक अवस्थाको व्यवस्थापनको लागि सबै स्वास्थ्य संस्थाहरूमा अक्सिजन सिलिण्डर र तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्थाका लागि बजेटको व्यवस्था गरेको छु ।
३८. “स्वस्थ मन, समुन्नत जीवन” भन्ने नारासहित मानसिक रोगीहरूका लागि औषधी उपचार खर्चको व्यवस्था गरेको छु ।
३९. “समयमै परीक्षण रोगको निदान, स्वस्थ समुदाय बरेङको अभियान” भन्ने नारासहित गाउँपालिकाका ५ वटै वडामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनका लागि बजेट विनियोजन गरेको छु ।

भाषा, संस्कृति, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
४०. गाउँपालिकाभित्र रहेका सिमान्तकृत समुदाय र वर्गको सशक्तीकरण एवम् सकारात्मक विभेदका माध्यमबाट सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्नका लागि महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिसहित सबै लक्षित वर्गहरूका लागि सम्बोधन गर्न महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण शाखातर्फ रु. २४ लाख विनियोजन गरेको छु ।
४१. आर्थिक तथा सामाजिक रूपमा अति विपन्न बरेङवासी नागरिकहरूका लागि आर्थिक सहयोग गर्न र लोककल्याणकारी राज्यका रूपमा हाम्रो सरकारको जनतामाझ बलियो उपस्थिति देखाउन नमुनाका रूपमा लिएको “गाउँपालिका अध्यक्ष सामाजिक संरक्षण, सुरक्षा तथा बचाउ÷एसएसपि” कार्यक्रमलाई निरन्तरता दिई सञ्चालनका लागि रु. ७ लाख विनियोजन गरेको छु ।
४२. ‘लोक परम्परा, नाचगान र जात्रा, सामाजिक÷सांस्कृतिक रुपान्तरणमा बरेङको यात्रा’ अभियानअन्तर्गत गाउँपालिकाभित्रका विभिन्न स्थानीय मौलिक गीत संस्कृति, चाडपर्व, जात्रा, मेला, भेषभूषा लगायत परम्परागत जीवनशैलीलाई जीवन्त राख्न संस्कृति प्रवर्धन कार्यक्रमका लागि बजेट मिलाएको छु ।
४३. बरेङ गाउँपालिका अन्तर्गत रहेका ग र घ वर्गका अपाङ्गता परिचयपत्र प्राप्त गरेका नागरिकहरूका लागि वार्षिक रु. २ हजारका दरले सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिन बजेट बिनियोजन गरेको छु ।
४४. “बालबालिकाको हक सुनिश्चित गरौँ, बालमैत्री शासन स्थापना गरौँ” भन्ने नारासहित बालमैत्री स्थानीय शासन घोषणा तयारीका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४५. आर्थिक अभावका कारण न्यायिक पहुँचबाट कोही पनि बरेङवासी जनता वञ्चित नहोउन् भन्ने उद्देश्यका साथ उपाध्यक्षसँग निःशुल्क कानुनी सहायता कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट विनियोजन गरेको छु ।
४६. समाज विकासको प्रमुख बाधकको रूपमा रहेको सामाजिक विभेद न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

ग. पूर्वाधार विकास
४७. “पर्याप्त पूर्वाधार, सेवा प्रवाहको आधार” भन्ने मान्यतालाई आत्मासात् गर्दै गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र सहज बनाउन गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि रु. २ करोड रकम बिनियोजन गरेको छु । साथै यहि गाउँसभाको कार्यकालभित्रै गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गर्न स्रोतको सुनिश्चित गरिने छ ।
४८. बरेङ गाउँपालिकाको केन्द्रदेखि गुल्मीको चन्द्रकोट गाउँपालिकाको केन्द्रसम्म अर्थात गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्ने रणनैतिक महत्वको हुग्दिशिर नयाँबजार सडक स्तरोन्नति अर्थात कालोपत्रे गर्नका लागि संघीय सरकार र प्रदेश सरकारको साझेदारीमा कार्यान्वयन गर्ने गरी रु. २ करोड ५० लाख बजेट विनियोजन गरेको छु ।
४९. संघीय सशर्त अनुदान अन्तर्गत कार्यान्वयन हुने गरी थपलुङ सल्यान गैरेढुङ्गा भित्रिवन सडक स्तरोन्नतिका लागि रु. २५ लाख बजेट व्यवस्था गरेको छु ।
५०. ‘सधैँ र सबैका लागि सडक’ अभियानलाई निरन्तरता दिँदै वर्षात र बिपद्को समयमा समेत यथाशीघ्र सडक सुचारु गर्न, वर्षभरि नै यातायात सञ्चालन गर्न र पूर्वाधारसँग सम्बन्धित संरचनाहरूको मर्मत सम्भारका लागि मर्मत सम्भारकोषमा रु. १० लाख बजेट थप गर्नुका साथै पुँजीगत भैपरी योजनाका लागि रु. ५ लाख विनियोजन गरेको छु ।
५१. “छिमेकी स्थानीय तहसँग साझेदारीको अभियान”सहित गाउँपालिकासँग सिमाना जोडिएका छिमेकी स्थानीय तहहरूसँग सुसम्बन्ध, समन्वय र सहकार्यमार्फत् सीमाक्षेत्रको विकासमा हातेमालो गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध पूर्वाधारअन्तर्गत रु. ५ लाख विनियोजन गरेको छु ।

घ. वन, वातावरण र बिपद् व्यवस्थापन
५२. चालु आर्थिक वर्षमा देखिएको खडेरी, आगजानी लगायतका महामारीहरूबाट अनुभव लिँदै बिपद्बाट हुनसक्ने जोखिम र क्षति न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी, उद्दार र राहत कार्य गर्न तथा विभिन्न प्रकारका प्राकृतिक तथा मानव सिर्जित बिपद्बाट नागरिकलाई सुरक्षित राख्न बिपद् व्यवस्थापन कोषमा थप ९ लाखको व्यवस्था गरेको छु ।
५३. सामुदायिक वन उपभोक्ता समितिहरूसँग साझेदारी गरी वनजङ्गलको संरक्षणसहित आर्थिक आयआर्जनको स्रोतका रूपमा उपयोग गर्न सामुदायिक वन साझेदारी कार्यक्रमका लागि रु. १ लाख ५० हजार विनियोजन गरेको छु ।

क. सूचना प्रविधि, सुशासन तथा संस्थागत विकास
५४. सूचना प्रविधिको वर्तमान युगमा गाउँपालिकालाई सूचना र प्रविधिमैत्री बनाउन र सेवा प्रवाहमा नवीनता र शीघ्रता ल्याउन डिजिटल प्रोफाइल अध्यावधिक र आवधिक योजनाका लागि रु. १० लाख विनियोजन गरेको छु ।
५५. गाउँपालिका र मातहतका निकायबाट सम्पादित कामहरू, गाउँपालिकाबाट निर्मित कानुन सम्बन्धी जानकारी, जनचेतनामूलक सन्देश र विभिन्न सूचनाहरू प्रवाह गरी बरेङवासी जनताहरूलाई सुसूचित गर्न रेडियो बिहानीसँग सहकार्य गरी कार्यक्रम प्रसारण गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
५६. सेवा प्रदायक कर्मचारी र नीति निर्माता जनप्रतिनिधिहरूलाई आमनागरिकप्रति जवाफदेही बनाउन सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रमका लागि रकम व्यवस्था गरेको छु ।
५७. स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रको क्षमता वृद्धि गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त र नतिजामुखी बनाउने उद्देश्यले कर्मचारी तालिम लगायत क्षमता विकाससँग सम्बन्धित कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छु ।

श्रम र रोजगारी सिर्जना
५८. गाउँपालिकाभित्र सञ्चालन हुने सडक, सिँचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायतका योजना तथा कार्यक्रममा आवश्यक पर्ने निर्माण सामग्री व्यवस्थापन गरी रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई काममा लगाउन राष्ट्रिय रोजगार कार्यक्रमसँग साझेदारी गर्न वडागत रूपमा बजेट व्यवस्था गरेको छु ।
५९. आन्तरिक रोजगारी प्रवर्धनको लागि वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाएको छु ।
६०. संघीय सरकारबाट प्राप्त भइरहने प्राविधिक सहायक र रोजगार सहायकको तलब आगामी आ.व का लागि प्राप्त नहुने हुँदा राष्ट्रीय रोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक पर्ने हुनाले तथा रोजगार सेवा केन्द्रको सेवालाई निरन्तर रूपमा प्रवाह गर्न गाउँपालिकाबाट आवश्यक बजेट व्यवस्था गरेको छु ।
६१. गाउँपालिकाभित्र उपभोक्ता समितिहरूबाट सञ्चालित योजनाहरू कार्यान्वयन गर्दा अनिवार्य रूपमा निश्चित प्रतिशत कार्य स्थानीय बासिन्दाहरूको सहभागितामा नै गर्नुपर्ने प्रावधान राखी रोजगारीको अवसर सिर्जना हुने व्यवस्था मिलाएको छु ।
६२. आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकास्तरीय, वडागत, विषयगत शाखा, आर्थिक, सामाजिक, पूर्वाधार, वन, वातावरण तथा बिपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासमा विनियोजन भएको बजेट अनुसूचीमा समावेश गरेको छु ।

सभाका अध्यक्ष महोदय,
गाउँसभाका सदस्यज्यूहरू,
अब म बजेटमा उल्लिखित क्षेत्रगत नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।
६३. आर्थिक वर्ष २०८२।०८३ को प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु. ३८ करोड ९० लाख ४० हजार ८ सय २८ खर्च हुने अनुमान गरेको छु ।
६४. आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ७ करोड ४१ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँट (वन रोयल्टी र विद्युत समेत) रु. ६ करोड ५३ लाख ९२ हजार ६ सय २०, सशर्त अनुदान चालु रु. १८ करोड ७६ लाख, सशर्त अनुदान पुँजीगत २५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ८८ लाख ८५ हजार, प्रदेश राजश्व बाँडफाँट रु. ६९ लाख ७४ हजार, नेपाल सरकारबाट प्राप्त समपूरक अनुदान रु. ९१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान रु. ४० लाख र समपूरक अनुदान रु. ६० लाख, गत आ.व को अल्या रु. ७७ लाख ८९ हजार २ सय ८, गाउँपालिकाको आन्तरिक आय रु. ३५ लाख प्राप्त हुने अनुमान गरेको छु ।

अब म आ.व २०८२।०८३ को लागि व्यय अनुमानको विवरण प्रस्तुत गर्न चाहन्छु ।
६५. आ.व २०८२/०८३ मा प्राप्त हुने अनुमानित कुल रु. ३८ करोड ९० लाख ४० हजार ८ सय २८ रुपैयाँ बजेटमध्ये कुल विनियोजनयोग्य बजेट रु. १६ करोड ८ लाख ५१ हजार ६ सय २० मात्र रहेको र सो मध्ये प्रशासनिक खर्चतर्फ रु. ४ करोड ९८ लाख ४९ हजार ३ सय ३ र पुँजीगततर्फ रु. ७ करोड ४ लाख ८० हजार मात्र रहेको छ । कुल बजेटमध्ये वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३ करोड र विषयगत शाखाहरूका लागि रु. ३ करोड ५६ लाख १६ हजार ५ सय २५ रुपियाँ र समपूरक कोषतर्फ रु. १ करोड ७९ लाख,
गाउँपालिका स्तरीय योजना तथा कार्यक्रमहरूका लागि २ करोड ९५ लाख ५० हजार रुपियाँ मात्र विनियोजन गरेको छु । संघ र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष र समपूरक अनुदान तर्फका योजना तथा कार्यक्रमहरू अनुसूचीमा संलग्न गरेको छु ।
६६. प्राप्त बजेट तथा स्रोत साधनको अधिकतम प्राथमिकीकरण गरी विनियोजन गरिएको यस वार्षिक बजेटको कार्यान्वयनमा सोही बमोजिम बरेङबासी नागरिकहरूको रचनात्मक र अर्थपूर्ण सहभागितालाई सुनिश्चितता गर्दै जनताद्वारा, जनताका लागि, जनताका माध्यमबाट नै गरिने शासन पद्धतिको वास्तविक अनुभूति दिलाउन हाम्रो सरकार पूर्ण रूपमा इमान्दार प्रयासरत र प्रतिबद्ध छ ।
६७. यो बजेट तर्जुमाका लागि मार्गदर्शन गर्नुहुने संघ तथा प्रदेश सरकार, गाउँपालिका अध्यक्ष, गाउँसभाका सदस्यहरू, गाउँपालिकाका पूर्व जनप्रतिनिधिहरू, शिक्षकहरू, विभिन्न राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, सहकारी क्षेत्र, सुरक्षाकर्मी, नागरिक समाजका व्यक्तित्वहरू, समाजसेवी, बुद्धिजीवि, पत्रकार तथा विद्यार्थीहरूबाट प्राप्त सुझाव, सहयोग र सल्लाहप्रति हार्दिक आभार प्रकट गर्दछु ।
६८. आर्थिक वर्ष २०८२/०८३ को एकीकृत बजेट तथा कार्यक्रमहरू अनुसूचीमा उल्लेख गरेको छु र यथाशीघ्र वार्षिक बजेट पुस्तिका प्रकाशन गरी सबै बरेङवासी नागरिकहरू र सरोकारवालाहरू समक्ष उपलब्ध गराउनुका साथै गाउँपालिकाको वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था समेत मिलाएको छु ।

अन्त्यमा, गाउँपालिकाको सर्वाङ्गीण विकास, सामाजिक न्याय, समता, नागरिकको खुसी र समृद्धिको दीर्घकालीन गन्तव्य हासिल गर्ने एक माध्यमका रूपमा हाम्रो सरकारले लिएको प्रस्तुत बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि विगतमा जस्तै राष्ट्र सेवक कर्मचारी, देशभित्र र बाहिर रहनुभएका विकासप्रेमी बरेङवासी नागरिक, राजनैतिक दलहरू लगायत सबै पक्षको अपनत्व र पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।
धन्यवाद ।

दिलिप कुमार पुन
उपाध्यक्ष

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->