पोखरा/ गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश सभा बैठकका क्रममा रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । सोमबार भएको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उनले मन्त्रालयबाट विनियोजन बजेट समन्यायिक नभएको भन्दै पुस्तिका च्यातेका हुन् । उनले दुई/दुई वर्ष म्याग्दीका लागि भौतिक पूर्वाधारबाट अन्याय भएको भन्दै बजेट पुस्तिका च्याते ।
जुग्जालीले भौतिक पूर्वाधार मन्त्री प्रकाश केसीले म्याग्दी जिल्लाको भूगोल नबुझेको पनि बताए । ‘मुख्यमन्त्री ज्यू त यसअघि म्याग्दी जिल्ला पुग्नुभएको छ । भौतिक पूर्वाधार मन्त्री घुम्नुभएको छैन, तपाईलाई थाहा पनि छैन, होला,’ उनले भने, ‘म तपाईंलाई भन्न चाहन्छु, म तपाईंलाई मेरो व्यक्तिगत पैसाबाट म्याग्दी जिल्लाको घुमाउन चाहन्छु ।’ उनले भौतिक पूर्वाधार मन्त्रीलाई अबजेट नपुगेको भए आफ्नो र म्याग्दीकै अर्का सांसद हरि भण्डारीको भागमा परेको बजेट पनि काटेर लैजान भने ।
जुग्जालीले बजेटमा सत्ताको समेत उकुसमुकुस रहेको भन्दै सबैको प्रतिनिधित्व गरेर पुस्तक च्यातेको बताए । ‘यो बजेटमा सत्ताको पनि उकुसमुकुस छ । सबैको प्रतिनिधित्व गरेर अर्थ मन्त्रालयको बजेट मैले बहिष्कार गर्न चाहन्छु । पुस्तक च्यात्न चाहन्छु,’ उनले भने । गण्डकी प्रदेशले ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरू पनि रुष्ट छन् । जुग्जाली यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री थिए ।





