बागलुङ/मातृभुमि बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो १८ औं स्थापना दिवशमा रैथाने गाई संरक्षणका लागि दाना सहयोग तथा संस्थागत सदस्यता लिएको छ ।
सहकारीले बागलुङ नगरपालिका वडा नं. ३ काँठेखोलास्थित पावरहाउस क्षेत्रमा गोविन्द प्रसाद शर्मा र नारायण प्रसाद शर्माले पालन गरेका स्थानीय जातका गाई संरक्षणका लागि संस्थागत सदस्यता लिनुका साथै गाईका लागि दाना सहयोग गरेको हो ।
स्थानीय जातका गाई संरक्षणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले ५ हजार १ सय रुपैयाँको संस्थापक सदस्यता लिएको र ५ हजार रुपैयाँ बराबरको दाना प्रदान गरिएको सहकारीका सचिव राम प्रसाद शर्माले जानकारी दिए ।
बागलुङ नगरपालिका ३ गहते निवासी दुई दाजुभाई गोविन्द र नारायण प्रसाद शर्माले रैथाने जातका १५ गाईपालन गरेका छन् । रैथाने गाई लोप हुँदै गएको अवस्थामा हिन्दु परम्परा अनुसारको संस्कार संस्कृति बचाउन तथा गाईको संरक्षण गर्ने उदेश्यले गाईपालन गरिएको गोविन्द प्रसाद शर्माले बताए । दाजुभाई मिलेर गाईपालनका साथै फलफुल तथा तरकारी खेती, माछापालन लगायत कृषिजन्य कार्य गर्दै आएको शर्माले बताए ।
संस्थाले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा विभिन्न राहत तथा सहयोगका कार्य गर्दै आईरहेको छ । कार्यक्रम मातृभुमि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष गुणराज शर्माको अध्यक्षता र सचिव राम प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।





