बागलुङ/आर्थिक वर्ष २०८२/०८३ को लागि जैमिनी नगरपालिकाको ७५ करोड ४ लाखको बजेट सार्वजनिक भएको छ । चालुतर्फ ११ करोड ९५ लाख, आर्थिक विकासतर्फ १ करोड ४५ लाख, सामाजिक विकासतर्फ ५ करोड ४२ लाख, पूर्वाधार विकासतर्फ ८ करोड ८२ लाख, वन तथा वातावरणमा ६२ लाख, सुशासनतर्फ ३९ लाख, न्यायिक समितिका लागि १२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
जैमिनीले आगामी चैत मसान्तभित्र बालमैत्री शासन युक्त नगर घोषणा गर्ने भएकाले त्यसका लागि पर्याप्त बजेट समेत विनियोजन गरेको छ । सोमबार उपप्रमुख हरिहर शर्माले ल्याएको बजेट बक्तव्यमा बालमैत्री नगरका लागि झण्डै २ करोड बजेट विनियोजन गरिएको हो । बालमैत्री नगर अभियानका लागि नगर स्तरीय कार्यक्रममा १ करोड ३० लाख र हरेक वडामा ५ लाख रुपैयाँँको बजेट विनियोजन गरिएको छ ।
बालमैत्री नगर अभियानका लागि चाहिने ५२ वटा सूचक पुरा गर्न भौतिक पुर्वाधार, नीति निर्माण र कार्यक्रम संचालनका लागि उक्त बजेट खर्च हुने छ । उपप्रमुख हरिहर शर्माले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/०८३ को बजेट र कार्यक्रममा अभिभावक र शिक्षकको क्षमता विकास गरेर बालमैत्रीबारे अभ्यस्त बनाउन पनि छुट्टै बजेटको व्यवस्थापन गरेको जानकारी दिए ।
उपप्रमुख शर्माले नगरकी छोरी अभियानमा पनि बजेट व्यवस्था गरेको बताए । नगरभित्र छोरी जन्मेको खण्डमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले २ हजार ५ सय रुपैयाँको बचत खाता खोलिदिने नीति लिएको छ । उक्त नीति अनुसार हरेक बालिकाको खाता संचालनका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको हो । सबै पुर्वाधार निर्माणमा बालमैत्री संरचना बनाउने गरी बजेट व्यवस्थापन भएको हो ।
कृषि क्षेत्रको विकासमा नीतिले प्राथमिकता दिएकोले किसान परिचयपत्र वितरण, दूध र अण्डा आयात प्रतिस्थापन गर्न स्थानीय उत्पादनको लागि बजेट विनियोजन गरिएको छ । बाँदर प्रभावित क्षेत्रमा कृषिबाली प्रवद्र्धन गर्ने, कृषि एम्बुलेन्स खरिदका लागि संघिय सरकारको बजेट आउने भएपछि नगरपालिको संचालन खर्चका लागि बजेट विनियोजन गरेको छ । वडा नंं. ८ को पुरानो गाउँमा बाँदर बगैचा निर्माणको लागि काम थाल्ने नीतिमा उल्लेख गरिएको थियो ।
जैमिनीभित्र उत्पादन हुने रैथाने बाली संरक्षण गर्न किसानलाई प्रोत्साहनका कार्यक्रम संचालन गरिने छ । ती उत्पादनको बजारीकरणमा नगरपालिकाले साथ दिने बजेटमा उल्लेख छ । त्यस बाहेक टिमुर, आलु, बाँकोको गुन्द्रुक लगायतको सामानको प्याकेजिङ गर्न पनि पालिकाले लगानी गर्ने भएको हो ।
त्यस बाहेक खसीबोका र राँगो उत्पादन बढाएर चीनमा निर्यात गर्ने सरकारी लक्ष्यमा साथ दिन पाडापाडी र बाख्रा वितरणमा अनुदान दिने, तालिम तथा खोप र अन्य प्रोत्साहनका कार्यक्रममा बजेट विनियोजन गरिएको शर्माले जानकारी दिए । ‘निशुल्क नश्ल सुधार, दुध उत्पादनको आधार’ भन्ने नारा तय गरेर किसानलाई निशुल्क सेवा दिने, दूध बिक्री गर्दा प्रतिलिटर २ रुपैयाँ अनुदान दिने व्यवस्था छ ।





