बागलुङ/बागलुङ नगरपालिकाले बाँझो जमिन सदुपयोग गर्न ‘करार खेती प्रवर्द्धन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार १७ औं अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न करार खेती प्रवर्द्धन कार्यक्रम संचालन गरिने उल्लेख गरे ।
युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा विदेशिने र सहर पस्दा अहिले गाउँका उर्वरभुमि बाँझिने क्रम बढ्दो छ । खेतीयोग्य जमिन बाँझिदै जाने क्रम बढेपछि उत्पादन पनि घट्दै गएको छ । ‘करार खेती प्रवर्द्धन कार्यक्रम’ले बाँझो जमिन उपयोगमा आउनुका साथै कृषिमा व्यवसायिकरण हुने श्रेष्ठले दाबी गरे । बाँदर प्रभावित क्षेत्रमा टिमुर, ओखर, कागती, अदुवा, बेसार, मौरी र पशुपालनलाई प्रवर्द्धन गर्दै बाँदर नियन्त्रण गर्न प्रविधिको प्रयोगलाई नगरले जोड दिएको छ ।
समुदायलाई कृषिमा आर्कषित गर्न सुन्तला, ओखर, च्याउ र तरकारी पकेट क्षेत्रका कार्यक्रम विस्तार गर्ने, कृषि बजारको स्थापना गर्ने, कृषक, कृषि व्यवसायी र प्रदेश सरकारको साझेदारीमा ‘गरौं उत्पादनमा हातमा, प्रकोप परे बिमा छ साथमा’ कार्यक्रम संचालन गर्ने बागलुङ नगरपालिकाले नीति लिएको छ । जैविक खेती र उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको नगरपालिकाले नगरक्षेत्रमा कृषि कलेज स्थापनाको लागि पहल गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।
औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थको रुपमा उत्पादन गर्ने प्रयोजनार्थ गाँजा र भाँगो खेतीका लागि संघ तथा प्रदेश सरकार संगको समन्वयमा आवश्यक कानुनी व्यवस्था गर्ने नीति लिएको नगरपालिकाले सुन्तलाको ब्राण्डिङसहित बजारीकरण गर्नुका साथै प्रचार प्रसारका लागि सुन्तला महोत्सव गर्ने भएको छ । ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमलाई आगामी वर्षपनि निरन्तरता दिएको नगरपालिकाले प्रत्येक घरका कम्तिमा एक जनालाई स्वरोजगार गराउने उदेश्यले ‘एक घर एक सिप’ अभियान संचालन गर्ने भएको छ ।
नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई कृषि तथा पशुपालनमा योगदान गर्नका लागि बिनाधितो सहुलियत कर्जा उपलब्ध गराउने, श्रमिकको सिप, अनुभव र व्यक्तिगत विवरणको अभिलेख राख्न ‘श्रम बैंक’ स्थापना गर्ने, नगरको समृद्वि र विकासमा लगानी जुटाउन विज्ञहरुको ‘बागलुङ लगानी सम्मेलन’ आयोजना गर्ने, नगर उपप्रमुख घरबास कार्यक्रममार्फत होमस्टेको संभाव्यता अध्ययन गर्ने, चैदेदशै मेलाको प्रचार गर्न ‘घुम्न जाउँ बागलुङ’ कार्यक्रम संचालन गर्ने, प्रदेश सरकारको स्वीकृत नीति बमोजिम स्थानीय मदिरालाई आवश्यक मापदण्ड पुरा गरी गुणस्तरीय उत्पादन, ब्राण्डिङ र बजारीकरण गर्ने नीति लिएको छ ।
शिक्षक विद्यार्थी अनुपातलाई व्यवस्थित गर्न ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ अभियान प्रभावकारी बनाउने, अनाथ तथा विपन्न बालबालिकाको पठनपाठनको लागि ‘नगरप्रमुख छात्रवृत्ति कोष’ स्थापना गर्ने, यसै वर्षदेखि कृषितर्फ जेटिए अध्ययन गर्न चाहने बागलुङ नगरका प्रत्येक वडाबाट एक÷एक जना गरी १४ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने नगरप्रमुख श्रेष्ठले बताए ।
भगत सर्वजित विश्वकर्मा सीप विकास कार्यक्रममार्फत दलित वर्ग उत्पादन समिति गठन गरी दलितहरुको हकहितको लागि आय, रोजगार र सिपमुलक कार्यक्रम सञ्चालन गर्ने, वडाहरुको सन्तुलित विकासका लागि ‘एक वडा एक नमुना पूर्वाधार’ विकास कार्यक्रमलाई निरन्तरता दिने, सडकहरुको दीर्घकालिन रुपमा समस्या समाधान गर्न ‘पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको छ ।





