बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रुपाको बजेट साढे ४८ करोड, लसुन, प्याँज, हलेदो र टिमुर उत्पादनमा जोड

रुपाको बजेट साढे ४८ करोड, लसुन, प्याँज, हलेदो र टिमुर उत्पादनमा जोड


  • ढोरपाटन संवाददाता
  • असार १० २०८२, मंगलबार

पोखरा / रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको आय–व्यय विवरण (बजेट) ल्याएको छ । गाउँपालिका उपाध्यक्ष लालसुवा गुरुङबाट प्रस्तुत बजेटमा चालुतर्फ ३३ करोड ३४ लाख ४८ हजार तथा पूँजीगततर्फ १५ करोड २० लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानको ७ करोड ६५ लाख,राजश्व बाँडफाँडको ७ करोड ३२ लाख,ससर्त अनुदानबाट प्राप्त हुने १८ करोड ७२ लाख, समपूरक अनुदानको ५ करोड ७७ लाख,विशेष अनुदानको १ करोड ६५ लाख,गण्डकी प्रदेशसँगको राजश्व बाँडफाँडको ७८ लाख ३७ हजार,गण्डकीको समपुरक अनुदान ६० लाख,गण्डकी प्रदेशबाट प्राप्त हुने समानीकरण अनुदानको ९३ लाख ४१ हजार र प्रदेश सरकारको विशेष अनुदान ४० लाख रुपैयाँ रहेको छ । बजेटमा ५ करोड ५३ लाख १४ हजारको स्रोत नभएको तर चालु आर्थिक वर्षमा खर्च नभएको ३ करोड ८९ लाख १४ हजार र यही वर्ष आम्दानी हुने १ करोड ६४ लाख जोडिने पनि उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।

रुपाले चालु आर्थिक वर्षको लागि ५० करोड ४६ लाख ९३ हजारको संशोधित बजेट कार्यान्वयनमा ल्याएको थियो । चालुतर्फ ३३ करोड ३९ लाख ८३ हजार रुपैयाँ विनियोजन भएकोमा हालसम्म २३ करोड ४ लाख ५० हजार र पूँजीगततर्फ १७ करोड १४ लाख ३० लाखमध्ये ५ करोड ७० लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।  ‘रुपाको पहिचानः सवै क्षेत्रमा समृद्धिको अभियान’ भन्ने नारासहित ल्याइएको नीति तथा कार्यक्रममा स्थानीय उत्पादन र उत्पादकत्वमा जोड दिँदै उत्पादित बस्तुको विविधिकरण,बजारीकरण र औद्योगिकीकरण गर्ने घोषणा गरिएको छ ।

नीति तथा कार्यक्रममा कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास,लगानी प्रवद्र्धन तथा औद्योगिक विकास,सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण,स्वास्थ्य क्षेत्रको विकास तथा सुदृढीकरण,भौतिक पूर्वाधार विकासमा जोड,डिजिटल तथा नवपर्वतनशिल स्थानीय विकास,वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन, मानव संसाधन विकास र रोजगारी सिर्जना र सार्वजनिक सेवा प्रवाहलाइ गुणस्तरीय, पारदर्शी, सर्वसुलभ, समावेशी र प्रविधिमैत्री बनाई नागरिकको पहुँच अभिवृद्धि गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

मिहिनेती कृषकको हातः गाउँपालिकाको साथ
पालिकाले ल्याएको यो नाराअनुरुप निर्वाहमुखी कृषिलाई व्यावसायिकीकरण गर्ने घोषणा गरिएको छ । कृुषि क्षेत्रलाई कुल २ करोड ९७ लाख रुपैयाँ छुट्टयाइएकोमा कृषकलाई प्रविधि र बजारसँग जोडिने उल्लेख छ । पालिकाले लसुन, प्याँज, हलेदो,टिमुरलगायतका मसलाबाली लगाउन किसानलाई प्रोत्साहित गरिने र उत्पादनमा आधारित न्यूनतम अनुदान दिइने पालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । सो कार्यको लागि ८५ लाख विनियोजन गरिएको पनि उनले बताए ।

पशुपालनको लागि बजेटमा १ करोड ९८ लाख विनियोजन गरिएको छ भने दूध, माछा,मासु र अण्डा उत्पादन बृद्धि गर्नको लागि विभिन्न परियोजनाहरु समेटिएको छ । बजेटमा सामाजिक विकासतर्फ २१ करोड २३ लाख १० हजार विनियोजन गरिएको छ ।

शिक्षाको लागि १६ करोड ७२ लाख ५० हजार छुट्टयाएकोमा अंग्रेजी माध्यमका पाठ्यक्रम उपलब्ध गराउनेदेखि प्राविधि शिक्षा प्रवद्र्धनसम्मका कार्यक्रम समेटिएका छन् । यसअघि नै कार्यान्वयनमा आएको छोरी काखमा ः बचत खातामा भन्ने कार्यक्रमको लागि ५ लाख विनियोजन गरिएको छ । यस्तै बाँदर नियन्त्रणको लागि पनि बजेट छुट्याइएको छ । पूर्वाधार निर्माणमा रुपाले आउँदो आर्थिक वर्षमा १० करोड ८९ लाख रुपैयाँ खर्चने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->