शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नागरिक जोगाउन ‘जहाँ विपद, त्यहाँ काठेखोला’

नागरिक जोगाउन ‘जहाँ विपद, त्यहाँ काठेखोला’

विपद्सँग जुध्न गाउँपालिकाले विपद व्यवस्थापनका लागि खोज उद्धार टोली, दु्रत प्रतिकार्य टोली, दु्रत लेखाजोखा टोली गठन गरी तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाएको छ ।


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८२, बुधबार

बागलुङ / वर्षा याममा मनसुनजन्य विपत् र हिउँदभरि आगलागीका कारण यहाँका सर्वसाधारणले हरेक वर्ष जोखिममा जीवन गुजारीरहेका छन् । भिरालो जमिनमा पहिरोको जोखिम छ भने खहरे खोलाहरुको छेउछाउमा पर्ने बस्ती बाढीको जोखिममा उसै पर्ने गर्छन । बढ्दो बसाइसराइका कारण बाँझिएका जग्गामा मौलाईरहेको झारजंगलले हिउँदको समयमा घरघरमै आगलागीको जोखिम पुर्याएको छ । काठेखोला गाउँपालिकाले विपत्का कारण हरेक वर्ष हुने धनजनको क्षतिलाई राम्रोसँग नियालीरहेको छ ।

‘विपत्को नियतीलाई शुन्य त गर्न सकिँदैन तर न्युनीकरणका लागि हामीले भरपुर प्रयासहरु गरेका छौं’ काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ भन्छन्, ‘अहिले हामी विपत्को प्रतिकार्यका सबै संयन्त्र तयारी अवस्थामा राखेका छौं ।’ गाउँपालिकामा जनप्रतिनिधि आएको पहिलो वर्षनै गाउँपालिकाको वडा नं. ४ तंग्रामको फापरखेतमा बर्खायाममा चट्याङले लागेर एक जनाको मृत्यु भयो । परिवार र वरपरका केही व्यक्ति घाईते भए । गोठमा बाँधेका गाईबस्तु समेत मरे । गाउँपालिकाले तत्कालै चट्याङ प्रतिरोधी योजना बनायो । गण्डकी प्रदेश सरकारले साथ दिएपछि योजना सफल भयो । २ करोड १५ लाख खर्च गरेपछि गाउँपालिकाका सबै सामुदायीक विद्यालय र सरकारी कार्यालयमा चट्याङ प्रतिरोधी संरचना तयार भएका छन् ।

‘यो पाईलट प्रोजेक्ट थियो, विपत्का बेला ओत लाग्न सकिने सरकारी संरचना सुरक्षित बनाउन पहिलो काम हामीले गरेका छौं” उपाध्यक्ष थापा भन्छन्, ‘केही त बनिसकेको चट्याङ प्रतिरोधी संरचनाले काम गर्छ भने व्यक्तिका घरहरु पनि आँफैले सुरक्षित गर्न सकिन्छ भन्ने सन्देश घरघरमा पुर्याएका छौं ।’

पछिल्लो दुई वर्ष गाउँपालिकामा विपत्का कारण कसैको ज्यान गएको छैन । तर बाढी, पहिरो र आगलागी जस्ता विपत्का घटनाका कारण घरगोठ, खेत र सडक संरचनामा भने हरेक वर्ष क्षति हुने गरेको छ । गाउँपालिकाका अनुसार काठेखोला गाउँपालिकामा चार सय बढी घर बाढिपहिरोको जोखिममा छन् ।

काठेखोला गाउँपालिका विपद् व्यवस्थापन समितिका अनुसार गाउँपालिकाका आठ वटा वडाका चार सय ७९ वटा घर बाढिपहिरोको जोखिममा रहेका छन् । विपद् व्यवस्थापन समिति काठेखोलाका सदस्य सचिव मिन बहादुर थापाले खोला किनारमा रहेका ३० वटा घर बाढीको जोखिममा रहेको बताए । उनले कमजोर भिरालो जमिनमा रहेका २ सय ७७ घर र मोटरबाटोको छेउमा रहेका १ सय ७२ वटा घर पहिरोको उच्च जोखिममा रहेको बताए । हरेक वर्ष विपत्ले जनधनको क्षति गर्न थालेपछि गाउँपालिकाले थालेको जोखिमयुक्त क्षेत्र पहिचान र पूर्वतयारीका कारण यो सबै पहिचान गर्न सहज भएको हो ।

थापाले सबैभन्दा बढी वडा नं.ं ७ रेशका एक सय २६ घर र सबैभन्दा कम वडा नं. ६ तल्लो बिहुँकाा ९ घर बाढी पहिरोको जोखिममा रहेको बताए । रेशका ६० घर पहिरो जाने भिरालो जमिनमा रहेको र ६६ घर बस्तीको छेउछाउ मोटरबाटो निर्माणको कारण पहिरो जानसक्ने जोखिममा छन् । बिहुँका ९ घर पहिरो जाने भिरालो जमिनमा छन् ।

विपद् व्यवस्थापन समितिका अनुसार, वडा नं. २ भीमापोखरामा ५२ घर पहिरो जाने भिरालो जमिनमा रहेको र पाँच घर मोटरबाटो निर्माणपछि जोखिममा रहेको, वडा नं. ३ धम्जाका एक घर खोलाको जोखिममा, ४६ घर पहिरो जानसक्ने भिरालो जमिनमा र २१ घर सडक निर्माणपछि जोखिममा रहेको, वडा नं. ४ तंग्रामका १३ घर पहिरो जानसक्ने भिरालो जमिनमा रहेको र २२ घर सडक निर्माणपछि पहिरोको जोखिममा रहेका छन् । यस्तै वडा नं. ५ बिहुँका १४ घर पहिरो जानसक्ने भिरालो जमिनमा रहेको, ५८ घर सडक निर्माणपछि पहिरोको जोखिममा रहेको र वडा नं. ८ लेखानीका ५८ घर पहिरो जानसक्ने भिरालो जमिनमा रहेको सदस्य सचिव थापाले बताए ।

विपद् व्यवस्थापन समितिले जोखिममा रहेका घरहरुको तथ्यांक संकलन गरेर पूर्वसचेतना अपनाइसकेको छ । थापाले दुर्घटना हुन नदिन पूर्वतयारी गरी सजगता अपनाइएको बताए । ‘ठूलो विपद् हुन नदिन जोखिममा रहेका घरहरुको सर्वेक्षण गरिएको छ,’ उनले भने, ‘विपद् व्यवस्थापन समितिको बैठक बसेर क्षति हुन नदिन पूर्वतयारी गरिएको छ । आमनागरिकलाई सचेत गराउँदै बस्तीलाई जोखिम हुन नदिन सरोकारवालाहरुलाई सचेत गराएको छ । बाढी पहिरो गएमा तत्काल उद्धारको लागि सरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ ।’

कतिपय विपद्का घटना मानवीय क्रियाकलापकै कारण निम्तिने गरेको गाउँपालिकाको निकर्ष छ । त्यस्ता घटना हुन नदिन सचेतना मुलक कार्यक्रमहरुमा पालिकाले जोड दिएको छ । ‘विद्यालयमा शिक्षक विद्यार्थीदेखि समुदायमा आमासमुहसम्म विपद् सम्बन्धि सचेतना बोकेर हामी पुगेका छौं’ थापा भन्छन् ‘धेरैले भोगेको, देखेको विषय भएकाले बुझाउन सहज छ ।’ पालिकाले विपद् र विपद् पछिको उद्धारमा पनि नमुना अभ्यासहरु गर्दै आएको छ ।

‘जहाँ विपद त्यहाँ काठेखोला’ को अवधारणाका साथ स्थापना भएको गाउँपालिका स्तरीय विपद कोष सञ्चालन गरेर गाउँपालिकाले विपद्सँग लड्ने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष राजु थापाले बताए । यो कोषलाई आगामी जर्ष थप व्यवस्थित गरि प्रभावकारी ढंगले सञ्चालन गरिने उनको भनाई छ । भुकम्प, पहिरो, चत्याङ, आगालागी जस्ता विषयहरुमा नागरिकहरुमा सचेतना ल्याउन विपद सचेतनामुलक प्रशिक्षण तथा तालिम गाउँपालिकाले सञ्चालन गर्ने उनले बताए । विपद्सँग जुध्नकै लागि गाउँपालिकाले विपद व्यवस्थापनका लागि खोज उद्धार टोली, दु्रत प्रतिकार्य टोली, दु्रत लेखाजोखा टोली गठन गरी तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाएको छ । खोज उद्धार सामाग्रीहरु व्यवस्थापन गरिएको, पालिका स्तरीय आपतकालिन कार्यसञ्चालन केन्द्रमार्फत र वडास्तरमा रहेका विपद व्यवस्थापन समितिलाई परिचालन गरि विपद व्यवस्थापन कार्य व्यवस्थित बनाईने उनले बताए ।

बाढी पहिरोका कारण वर्षायाममा सडकनै अवरुद्ध हुने अवस्थाको अन्त्य गर्न गाउँपालिकामा रहेको जेसिवीलाई तयारी अवस्थामा राख्ने र त्यसको परिचालन गर्ने गरिएको गाउँपालिकाले जनाएको छ । विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि छिटोछरिटो र सहज बनाउन आवस्यक सामाग्री खरिद गरि व्यवस्थापन गरिने थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->