पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो चुनावी क्षेत्रमा आवश्यकताका कारण बढी रकम विनियोजित भएको बताएका छन् । गोर्खाको एउटै सडकमा सिंगो मुस्ताङ जिल्लाको भन्दा बढी बजेट विनियोजन हुँदा आलोचित भएका उनले अर्को वर्ष पनि सो परियोजनाको निम्ति १९ करोड छुट्टिने घोषणा गरे । पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन हुने गरी गोर्खा १ को ‘ख’चनौटे–ढिस्का हुँदै भच्चेक सडकका लागि १९ करोड ८२ लाख रुपैयाँ विनियोजन भएको छ । यो रकम सिंगो मुस्ताङलाई विनियोजित १९ करोड ४१ लाख रुपैयाँभन्दा बढी हो । सार्वजजिक रुपले आलोचित मुख्यमन्त्रीले संचारमाध्यमले कुरै नुबुझी समाचार लेखेको आरोप पनि लगाए ।
‘हिजो मैले एउटा मिडियामा पढेँ । मुस्ताङ बराबरको बजेट एउटै कार्यक्रममा मुख्यमन्त्रीको निर्वाचन क्षेत्र गोर्खामा गयो भन्ने कुरा पढे । म आजै तपाईंहरुलाई भनिदिन्छु । अर्को वर्ष पनि त्यसरी नै जान्छ । त्यो रकम के हो बुझ्न प¥यो नि पहिला । संघ सरकार र प्रदेश सरकारको बीचमा समपूरक आयोजनाहरु हुन्छन्, ‘मंगलबार पोखरामा आयोजित सूचनाको हकसम्बन्धी एक कार्यक्रममा उनले भने, ‘पहिला त एक अर्बसम्मको आयोजना हामीले ५० करोडसम्म राख्ने, संघ सरकारले ५० करोड दिएर आयोजनाहरु बन्थे । अहिले राष्ट्रिय योजना आयोगले घटाएर त्यसलाई घटाएर ३० करोडमा गएको छ । त्यो दुई वर्ष पहिला निर्णय भएको आयोजना हो । त्यो आयोजनाको निरन्तरमा गएको १९ करोड छ । कसैले खोज्यो ? कसैले बुझ्यो ? किन गएछ त एउटै योजनामा त्यतातर्फ त कोही गएन । अर्को वर्ष पनि १९ करोड जान्छ । तीन वर्षको हो । मैले के भन्न खोजेको भने यति तथ्य त बुझ्नप¥यो, समाचार बनाउनुभन्दा पहिला । १३ गते मिडियामा उठेका र सदनमा उठेका कुराको जवाफ दिँदैछु ।’
सोही क्रममा पत्रकारले बाटोको योजना माग्दा नपाएको कारण बजेट नै खत्तम भयो । मुख्यमन्त्रीले खायो भनिएको र आफूले घरमा लगेर खाएजस्तो गरेर समाचार आएको उनको जिकिर थियो । उनले संचारमाध्यममा तथ्यहीन समाचारहरु आउन थालेको जिकिर पनि गरे । सामाजिक सञ्जालमा आउने र मुख्य मिडियामा आउने सूचनामा फरक हुनुपर्नेमा उनको जोड थियो । यस्तै अहिलेको पत्रकारिताका लागि नियमन अत्यावश्यक रहेको तर्क गरे । मिडिया छाडा हुन थालेपछि त्यसको नियमन आवश्यक रहेको बताए ।
‘अहिलेको पत्रकारिता जगतमा अत्यन्त आवश्यकता भनेको नियमन हो । मेरो स्वतन्त्रता मैले पनि प्रयोग गर्न पाउँछु । मेरो सुचनाको हक मसँग पनि सुरक्षित रहनुपर्छ । पत्रकारले जे लेख्न पनि पाउने जे सम्प्रेषण पनि गर्न पाइने तर त्यसको बारेमा टिकाटिप्पणी कसैले गर्न पाइँदैन । मैले आज अलिकति आलोचना र टिकाटिप्पणी गर्छु मलाई थाहा छ । भोलि के आउँछ समाचार भनेर तर कसैले त भनिदिन प¥यो नि स्वतन्त्र भनेको छाडातन्त्र होइन,’ उनले भने ।





