पोखरा/होटल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीकालागि मंगलबार एक दिने अभिमुखीकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो ।
कृत्रिम बुद्धिमता पनि भनिने एआई र अनलाइन ट्राभल एजेन्सीको प्रायोगबाट २०२५ मा होटलहरुले कसरी बढीभन्दा बढी आम्दानी बढाउन सक्छन् भन्ने विषयमा केन्द्रित भएर यो कार्यक्रम संचालन गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कार्यक्रममा एक सय जनाभन्दा बढी होटलकर्मी र उनीहरुका कर्मचारीले सहभागिता जनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले अभिमुखीकरणका सहभागीले एआईबारे धेरै बुझ्नै मौका पाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न संघलाई आग्रह गरे ।
आयोजक संघका अध्यक्ष सुवेदीले संघले पोखराको प्रवद्र्धनका लागि जाऊँ है पोखरा र चलिए पोखरा जस्ता अभियान संचालन गर्दै आएको स्मरण गराए ।संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले अभिमुखीकरणबाट सहभागीले नजानेको कुरा जान्ने मौका पाएको बताए कार्यक्रमका श्रोत व्यक्ति सन्तोष बरालले अहिले एआई एउटा क्रान्तिको रुपमा अगाडि आएको भन्दै यससँग डराएर भन्दा पनि यसलाई सदुपयोग गरेर पर्यटन क्षेत्र अगाडि बढ्नुपर्ने भनाइ राखे ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्युर) सँगको सहकार्यमा संघले लिभरेजिङ एआई, टेक्नोलोजी एण्ड ओटीएज शीर्षक दिएर यो अभिमुखिकरण आयोजना गरेको हो । कार्यक्रममा परियोजना गण्डकीका प्रमुख सुशील लिंखाले उक्त परियोजनाका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।





