बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाको १७ औं अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ को लागि गाउँपालिका उपाध्यक्ष भिमसेन बनले प्रस्तुत गरेको ७१ करोड ९५ लाख बराबरको बजेट तथा कार्यक्रम पारित भएको छ ।
बडिगाड गाउँपालिकाको आन्तरिक राजश्वबाट १ करोड ६० लाख १५ हजार, नेपाल सरकारको राजश्व बाँडफाँडबाट १० करोड ५४ लाख १४ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ११ करोड २९ लाख ६ हजार, चालु वर्षको नगद मौज्दातबाट ७९ लाख ५० हजार, अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत संघिय सरकारको वित्तिय समानीकरण अनुदानबाट १० करोड ८७ लाख, प्रदेश तर्फको वित्तिय समानीकरण अनुदान १ करोड ४० लाख ७४ हजार, संघिय सरकारको ससर्त अनुदान ३८ करोड ९३ लाख, संघिय सरकारको विशेष अनुदान १ करोड ६३ लाख, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान ३९ लाख ५० हजार, संघिय सरकारको समपुरक अनुदान ४ करोड ५ लाख, प्रदेश सरकारको समपुरक ६० लाख गरि कुल ७१ करोड ९५ लाख आय प्रस्ताव गरिएको छ ।
खर्चतर्फ निसर्त चालु खर्चको रुपमा १५ करोड ९९ लाख, ससर्त चालु खर्चतर्फ ४० करोड ३९ लाख ५० हजार गरि कुल ५६ करोड ३८ लाख ५० हजार तथा पुँजिगततर्फ निसर्त पुँजिगत खर्च १० करोड ३५ लाख ५० हजार तथा ससर्त पुँजिगत खर्च ५ करोड २१ लाख गरि जम्मा १५ करोड ५६ लाख ५० हजार खर्च प्रस्ताव गरिएको छ ।
कृषि तथा पशुपन्छी पालनको समुन्नत विकास गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउँदै स्वरोजगारको संख्यामा वृद्धि गर्ने उद्धेश्य सहित आर्थिक विकास हुने कार्यक्रम सञ्चालन गर्न २ करोड ४ लाख २० हजार विनियोजन भएको छ ।
त्यस्तै मानव पूँजिको विकासको लागि सामाजिक विकासतर्फ ४३ करोड ४७ लाख ३० हजार बजेट विनियोजन भएको बजेटमा उल्लेख गरिएको छ ।
सडकको नयाँ ट्रयाक खोल्नेकार्यलाई न्यूनिकरण गर्दै साविकका वडा स्तरसम्म चल्ने सडक बनाउने लक्ष्य लिएको पालिकाले पूर्वाधार तथा भौतिक निर्माणमा १५ करोड २५ लाख ५० हजार बजेट विनियोजन गरेको छ । जसमा पालिकागत रुपमा १ करोड १९ लाख ५० हजार र वडागतमा ४ करोड बजेट विनियोजन भएको छ ।
त्यस्तै खाल चिच्चौर छिसफाँट सडको लागि प्रदेश सरकारसंग साझेदारीमा समपुरक कोषबाट १ करोड २० लाख, संघिय बजेटसँग समपुरक आयोजनाको रुपमा भानु मावि ग्वालीचौरका लागि ६ करोड तथा दगा जिमी राक्से खर्वाङ सडकका लागि १ करोड ७५ लाख रकम विनियोजन भएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५४ लाख बजेट रहेको बडिगाड गाउँपालिकाको कार्यक्रममा संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा १ करोड ३१ लाख ८३ हजार बजेट विनियोजन भएको छ । गत वर्षभन्दा कुल बजेटमा १ करोड कमि रहेपनि पुँजिगततर्फ गतवर्ष भन्दा ४ करोड कमिको बजेट सार्वजनिक गरेको हो । अघिल्लो वर्षको मौज्जाद कम भएको र प्रशासनिक खर्च बढेका कारण पुँजीगत खर्चमा कमि आएको हो ।





