बागलुङ/पश्चिम बागलुङको तमानखोला गाउँपालिले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३३ करोड ४१ लाख ६ हजारको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले सातौं अधिवेशनमा प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।
गाउँपालिकाले कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ७ करोड ९४ लाख १७ हजार र चालु खर्चतर्फ २५ करोड ४६ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । आगामी बजेट मार्फत पालिकाले शिक्षामा २ करोड ५२ लाख ५० हजार र स्वास्थ्यतर्फ एक करोड ६४ लाख ५५ हजार र पूर्वाधार विकासतर्फ ६ करोड १५ लाख ८४ हजार बजेट विनियोजन गरिएको छ ।
संघिय सरकार सशर्त अनुदानतर्फ ११ करोड ७५ लाख, संघिय सरकार विशेष अनुदानमार्फत ७० लाख ५० हजार, संघिय सरकार समपूरक अनुदानतर्फ ८० लाख र प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख, प्रदेश सरकार विशेष अनुदानतर्फ ३९ लाख विनियोजन गरिएको हो ।
नीति तथा कार्यक्रममार्फत प्रविधिमैत्री सिकाई, मिसन रोजगारी, उद्यमशील बन्न चाहनेका लागि सहुलियत ब्याजदर लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । गाउँपालिकाले सिपमूलक र प्रविधिमैत्री शिक्षामा जोड दिनेगरि नीति तथा कार्यक्रम बनाएको छ ।





