शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा वार्षिक कार्यक्रम

बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा वार्षिक कार्यक्रम

नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन, स्वरोजगारको संख्यामा वृद्धि गर्न उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने र आर्थिक विकास हुने कार्यक्रम सञ्चालन गर्न २ करोड ४ लाख २० हजार रकम विनियोजन


  • भिमसेन वन
  • असार १२ २०८२, बिहिबार

सभाध्यक्ष ज्यू,
गाउँसभा सदस्य ज्यूहरु,

सम्मानित बडिगाड गाउँपालिकाको गाउँसभाको सत्रौं अधिवेशन समक्ष आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सम्पूर्णमा स्वागत तथा अभिवादन प्रकट गर्न चाहन्छु । यस अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलन र स्वतन्त्रता प्राप्तिका लागि जीवन आहु िदिनु हुने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आन्दोलनका घाईते तथा बेपत्ता हुनुभएका नागरिकहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।

बडिगाड गाउँपालिकालाई अगाडि बढाउने क्रममा स्थापनाकालदेखि हालसम्म हरतवरले सहयोग गर्दै आउनुभएका आम नागरिक, बडिगाड गाउँपालिकाको समग्र विकासका लागि सक्रीयपूर्वक सेवा प्रवाह र उन्नतीको पथमा लाग्नु भएका कर्मचारी, पूर्व जनप्रतिनिधि र जग्गादाता ज्यूहरुमा हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्दछु ।

आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधानको धारा ५९ उपधारा १ र धारा २३० उपधारा १ को अधिनमा रही स्थानीय सरकार सञ्चालन ऐन, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, आर्थिक कार्यविधि, नेपाल सरकार तथा प्रदेश सरकार र बडिगाड गाउँपालिकाको नीति तथा कार्यक्रम, पञ्चवर्षीय आवधिक योजना, मध्यकालिन खर्च संरचना, बस्तीस्तर तथा वडा समितिको प्राथमिकता र सुझाव, विषयगत समितिको प्राथमिकता र निर्णय, दिगो विकास लक्ष्यले निर्धारण गरेका सूचकहरु र सरोकारवालाको सुझावलाई केन्द्रित गरी यो बजेट तथा कार्यक्रम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले दिएको बजेट सीमाभित्र रही तय गरेको छु । जनताका तमाम आकांक्षा र अपेक्षामाथि सिमित साधन र स्रोतको अधिकतम परिचालन गरी न्यूनतम आवश्यकताको पहिचान र विश्लेषण गरी हालसम्म भए गरेका प्रयासबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै बडिगाड गाउँपालिकाको दिगो पूर्वाधार र सक्षम मानवपूँजी निर्माणमा सहयोग पुगोस् भनी बजेटको अनुमानलाई प्रस्तुत गरेको छु ।

सभाध्यक्ष ज्यू,
आ.व. २०८१/०८२ मा सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरुको वित्तीय प्रगतिमा ७५ प्रतिशत सम्पन्न भएको छ । यस अवधीमा निर्माणाधिन गौरवमा योजनाहरु, विद्यालय भवन तथा महत्वका सडकहरु निर्माणको अन्तिम चरणमा रहेका छन् भने पन्ध्र सैयाको आधारभुत अस्पताल र वडा कार्यालयहरु सम्पन्न भईसकेका छन् । चालु आ.व.मा भौतिक प्रगति ६० प्रगति भएको समीक्षा पेश गर्न चाहान्छु ।

सभाध्यक्ष ज्यू,
बडिगाड गाउँपालिकाको दीर्घकालीन सोच र ‘समृद्ध बडिगाड, खुसी बडिगाडबासी’ लक्ष्यलाई प्राप्ति गर्नका लागि आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तावित बजेट तथा कार्यक्रमले निम्न प्राथमिकता र उद्देश्य तय गरिएको छ ।

बजेट तथा कार्यक्रमको प्राथमिकताहरु
–संघ, प्रदेश र स्थानीय राजश्वको क्षमतालाई विश्लेषण गर्दै वित्तीय अनुशान कायम गर्ने ।
–सबैका लागि गुणस्तरीय आधारभूत शिक्षा सुनिश्चित गर्ने ।
–विद्यालय सुधार योजनाअन्तर्गत भौतिक पूर्वाधार, डिजिटल सामग्री, आईसिटी प्रविधिको प्रवद्र्धन सहयोग पुर्याउने ।
–विद्यालय शिक्षासँगै सीपमूलक शिक्षालाई जोड्दै भौगोलिक विकटता, गरिव विपन्न, दलित तथा अपाङ्ग बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम उपलब्ध गराउने ।
–आधारभुत अस्पताल सञ्चालन गरिनुका साथै स्वास्थ्य संस्थाहरूमा जनशक्ति, औषधि र उपकरणको थप व्यवस्थापन गर्ने ।
–सुरक्षित मातृ तथा नवजात सेवा प्रवद्र्धन गरिनुका साथै बस्तीस्तरमा जनस्वास्थ्य सुधारमा खटिनुभएका सामुदायिक स्वास्थ्य स्वयंसेवकहरूलाई तालिम तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने ।
–घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन गरिने ।
–सरसफाइ तथा पोषण कार्यक्रमलाई तिव्रता दिदै पोषणमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गरिने ।
–ग्रामीण भेगमा सञ्चालनमा रहेका सडकहरूको मर्मत तथा स्तरोन्नति गरिने ।
–बाढी÷पहिरो प्रभावित क्षेत्रमा पूर्वाधार संरक्षण कार्यक्रम र नागरिकलाई आयसँग जोड्ने कार्यक्रम ल्याईने ।
–बस्ती तथा कृषि क्षेत्रसँग पहुँच सहज बनाउने ग्रामीण कृषि सडकलाई बाह्रै महिना नियमित सञ्चालनमा ल्याउने गरी मर्मत सम्भार गरिने ।
–खानेपानी तथा ढल व्यवस्थापन कार्य गर्दै नागरिकलाई आधारभुत खानेपानी सेवा सुनिश्चित गर्ने ।
–स्थानीय स्तरमा आधुनिक कृषि प्रविधिको विस्तार गरिनुका साथै स्थानीय बाली तथा प्रजातिको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने ।
–किसान परिचयपत्र तथा बीउ, मल अनुदान कार्यक्रमलाई निरन्तरता दिने ।
–कृषकलाई सिजन अनुसार तालिम तथा उत्पादन केन्द्र सञ्चालन र व्यवसाय अनुसार पशुपन्छी विकासमा सहयोग गरिने ।
–किसानसँगको सहकार्यमा स्थानीय उत्पादन स्थानीय बजार व्यवस्थापन गरी किसान बजार तथा बिक्री व्यवस्थापनमा सहजीकरण गरिने ।
–स्थानीयस्तरमै पशुपन्छी बीमा तथा दाना व्यवस्थाका लागि बिउ तथा बिरुवा वितरण गरिनुका साथै पशु स्वास्थ्य शिविर तथा खोप अभियान सञ्चालन गरिने ।
–व्यावसायिक पशुपन्छी पालक समूह÷संघ गठन तथा सशक्तिकरण गरिनुका साथै व्यवसायिक फमहरुलाई प्रोत्साहन गरिने ।
–आत्मनिर्भरता अभिवृद्धिका लागि सीपमूलक तालिम र उद्यमशिलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने ।
–अपाङ्गता भएकाहरूका लागि पहुँचयुक्त सेवा केन्द्र स्थापना गरिनुका साथै बाल अपाङ्गता पहिचानका लागि वडा तहमा शिविर सञ्चालन गरी अपाङ्गता दर घटाईने ।
–सामाजिक सुरक्षा भत्ता प्रभावकारी कार्यान्वयन गरिने साथै वालपोषणको सदुपयोग सम्बन्धी अभिमुखिकरण गरिने ।
–जेष्ठ नागरिकमैत्री सामुदायिक केन्द्रहरूको स्थापनाका लागि भौतिक आधार तयार पारिदै जाने ।

बजेट तथा कार्यक्रमको उद्देश्यहरु
१. आर्थिक वृद्धि र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न कृषि, पशुपन्छी, पर्यटन, लघु तथा घरेलु उद्योग, सिप विकास र नविनतम प्रविधिको प्रयोगमार्फत स्थानीय अर्थतन्त्रलाई वृद्धि गर्नु ।
२. अवसरको समान पहुँच सुनिश्चित गर्न सामाजिक न्याय र समावेशिता प्रवद्र्धन समाजका सबै वर्ग, विशेषगरी महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, गरिब तथा पछाडि पारिएका समुदायलाई लक्षित गर्दै समावेशी विकासका कार्यक्रम सञ्चालन गर्नु ।
३. पूर्वाधार विकास यातायात, ग्रामीण तथा कृषि सडक, सिंचाइ, खानेपानी, स्वास्थ्य संस्था, विद्यालय, बजारक्षेत्र, सूचना प्रविधिजस्ता पूर्वाधार विकासमार्फत जीवनस्तर सुधार र आर्थिक विकासको आधार तयार पार्नु ।
४. हरेक उत्पादनलाई प्रोत्साहन गरी रैथाने स्थानीय जातको कृषि उत्पादन र स्थानीय साना कृषि पकेट क्षेत्रको सञ्चालनबाट कृषि आय वृद्धि गरी किसानका लागि हरित आय परियोजना सञ्चालन गर्नु ।
५. वातावरण संरक्षण र दिगो विकास प्राकृतिक स्रोत साधनको दीगो उपयोग, वातावरणीय सन्तुलन, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नु ।
६. समय सापेक्ष गाउँपालिकाको संस्थागत क्षमता अभिवृद्धि गर्दै सुशासन र संस्थागत विकास पारदर्शिता, जवाफदेहिता, जनसहभागिता, सूचना प्रवाह, सामाजिक उत्तरदायित्व र प्रविधि प्रयोगमार्फत सुशासन प्रवद्र्धन गर्नु ।
७. योजना तथा कार्यक्रमलाई व्यवहारिक, सर्वस्वीकार्य र प्रभावकारी बनाउन स्थानीय आवश्यकता र जनताको प्राथमिकताअनुसार कार्यक्रम स्थानीय तहको योजना, स्थानीय जनताको सहभागिता, सुझाव र आवश्यकताका आधारमा कार्यान्वयन गर्नु ।
८. कानुनी प्रावधान तथा राष्ट्रिय नीति अनुरूप योजना निर्माण नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, राष्ट्रिय विकास नीति, प्रदेश सरकारका नीति र अन्य कानुनी व्यवस्था अनुसार योजना तथा कार्यक्रम तयार पार्दा समन्वय, सहकार्य र सहभागिताको नीति अनुरूपता कायम राख्नु ।
९. भविष्यका पिँढीका आवश्यकताहरूसँग सम्झौता नगरीकन वर्तमान पिँढीका आवश्यकताहरू परिपूर्ति भन्ने दिगो विकासको अवधारणालाई विद्यमान स्रोतको उचित प्रयोग गर्नु ।
१०. गाउँपालिकाभित्र सञ्चालन हुने विभिन्न कार्यक्रम तथा आयोजनाहरुमा गुणस्तरियता, जनसहभागिता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बढाई सुशासन कायम गर्नु ।
११. राजश्व वृद्धिका लागि करको दायरामा विस्तार गरी कर वा दस्तुरमा समय सापेक्ष हेरफेरमार्फत नागरिकमैत्री कर नीति लागु गर्नु ।

सभाध्यक्ष ज्यू,
अब म वार्षिक बजेटको विवरण पेश गर्ने अनुमति चाहान्छु ।
बडिगाड गाउँपालिकाको नीति तथा कार्यक्रमलाई सफल कार्यान्वयनको लागि आगामी आर्थिक वर्ष २०८२/०८३ मा आयतर्फ आन्तरिक राजस्वबाट रु. १६०१५२४९।–, नेपाल सरकारको राजस्व बाँडफाँडबाट रु. १०५४१४७५१।–, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु. ११२९६०००।–, नगद मौज्दातबाट रु. ७९५००००।–, अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघीय सरकारको वित्तीय समानिकरण अनुदान रु. १०८७०००००।–, प्रदेश सारकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान रु. १४०७४०००।–, संघीय सरकारको ससर्त अनुदान रु. ३८९३०००००।–, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदान रु. १६३०००००।–, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान रु. ३९५००००।–, संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदान रु. ४०५०००००।–, प्रदेश सरकारबाट प्राप्त हुने समपुरक कोष रु. ६००००००।– गरी कुल जम्मा रु. ७१९५०००००।– आय प्रस्ताव गरेको छु । यसैगरी व्ययतर्फ निसर्त तर्फको चालु खर्च रु. १५९९०००००।–, ससर्त चालु खर्च रु. ४०३९५००००।– गरी जम्मा चालु खर्च रु. ५६३८५००००।– र पुँजिगत खर्चतर्फ निसर्त पुँजिगत खर्च रु. १०३५५००००।– र ससर्त पुँजिगत खर्च रु. ५२१०००००।– गरी जम्मा पुँजिगत खर्च रु. १५५६५००००।– रहेको छ । यस आ. व. का लागि चालु र पुँजिगत खर्चको कुल योग जम्मा रु. ७१९५०००००।– रहेको प्रस्ताव पेश गरेको छु । जसको विस्तृत विवरण अनुसूचिमा व्यवस्था गरी संलग्न गरेको छु ।
आर्थिक वर्ष २०८०।८१ को यथार्थ आम्दानी खर्च विवरण, आ.व. २०८१।०८२ को संसोधित अनुमान र २०८१।०८२ जेष्ठ महिना सम्मको यथार्थ आम्दानी खर्च विवरण, आ.व. २०८२।०८३ को अनुमानित आम्दानी खर्च विवरण र आर्थिक वर्ष २०८२।०८३ मा सञ्चालन गर्न प्रस्तावित योजना तथा कार्यक्रमको विवरणको साथै मध्यकालिन खर्च संरचनाको विवरण समेत यसै साथ संलग्न गरी पेश गरेको छु ।

सभाध्यक्ष ज्यू,
अब म क्षेत्रगत रुपमा आगामी वर्षको बजेट तथा कार्यक्रम पेश गर्ने अनुमति चाहान्छु ।

आर्थिक विकास
कृषि क्षेत्रको विकास, उचित प्रशोधन तथा बजारिकरण आजको आवश्यकता बनेको छ । यो कार्यलाई पुरा गर्न कृषि तथा पशुपन्छी पालनको समुन्नत विकास गरी नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन, स्वरोजगारको संख्यामा बृद्धि गर्न उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने र आर्थिक विकास हुने कार्यक्रम सञ्चालन गर्न यो बर्ष २ करोड ४ लाख २० हजार रकम विनियोजन गरी देहायको कार्यक्रम सञ्चालन गरिनेछ ।
–कृषि र पशुपन्छी विकासमा साझेदार संस्थाहरुसँग सहकार्य गरी उत्पादनमा वृद्धि ग्रामीण क्षेत्रमा प्रशोधन केन्द्र र एक स्थानमा एकीकृत कृषि बजारको माध्यमबाट बजारीकरणको व्यवस्था गर्न हरित आय परियोजनाका लागि रु. ८० लाख बजेट विनियोजन गरिएको छ ।
–उत्पादनमा बृद्धि ल्याउनका लागि गुणस्तरीय विउको मागलाई पुरा गर्न मकै र अन्य नगदे बालीको विउ वा विज विकास गर्न र किसानको व्यवसायमा हुने क्षतिमा राहतका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
–खाद्यान्न उत्पादन बृद्धि गर्न मकै बाली पकेट विकास कार्यक्रम सञ्चालन, कोदो, सिलाम, फापरजस्ता रैथाने जातका बालीको पकेट कार्यक्रमलाई निरन्तरता दिइएको छ । पालिका स्तरिय साना पकेट स्थापनाका लागि बजेटको ब्यवस्था मिलाइएको छ ।
–फलफूल नर्सरी निर्माण, फलफुलको बिरुवा रोपण कार्यक्रम, साना सिंचाइ निर्माण, रैथाने बाली प्रबद्र्धन, मिनी किट वितरण, बिषादी तथा सुक्ष्मतत्व वितरण, कृषि सामग्री तथा मेसिनरी सामान वितरण, नगदे बालीमा भाँगोलाई समावेश गरिने छ । साथै अलैची, अदुवाको थप प्रबद्र्धन, एक घर एक करेसाबारी, कृषकहरुको क्षमता विकास कार्यक्रम लगायतको कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाईएको छ ।
–पालिकाका सबै कृषकहरुको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गरिने छ । कृषकहरुलाई प्राविधिक सहयोगको लागि स्नातक तहको प्राविधिक करारलाई निरन्तरता दिई दक्ष कृषि प्राविधिक कर्मचारीको व्यवस्था मिलाईनेछ ।
–विद्यालयमा कृषि कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुलाई श्रम जीवन सिकाई बुझाउने कार्यलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
–पशुपालन फर्म सञ्चालन गर्ने कृषकहरुको ब्यबसायमा थप मद्दत गरी ब्यबसायिक फर्म सपोर्ट कार्यक्रम र बाख्रापालक कृषकको व्यवसायिक प्रवद्र्धन कार्यक्रम, बाख्रा पकेट कार्यक्रम र बंगुर प्रवद्र्धन कार्यक्रम सञ्चालनको लागि आवश्यक रकमको ब्यबस्था मिलाईएको छ ।
–बिभिन्न प्रकारको रोग, प्रकोपको तथा बाह्य परजिवीका कारण पशुधनको मृत्युबाट पशुपालक कृषकहरुलाई पर्न जाने नोक्सानीलाई न्युनिकरण गरी कृषकहरुको ब्यबसायलाई जिवन्त राख्न पशुपंक्षीमा गरिने बिमाको प्रिमियम भुक्तानीमा अनुदान दिन ब्यबस्था मिलाईनुका साथै पशुपंक्षीको उपचारको लागि औषधि उपचार गर्ने र बाह्य परजिवी नियन्त्रणको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाईएको छ ।
–पशुपंक्षीको उपचारको लागि स्वास्थ्य शिविर सञ्चालन, घाँसको बिउ तथा बेर्ना बितरण, पशु स्वास्थ्य प्रयोगशाला निर्माण जस्ता कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेटको ब्यवस्था मिलाईएको छ ।
–बडिगाड गाउँपालिकामा सञ्चालित सहकारी संस्थाहरुको ब्यबसायिक क्षमता विकासको लागि सहकारी प्रबद्र्धन कार्यक्रम सञ्चालन गरी सहकारी शिक्षा सम्बन्धि आधारशिला तालिमको व्यवस्था गरिनेछ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
–एक वडा एक पर्यटन गन्तव्य क्षेत्र विकासका लागि धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको वृतचित्र निर्माण गरि व्यवसायिक पर्यटन विकासको कार्य शुरुवात गरिनेछ ।
–घरेलु उद्योग स्थापना तथा सञ्चालनको लागि आवश्यक पहल गरिनेछ । परम्परागत घरेलु उद्योगलाई निरन्तरता दिन बजेटको व्यवस्था मिलाइएको छ ।
–गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) मार्फत लघु उद्यम विकास मोडेलमा नयाँ उद्यमी श्रृजना गर्ने, उद्यमीहरुको स्तर उन्नति गर्ने, अति गरीब परिवारको लागि सम्भाब्य उत्पादन उत्पादकत्व, वित्तिय परामर्श र बजार प्रतिस्पर्धा वृद्धि गर्नका लागि कम्तिमा ५ जनाको समुहमा प्रविधि हस्तान्तरण गर्ने कार्यको लागि बजेटको व्यवस्था मिलाई कार्यक्रमलाई निरन्तर दिइएको छ ।

सामाजिक विकास
मानव पूँजिको विकासबाट मात्र समग्र विकासको ढोका खुल्ने भएकाले यो वर्ष सामाजिक विकासको क्षेत्रमा ४३ करोड ४७ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।
–बालबिकास केन्द्र र विद्यालय कर्मचारीहरुको लागि नेपाल सरकारको नीति अनुसार थप तलबलाई निरन्तरता दिने व्यवस्था मिलाईएको छ ।
–सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक पुर्बाधार निर्माण, मर्मत सम्भार र व्यवस्थापनमा जोड दिईनेछ ।
–बडिगाडको इच्छा गरि खाने शिक्षालाई सार्थक तुल्याउन विद्यार्थी सीप विकासमा लगानी गरी पढाई मेला सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको छ ।
–बडिगाड गाउँपालिकाको स्थानीय पाठ्यपुस्तक, शैक्षिक योजना, शैक्षिक वस्तुगत विवरण तयार गर्न, सिकाई सामग्री तथा डिजिटल सिकाई सामाग्रीको लागि आवश्यक बजेटको ब्यवस्था मिलाईएको छ ।
–प्रविधीमैत्री विद्यालय निर्माण गर्न त्यहाँ रहेका कम्प्युटर तथा प्रिन्टर सहितका सामाग्रीको मर्मत सम्भार र पुनप्रयोगमा ल्याउन मिल्ने बनाउन मर्मतका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
–विद्यालयलाई जंगफुड निशेधित क्षेत्र घोषणा गरि तोकिएको लक्षित वर्गका विद्यार्थीको लागि गुणस्तरीय दिवा खाजाको सुनिश्चित गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
–विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदानको ब्यबस्था मिलाईनेछ ।
–कक्षा ६–१२ मा अध्ययनरत छात्राहरुको लागि सेनेटरी प्याडको ब्यबस्था तथा छात्र छात्राहरुको लागि छात्राबृत्तिको व्यवस्था मिलाईनेछ ।
–आधारभुत तहको परीक्षालाई मर्यादित बनाउन परीक्षा सञ्चालन, अनुगमन कार्यलाई व्यवस्थित बनाउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, सरोकारवालाहरु बिच कार्यशाला गोष्ठी, शिक्षक विद्यार्थी र अभिभावकको कुरा गाउँपालिका अध्यक्षसँग जस्ता कार्यक्रम सञ्चालन गर्न बजेटको प्रबन्ध मिलाईएको छ ।
–विद्यार्थीको खेल प्रतिभा विकासका लागि अन्तर विद्यालय खेलकुद प्रतियोगितालाई थप व्यवस्थित गरी सञ्चालन गर्न बजेटको व्यवस्था मिलाईएको छ ।
–गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । जसबाट बिद्यालयको शैक्षिक गुणस्तर कायम गराउन भौतिक सुधारमा खर्च गर्ने व्यवस्था मिलाईनेछ ।
–शैक्षिक पहुँचमा सुनिश्चितताको लागि अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रमलाई निरन्तरता दिईएको छ । अनाथ बालवालिकाका लागि निःशुल्क आवासिय सुविधा सहित भानु माध्यमिक विद्यालयमार्फत शिक्षण सुनिश्चितता गराउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–बडिगाड गाउँपालिकाभित्र काम गर्ने विभिन्न गैर सरकारी संघ संस्थाहरुसँग सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रम सञ्चालन गर्ने संघ संस्थाहरुले अनिवार्य रुपमा गाउँपालिकामा कार्यक्रम पेश गरी स्वीकृति लिने र कार्य सम्पन्न भएपछि कार्य सम्पादन प्रतिबेदन पेश गर्नुपर्ने व्यवस्था गरिनेछ । गाउँपालिकासँग लागत साझेदारीमा काम गर्न चाहने गैर सरकारी संस्थाहरुसँग लागत साझेदारीको लागि रकमको व्यवस्था मिलाइएको छ ।
–यस आर्थिक वर्षमा नेपाल स्वास्थ्यको लागि पानी (नेवा) सँगको सहकार्यमा बडिगाड गाउँपालिकामा खानेपानी मर्मत तथा गुणस्तर सुनिश्चितता केन्द्र स्थापना लागि सहजिकरण गरिनेछ ।
–यसै आर्थिक वर्षबाट १५ सैयाको आधारभुत अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
–१० वटै वडामा सञ्चालित स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित रुपमा सञ्चालन, भौतिक सुधार, मातृमृत्युदर, नवजात शिशु मृत्युदर, बालमृत्यु दर घटाई औषत आयु बढाउन स्वास्थ्य सेवाका आयामहरु प्रतिकारात्मक सेवा, प्रबर्दधनात्मक सेवा, उपचारात्मक सेवा, पुर्नस्थापनात्मक सेवाहरुलाई समेटेर स्वास्थ्य कार्यक्रम सञ्चालनको लागि बजेट व्यवस्था मिलाईएको छ ।
–गाउँपालिका अध्यक्ष स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
–बाह्य खोप केन्द्रबाट सञ्चालन गरिने खोप सेवालाई गुणस्तरीय बनाउन बाह्य खोप केन्द्रलाई व्यवस्थित गर्न र बडिगाडमा ब्यापक रुपमा फैलिएको क्षयरोग नियन्त्रणको लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था मिलाईएको छ ।
–बडिगाडको पोषणको अवस्था कमजोर रहेकोले पोषण तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालन गर्न रकमको व्यवस्था मिलाईएको छ । ‘पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका’ कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाईएको छ । यसै बर्ष नै घोषणा हुने गरी क्रियाकलाप सञ्चालन गरिनेछ ।
–स्वास्थ्य स्वयमसेविकाहरुको सुविधा, स्वास्थ्य संस्थामा सुत्केरी हुने सुत्केरी आमाहरुका लागि पोषण भत्ता कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिईएको छ । किसानलाई प्रोत्साहन सुत्केरीलाई पोषण कार्यक्रमको क्षेत्र विस्तार गरिनेछ ।
–महिला, बालबालिका, अपाङ्गता भएको ब्यक्ति, जेष्ठ नागरिक, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको आयआर्जनको क्रियाकलाप सञ्चालन गर्न, तथ्याङ्क संकलन तथा अद्यावधिक गर्न, समाजमा रहेको कुरीति, विकृत, विसंगति, लागू औषधी दुब्र्यसनी, कुप्रथा, लैंगिक हिंसा, मानव बेचबिखान तथा ओसारपसारविरुद्ध सचेतनात्मक कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ ।
–बडिगाडलाई लैंगिक समानता तथा सामाजिक समावेशिकण भएको स्थानीय सरकार घोषणा गर्न तोकिएका सुचकमा खर्च हुने गरी बजेट विनियोजन गरिएको छ ।
–गाउँपालिका अध्यक्ष बडिगाडको छोरी कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–जेष्ठ नागरिकका लागि सहायता सामाग्री वितरण र सामाजिक शुरक्षा भत्ता नविकरणलाई सहजताका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–सामाजिक सुरक्षा सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्न बजेटको व्यवस्था मिलाइएको छ ।
–बैंकसँगको सहकार्यमा सामाजिक सुरक्षा भत्तालाई सम्बन्धित वडाबाट र असक्त जेष्ठ नागरिक एवं अति असक्त अपाङ्गहरुलाई टोल टोलबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न आवश्यक बजेटको व्यवस्था मिलाईएको छ ।
–विविध खेलकुद विकास कार्यक्रमको लागि बजेटको व्यवस्था मिलाइएको छ ।

पुर्वाधार तथा भौतिक निर्माण
बडिगाड गाउँपालिकामा सञ्चालित पूर्वाधारलाई दिगो र प्रभावकारी बनाउन नागरिकसँग सहकार्य गरि हाम्रो आयोजना दिगो र राम्रो आयोजना कार्यक्रम सञ्चालन गरिनेछ । जसको लागि पूर्वाधार विकासतर्फ रु. १५ करोड २५ लाख ५० हजार विनियोजन गरिएको छ ।
–पालिका र वडागत रुपमा प्राप्त भौतिक विकासका विभिन्न योजनाका लागि योजना र क्रियाकलाप अनुसार खर्च हुने गरी पालिकागतमा रु. १ करोड १९ लाख ५० हजार र वडागतमा ४ करोड बजेट विनियोजन गरिएको छ ।
–सिमलचौरदेखि रणसिंहकिटेनीसम्मको सडक, झोलुङ्गे पुल र अन्य पुर्वधार निर्माणका लागि संघीय सरकारको ससर्त कार्यक्रमबाट कार्यान्वयन हुने गरि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–बडिगाडको मुख्य बस्तीहरुलाई जोड्ने सडकहरुलाई मर्मत गरी नियमित सञ्चालन गर्ने र हालसम्म पनि साविकको वडासम्म सडक सञ्जाल नपुगेको स्थानमा सडक पुर्याउनका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ । सडकको अति आवश्यक स्थानमा बाहेक नयाँ ट्रयाक खोल्ने कार्यलाई न्युनिकरण गरिनेछ ।
–खाल चिच्चौर छिसफाँट सडकका लागि प्रदेश सरकारसँग साझेदारीमा समपुरक कोषबाट १ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।
–संघीय बजेटसँग समपुरक आयोजनाका रुपमा भानु मावि ग्वालीचौरका लागि ६ करोड र दगा–जिमी–राक्से–खर्वाङ सडकका लागि १ करोड ७५ लाख रकम विनियोजन गरिएको छ ।
–संघीय सरकार, प्रदेश सरकार र बिभिन्न संघ संस्थाहरुको सहलगानीमा योजना सञ्चालनको लागि समपुरक कोष तथा सर्सत सहकार्यका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापन
बडिगाड गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन तथा राहत उद्दारका लागि ५४ लाख बजेट विनियोजन गरिएको छ ।
–स्वच्छ वातावरण नागरिकको मौलिक हकको सुनिश्चितताका लागि बडिगाड गाउँपालिकाभित्रको वातावरणलाई सफा राख्न ‘ग्रीन बडिगाड क्लिन बडिगाड’ नारालाई साकार पार्न नागरिकसँग सहकार्यमा फोहोरमैला व्यवस्थापन र वृक्षारोपणका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
–जलाधार एवं वातावरण संरक्षण र प्राकृतिक प्रकोप नियन्त्रण तथा उद्दार राहत तथा पुनस्थापनाका लागि बजेटको व्यवस्था मिलाइएको छ ।
–सुरक्षित नागरिक आवास कार्यक्रमलाई सम्पन्न गर्नका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन
बडिगाड गाउँपालिकाको संस्थागत विकास र नागरिकलाई सहज सेवा प्रवाहका लागि रु. १ करोड ३१ लाख ८३ हजार बजेट विनियोजन गरिएको छ ।
–सेवाको वरिपरि जनता होइन, जनताको वरिपरि सेवा भन्ने अवधारणालाई आत्मसाथ गर्दै गाउँपालिकामा नागरिक साहायता कक्षलाई थप व्यवस्थित गर्नका लागि बजेटको व्यवस्था गरिएको छ ।
–जनतासँग गाउँपालिका अध्यक्ष कार्यक्रमको माध्यमबाट सोझै नागरिकको गुनासो सम्बोधनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–जनप्रतिनीधि तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तालिम र अवलोकन भ्रमणको व्यवस्था मिलाइएको छ ।
–उपभोक्ता समितिलाई अनुशिक्षण कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ ।
–ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित गर्ने व्यवस्था मिलाइएको छ ।
–न्यायिक समितिको कार्य सम्पादन प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्था मिलाइएको छ । न्यायमा नागरिकको पहुँच आफ्नो समस्या आफै समाधान गर्न मेलमिलाप केन्द्रको कार्यलाई थप सुधार गरिनेछ । जसका लागि आवश्यक बजेटको व्यवस्था मिलाईएको छ ।
–लैङ्गिक हिंसामा परेका व्यक्तिलाई अन्तर स्थानीय तहबीच साझेदारीमा उद्दार राहत र पुनस्थापनाका लागि आवश्यक बजेट सुनिश्चित गरिएको छ ।
–वैदेशिक रोजगारी र त्यसको समस्या समाधानका लागि सुरक्षित आप्रवास कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
–श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रमलाई प्रभावकारी बनाउन परम्परागत सीप र कलाको संरक्षण तथा प्रवद्र्धनका लागि बजेटको व्यवस्था मिलाइएको छ ।
–रोजगारी सिर्जना कार्यक्रममार्फत नागरिकको आयमा वृद्धि ल्याउनुका साथै यस कार्यक्रमलाई निर्माण सम्पन्न हुन बाँकी विद्यालय र पर्यटन पूर्वधार निर्माणमा खर्च गरिने गरी आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
–श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोष सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
–बडिगाड गाउँपालिकाभित्र रहेका अल्पसंख्यक जाति, जनजाति र दलित समुदायको सघन बस्ती रहेको टोललाई नमुना बस्ती बनाउने कार्यक्रम शुरुवात गर्ने र एक बस्तीमा कार्यक्रम नमुना बस्ती कार्यक्रम लागु गर्न लागि बजेटको व्यवस्था मिलाइएको छ ।
–रोजगार सेवा केन्द्र सुदृढीकरण र थप व्यवस्थित बनाउन बजेटको प्रबन्ध गरिएको छ । मध्यपाहाडी लोकमार्ग र ग्रामीण सडकको दिगोपन र संरक्षणका लागि लेन्थ वर्करको व्यवस्थाका लागि आवश्यक समन्वय र बजेटको व्यवस्था गरिएको छ ।
–गरिबसँग विश्वेश्वर कार्यक्रमलाई क्षेत्र विस्तारसहित थप व्यवस्थित पारी सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाईएको छ ।

कार्यालय संचालन तथा प्रशासनिक खर्च
बडिगाड गाउँपालिकामा संगठनात्मक प्रशासनिक व्यवस्थापन गरि कर्मचारीको संख्या निर्धारण र दरबन्दीको व्यवस्था गरिनेछ । कर्मचारीको मनोबल उच्च रहने गरी समय सापेक्ष तालिम तथा अवलोकन भम्रणको व्यवस्था मिलाईएको छ । कार्यालयको सेवा प्रवाह छिटोछरितो र प्रविधीसँग जोडी नागरिकमैत्री सेवा सञ्चालन गरिनेछ । कार्यालयको चालु खर्चमा मितब्ययिता कायम गर्दै यी प्रयोजनका लागि कार्यालय तथा प्रशासनिक खर्च शिर्षकमा ९ करोड २७ लाख विनियोजन गरिएको छ ।

वित्तीय व्यबस्थापन÷वित्तीय जोखिम न्युनीकरण तथा पार्दशिता र सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण
आर्थिक स्रोतको दुरुपयोग, अनियमितता, भ्रष्टाचार, अपारदर्शिता वा योजनाको विफलताको सम्भावनालाई सुन्यमा लिन स्पष्ट वित्तीय नीति, आन्तरिक नियन्त्रण प्रणालीमा सुदृढ, प्राविधिक विशेषज्ञतामा विकास, पारदर्शि बजेट तथा खर्च विवरण सार्वजनिकीकरण र सरोकारवालाको सहभागिता सुनिश्चत गरी जोखिमलाई न्युनीकरण गरिनेछ । स्थानीय सरकारको प्रभावकारी वित्तीय व्यवस्थापन, वित्तीय जोखिम न्युनीकरण, पारदर्शिता, सार्वजनिक सुनुवाई तथा सार्वजनिक परीक्षणले मात्रै सुशासन, जवाफदेहिता र जनविश्वासको विकास हुन्छ । यसले आर्थिक स्रोतको सही उपयोग, सेवा प्रवाहमा सुधार र समावेशी विकासमा टेवा पुर्याउँछ । यो कार्यका लागि भ्रष्टाचारमा सुन्य सहनशिलताको नीति अवलम्बन गरिएको छ । वित्तीय व्यवस्थापनलाई पारदर्शि बनाईनेछ । उपभोक्ता समिति÷संघ संस्था÷निर्माण व्यवसायीबाट हुने कामको साथै गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट सञ्चालन हुने काममा वित्तीय जोखिम न्युनिकरण गर्न सार्वजनिक सुनुवाई, सार्वजनिक लेखापरीक्षण र अनुगमनको व्यवस्था मिलाईएको छ ।

सभाध्यक्ष ज्यू,
गाउँपालिकाको बजेट तयारीको विभिन्न चरणमा मार्गनिर्देशन गर्नु हुने गाउँपालिकाका अध्यक्ष ज्यू, सहयोग गर्नु हुने प्रमुख प्रशासकीय अधिकृत ज्यू, कार्यपालिकाको सदस्य ज्यूहरु, गाउँ सभाको सदस्य ज्यूहरु, विषयगत समितिको संयोजक तथा सदस्य ज्यूहरु, आर्थिक प्रशासन शाखा प्रमुख लगायत कर्मचारी साथीहरुप्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।

अन्त्यमा गाउँपालिकाको दीर्घकालीन सोच, उद्देश्य र प्राथमिकरणमा सहयोग पुग्ने गरी बजेट कार्यान्वयनमा सबै पक्षबाट रचनात्मक सहयोग हुने विश्वास लिंदै बजेट कार्यान्वयनका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद

भिमसेन वन
उपाध्यक्ष

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->