बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपज संकलन र बजारीकरणमा साथ दिने लक्ष्यसहित अक्षते बजारमा कृषि उपज संकलन केन्द्र निर्माण शुरु गरिएको छ । काठेखोला गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा संकलन केन्द्र निर्माण थालिएको हो ।
ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारणसंगै सहज बजारीकरणका लागि संकलन केन्द्र प्रभावकारी हुने गाउँपालिकाले अपेक्षा गरेको छ । कृषि तथा पशुपालनको क्षेत्रका काम गरिरहेको बिवाईसी बागलुङको व्यवस्थापन, हेफर र काठेखोलाले आर्थिक साझेदारीमा सञ्चालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाअन्तर्गत कृषि उपज संकलन केन्द्र निर्माण थालिएको हो ।
संकलन केन्द्र निर्माणका लागि काठेखोला गाउँपालिकाले ७० प्रतिशत र हेफर नेपालले ३० प्रतिशत लगानी गर्ने छन् । ६६ लाख कुल लागत अनुमान गरिएको संकलन केन्द्र निर्माणमा चालु आर्थिक वर्षमा ३६ लाख रुपियाँ खर्च गरिने छ भने आगामी आर्थिक वर्षमा ३० लाख रुपैयाँ खर्च गरिने छ । भवन निर्माणको काम एमके टेडर्सले गरिरहेको छ । कृषि उपज संकलन केन्द्रको संचालन भने महिलाहरु मात्र आवद्व रहेको समृद्व काठेखोला कृषि महिला सहकारीले गर्ने छ ।
केन्द्रमा दुध, गेडागुडी, फलफुल र तरकारी लगायतका खाद्य सामग्री संकलन गरी ग्रेडिङ, लेबलिङ र प्याकेजिङपछि बजारीकरण गरिने कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक चुडामणि उपाध्यायले जानकारी दिए । केन्द्र बनेपछि किसानले उत्पादन गरेको फलफुल, तरकारी र खसीबोकाले उचित मुल्य पाउने र बिचौयाको दबदबा तोडिने संयोजक उपाध्यायले बताउँछन् । ‘‘संकलन केन्द्रमार्फत सहकारी र व्यापारीसंग सिधा सम्पर्क गरिने र यसले बिचौलिया संगको सम्पर्क तोडिने भने किसानले परिश्रमको मुल्य पाउने छन्’’ उपाध्यायले भने ।
“गाउँका किसानले उत्पादन गरेका कृषि उपज सकंलन गरेर सहज रुपमा बजार पठाउन सहयोग पु¥याउने उदेश्यले संकलन केन्द्र बनाएका हौं” गाउँपालिका अध्यक्ष राजु थापाले भने । पालिकामा उत्पादन हुने नाङ्लो, डाली, मकैको भुत्लाबाट उत्पादन हुने फुलजन्य सामग्री संकलन गरी कृषि उपज केन्द्रमा ‘‘काठेखोला कोसेली घर’’ समेत संचालन गरिने भएको छ । गाउँपालिकामा हुने सभा समारोह र मेला महोत्सवमा अतिथीलाई उपहार दिन कोसेली घरका सामग्री प्रयोग गरेर आयातित वस्तुलाई विस्थापित गरिने अध्यक्ष थापाले योजना सुनाए ।
पालिकाका हरेक उत्पादनलाई लघु तथा घरेलु उद्योगको रुपमा विकास गरी गाउँका उत्पादनहरुको संकलन, स्तरीकरण र ब्राण्डिङ गरी बजारीकरण गर्ने नीति लिएको काठेखोलालले बाँकोको सिन्की, सिस्नुको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाई (क्याण्डी), जुस र अचारलगायतका सामग्रीहरु कोसेली घरमा राखिने अध्यक्ष थापाले जानकारी दिए । ‘‘कोदोको रक्सीलाई ब्राण्डिङ र लेवलिङ गरी बिक्री वितरण गर्ने प्रक्रियासमेत शुरु गरेका छौं’’ थापाले थपे ।





