‘म आफ्नै कार्यकक्षमा बसिरहेको छु, एकैछिन पख्नुस् है, हजुरले मागेको डाटा दिइहाल्छु,’ काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले स्वास्थ्य क्षेत्रमा सफ्टवेयरको प्रयोगले ल्याएको सुधारका विषयमा सुनाउँदै भने, ‘मैले हेरिरहेको बेलासम्म हाम्रो पालिकाभरी १९ हजार ३ सय जनाले सेवा लिएका छन्, आजको दिनको मात्रै चाहियो भन ेपनि म भन्दिन सक्छु, यो वर्षभरीको डाटा हो ।’
काठेखोला गाउँपालिकाले शिक्षा, स्वास्थ्य, प्रशासन, राजश्व र न्याय सम्पादनलगायत नागरिकको सेवासँग जोडिएका सबै क्षेत्र डिजिटल बनेका छन् । गाउँपालिकाले विद्यालयमा शिक्षकको हाजिरीदेखि विद्यालयको नतिजा, स्वास्थ्यमा उपचारदेखि औषधि सिफारिससम्म डिजिटल माध्यामको प्रयोगबाट अनुगमन गर्ने गरेको छ । पालिकाका सबै काम डिजिटल गर्ने काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका हो । यहाँ नागरिकले कुनैपनि कामका लागि कागज बोक्न पर्दैन । महालेखा परीक्षकको कार्यालयले नमान्ने भएकाले कार्यालय प्रयोजनका लागि मात्रै यहाँ कागजात बनाउनुपर्छ ।
कार्यालयबाट सम्पादन हुने सबै काम अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो गाउँपालिका हो । काठेखोलाले प्रविधिलाई अधिकतम् प्रयोगमा ल्याएको छ । गाउँ कार्यपालिकाको कार्यालय होस् वा वडा तथा विषयगत शाखाहरु, यहाँ सबै काम कम्प्युटरको माध्यमबाट हुन्छ । हरेक कर्मचारीलाई कम्प्यूटरमा दक्ष बनाउने, एप्लिकेशन तथा वेवसाइटको सहाराबाट सबै काम अनलाइन प्रणालीमार्फत गरिन्छ ।
दश स्थानीय तह रहेको बागलुङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ सालमा गरेको मूल्यांकनमा काठेखोला सूचना प्रविधिमा पहिलो भएको थियो । गाउँपालिकाले आफूलाई ‘डिजिटलाइज्ड’ गाउँपालिका घोषणा गरेर अभियान थालेको थियो । ‘डिजिटल गाउँपालिका’ बनाउने अभियानअन्तर्गत कार्यपालिकाको कार्यालयदेखि वडा तहका सबै काम अनलाइन प्राणालीमार्फत गर्न थालिएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले बताए । अभियानले लय पक्रेको छ । कार्यालयका कर्मचारीलाई काम गर्न यसले सहज बनाएको छ भने सेवाग्राहीले चाहेको बेला बसेकै ठाउँबाट सेवा लिन पाउँछन् ।
‘योजनाका कामदेखि न्याय सम्पादनका कामसम्म अनलाइन प्रविधिको प्रयोगबाट हुन्छ,’ थापा भन्छन् ‘जसका कारण हामीलाई योजना बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ ।’ राजश्व वडाले उठाउँछन् । दिभरमा कहाँ कति राजश्व संकलन भयो । कुन वडाबाट कति जना सेवाग्रहीले सेवा लिए भन्ने विषय पालिका कार्यालयले सहजै जानकारी पाउँछ ।
काठेखोलामा कुनै कामका लागि फाइल बोकेर कार्यालय पुग्नु पर्दैन । अनलाइन प्रबिधिबाट काम हुने भएकाले स्मार्ट फोन र कम्प्युटर साथमा हुनेहरुले अधिकांश सेवा घरमै बसेर लिन सक्छन् । ‘विभिन्न घटना दर्तादेखि पञ्जिकरणका काम सबै वडाबाट अनलाइन प्रविधिमा प्रविष्ट गर्ने हाम्रो पालिका देशकै पहिलो हो,’ थापाले भने, ‘अहिले यो अन्य पालिकाले पनि सिकेका छन् र प्रयोगमा ल्याएका छन् ।’ निर्माणका काममा उपभोक्ता समितिको विवरणदेखि कर्मचारीको हाजिरीसम्मका अनलाइन प्रणालीमा छन् । ‘गाउँपालिकाको चित्र बोल्ने डिजिटल प्रोफाइल हामीले तयार गरेका छौं, त्यसलाई अद्यावधिक गर्ने काम पनि भैरहेको छ,’ थापा भन्छन्, ‘अब किसानका उत्पादनदेखि बजारीकरणका काम अनलाइन माध्यमबाटै गर्छौं ।
विद्यालय, स्वास्थ्य संस्था र अन्य विषयगत शाखामार्फत् सञ्चालन हुने कार्यालय समेत अनलाइन प्रविधिको अधिकतम प्रयोग गरिएको छ । सबै स्वास्थ्य संस्थामा अनलाइन दर्ता प्रणाली लागु भएको छ । गाउँपालिकाका २३ वटा आधारभूत विद्यालयमा स्मार्ट स्कुल कार्यक्रम कार्यान्वयनमा छ । जसले विद्यार्थी, शिक्षकको उपस्थितीदेखि क्रियाकलाप र नतिजालाई क्षणभरमै अभिभावकको हात हातमा पुर्याउने गरेको गाउँपालिकाका प्रवक्ता टिका संगम बिकले बताए । भौगोलिक विकटताका बाबजुद गाउँपालिकाले सबै वडामा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाको सहकार्यमा डिजिटल तथ्यांक रहने गरी सामाजिक सुरक्षाभत्ता गाउँ गाउँमा पुगेको हो । ‘प्रविधिले योजना निर्माण र कार्यान्वयनमा निकै सहज हुन्छ’ बिक भन्छन् । सडक, भवनजस्ता पूर्वाधारलाई मात्रै विकास मान्ने मानसिकताबाट गाउँपालिका मुक्त छ । सूचना र प्रविधिमा पालिकाले पूर्वाधार विकासको क्षेत्रमा जस्तै महत्व दिएर लगानी गरेको छ ।
प्रविधि प्रयोगका फाइदा
नेपालको संविधानले स्थानीय सरकारलाई पनि न्याय सम्पादनको अधिकार दिएको छ । कानूनले दिएको अधिकार प्रयोग गरेर काठेखोलाको स्थानीय न्यायीक समितिले न्याय सम्पादन गर्दै आएको छ । पालिकाबाट न्यायीक सेवा लिनका लागि पालिका मुकाममा रहेको न्यायीक समितिको कार्यालय पुग्नुपर्छ । निवेदनदेखि बहस र फैसलासम्मका प्रकृयाका लागि न्यायीक समितिसम्म पुग्दा सर्वसाधारणलाई घण्टौं समय र हजारौं खर्च व्यहोर्नुपर्ने हुन्छ । तर काठेखोलामा न्यायीक निवेदन दिनकै लागि न्यायीक समितिको कार्यालय पुग्नु पर्दैन ।
वडा कार्यालयमा पुगेपछि जो कोहीको निवेदन दर्ता हुन्छ । अनलाइन प्रविधिमा दर्ता हुने निवेदन सिधा न्यायीक समितिको कार्यालय पुग्छ । न्यायीक निरुपणका लागि आवश्यक प्रकृया पुरा गरेपछि झगडिया दुवै पक्षलाई न्यायीक समिति आउनुपर्ने भएमात्रै पालिका बोलाईन्छ । होईन भने वडामा रहेका मेलमिलापकर्तामार्फत छलफल, न्यायीक समितिको रायसमेतका आधारमा मिलापत्रसम्मका काम वडाबाटै हुन्छ । जुन विषयको निगरानी न्यायीक समितिले प्रविधिको प्रयोगमार्फत गर्ने न्यायीक समिति संयोजक समेत रहेका उपाध्यक्ष थापा बताउँछन् । “हामिले यसरी काम गर्दा नागरिकलाई खर्च र समय दुवै बचत हुन्छ, सेवाबाट बञ्चित पनि हुन परेन्” थापा भन्छन् “यो हामीले नयाँ अभ्यास गरेका हौं, निकै फलदायी बनेको छ ।”
शिक्षामा सफ्टवेयरको प्रयोगले पालिका कार्यालयमा नै बसेर अनुगमन गर्न सकिने उनले बताउँछन् । अभिभावकले आफ्नो बच्चाको विद्यालयमा उपस्थिती र पढाईको स्थिती घरमै बसेर जानकारी लिन पाउने भएकाले विद्यालय पुग्ने खर्च र समय बचेको थापा तर्क गर्छन् ।
स्वास्थ्य क्षेत्रमा प्रयोगमा ल्याएको इएचइएमआइएस सफट्वेयरले त बिरामीले कागज बोकेर हिंड्नुपर्ने झण्झट नै अन्त्य गरेको थापा बताउँछन् । ‘हाम्रोमा अपडेट भएको डाटा देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेर हेर्न मिल्छ,’ थापा भन्छन् ‘उपचार खोज्न जाँदा काजगात बिर्सियो, हरायो भनेर पुरानो बिमार थाहा नहुने भन्ने अब रहेन्, कागज बोकेर अस्पताल जानै पर्दैन् ।’ गाउँपालिकाले पारिवारीक स्वास्थ्य प्रोफाइल समेत बनाउने तयारी गरिरहेको छ । आउँदो आर्थिक वर्षमा डिजिटल प्रोफाइल अध्यावधिक गर्ने र पारिवारीक स्वास्थ्य प्रोफाइल तयार गर्ने काम सकिने थापा बताउँछन् ।
काठेखोला गाउँपालिकाको कार्यालय, मातहतका सबै शाखाहरु, दशवटा स्वास्थ्य संस्था, १३ वटा विद्यालय गाउँपालिकाले लागु गरेका विभिन्न सफटवेयर तथा एप्लिकेशनहरुमा आवद्ध छन् । गाउँपालिकासँग सूत्र डिजिटल प्रोफाइल, पाम्स्, सुशासन, जियो कृषि, डिजिटल इन्डोईन स्कृन लगायत १५ वटा सफ्टवेयर तथा एप्सहरु प्रयोगमा छन् । कृषिमा डिजिटल इन्डोइन स्कृनले किसानलाई रोगकिराको संक्रमणदेखि उपचारसम्म सहयोग गर्छ भने किसानको तथ्यांक राख्न जियो कृषिले सहयोग गरिरहेको छ । पाम्स नामको सफट्वेयर भने गाउँपालिकाले खरिद सम्बन्धि कामहरुको व्यवस्थापन गर्न प्रयोग गर्छ ।




