पर्वत/देशभर मौसमी वायुको प्रभाव कायम रहेको बेलामा पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशको लुम्लेमा सबैभन्दा बढी वर्षा मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा मापन गरिएको वर्षाको परिमाण अनुसार गण्डकीका ११ जिल्लामध्ये कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लुम्लेमा सबैभन्दा बढी वर्षा मापन गरिएको हो । जहाँ एक सय ३० दशमलव चार मिलिमिटर वर्षा भएको छ । यो अवस्थामा सतर्क रहनुपर्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
सामान्यतः वर्षाको अवस्था बढ्दै जाँदा हरियो, पहेँलो, गाढा पहेँलो र रातो रङले जोखिमको अवस्थालाई जनाउने गरिएको छ । हरियोले चेतावनी नभएको, पहेँलोले अद्यावधिक रहने, गाढा पहेँलो सतर्क रहने र रातोले प्रतिकार्य गर्ने भन्ने बुझाउँछ । देशभरमा नै सबैभन्दा बढी वर्षा हुने गरेको स्थान पनि लुम्ले नै हो। लुम्लेको नजिकै रहेको पञ्चासे केन्द्रमा नौ दशमलव चार मिलिमिटर, पोखरामा एक दशमलव आठ मिलिमिटर, कुश्मामा शून्य दशमलव दुई मिलिमिटर, कार्कीनेटामा शून्य दशमलव आठ मिलिमिटर वर्षा मापन भएको छ ।
लुम्लेपछि दोस्रो धेरै वर्षाको मापन बागमती प्रदेशको सेर्माथङमा भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको सेर्माथङ केन्द्रमा पछिल्लो २४ घण्टामा ८६ दशमलव मिलिमिटर वर्षा मापन भएको छ ।
बंगालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको साथै त्यस क्षेत्रहरूमा न्यून चापीय प्रणालीको प्रभावका कारण अब भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । शनिवार साँझदेखि सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन पनि विभागले अनुरोध गरेको छ ।





