पोखरा/राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमार्गको सरसफाइ गरिएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमार्गको सरसफाइ गरिएको हो ।
टान गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथप्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागीलाई प्रयोगात्मक कक्षा अन्र्तगत राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमार्गको सरसफाइ, हाइकिङ तथा क्याम्पिङ कार्यक्रम गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
फेवा तालको ड्याम साइडदेखि रानीवन, मेवाखोला हुँदै मार्गीसम्मको पदयात्रा मार्गलाई फेवा हाइकिङ पदयात्रा नाम दिइएको हो ।
राउण्ड फेवा भ्यू फेवा हाइकिङ पदमार्गको सरसफाइ, हाइकिङ तथा क्याम्पिङ कार्यक्रको समापनको अवसरमा बोल्दै पोखरा महानगरपालिका वडानम्बर २२ का अध्यक्ष हिमलाल बरालले यो पदमार्ग निर्माण सम्पन्न हुँदा फेवावतालको एक फन्को लगाउन सकिने र त्यसको लागि पदमार्ग स्तरोन्तिको काम भइरहेको बताए । आगामी आर्थिक वर्षमा करिब १३ किलोमिटर लामो पदमार्गको निर्माण सम्पन्न गर्ने वडाध्यक्ष बरालले जानकारी दिए ।





