
पोखरा/जेनतेन पढेर बिएड पास गरे । पढेलेखेको मान्छे, त्यत्तिकै बस्ने कुरा भएन । विदेश जाने मन आएन् । देशभित्रै रोजगारी खोज्दै भौतारिए । ३ महिना जति पोखराका दुई कम्पनीमा माकेटिङको काम गरे । भर्खर विहे गरेका थिए । तर जागिरबाट एक रुपैयाँ पनि बचेन । जागिरले केही हुँदोरहेनछ भन्ने बुझे, जागिर नखाने निधोमा पुगे ।
पोखरा–३१ लामास्वाँराका ४३ वर्षीय सूर्यप्रसाद लामिछानेलाई विदेश नगएको र जागिर नखाएकोमो कुनै चिन्ता छैन् । जागिरले खानसमेत पुराउन नसकेका लामिछानेले मौरी पालेर वर्षमा केही लाख सजिलै बचत गर्न सफल भइरहेका छन् । मौरीले मालामाल भएका यी मेहेनतीले आफुलेमात्र कमाएका छैनन्, केहीलाई नियमित रोजगारी पनि दिएका छन् । ‘जागिर र विदेश भनेर केही नगरी बसेको भए बर्बादै भइदोंरहेछ,’ उनले भने, ‘मौरी अहिले मेरो स्थायी जागीर बनेको छ । नाम र दाम दुवै कमाउन सफल भएको छु ।’
आफ्नै दाजु टंकप्रसाद लामिछानेले घरमै दुईचार घार मौरी पालेका थिए । मह काँढेर सूर्यलाई चाख्न दिन्थे । यो २०६३ सालको कुरा हो । आहा ! कति गुलियो । सूर्यलाई मौरी पाल्ने रहर जाग्यो । तत्कालै दाइसंगबाट २ घार मौरी किने ६ हजार रुपैयाँमा । बेगनासताल झरे । मौरी पालनसंगै मौरी घार उद्योग पनि सञ्चालनमा ल्याए । उद्योगका लागि सुरुमा जम्मा १० हजार मात्रै लगानी गरेका थिए । ‘जम्मा १६ हजार रुपैयाँ सुरु लगानी हो’, उनले भने, ‘त्यही मौरीले अहिले मालामाल भएको छु । मेरो जीवनमा ठूलो परिवर्तन ल्याइदियो ।’ मौरीमा यतिबेला उनको लगानी ८० लाख पुगेको छ ।
बेगनास मौरी घार उद्योग चलाएका उनकोमा अहिले १०० घार मौरी छन् । वार्षिक १२ सय किलोसम्म मह उत्पादन हुन्छ । मह १५ सय केजीसम्ममा बेच्छन् । यसैगरी आधुनिक घार तथा मौरीजन्य सामान बनाएर बिक्री गर्छन् । रित्तोघार ४ हजार, रानो मौरीसहितको घार १० हजार रुपैयाँमा उद्योगबाटै बिक्री हुन्छ । गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा मह र घार बिक्री हुन्छन् । बजारको समस्या छैन । मह काढ्नसाथ र घार बनाउनसाथ विक्री हुन्छ । आफु र श्रीमती लक्ष्मी चौबिसै घन्टा मौरीकै रेखदेखमा खटिन्छन् । ६ जनालाई नियमित र केहीलाई सिजन अनुसारको रोजगारी दिएका छन् । ‘सबै खर्च कटाएर मासिक डेढदुई लाख रुपैयाँ सजिलै कमाई भइरहेको छ’, लामिछानेले भने, ‘घरमै परिवारसंग बसेर यो कमाई, मानसम्मान् र विदेश भ्रमण अरुकोमा जागिर खाएर र बिदेश गएको भए कहाँ मिल्थ्यो ।’ आम्दानीले उनले घर घडेरी जोडेका छन् । केही रकम बचत छ । छोराछोरीलाई राम्रोसंग पढाएका छन् । भाँडा पसल खोलेका थिए । तर ६ महिना अगाडि त्यो बेचे ।
मौरी कसरी पाल्ने थाहा नभईनभई उनले मौरी पाल्न थालेका हुन् । अहिले त उनी प्रशिक्षकनै भएका छन् । देशमात्र नभई विदेशमासमेत प्रशिक्षकको रुपमा उनी जान थालेका छन् । अमेरिकी भोलुन्टियर संस्था पिसकोरका सदस्यलाई उनले तालिम दिएका छन् । मौरीकै अध्ययन तथा तालिमकाक्रममा देशका विभिन्न जिल्ला पुगेका छन् । भियतनाम, जर्मनी, फ्रान्सलगायत युरोपका केही देश, जापान, अमेरिका, अष्ट्रेलियाको भ्रमण गर्ने अवसर पाएका छन् । एक साता पछिनै उनी फेरी अमेरिका जान लागेका छन् ।
आफ्नो अनुहार र शरिरमा मौरी राखेर बेलाबेला थप आनन्द लिन्छन् । मौरीलाई माया गर्ने, उनीहरुको् मनोविज्ञान बुझ्नसके शरिरमा आएर बस्ने उनको भनाई छ । मौरीको हेरचाह र मौरीले मिलेर गरेको काम हेर्दा दिन बितेको पत्तै नहुने उनी बताउँछन । आफुलाई सूर्य भन्दा पनि मौरी भनेर बोलाइदिए खुशी हुन्छन् । मौरीजस्तै स्वतन्त्र भएर काम गर्न पाइने र कमाई पनि राम्रै भएकाले परिवारजन सबै खुशी छन् । उनले नेपाल सरकारबाट युवा उद्यमी पुरस्कारलगायत थुप्रै सम्मान र पुरस्कार पाएका छन् । ‘एउटा ठाउँ पेशा वा व्यवसायमा ‘अनफिट’ भएमा अन्यत्र ‘फिट’ कालागि थुप्रै बिकल्प हुन्छन्’ उनी भन्छन, ‘महिनाभरी खान पनि नपुग्ने जागिर छाडेकै कारण म आज यो अवस्थामा आईपुगेको हुँ । कुनै पनि पेशा वा व्यवसायमा लाग्दा आत्तिनु हुदैन, तत्काल फाइदा पनि हेर्नु हुदैन ।’ कुनै पनि क्षेत्रमा लगानी गर्नु पूर्व अध्ययन धेरै र लगानी कम गर्नुपर्ने उनको सुझाव छ ।
नेपालमा कुनै कुरा नसोंची तत्काल नाफामामात्रै केन्द्रीत हुने चलन भएकाले धेरैजना असफल हुने उनको अनुभव छ । ‘थोरै लगानी र सानै कामबाट सुरु गरेर अघि बढे एकदिन अवस्य सफल भइन्छ । यही सफल भए विदेश किन जाने,’ लामिछानेले भने, ‘विदेशिनु क्षणिकमात्रै हो । २÷४ वर्ष विदेश गएर फर्किएपछि फेरी बेरोजगार हुनुभन्दा यही काम गरे सधै स्थायी भइरहने र छोरानातिले पनि गर्ने वातावरण हुन्छ ।’ नेपालमै केही गर्ने योजना र चाहना हुने हो भने धेरै अवसर रहेको, स्रोतसाधनको अभाव नहुने र हरेक फुलको थुंगामा मात्र नभई हरिया पातहरुमासमेत डलर र हीरामोती फलाउन सक्ने विश्वास आफुले लिएको उनले बताए ।





