पोखरा/२०७९ साल पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो । चिनियाँ सहयोगमा निर्मित विमानस्थलको भव्य उद्घाटन गरिएको पनि उद्घाटनको झण्डै साढे २ वर्ष विमानस्थलमा इन्धन डिपो थिएन । त्यहाँ झर्ने र अवतरण गर्ने विमानको लागि पोखराकै पुरानो विमानस्थलमा रहेको इन्धन डिपोबाट ट्याङ्करमा इन्धन ओसारिन्थ्यो । पुरानो र नयाँ एयरपोर्टबीचको दूरी ३ किलोमिटरभन्दा बढी छ । दुई लेनको बाटोमा पेट्रोलियम पदार्थ बोकेर पु¥याउँदा सुरक्षा चुनौती पनि उस्तै थियो ।
तर, अब ती दिन सकिनै आँटेका छन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ इन्धन डिपो निर्माण भएको छ । डिपोको बिहीबार औपचारिक उद्घाटन गरिएको छ तर डिपोमै इन्धन भण्डारण र वितरण भने साउन लागेपछिमात्र हुने छ ।
नयाँ विमानस्थलमा १२ सय किलोलिटरका ३ वटा ठूला भण्डारण गृह तयार भएको पोखरा हवाइ इन्धन भण्डारगृह निर्माण परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।सुरक्षाका निम्ति १२ सय किलोलिटर क्षमताका पानी ट्याङ्की पनि सँगै राखिएको उनले बताए ।
‘पानी ट्याङ्कीसँगै डिपोको वरपर अग्नी नियन्त्रक (फायर फाइटिङ) प्रविधि जडान गरिएको छ,’उनले भने,‘हवाइ इन्धनजस्तो प्रज्ज्वलनशील पदार्थको जोखिमलाई मध्यनजर राख्दै १२ हजार लिटर क्षमताको फोम स्टोरेज ट्याङ्क पनि बनाइएको छ ।’बिहीबार अग्नी नियन्त्रण प्रणालीको परीक्षण प्रदर्शन पनि गरियो । कथंकदाचित आगलागी भएमा पानीसँगै फोम मिसाएर पानी प्रवाह हुन्छ । फायर फाइटिङ प्रयोजनको लागि २ सय ३० हर्स पावरका दुईवटा फाइर फाइटिङ डिजल पम्प,१५ हर्स पावर क्षमताको जक्की पम्प र ८ इञ्चको पाइप पनि जडान गरिएको परियोजनाका प्रबन्ध निर्देशक अशोक अर्यालले जानकारी दिए ।
‘यहाँ हवाइ क्षेत्रको नियमनकारी संस्था आइकाओ र अमेरिकन पेट्रोलियम इन्ष्टिच्यूटको सुरक्षा मापदण्डको इन्धन भण्डारण र पाइपहरु जडान गरिएको छ,’उनले भने,‘यहाँ जडित प्रविधिले पेट्रोलमा रहेको १ र ५ माइक्रोनसम्मको कणहरु शुद्ध बनाउँछ ।’
कुल ७५ करोडको लागतमा पम्प निर्माण भएको हो । भण्डारगृहको निर्माण २०८० सालको साउन १ गतेबाट सुरु गरिएको थियो । दुई वर्षमा सक्ने गरी सुरु गरिएको परियोजना समयमै सकिएको परियोजनाका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिए । त्यसो त, विमानस्थल निर्माण सुरु भएसँगै इन्धन डिपो बनाउने पहल सुरु भएको थियो । पोखरा विमानस्थल निर्माण सुरु भएसँगै २०७७ सालमा इन्धन डिपो निर्माणको टेन्डर आह्वान गरिएको थियो ।
तर, आह्वान गरे अनुसारका कम्पनीहरुले आवेदन दिएनन्। टेन्डर खोल्दा नै पनि कम्पनी योग्य नभएको भनियो । छनोट प्रक्रियामा असहमति जनाउँदै टेन्डरमा सहभागी कम्पनीले अदालत गुहा¥यो । जग्गा भाडामा लिने प्रक्रियाले पनि समय लियो । २०७९ साल पुुस १५ गते नागरिक उड्डयन प्राधिकरणसँग आयल निगमले जग्गा भाडामा लिने सम्झौता ग¥यो र डिपो बन्ने प्रक्रिया सुरु भयो । ९ हजार २ सय १५ बर्ग किलोमिटर क्षेत्रमा डिपो बनेको छ ।
अघिल्लो वर्षको साउनमै नेपाल आयल निगमनले पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीहरुलाई प्रति किलोलिटर हवाइ इन्धनमा १ सय अमेरिकी डलर छुट दिने निर्णय ग¥यो । यी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रवद्र्धन गर्न आयल निगमले सो निर्णय गरेको हो । तर, पोखरा विमानस्थलबाट हालसम्म कुनै पनि एयरलाइन्स कम्पनीले नियमित उडान गरेका छैनन् । केही चार्टर्ड उडान भए पनि त्यो दिगो छैन । एक किलोलिटर हवाइ इन्धनको ९ सय ५२ अमेरिकी डलर पर्छ । त्यसमा एक सय डलर छुट भनेको धेरै नै हो ।
‘हामीले छुट दिएको लामो समय भयो तर त्यसको उपयोग हुन सकेको छैन,’ नेपाल आयल निगमका उपनिर्देशक रामहरि निरौलाले भने, ‘अहिले निर्माण गरिएको इन्धन डिपो विदेशी उडान लक्षित हो । आन्तरिक उडानको लागिमात्र यति ठूलोमात्रामा इन्धन चाहिँदैन ।’ उनका अनुसार नेपाल आउने विभिन्न हवाइ कम्पनीहरुले उडानको दूरी हेरेर इन्धन भर्ने गर्छन् । खाडी मुलुकबाट आएकाले १५ के इन्धन खपत गर्छन् भने भारतबाट आउनेले सामान्यतयाः ५ सय लिटर इन्धन भर्ने गर्छन् ।
स्वदेशी सीपको नमूना
पोखरामा बनेको इन्धन डिपो पूर्ण स्वदेशी श्रम र पुँजीबाट बनेको र यसमा गर्व गर्नुपर्ने निर्माण पक्षको दाबी छ । नेपाल आयल निगमका उपनिर्देशक रामहरि निरौलाका अनुसार यो डीपो निर्माणको परामर्शदाता र निर्माणको जिम्मेवारी दुवै नेपालीले लिएका हुन् ।
हामीले यसअघि अमलेखगञ्जमा पनि डिपो बनायौँ तर त्यहाँ हाम्रो प्रविधि र सीप थिएन,’उनले भने,‘अहिले यो परियोजना नेपाली इन्जिनियरले नै बनाएका हुन्, यसमा हामीले गर्व गर्नुपर्छ ।’परियोजनाका परामर्शदातामा नेपाल इञ्ज्निियरिङ कलेज रहेको थियो । कलेजका सहायक डीन नारायण गौतमले भारतसँगको प्राविधिक निर्भरता अन्त्य,नेपाली विशेषज्ञता पुष्टि गर्नुका साथै अत्याधुनिक प्रविधि आत्मसातका दृष्टिले यो डिपो नमूना भएको बताए । नेपाल आयल निगमको ५५ वर्षको इतिहासमा नेपालीले नै सम्पन्न गरेको यो कामले भविष्यको ढोका खोलेको परियोजना प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले घोषणा गरे ।





