बागलुङ/बागलुङ नगरपालिकाका ग्रामिण क्षेत्रमा सञ्चालित बजारमा म्याद गुज्रेका खाद्य सामग्री छ्यापछ्याप्ती फेला परेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च र बागलुङ नगरपालिकाले सोमबार संयुक्त रुपमा गरेको अनुगमनमा म्याद गुज्रेका खाद्य सामग्री फेला परेको हो ।
अनुगमन टोलीले बागलुङ नगरपालिकाको वडा नं. ४ देखि ७ सम्मका स्थानीय बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा विशेषगरी हावा भरिएका कुरकुरे, चिप्सजस्ता बालबालिकाले धेरै प्रयोग गर्ने खाद्य सामग्रीमा म्याद गुजे्रको भेटिएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । अनुगमन टोलीले चार वडाका तीसभन्दा धेरै पसलहरुमा अनुगमन गरेको थियो । अनुगमन गरिएकामध्ये अधिकांश पसलहरुमा चिप्स, स्टिक, चकलेट लगायतका सामग्री म्याद गुज्रेका भेटिएका श्रेष्ठले जानकारी दिए ।
म्याद गुज्रेका सामग्री स्थानीय जनप्रतिनिधिको रोहबरमा तत्कालै नष्ट गरिएको छ । ‘बालबालिकाले प्रयोग गर्ने अधिकांश खाजाजन्य खाद्य सामग्रीहरु धेरै म्याद गुज्रेको भेटियो,’बागलुङ नगरपालिकाका अनुगमन अधिकृत सरस्वती रेग्मीले भने,‘एक पटकका लागि सचेत गराईएको छ, अर्को अनुगमन गर्ने क्रममा पनि सुधार नआए नियमानुसार कानूनी कारवाही गर्छौँ ।’
अनुगमनका क्रममा अनुमति नलिइ मदिराको बिक्री गर्ने गरेको, पसल तथा फर्महरु दर्ता नै नगरी सञ्चालन गरेको, एउटै सटरबाट मासु, औषधि, खाद्यान्न, स्टेशनरी, खाद्यान्न, लत्ताकपडासमेत बिक्री गर्ने गरेको पाइएको थियो । बागलुङ नगरपालिका र उपभोक्ता मञ्चको संयुक्त प्रयासमा हरेक वर्ष स्थानीय बजारहरुको अनुगमन हुने गरेको छ । उपभोक्ता अधिकारको रक्षाका लागि सरोकारवाला सबैको संयुक्त प्रयासमा अनुगमन गरिएको पर्यटन कार्यालयका अधिकृत विष्णुनाथ शर्माले जानकारी दिए ।





