पर्वत/जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाको थुमीमा रहेको एक व्यावसायिक कृषि फार्ममा भएको आगलागीबाट गोठ जलेर नष्ट भएको छ ।
फलेवास नगरपालिकाकी उपप्रमुख शोभा कुमारी क्षेत्रीका अनुसार स्थानीय कृषक डिल बहादुर कुँवरको गोठमा भएको आगलागीबाट गोठ पूर्ण रूपमा जलेर क्षति भएको छ । व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएका कृषक कुँवरको गोठमा रातको समयमा अचानक आगलागी भएको हो । आगलागीबाट जोगाउन चौपायालाई समयमै सुरक्षित स्थानमा सार्न सकिएको भए पनि चौपायाको आहारको लागि राखिएका दाना, बाख्राको खोर लगायतका सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
फलेवास नगर कार्यपालिकाको र्काालयबाट करिब डेढ किलोमिटरको दूरीमा रहेको स्थानमा आगलागी भएको हो । लामो समयदेखि व्यावसायिक रूपमा कृषिमा जोडिँदै आएका कुँवरले व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आइरहेका छन् । उनको गोठभित्र एक भैँसी सहित २२ वटा बाख्राहरू बाँध्ने गरिएकोमा आगलागीको बेलामा समयमै थाहा पाउँदा चौपाया हुन सक्ने क्षति जोगिएको उपप्रमुख क्षेत्रीले बताइन् ।
‘रातीको समयमा आगलागी भएको रहेछ । आगलागी भएको कुरा समयमा नै थाहा पाएकाले भैँसीको दाम्लो काटेर बचाउनुभएछ । बाख्रा पनि खोरबाट निकाल्न भ्याउनुभएछ’, उनले भनिन, ‘गोठमा रहेको दाना, पराल, दाउरा लगायतका अन्य भौतिक सम्पत्तिमा धेरै क्षसत भएको छ । उहाँलाई पालिकाको तर्फबाट के राहत दिन सक्छौँ, तत्कालीन र दीर्घकालीन रूपमा गर्ने छौँ ।’ गोठभर हुने गरेका बाख्रालाई अब सुरक्षित तरिकाले राख्न समस्या भएको भन्दै उनले कृषकको साथमा आफूहरू रहेको बताइन् ।
नगरपालिकाको कार्यालय नजिकै आगलागी हुँदा समेत दमकल नहुनु दुःखद भएको भन्दै स्थानीयवासीले नगरपालिकाले दमकल खरिद गरेर तयारी अवस्थामा राख्नुपर्ने माग गरेका छन् । नगरपालिकामा दमकल नहुँदा बाल्टीमा पानी बोकेर आगो नियन्त्रण गर्नुपर्ने अवस्था रहेको र त्यसले उद्धारकर्ताहरूलाई समेत जोखिममा पार्ने गरेकोले स्थानीय तहमा कम्तीमा एउटा दमकल आवश्यक हुने स्थानीय शिक्षक ओमकार पौडेलेले बताए ।
कृषिमा आधारित ग्रामीण जीवनशैलीमा गोठ केवल चौपायाको थलो मात्रै नभएर किसानको आयस्रोत, सपना र भविष्यको आधार पनि भएकोले यस्ता घटनाबाट सुरक्षित राख्न स्थानीय तहले पनि पूर्व तयारी गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।





