तस्बिर : महेन्द्र घर्ति संगम
बागलुङ/ताराखोला गाउँपालिकाको सामुदायिक वनमा भीरमह सिकार गरिएको छ । ताराखोला वडा नं. ५ मा पर्ने जुल्फे र ठूलोभिर सामुदायिक वनको भीरमा मह सिकार गरिएको हो । जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीका अनुसार, यसवर्ष डेढ सय लिटर मह काढिएको छ ।
गत वर्ष जुल्फे र ठूलोभीरमा दुई सय साठी लिटर मह काढिएको थियो । ‘जलवायु परिवर्तनको असरले होला यसवर्ष मह उत्पादन घट्यो,’ घर्तीले भने । भीरमहको शिकारमा स्थानीय ६० जनासम्म सहभागी थिए । परम्पराका रुपमा भिरमहको सिकार हुँदै आएपनि यसलाई व्यावसायिक बनाउने घर्तीले योजना सुनाए ।
डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थी एक वर्ष मह उत्पादन बढ्ने अर्काे वर्ष घट्यो भने त्यसलाई जलवायु परिवर्तनको अवसर भन्न नमिल्ने बताउँछन् । ‘माहुरीलाई मह बनाउन आवश्यक पर्ने पानी र फूल चाहिन्छ,’ पन्थीले भने, ‘महका लागि अनुकुल समयमा पानी नपर्ने र फुल नफुल्दा मह उत्पादन घट्न सक्छ ।’ लामो समयको अन्तरालमा मह उत्पादन बढ्ने र घट्ने भएमा त्यसलाई जलवायु परिवर्तनको असर भन्न सकिने डिभिजन प्रमुख पन्थीको भनाइ छ ।
मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताए । यसवर्ष मह कम हुँदा समूहमा नराखी कामअनुसार बाँडफाँड गरिएको घर्तीले बताए । एक लिटर महलाई १५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । औषधिजन्य गुण र स्वास्थ्यबद्र्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिरमह प्रयोग गर्छन् ।
कुनै वर्षमा दुई याममा मह पाइने भएपनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ । मह सिकार जोखिमपूर्ण हुँदा जो कसैले सजिलै सिकार गर्न सक्दैनन् । जिजुबाजेले सिकाएको मह सिकारको ज्ञान र सीपलाई अँगाल्दै हरेक वर्ष ताराखोलामा मह सिकार हुँदै आएको घर्तिले बताए । लेकाली चोयाँ र काठबाट बनेको पराङ मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरु भीरमा पुग्छन् । सुथरी चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको छ ।
जैविक गाउँपालिकाका रुपमा परिचित ताराखोलाले ग्रामीण पर्यटन प्रवद्र्धनमा भिरमहलाई जोड्ने योजना बनाएको अध्यक्ष धनबहादुर विक ‘हिमाल’ बताउँछन् । पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षण बन्न थालेको विकको बुझाइ छ । मह सिकारलाई साहसिक पर्यटनसँग जोड्न सके समृद्विमा पुग्न सकिने विकले बताए ।





