पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गरेको छ ।
आयोगले पौडेलले ६ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । पदीय मर्यादाविपरित पौडेलले भ्रष्टाचार गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा ६ करोड २६ लाख ९३ हजार एक सय २९ रुपैयाँ सम्पत्तिको स्रोत पुष्टि नभएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन् ।
अख्तियारका अनुसार विस २०५४ माघ ८ गते सेवा प्रवेश गरेका पौडेलले ०८० कात्तिक १० गतेको अवधिमा आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टचार गरेको पुष्टि भएको अख्तियारको ठहर छ । पौडेलले आफ्नो सम्पत्ती पत्नी हुमाकुमारीको नाममा राखेर सम्पत्ति विवरणमा नखुलाएको पाइएको छ ।
लेखा अधिकृत पौडेल उनकी पत्नी हुमा कुमारीलाई समेत प्रतिवादी बनाए भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम उक्त सम्पत्ति जफत र कैद सजायको माग गर्दै आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता पौडेलले जानकारी दिए ।





