पर्वत/असारको अन्तिमतर्फ आइपुग्दा गण्डकी प्रदेशमा झन्डै ५६ प्रतिशत खेतमा रोपाईँ सम्पन्न भएको छ ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका अनुसार ११ जिल्ला रहेको प्रदेशमा मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा धान रोपाइँ हुने गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कुल ९४ हजार एक सय ८२ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइने अनुमान गरिएकोमा हालसम्म यो मध्येको ५५ दशमलव ५९ अर्थात् ५२ हजार तीन सय ५३ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
निर्देशनालयका अनुसार सबैभन्दा बढी लमजुङमा झन्डै ७३ प्रतिशत रोपाइँ सकिएको छ । त्यहाँको नौ हजार दुई सय ९९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा छ हजार सात सय ८४ हेक्टरमा रोपाइँ पूरा भएको छ । यस्तै तनहुँमा आठ हजार सात सय २० हेक्टरमध्ये पाँच हजार एक सय ८० हेक्टर अर्थात् ५९ प्रतिशतमा, गोरखामा १० हजार एक ४० हेक्टरमध्ये चार हजार ८० अर्थात् ४० प्रतिशतमा, कास्कीमा १६ हजार दुई सय २० मध्ये १० हजार १५ अर्थात् ६२ प्रतिशतमा रोपाई भएको तथ्याङ्क छ ।
यसैगरी सात हजार एक सय ८० हेक्टरमा बर्खे धान लगाइने अनुमान गरिएको पर्वतमा दुई हजार आठ सय ७२ हेक्टर अर्थात् ४० प्रतिशतमा, स्याङ्जाको १४ हजार तीन सय ९० हेक्टरमध्ये सात हजार चार सय ८३ अर्थात् ५२ प्रतिशतमा, म्याग्दीको तीन हजार आठ सय छ हेक्टरमध्ये एक हजार नौ सय ४१ अर्थात् ५१ प्रतिशतमा, बागलुङको पाँच हजार सात सय सात हेक्टरमध्येको तीन हजार एक सय ३८ अर्थात् ५५ प्रतिशतमा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को १८ हजार सात सय २० मध्येको १० हजार आठ सय ६० अर्थात् ५८ प्रतिशतमा रोपाइँ भएको निर्देशनालयले बताएको छ ।
धान उत्पादनका लागि गोरखाको छेवेटार, भुसुन्डेफाँट, पालुङटार, लमजुङको मध्यनेपाल, भोर्लेटार, नेटा, तनहुँको भानु नगरपालिकाका सबै वडाहरू र व्यास, कास्कीको मादी गाउँपालिकाको मकै खोला र हाडी खोला, पर्वतको फलेवास नगरपालिकाको सिमखेत र साझाखेत, स्याङ्जाको पुतलीबजार नगरपालिकाको वडा नं. १, ४, ११, १२, १३ र १४, म्याग्दीको रत्नेचौर, ज्यामरुककोट र अर्थुङ्गे, बागलुङको निशिखोला, बरेङ र गलकोट तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती, मध्यविन्दु र गैँडाकोट लगायतका ठाउँहरू प्रख्यात रहेका छन् ।
यी ठाउँहरूमा सावित्री, रामधान, सुक्खा–१, सावा, जेठोबुढो, पहेँले, गुर्दी, एक्ले, झिनुवा, पोख्रेली, सावा मन्सुली, जर्नेली सहित स्थानीय जातका धानहरू लगाउने गरिएको छ ।





