बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय छलफल

योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय छलफल


  • ढोरपाटन संवाददाता
  • असार २६ २०८२, बिहिबार

पोखरा / गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराको समन्वयमा कर्मचारी सञ्चय कोष शाखा कार्यालय पोखराद्वारा आयोजित योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकीका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा कोषका सहप्रशासक जीवनकुमार कट्वाल¸ विभागीय प्रमुखद्वय दामोदरप्रसाद सुवेदी र विरेन्द्र पौडेल¸ गण्डकी प्रदेश सरकारका सबै मन्त्रालयका सचिवहरू, गण्डकी प्रदेशका सम्पूर्ण मन्त्रालय, प्रदेशस्तरीय आयोग एवं प्रदेश अन्तर्गतका निर्देशनालयका निर्देशकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोषको निवृत्तभरण व्यवस्थापन तथा सामाजिक सुरक्षा विभागका विभागीय प्रमुख विरेन्द्र पौडेलले योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रसँग सम्बन्धित जिज्ञासाहरूको समाधान कार्यपत्र प्रस्तोता र कोषका सहप्रशासक जीवनकुमार कट्वालले गरेका थिए । कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकालले कानून निर्माणमा सहजीकरण तथा आगामी दिनमा कर्मचारी सञ्चय कोषले पोखरा आवास आयोजना जस्तै अन्य क्षेत्रमा पनि सोही प्रकृतिका आवास आयोजना निर्माण गरी सञ्चयकर्तालाई वितरण गर्नुपर्नेमा जोड दिए ।

कट्वालले संघीय निजामती¸ नेपाली सेना¸नेपाल प्रहरी¸ सशस्त्र प्रहरी र सार्वजनिक निकायका कर्मचारीहरुको सञ्चय कोष र योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्थापन कोषले गर्दै आइरहेको बताए । यस सन्दर्भमा गण्डकी प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई २०७६ साउन १ गतेपछि नियुक्त हुने गण्डकी प्रदेश तथा स्थानीय तहमा कार्यरत प्रदेश निजामती कर्मचारीहरुको योगदानमा आधारित निवृत्तभरण व्यवस्थापनको लागि गण्डकी सरकारले पनि योगदानमा आधारित निवृत्तभरण कोष ऐन तर्जुमाको आवश्यकता औंल्याए । अनुभवी संस्थाको हैसियतमा सो को प्रभावकारी व्यवस्थापन गर्न कोष सक्षम रहेको उनको भनाई थियो । संघीय कर्मचारीहरुको निवृत्तभरण व्यवस्थापन गर्दै आईरहेको कोषले विभिन्न सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको सन्दर्भमा प्रदेश सरकारको दायित्व कम हुने उनको भनाई थियो । प्रदेश सरकार एवं स्थानीय तहमा पनि संघीय कानून अनुरुपको कानून निर्माण गरी सबै प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न प्रदेश सरकारले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

प्रमुख अतिथि सुवेदीले नेपाल सरकारको आ.व. २०८२र०८३ को बजेटमा प्रस्तुत गरिएको एक लाख कर्मचारी आवास योजना निर्माण गरी सञ्चयकर्तालाई वितरण गर्ने कार्यक्रम रहेकोले सो सम्बन्धमा कर्मचारी सञ्चय कोष मार्फत आयोजनाको निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए । गण्डकीमा योगदानमा आधारित निवृत्तभरण सम्बन्धी ऐन निर्माणको कार्य अगाडी बढेको र सो को व्यवस्थापन कर्मचारी सञ्चय कोषले नै गर्नेमा विश्वस्त रहेको उनको भनाई थियो ।

कोषको शाखा कार्यालय पोखराका प्रमुख मदन सुवेदीले हालसम्म विभिन्न कार्यक्रम तथा योजनाहरूमा कर्मचारी सञ्चय कोषले काँधमा काँध मिलाउदै आइरहेको स्मरण गराउँदै आगामी दिनमा समेत सहकार्य गर्दै अगाडि बढ्ने धारणा व्यक्त गरे । कानून निर्माण गर्ने कार्यमा कर्मचारी सञ्चय कोष निरन्तर सम्पर्कमा रहिरहने उनले प्रतिवद्धता जनाए । पोखरा कार्यालयका प्रमुख सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक प्रबन्धक पारसमणी भण्डारी र उप प्रबन्धक रामप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->