बागलुङ/किसानको उत्पादनको मूल्य कहिले बढ्छ ? काठेखोला गाउँपालिका ६ का किसान सुरेश कंडेलले प्रश्न गरे । लागत महंगो छ, बजार मूल्यमा उत्पादन बेच्दा किसानलाई फाइदा नै छैन । त्यसपछि किसानका छोराछोरी झोला बोकेर बिदेश निस्कन्छन् ।
कंडेलले गाउँमा युवालाई कृषि पेशामा अड्याउन उचित बजार मूल्य र उत्पादनकालागि अनुदानको व्यवस्था हुनुपर्ने माग गरे । उनले जिल्लाका जिम्मेवार निकायले किसानको पक्षमा वकालत गरिदिन पनि माग गरेका छन् । कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले चालु बर्ष संचालन गरेका कृषि तथा पशु बिकासका कार्यक्रमको संयुक्त अनुगमनको क्रममा किसानले ती माग तेर्साएका हुन् ।
किसानले सुन्तला बालीलाइ निर्यातमुखी बनाउन सकिने भन्दै उत्पादन बढाउने गरी राज्यका निकायको साथ चाहिएको बताए । सुन्तलासँगै अलैची र अदुवाको व्यवसायिक खेती गर्न सकिने भएकोले किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम पनि ल्याउन उनीहरुले माग गरे ।
बिहिवार तीनवटै संस्थाको साझा अनुगमन भएको थियो । अनुगमनको क्रममा काठेखोला ६ को नमूना दुध उत्पादक सहकारी र बिहुँकोट साना किसान सहकारी संस्थाका किसानका गतिविधि सरोकारवालाले नियालेका थिए । मध्यपहाडी लोकमार्गको छेवैमा रहेकोले बिहुँका किसानले उत्पादन गरेका नगदेबालीहरु सहजै बिक्री गर्न सकिने स्थानीय थानेश्वर कंडेलले बताए । ‘काम गर्न सके राम्रो उत्पादन हुने जमिन छ, बजारलाई पनि दुःख छैन’ कंडेलले भने, ‘युवापुस्तालाइ दूध उत्पादनमा लगाउन भने कठिन छ ।’ लागत बढी, दुःख लगायतको कारणले युवाहरु पशुपालनमा आर्कर्षित नभएको उनले बताए ।
एउटै भैसीलाई २ लाख रुपैयाँसम्म पर्ने भएपछि किसानले लगानी गरेर प्रतिफल पाउन ढीला हुने गरेको उनको अनुभव छ । ‘चितवनदेखि २ लाख लगानी गरेको भैसी ल्याएर कम्तिमा २ बर्ष दैनिक ५ लीटर दुध बेच्न नसके किसानले साबाँ पनि उठाउन सक्दैनन्’ उनले भने, ‘किसानले बजार पाउने मात्र नभइ औषधी र दानापानीमा केही अनुदान पाउन नसके काम गर्ने वातावरण नै बन्दैन ।’ परंपरागत रुपमा कृषिबाली र पशुपालन गरिरहेकाहरुले मात्र भैसीपाल्ने काम गरिरहेको उनले बताए ।
तरपनि वडा नंं ६ को नमूना दुध उत्पादक सहकारी संस्थामा आबद्द भएर १ सइ २१ किसानले गाईभैसी पालन गरेका छन् । पशुपालनबाट किसानले उत्पादन गरेको दूधमा भेटेनरी तथा पशु बिज्ञ केन्द्र बागलुङले दूधमा प्रति लीटर ५ रुपैयाँ अनुदान समेत दिएको केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताए । यो अनुदानले किसानलाई उत्पादनमा प्रोत्साहित बनाएको उनको भनाइ छ ।
उक्त सहकारीका कोषाध्यक्ष टंक कंडेलका अनुसार उक्त सहकारीका किसानले चालु बर्षको १० महिनामा ९७ हजार ८ सय लीटर दुध उत्पादन गरेर अनुदान समेत पाएको बताए । उक्त अनुदानले किसानहरु उत्साही भएका छन् । किसानले अझै उचित मूल्य नपाएको भन्दै दुधको मूल्य बढाउन पनि माग गरेका थिए ।
बिहुँकै साना किसान सहकारी संस्थामा आबद्द भएका किसानले भने सुन्तलाखेतीलाई व्यवसायिक बनाउन लागेका छन् । उनीहरुले १२ वटा ब्लकबाट झण्डै ५ करोडको सुन्तला कारोवार गरेको प्रबन्धक दधीराम कंडेलले जानकारी दिए । उनका अनुसार अहिले सम्म यहाँ २५ हजार बोटमा सुन्तला फलेका छन् भने ३ हजार बोट फल्ने अबस्थामा पुगेकोले थप उत्पादन बढाउन सकिने पनि बताए ।
सुन्तला उत्पादनकालागि कृषि ज्ञान केन्द्र बागलुङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाले पनि साथ दिएको कंडेलले जानकारी दिए । हाल सम्म सुन्तला जोन कार्यक्रमबाट ५ लाख ९८ हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट २ लाख ८३ हजार, ज्ञान केन्द्रबाट ५० प्रतिशत अनुदानमा ९ लाख ५० हजार रुपैयाँ बढीको अनुदान पाएको समेत उनले जानकारी दिए । त्यस बाहेक भ¥र्याङ, क्रसकट मेसिन, मिनिटिलर हलो, प्लाष्टिक ट्यांकी र ११ वटा पोखरी निर्माणमा साथ पाएको बताए । साथै १६ एमएम देखि ४० एमएमको ४ हजार ६ सय ७० मीटर पाइप समेत पाएर कृषि उत्पादनमा सहज भएको किसानले बताए । तीनवटै सरकारी संस्थाले ग्रामीण क्षेत्रमा कृषि उत्पादन बढाउन साथ दिएकोले अनुगमनलाईपनि संयुक्त बनाइ किसानबाट सुझाव पनि संकलन गरिएको छ ।
सिगाना स्थित गणेश कृषि सहकारी संस्था र तोरीखोला भगवती कृषि सहकारी संस्था मार्फत सुन्तला उत्पादनमा जोड दिइएको छ । गणेश कृषि सहकारी तर्फ १२ हजार बिरुवाले उत्पादन दिइरहेको अध्यक्ष रामबहादुर खड्काले बताए । यहाँ ४० हजार बिरुवा थप लगाइएको छ । ती बिरुवाले केही समयमा उत्पादन दिने तयारीमा छन् । त्यस बाहेक तोरीखोला भगवती कृषि सहकारीले २५ हजार सुन्तला लगाएको छ । ती सबै सुन्तलाले उत्पादन दिंदा किसानको आयस्तर समेत बढ्ने अध्यक्ष झकेन्द्रबहादुर क्षेत्रीले बताए । यो अभियानकालागि समेत किसानले ज्ञान केन्द्रबाट ५० प्रतिशत अनुदान पाएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, सहायक प्रजिअ पुष्पराज पौडेल र समन्वय अधिकारी कृष्णराज गौतम लगायत सरोकारवालाले संयुक्त रुपमा जिल्लाका विभिन्न स्थान अनुगमन समेत गरेका छन् । अनुगमनको क्रममा जैमिनी ९ का गंगाबहादुर थापाले जग्गा भाडामा लिएर सुन्तला नर्सरी संचालनको तयारी गरेको बानपा ६ स्थित फर्म, ढोरपाटन नगरपालिका ४ का कोपिल बुढाथोकी र रिममाया बुढाथोकीले संचालन गरेको कृषि तथा च्याउ फर्म र गलकोट नगरपालिका ११ का भविन्द्र बिकले संचालन गरेको उन्नत कृषि फर्म समेत अनुगमन गरिएको हो । ती फर्ममा तीनवटै संस्थाले लगानी समेत गरेका छन् । फर्मबाट किसानले बजारमा उत्पादन पठाएर आम्दानी समेत गरिरहेका छन् ।





