बागलुङ/कृषि क्षेत्रमा नाम कमाएका जैमिनी नगरपालिका वडा नं. ९ का गंगाबहादुर थापाले अटोमेसन विधिबाट नर्सरीमा सिंचाइको व्यवस्थापन गरेका छन् । यो जिल्लामै पहिलोपटकको प्रयोग हो ।
बागलुङ नगरपालिका ३ को गांैडाकोटमा भेटिने थापा अहिले यो विधिकालागि पञ्चकोट पुगेका छन् । बानपा ६ को ५ रोपनी जमिन भाडामा लिएर उनले अटोमेसन अर्थात विद्युत र इन्टरनेटको प्रयोगले सिंचाइ गर्ने नर्सरी बनाएका छन् । गौंडाकोटको तरकारी फर्मबाटै उनले बार्षिक १५ देखि २० लाख रुपैयाँ त तरकारी बेचेर कमाइरहेका छन् । अहिले उनी तरकारी खेतीमामात्र सीमित नभएर नयाँ विधिको उपयोग गरेर फलफूल बिस्तारमा पनि लागेका छन् ।
बागलुङ जिल्लामै नमूना प्रविधिसहित सुन्तलाको नर्सरी बनाएर थापाले स्थानीयलाई चकित पारेका छन् । बसाइ सरेर रित्तिन लागेको बागलुङ नगरपालिका वडा नंं ६ को भास्सा, पञ्चकोट र आसपासको स्थानमा सुन्तलाको वृहत नर्सरी बनाएका हुन् । वार्षिक ३० हजार भाडा तिर्ने गरी स्थानीयको ५ रोपनी जमिन लिएर उनले ‘पञ्चकोट कृषि नर्सरी’ थालेको बताए । टाइफ्लेट नामक जंगली तिनपाते बिरुवाको जरामा स्थानीय खोकु जातको सुन्तलालाई कलमी गरेर विषम हावापानी सहने बिरुवा उत्पादनमा लागेका हुन् ।
प्लाष्टिक टनेल र जाली लगाएको नर्सरीमा हावा सहजै खेल्न सक्छ भने किराहरु छिर्न सक्दैनन् । यो टनेल अटोमेसन प्रविधिको छ । बानपा ३ स्थित घरमा बसेर उनले नर्सरीमा सिंचाइ गर्न सक्छन् । बिरुवामा आवश्यकता अनुसारको पानी राख्नकालागि उनले अटोमेसन प्रविधि जोडेका हुन् । ‘समय छँदा फर्ममा काम गर्छु, छिमेकीलाई पनि सिकाएको छु तर समय नभएमा घरमै बसेर मोवाइलको सहायताले सिंचाइ गर्छु,’ उनले भने, ‘बिद्युत र नेटवर्कमा समस्या भएमा धारोबाट थोपा सिंचाइ गर्ने विधि पनि जडान गरेको छु ।’
यो विधिकालागि उनले २० लाख खर्च गरेका छन् । हाल उनको यहाँमात्रै ५ वटा हाइटेक टनेल छन् । ती मध्ये एउटामा गोलभेडा र अर्कोमा खुर्सानी पनि लगाएका छन् । मौषमी तरकारी समेत छ । त्यसलाई भने नियमित आम्दानीको श्रोतको रुपमा उपयोग गर्ने थापाले बताए । यो अभियानकालागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि प्रविधि र लागत साझेदारीमा साथ दिएको छ । परियोजनाबाट हाल ४ लाख लगानी पाएका थापाले व्यवस्थित फर्म संचालनकालागि सहयोग मिलेको बताए ।
परियोजनाका प्रमुख नारायण पौडेलले जिल्लामै नमूना र नविनतम प्रविधि उपयोग गरेकोले यो फर्म उदाहरणीय बनेको बताए । साथै आम किसानलाई देखाउन मिल्ने स्थल भएकोले किसानहरुको सिकाइ आदानप्रदानकालागि पनि उत्तम स्थल बनेको पौडेलको भनाइ छ । थापाले भने एकडेढ वर्षमा यो क्षेत्रका किसानको बारीबारीमा यस्तै प्रकृतिको नर्सरी बनाउने, बाँझीएको जमिनमा सुन्तला फलाउने र बिदेश पुगेका युवालाई गाउँ फर्काउने वातावरणमा लागेको दावी गरे । ‘केही हुने रहेछ भन्ने लाग्यो भने विदेश गएका युवा फर्काउन सकिन्छ,’ उनले भने, ‘बिदेशको जत्तिकै कमाइ हुने गरी किसानलाई प्रोत्साहन गर्न जग्गा भाडामा लिएर काम गरेको छु ।’
थापाले म्याग्दीको भकिम्लिमा पनि समूहमा मिलेर १ सय रोपनी जमिनमा सुन्तला, किवी र अन्य तरकारीसमेत लगाएका छन् । थापाले अहिले तीन स्थानमा कृषिका आर्कषक फर्म संचालनमा ल्याइसकेका छन् । तीनवटै फर्मलाइ जोडेर कृषि पर्यटन प्रवद्र्दनको कार्यक्रममा पनि जोड्ने लक्ष्य बनाएको थापाले बताए ।
अहिले पनि उनको बारीमा फोटा खिच्न आउनेहरु धेरै हुन्छन् । उनले फलाएको फसल मात्र हैन उनको मिहिनेत बारे जान्ने धेरै छन् । सहकारी भ्रमणमा आउनेहरुले त थापालाई खोजीखोजी भेट्ने गरेका छन् । ‘मलाई राज्यले लगानी धेरै गरेको छ, त्यसैले खान पुग्ने काम मात्र नभइ किसानको हितमा पनि काम गरेको हुँ,’ थापाले भने, ‘अझै १५ बर्ष मेहेनत गरियो भने धेरै किसान गाउँमै रमाउने गरी कृषि पेशामा लाग्छन् ।’ धार्मिक पर्यटकको चहलपहल बढेको पञ्चकोट केही वर्षमै कृषि पर्यटनको गन्तव्य बनाउने लक्ष्य पनि उनले बताए । परियोजनाका प्रमुख पौडेल, कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र सिलवाललगायतका विज्ञले पनि उनको मिहिनेतले केही परिवर्तन गर्न सकिने संभावना देखिएको बताए ।
२०७२ सालमा नेपाल सरकारले थापालाई नै पहिलो किसान परिचयपत्र पनि दिएको थियो । उनको मिहिनेतबाट प्रभावित भएका तत्कालीन मुख्य सचिव लिलामणि पौडेल बागलुङ नगरपालिका ३ को गौंडाकोट आएर उक्त परिचयपत्र दिएका थिए । त्यतिबेलै थापाले ३५ रोपनीभन्दा बढी जमिन भाडामा लिएर तरकारी खेती गर्थे । उनी संलग्न मिर्मिरे कृषि सहकारी संस्थामा अहिले पनि १ सय ५० बढी किसान आबद्द छन् । थापाकै अगुवाइमा यहा“का किसानले व्यवसायिक कृषि पेशा गरेर बागलुङ बजारमा तरकारी पठाउने गरेका छन् ।
थापा २०५७ देखि व्यावसायिक कृषि पेशामा संलग्न छन् । त्यसअघि पनि घरमा परंपरागत खेतीपाती गरेको थापा परिवारबाट गंगाले व्यावसायिक कृषि पेशा अंगाल्ने योजना बनाए । कुश्मीसेरा बजारमा ३ बर्ष सम्म जग्गा भाडामा लिएर खेती गरेपछि सदरमुकाम आएका थापाले बानपा ३ को गौडाकोटमा पुगेका थिए । बजारका ‘रामचन्द्र साहु’को पुरानो गोठ भाडामा लिएर कृषि थालेका थापाकै अगुवाईमा झण्डै १ हजार रोपनीमा फैलिएको गौंडाकोटसहित नजिकैको बुकेनी, बोक्से, तित्याङको ठूलोढुंगा सम्मका किसान उत्पादनमा जोडिएका छन् ।





