आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आकासे पानीको भरपर्ने दम्कफाँटमा अब लिफ्टबाट सिंचाइ

आकासे पानीको भरपर्ने दम्कफाँटमा अब लिफ्टबाट सिंचाइ

लिफ्ट सिंचाइ आयोजनाबाट पानी आउन थालेपछि स्थानीयमा उत्साह थपिएको छ । झण्डै ४ सय किसानको खेत रहेको दम्कमा लामो प्रयासबाट पानी आइपुगेको छ ।


  • ढोरपाटन संवाददाता
  • असार ३० २०८२, सोमबार

बागलुङ/बागलुङ नगरपालिकाभित्रको अन्न भण्डारको रुपमा चिनिने बलेवाको दम्कफाँट आकासेपानीको भरमा थियो । वर्षौदेखि किसानले आकासबाट पानी परेको दिन रोपाइ गर्न जान्थे । अब भने दम्कमा सिंचाइ हुने भएको छ ।

बागलुङ नगरपालिका–१३ को दम्कफाँटमा कालीगण्डकी नदीको पानी लिफ्ट गरेर सिंचाइको काम थालिएको हो । सत्रसय नामले पनि चिनिएको हजारौं मुरी धान फल्ने दम्कफाँटमा वर्षांैदेखि सिंचाइ नपाएर किसानले बाँझै छाड्न बाध्य थिए । लिफ्ट सिंचाइ आयोजनाबाट पानी आउन थालेपछि स्थानीयमा उत्साह थपिएको छ ।

झण्डै ४ सय किसानको खेत रहेको दम्कमा लामो प्रयासबाट पानी आइपुगेको छ । तर, अझै आयोजना पूरा भैसकेको छैन । ‘वर्षौदेखि हामीले धान रोप्न पाएका थिएनौं, अब भने आसा पलाएको छ,’ दम्कफाँट सिंचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर पौडेल क्षेत्रीले भने, ‘ठेकेदारले काम पुरा नगर्दा यो वर्षातमा पर्याप्त सिंचाइ पुगेको छैन, अर्को वर्ष भने पर्याप्त सिंचाइ गर्न पाउने आसा छ ।’

आयोजना पुरा नभएकोले यो वर्षपनि कतिपयले धान रोप्न पाएका छैनन् । तरपनि आयोजना सम्पन्न हुने आसमा स्थानीय खुसी छन् । सिंचाइ अभावमा बाँझै छाडेकाहरु अब भने रोप्न पाइने आसमा बसेका छन् । ‘अब त धान रोप्न पाइन्छ कि भन्ने लागेको छ,’ स्थानीय उपभोक्ता सीता पौडेलले भनिन्, ‘समयमा काम सकिदिएको भए यो वर्षातमै दुःख पर्ने थिएन, अर्को वर्ष त सजिलै रोप्न पाइएला ।’ सिंचाइ आयोजना बनिसकेको भए असार पहिलो सातानै यहाँ धान रोपेर सकिनेमा ढिला भएको पौडेलले बताइन् ।

सिचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कास्कीमार्फत् यो आयोजनाको काम २०८० मा शुरु भएको हो । कालीगण्डकी नदीमा समवेल बनाएर ४ वटा पाइपबाट हरेक दिन ३ घण्टाको दरले पानी तान्ने योजना अनुसार काम थालिएपनि ठेकेदार कम्पनीले काम ढीलाई गरेको हो । तीन करोड लागतको यो आयोजनामा पपैया बिएससी संयुक्त निर्माण कम्पनीले झण्डै आधा रकम कम मूल्यमा ठेक्का लिएपछि आयोजना पुरा नभएको हो । ठेकेदार कम्पनीले गत हिउँदमै सक्नुपर्ने काम अझै पुरा नगरेको हो । तत्कालको सिंचाइका लागि भने किसानले श्रमदान गरेर काम चलाएका छन् । साथै ३२ लाख रुपैयाँ बराबरको प्राविधिक कामसमेत उपभोक्ताले गरेको वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताए । ‘भन्न सत्रसय फाँट भनिन्छ, यहाँ १७ हजार मुरी धान फल्छ, तर सिंचाइ अभावमा धेरै सास्ती थियो, अब केही होला भन्ने छ’ उनले भने, ‘आयोजना पुरा भएपछि हिउँदमा पनि खेतीपाती लगाउन पाइने भयो ।’ उनले यो आयोजनाका लागि धेरै प्रयासपछि मात्र सफलता मिलेको बताए ।

पहिलो चरणमा यो आयोजनाबाट २१ हेक्टर जमिन सिंचाइ गर्ने लक्ष्य छ । त्यसपछि बढाएर लैजाने उपभोक्ता समितिका अध्यक्ष क्षेत्रीले बताए । हाल कालीगण्डकी नदीमा ४५ फिटको समवेल बनिसकेको छ । त्यसबाहेक ४ सय ८५ मिटर उचाइमा पानी पठाएर काली ढुंगामा ८५ हजार घनलीटरको स्टेप ट्यांकी समेत बनेको छ । त्यपछि उक्त पानीलाई पैयुपाटा लगेपछि बितरण ट्यांकीमार्फत् दम्कको फाँटमा ७५ वटा गेटबलमार्फत १० मुख्य र १ सय ३१ वटा साना मुहान बनाउनुपर्ने छ । अहिलेसम्म मुल ट्यांकीमा पानी पुगेपनि वितरणमा समस्या भएको हो । फाँटमा व्यवस्थित पानी वितरणका लािग पाइपलाइन बिच्छ्याउन बाँकी रहेको छ ।

दुईपटक म्याद थपेर ठेकेदार कम्पनीले आगामी चैत मसान्तभित्र काम सक्ने लक्ष्य राखेको छ । उनले उपभोक्ताले गर्ने सबै काम सकेको तर ठेकेदारमार्फत गर्ने काम पुरा नभएको बताए । ‘हामीले श्रमदान पनि धेरै गरेका छौं, ८ सय ५० मीटर पाइपलाइन हामीले नै बिच्छ्यायौं’ क्षेत्रीले भने, ‘प्राविधिक काम रोकिंदा फाँटको भित्रि स्थानमा सिंचाइ समस्या भयो ।’ यो फाँटको बीच भागमा रहेको खोल्साबाट पानी बगाएर सिंचाइ गर्दा सबै खेत सिंचाइ गर्न नसकिएको उनले बताए ।

आयोजनाका इन्जिनियर विशाल थापाले कामको मुख्य भाग सम्पन्न भएकोले साना काम छिटै सकिने बताए । ‘हामीले पनि ताकेता गरिरहेका छौं, केही काम बाँकी छ’ उनले भने, ‘यो वर्ष धान रोप्न मिल्ने गरी पानी लिफ्ट भैसकेको छ, बितरणको काम पनि छिटै पूरा गराउन पहल गरेका छौं ।’ प्राविधिक रुपमा धेरै काम भएकोले आयोजना पुरा हुनेमा विश्वस्त भएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->