आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मिलापत्रले सल्टिँदैछ इमेजको ठगी प्रकरण

मिलापत्रले सल्टिँदैछ इमेजको ठगी प्रकरण

इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली विरुद्दको जाहेरी दिएका पीडितले घरसारमा मिलेर रकम पाएको भन्दै बचत अनुसारको मिलापत्र बनाएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • साउन २ २०८२, शुक्रबार

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित अधिकांस बचतकर्ताले संस्थापक अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेका छन् । कुल १ हजार ४ सय ७३ जना जाहेरवालामध्ये १ हजार ५७ जनाले मिलापत्र गरिसकेको नेपालीका अधिवक्ता राम शर्माले बताए ।

सहकारी ठगीको आरोपमा ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका सहकारीका संस्थापक अध्यक्ष देबकुमार नेपाली जिल्ला कारागार बागलुङमा छन् । उनी विरुद्दको जाहेरी दिएका पीडितले घरसारमा मिलेर रकम पाएको भन्दै बचत अनुसारको मिलापत्र बनाएका हुन् ।

१ लाखभन्दा कम बचत गरेका अधिकांसले नगदै पाएका छन् भने अन्यले मिलापत्रमार्फत लेनदेनको कागज बनाएका हुन् । ठूलो रकम भएकाहरुले पनि नेपालीलाई थुनामुक्त बनाउन मिलापत्र गराएका हुन् । कागजात बनाएकाहरुले नेपाली रिहा भएको १० वर्षसम्म पनि रकम फिर्ता नपाएमा लेनदेन मुद्द चलाउन पाउने कानूनी अधिकार रहने जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले बताए ।

बचतकर्ताको १ अर्ब ५४ करोड ठगी गरेको आरोपमा १ हजार ५ सय ४३ जनाको जाहेरीले जिल्ला अदालतले नेपालीसहितलाई २०८० साउन ५ गतेको आदेशले थुनामा पठाएको थियो । पीडितले २०८० असारमा जाहेरी दिएका थिए । त्यसबाहेक ३० जनाले २०८० भदौमा पुरक जाहेरी दिएपछि १ हजार ५ सय ७३ जनाको जाहेरी परेको थियो । सहकारीको रकम हिनामिनापछि फरार भएका नेपालीलाई भने २०८१ असोजमा भारतबाट फक्राउ गरेर ल्याएपछि थुनामा पठाइएको थियो । नेपालीलाई आरोप लागेको बिगोभन्दा सम्पत्ति बढी भएकोले बेचेर पनि दिने आश्वासन आएपछि पीडितहरुले मिलापत्रको अभियान थालेका थिए ।

अधिवक्ता राम शर्माका अनुसार बुधबार मात्रै ठूलो रकम भएका सरिता कंडेल, डिलबहादुर कार्की र लोकेन्द्र केसीले पनि मिलापत्र गराएपछि उनको ठूलो रकमको बिगो घटेको छ । अब भने १ सय १६ जनाको २५ करोड रुपैयाँ ठगीको जाहेरी बाँकी रहेको हो । मिलापत्र भइ जेलमुक्त भएमा सम्पत्ति बिक्री गरेर छिटै पीडितले बचत पाउन सक्नेछन् । जाहेरी दिएका पीडितले रकम पाउने बाटो नदेखेपछि ६ महिनादेखि मिलापत्र गरेर रकम फिर्ताको अभियान चलाएका थिए । पीडित बचतकर्ताले रकम फिर्ताको माग गर्दै दुई वर्षदेखि आन्दोलन गरिरहेका छन् ।

कानून अनुसार ठगी मुद्दामा बिगो रकम तिर्ने र केही वर्ष जेल बस्नुपर्ने प्रावधान छ । तर पीडितलाई त्यसले न्याय नहुने भएकोले मिलापत्र शुरु गरिएको शर्माले बताए । न्यायका लागि बचत रकम फिर्ता हुनुपर्ने पीडित सरिता कंडेलले बताइन् । ‘सबैको मेलमिलाप भयो भने नेपाली निस्केर जायजेथा बेचेर रकम चुक्ता गर्न सक्छन्’ शर्माले भने, ‘उनी जेलमै बसेर पीडितले रकम पाउने बाटो खुल्दैन ।’ सहकारी ठगी मुद्दा चलेकोले सबै जाहेरवालाले फिर्ता नगरेसम्म नेपाली जेलमुक्त हुन भने नमिल्ने उनले बताए ।

सहकारीको बागलुङ, गलकोट, बुर्तिवाङ र पोखरामा गरी १ अर्ब ५४ करोड रुपैयाँ रकम हिनामिना भएको सहकारी रजिष्ट्रार कार्यालय पोखराको प्रारम्भिक अनुसन्धानमा खुलाइएको थियो । त्यस बाहेक नेपालीले बागलुङमै रहेको राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋण नतिरेपछि गत महिना बागलुङ नगरपालिका वडा नं. २ मा रहेका २ वटा घर लिलामी गराएको छ । लिलामीबाट २१ करोड असुल गरी २ वटा घर बिक्री भैसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->